
काठमाडौं : सर्वोच्च अदालतको फैसलाको पर्खाइमा रहेका सात राजनीतिक दलले मधेश प्रदेशका मुख्यमन्त्री नियुक्तिको विरोधमा नवौं दिन पनि आन्दोलनको कार्यक्रमलाई जारी राखेका छन् ।
मधेश सरकार गठनसम्बन्धी विवादलाई लिएर दर्ता भएको रिटको सुनुवाइ आज न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा हुँदैछ । यता सात दलले मंगलबार नवौं दिन पनि जनकपुरधाममा धर्ना कार्यक्रमलाई जारी राखेका छन् ।
धर्नामा बसेका जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादवले एमालेकै कारण देश अहिले राजनीतिक संकटमा फसेको र मधेशमा पनि एमाले नेतृत्वकै इसारामा अस्थिरता निम्तिएको आरोप लगाए । उनले आफूहरु मधेशमा राजनीतिक अस्थिरताको अन्त्य होस भन्ने उद्देश्यका साथ नै आन्दोलनका कार्यक्रमहरु नवौं दिनपनि जारी राखेको बताए ।
मधेशमा एमालेको नेतृत्वमा गठन भएको सरकार संवैधानिक नरहेको र सभामुख रामचन्द्र मण्डलले दलीय अनुकूलको आचरण नगरेको भन्दै सात दलले मधेशमा आन्दोलन थालेको हो । नवौं दिन मधेश प्रदेश सरकारको मुख्यालय रहेको मधेश भवनको मुख्य ढोकामा नै ७ सात दलका नेता–कार्यकर्ता धर्नामा बसेका छन् ।