गणतन्त्र नेपाल स्थापनाको १३ वर्ष भएको छ । २०६२/०६३ सालको जनविद्रोहले २४० वर्ष लामो राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरेको थियो । जनविद्रोहको जगमा बनेको संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र नेपाल घोषणा भएको थियो । त्यसयता गणतान्त्रिक प्रतीक र नेपालको संविधानबाट शासनव्यवस्था चल्दै आएको छ । गणतन्त्र नेपालमा राजतन्त्रकालीन प्रतीक र संस्कृतिलाई समेत औपचारिक रुपमा मनाउने गरिएको छैन । तर हरेक वर्ष पृथ्वीनारायण शाहको जन्मदिवसबारे छलफल हुने गरेको छ । राजतन्त्रप्रति झुकाव राख्ने राजनीतिक शक्ति र नेताहरुले यसबारे चर्चा गर्ने गरेका छन् । वर्षेनि पात्र परिवर्तन भएपनि पृथ्वीनारायण शाहको जन्मदिनलाई विशेष दिवसका रुपमा मनाउनेपर्नेमा जोड दिइने गरेको छ ।
पत्रकार पृष्ठभूमिबाट राजनीतिमा आएका रवीन्द्र मिश्रले यसपटक यो विषय छलफलमा ल्याएका छन् । मिश्रले पृथ्वीनारायण शाहको जन्मोत्सवलाई नेपाल दिवस मनाउनेदेखि सरकारी कार्यालयका भित्ता र नेपाली रुपैयाँमा समेत तस्वीर राख्न माग गरेका छन् । अझ अगाडि बढेर मिश्रले राजाहरुको प्रशंसा समेत गर्दै आएका छन् । पूर्वपञ्चहरुको पार्टी राप्रपाका नेताहरू भन्दा चर्कोगरी मिश्रले राजतन्त्रबारे वकालत गर्न थालेका छन् । मिश्रको प्रस्तावमाथि उनकै दल विवेकशील साझा विभाजित हुन पुुगेको छ । मिलन पाण्डे नेतृत्वको समूह मिश्रसँग अलग भएका छन् । राष्ट्रिय राजनीतिक वृत्तमा मिश्रको यात्रालाई चासोका साथ हेरिएको छ । अर्थात् जबर्जस्त यसपटक पनि २०६३ सालको जनविद्रोहले बीट मारेको विषयमाथि छलफल हुन पुगेको छ ।
पक्कै पनि नेपालको एकीकरणको नेतृत्व गरेको पृथ्वीनारायण शाहको सधैं इतिहासको गौरव पात्र हुन् । मुलुक निर्माणको यात्रामा उनको योगदानको सकारात्मक र नकारात्मक मूल्याङ्कन नहुने कुरै रहेन । तर जसरी बहस भइरहेको छ, समकालीन राजनीतिमा यो राम्रो संकेत होइन । किनभने वर्तमान संविधानले नागरिक स्वतन्त्रता दिएको छ । मनमा लागेको कुरा राख्ने छुट छ । तर आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न पृथ्वीनारायण शाहको नाम बेच्नु किमार्थ सही होइन । उनी नेपालको एकीकरणकर्ता हुन् । नेपालको स्वाधीनता, सार्वभौमकता र अखण्डता जोगाउँदै समृद्ध राष्ट्र निर्माणको दायित्व नेपाली जनतामै निहीत छ । त्यसैले राष्ट्र निर्मातालाई देखाएर राजनीतिक स्वार्थ लाभ लिनु उचित होइन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies