
जेनजी विद्रोहपछि उत्पन्न अस्थिरता, अन्योल र अविश्वासले नेपाली समाज थिलथिलो भइरहेका बेला नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण सुरु भएको छ । राजनीतिक द्वन्द्व र आर्थिक दबाबले उकुसमुकुस भइरहेका बेला एनपिएलले एक प्रकारको उत्साह र सकारात्मक ऊर्जा फैलिएको छ । यसपटकको क्रिकेटको विशेष महत्व पनि छ किनभने नेपालले दुई महिनाअघि मात्र ठुलो भौतिक तथा मानवीय क्षति हुनेगरी नमिठो झट्का बेहोरेको छ । कीर्तिपुर खेलमैदान मात्र होइन, देशभर नै एनपिएलको चर्चा छ । यसले नेपाल पुनः जुर्मुराइसकेको सन्देश दिएको छ । भर्खरै निर्माण सकिएको कीर्तिपुर त्रिवि मैदानमा सोमबार सुरु भएको एनपिएलले धेरै अर्थमा नेपाल सुरक्षित एवं सक्षम छ भन्ने सन्देश प्रवाह गरेको छ । इंग्ल्यान्डदेखि अमेरिकासम्म, अस्ट्रेलियादेखि दक्षिण अफ्रिकासम्म, भारत, श्रीलंका, न्युजिल्यान्डलगायतका देशका खेलाडीहरूको सहभागिताले नेपालप्रतिको अन्तर्राष्ट्रिय विश्वास फेरि फर्किएको छ । संकटको बीचमै पनि विदेशी खेलाडी नेपाल ल्याउन सक्नु आफैंमा महत्वपूर्ण उपलब्धि हो । यसले संसारलाई नेपाल सुरक्षित छ भन्ने सन्देश दिएको छ ।
यसपटकको खेलमा त्रिवि मैदान आफैंमा आकषर्णको केन्द्र बनेको छ । एक वर्षअघिको सरकारी प्रतिबद्धता पूरा भई नयाँ मैदान, फ्लड लाइट्स र दर्शकदीर्घाबाट दर्शकले क्रिकेटको मजा लिन पाउनेछन् । वर्षांैदेखि अधुरो क्रिकेट मैदानमा देखिएको यो परिवर्तनले नै नेपाली क्रिकेटको संरचनागत सुधार स्पष्ट देखाएको छ । एनपिएलको पहिलो संस्करणले आधार बसालेको भए पनि दोस्रो संस्करणले नेपाली क्रिकेटलाई उद्योगतर्फ उन्मुख गराउँदै छ । २४ घण्टामै टिकट सकिनु, प्रसारण अधिकार तथा ओटिटीबाट आम्दानी बढ्ने अपेक्षा, फ्रेन्चाइज मोडलको स्थापनाअनुरूप ४० करोड संकलन गर्ने क्यानको लक्ष्यले पनि नेपाली क्रिकेटलाई सम्भावनाको बजार देखाइदिएको छ । दर्शक नै नेपाली क्रिकेटको सबैभन्दा ठुलो शक्ति हो भन्ने तथ्य पनि यो संस्करण सुरु हुनुअघि नै प्रमाणित भइसकेको छ । नेपालमा खेल हेर्न मैदानमा जाने संस्कृतिले जुन गति लिएको छ । त्यसले राष्ट्रलाई खेल संस्कृति र एकतामा बाँध्ने काम गरिरहेको छ । अकल्पनीय मानवीय क्षति एवं विध्वंसले उत्पन्न निराशा चिर्न र नयाँ उत्साहका साथ अघि बढ्न एनपिएलको ‘क्रिकेट युनाइट्स नेपाल’ भन्ने नाराले पनि काम गरेको छ ।
झन्डै एक महिनापछि मंसिर २७ मा एउटा टिम च्याम्पियन बनेर दोस्रो एनपिएल सकिनेछ । साथै, यसले आर्थिक र सामाजिक जीवनमा सकारात्मक सन्देश प्रवाह गर्नेछ । खासगरी, जेनजी विद्रोहपछि अलमलमा परेको राष्ट्रिय मनोविज्ञान पुनः आफ्नै लयमा फर्काउन मद्दत पुग्ने विश्वास गरिएको छ । राष्ट्र फेरि उठ्न सक्छ, एकताबद्ध हुन सक्छ भन्ने सन्देश अहिलेका लागि क्रिकेट मैदानबाट आउनेछ । त्यो सकारात्मक ऊर्जालाई राष्ट्रनिर्माणमा लगाउनु हाम्रो जिम्मेवारी हो ।