
काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुनु अपरिहार्य रहेको बताएका छन् । मंगलबार पार्टी मुख्यालय च्यासलमा पार्टीका विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठकमा बोल्दै उनले पार्टीको सो अडान राखेका हुन् ।
महासचिव पोखरेलले असंवैधानिक ढंगले बनेकी प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेकाले पनि संविधान र लोकतन्त्रलाई सही बाटोमा ल्याउन प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने पार्टीको मान्यता रहेको समेत स्पष्ट पारे ।
उनले भने,‘असंवैधानिक ढंगले उहाँ प्रधानमन्त्रीमा विराजमान हुनुहुन्छ । संविधानले उहाँलाई चिन्दैन । अर्कोतिर संविधानले नचिन्ने प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको अवस्था छ । जुन प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतका पटक-पटकका भर्डिकको हिसावले भन्ने हो भने त्यो असंवैधानिक छ । त्यस अर्थमा सर्वोच्च अदालतको विगतमा भर्डिकहरूका हिसावले पनि पुनर्स्थापना अपरिहार्य छ । र, पुनर्स्थापनाबाट नै लोकतन्त्रलाई सही दिशातर्फ अगाडि बढाउन सकिन्छ भन्ने पार्टीको मत र मान्यता रहेको छ ।’
महासचिव पोखरेलले वर्तमान सरकारलाई संविधानले नचिन्ने भएकाले उसले गराएको निर्वाचनमा सहभागी हुन नमिल्ने जिकिर समेत गरे ।