–रूप नारायण तिम्सिना
“निरु ! आज अलिक छिटो आउ है ल अफिसबाट । नेपालबाट पाहुना पनि आउँदैछन् घरमा पनि म एक्लै के गर्नु के नगर्नु हुन्छु है त ल !” सुन्तलीले बुहारीलाई आफ्नो दुखेसो मधुर स्वरमा सुनाइन् ।
“हुन्छ आमा तपाईं चिन्ता नमान्नोस् म भर्सक छिट्टै आउँछु र ताजा हरियो साग सब्जीहरु पनि लिएर आउँछु । बरु नानीहरु आएपछि खाजा चाहिँ दिँदै गर्नु होला है आमा ! म गएँ ल !” भन्दै निरु गाडी चडेर अफिसतिर लागिन् ।
सुन्तलीका मनमा भने विविध द्वन्द्व प्रस्फुटन भैरहेका थिए “पाहुना आउँदैछन्, घर सर सफाइ गर्नुछ, खै निरुको व्यहारशील स्वभाव कस्तो लाग्ने हो कुन्नि पाहुनालाई । छोरो परलोक भएको पनि टक्कै पाँच वर्ष भो, आजसम्म यो घर छोडेर बुहारी अन्त कतै गएकी पनि छैन । यसको विवाह गरिदिन पाए साह्रै ढुक्क हुने थियो । बिचरा उमेर पनि कलिलै छ । राम्ररी घर गरिखान सक्छे । यो यहीँ बसिरहँदा मलाई त राम्रै छ नि तर, यसको जिन्दगी नै बर्बाद हुन्छ । यदी कोही हामी बुहारी बनाउँछौं भन्दै आउँछन् भने खुसी खुसी बिदादिन्छु नि । म त बुढी मान्छे जसरी पनि बाँचिहाल्छु । नातिनातिना हुन्छन् नै मलाई त्यतिभए भइगयो नि ।” आदि इत्यादि कुराहरु सम्झिँदै घर सर सफाइ गर्दै गर्दा गाडीले हरन बजायो । “ला पाहुना आइपुगे” भन्ने सम्झिँदै बाहिर निस्किँदा नानीहरु रहेछन् ।
“लु लु लु आओ नानी हो, लु झट्ट लुगा फेर अनि हात मुख धोएर खाजा खानु” भन्दै सुन्तली खाजा तयार गर्न थालिन् । यता नानीहरु तयार भएर आए अनि खाजा खाँदै नातिले भन्यो “हजुर आमा ! सुन्नोस् न ! हाम्रो स्कुलमा त तीजको प्रोग्राम पो छ त हामी सबै ‘प्रेक्टिस’ गर्दै छौं ।”
“नापिस नाथे ! तैँले चैं के गर्छस् र तीजमा प्रेक्टिस ?” सुन्तलीले हाँस्दै सोधिन् ।
“हजुर आमा ! यो चाहिँ जोकडको रोल गर्छ अनि हामी केटीहरु चाहिँ संगीनी नाच्ने ।” नातिनीले सुझाइन् ।
ए ल ल राम्रो भएछ भन्दै मुसुक्क हाँसिन सुन्तली ।
यत्तिनै बेला बाहिर पुनः गाडीको हरन बज्यो । सुन्तलीले “अब चाहिँ पक्कै आए पाहुना” भन्दै साडी मिलाउँदै बाहिर गएर आदरपूर्वक पाहुनालाई घरमा भित्र्याइन् ।
हतार हतार चिया ल्याएर दिइन् । चिया पिउँदै गफ गर्दै गर्दा निरुको पनि आगमन भयो । उनले सबैलाई प्रणाम गरेर सिधै भोजन पानीको व्यवस्थापनतर्फ लागिन् ।
पाहुनाले आनन्दसँग भोजन लिएपछि सासू बुहारी र नानीहरुले पनि खाए ।
बेलुकाको धन्दा सकेपछि गफ सुरु भो । सबै कुरा मिल्यो । निरुको आनि बानी व्यवहार सबै मन पराएका पाहुनालाई सुताएर सुन्तली र निरु पनि बिहान् अबेर हुन्छ लौ सुतौं भन्दै आ–आफ्नै कोठातिर पसे ।
भोलिपल्ट बिहानै नानीहरु न उठिकन निरु पनि तयार भएर निस्किन् । सुन्तलीले रातो टीका निधारमा टाँस्दै भनिन् “निरु ! यो घर नबिर्सनु, यो घरमा आउन नडराउनु, यो घर आज उपरान्त तिम्रो माइती घर हो । तिम्रो भाग्यले राम्रो ज्वाईं पाएकी छौँ राम्रो घर गरिखानु ल” भन्दै बरररर आँसु झारिन् । निरुको मन भरिएर आयो उनले च्याप्प सुन्तलीलाई समाइन् दुवैजना रोए अनि सुतलीले पाहुनालाई पनि टीका लगाएर विदा गरिन् ।
भाग्यले ठगिएकी निरु त्यो घर छोडेर कतै जान चाहन्न थिइन् तर, जिन्दगीको उतार चडाबलाई सम्झिँदै आफ्नी आमाभन्दा अधिक माया गर्ने सासूआमा र प्राणप्रिय नानीहरु छोडेर एउटा अर्को घरकी गृहलक्ष्मी बनेर जान बाध्य भइन् ।
–त्रिपुरा खरेल
परतन्त्रबाट स्वाधीन भएको दिन
आकाशलाई बेलुनले ढाकेको छ
हिलियम ग्यास भरेर
डोरीले मुख बाँधेका स्वतन्त्रताका बेलुनहरू
हावामा कावा खेल्दैछन्
स्वतन्त्रता दिवस ....!
झण्डा र गुब्बाराको भाउ चुलिएर माथि पुग्यो
तल जमिनका टुक्राहरूमा
स्वतन्त्रताका डोरीहरूले
पाता फर्काएका मुर्ख मान्छेहरू
जमीनमा उत्तानो परेका छन्
स्वतन्त्रताको फकुन्डोमा अलमलिँदा
आमाको काख रित्याइयो
उनको आँसुले न्याय पाएन
अर्को जन्ममा न्याय पाउन
आमाको बेदनाले ईश्वर पुकार्दैछ
हिलियम भरिदिएको तिनको मन मुटु
मुख बाँधेको बेलुन सरह भएको छ
स्वतन्त्रताका प्रतीक बनाइएका बेलुनले
मुख थुनिएर निस्सासिनु पर्ने !
बेलुन मात्र होइन
स्वतन्त्रताका प्रतीक फुटबललाई
बुट लगाएका खुट्टाहरूले
चारै दिशामा गुडकाउँदै छन्
बुटभरी हिलियम ग्यासका च्याम्बर छन्
अन्धो फूटबलले भेउ नपाउँदा
बुटहरू ढाडहरूमा बजारिन थालेका छन्
फ्लाइङ् किक यसैलाई भनिदोरहेछ
लुँडोले भाँडा माझ्दै गरेको सानो बालकले
हिलियम ग्यास भरिएको मनले
उडान भरेर
स्वतन्त्रता दिवसको फुटबल हेर्छ
उसले पाएको लात र फुटबलमाथिको प्रहार
उसले हातको मस्को खेलाउँदै तुलना गर्छ
बलात्कृत बालिकाको रक्तस्रावले
सडक रक्ताम्य भएको छ ।
बलात्कारको अर्थ नबुझेकी बालिका
असहनीय पीडाले छट्पटिँदै छे
बालिकाकी आमा स्वतन्त्रता दिवसको दिन
अन्धा बहिरा र लाटा
फुटबल र बेलुनहरूसँग न्यायको भीख माग्छिन्
न्याय ! आफै मुख बाँधेर उडेका बेलुन सरह
हिलियम ग्यासले उडिरहेको छ
नाङ्गा रुगरुगे पहाडहरु
सडकमा गाडिएका झण्डा हेर्दै
आफू चिथारिएर नाङ्गिएको शरीर हेर्छ
स्वतन्त्रताका झण्डा बोकेका
फुटबल र बेलुनहरूले बतासिँदै
ब्ल्याक आउट भएका
शहर परिक्रमा गर्दैछन्
हावामा मिसिएका अश्रुग्यासले
स्वतन्त्रताका बुलन्द आवाजहरूलाई
हिलियम बनाएर बेलुनभित्र थुनेको
स्वतन्त्रताको रमिता हेरेर
खोलाको बगरमा गिट्टी कुट्दै गरेको
पराधीन भएर दीन अवस्थामा रहेको
वृद्धले सहिदको चिहान हेर्दै सोध्छ
सहिद ! तिमीले ल्याएको स्वतन्त्रता
मुख बाँधिएका परचालित
बेलुन र फुटबलका लागि मात्र हो ?
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा कतार : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारले स्रष्टासँग साक्षात्कार तथा साहित्यिक संवाद सम्पन्न गरेको छ । आफ्नो भ्रमणका क्रममा कतार आइ पुगेका साहित्यकार तथा पत्रकार आश्विनी कोइरालासँग शुक्रबार साक्षात्कार तथा संवाद कार्यक्रम सम्पन्न भएको हो ।
कोइरालाको प्रमुख आतिथ्यता तथा कतार च्याप्टरका अध्यक्ष मणि पौडेलको सभापतित्वमा सम्पन्न संवादमा शेखर बस्नेत, सानु थपलिया, खेम सुवेदी, रूप रसाइली, विनोदबाबु अधिकारी, विनोद खड्का, दीप मीलन, लेख कार्की, सिताराम थापा, लेख कार्की, प्रेमप्रसाद भट्टराई, पूर्ण कान्छा गुरुङ, कल्याण थापा र नारायण भण्डारी लगायतले आफ्ना रचना वाचन गरेका थिए ।
संवाद अन्तर्गत जीवनका बाल्यकालका दुःखबाट आफ्नो भनाइ राख्न शुरु गरेका उनले जीवनका विभिन्न आयामबारे खुलेर बोलेका थिए । नेपालको एक सरकारी संस्थानमा जागिरे जीवन शुरु गरेका उनले लघुकथा बापतको रकम बुझ्न जाँदा आफूले कान्तिपुरमा जागिर पाएको स्मरण गर्दै त्यहाँ भित्रका विविध उतार चढावका बारेमा आफ्ना अनुभव सुनाएका थिए । घर गाडी नजोडी नेपाली साहित्यका लागि आफूले जीवनभर कमाएको सबै साहित्य पोस्टमा लगाएको बताए । उनले साहित्य नै आफ्नो कर्म रहेको बताउँदै लेख्नै नजान्नेले पनि साहित्य लेख्नुपर्ने उनको धारणा थियो ।
शोभाराम ओलीले सहजीकरण गरेको कार्यक्रमको समापन सभापति पौडेलले गरेका थिए । कार्यक्रममार्फत आयोजक दुवै संस्थाले कोइरालालाई आजीवन सदस्यता प्रदान गर्दै सम्मान गरेका थिए । संवाद कार्यक्रममा कोइरालाको जीवनी समेटिएको छोटो वृत्तचित्रसहित स्वागत गरिएको थियो ।
श्रद्धाञ्जली सभा
यस्तै सोही अवसरमा कतारमा स्थापित साहित्यिक संस्था नवोदित साहित्यिक वाचनालय कतारका पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका आजीवन सदस्य साहित्यकार भानु सुनुवारप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
सुनुवारको केहि दिन अघि नेपालमै अल्पायुमै निधन भएको थियो । सुनुवारप्रति दीप प्रज्वलन र माल्यार्पण गर्दै गहिरो समवेदना प्रकट गरिएको थियो ।
हरेक वर्ष नेपाल सम्वत् गुंला गाः द्वितीयाका दिन ललितपुरमा मनाइने मतया जात्राका अवसरमा पाटन दरबार परिसरमा शुक्रबार न्यकू बाजा बजाउँदै । जंगली जनावर अर्नाको सिंङबाट बनाएको बाजालाई न्यकू बाजा भनिन्छ । आजको दिन यो डबलीमा विभिन्न नौ थरीका बाजा बजाउने गरिन्छ ।
तस्बिर : रत्न श्रेष्ठ/रासस
गण्डकीः पोखरामा ऐतिहासिक २६ कुरिया फोटोकथा प्रदर्शनी हुने भएको छ । नेपाल बेस्ट मेनेजमेन्टको व्यवस्थापनमा यही भदौ १६ गते रानीपौवा अवस्थित भगवती दलगण प्राङ्गणमा एकदिने २६ कुरिया फोटोकथा प्रदर्शनी गर्न लागिएको कार्यक्रम संयोजक राजन श्रेष्ठले जानकारी दिए ।
१८औँ शताब्दीको शुरुमा कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले भक्तपुर (ख्वप)का अन्तिम राजा रणजीत मल्लदेवसँग व्यापार तथा मैत्री सम्झौता गरी २६ कुरिया जग्गा उपलब्ध गराइ भक्तपुर, ललितपुर र काठमाडौंका नेवारहरू ल्याएर पोखरामा बजार शुरुवात गरेको इतिहास छ । त्यही २६ कुरिया अन्तर्गत हाल पोखराका गणेशटोल, नालामुख, भीमसेनटोल, भैरवटोल, मोहरियाटोल र तेर्सापट्टि टोल पर्दछन् ।
तत्कालीन समयमा ल्याइएका नेवार विशेषतः व्यापारी, शिल्पी, कालीगढ रहेको र शुरुमा करिब एक सय ५० जनालाई बसोबास गराइएको दस्तावेजमा उल्लेख छ ।
विक्रम संवत् १८२६ मा भक्तपुरका राजा रणजीत मल्लयुद्धमा हारेपछि ठूलो सङ्ख्यामा नेवार पोखरामा आएको र उक्त सङ्ख्या सात सय पुगेको छ । पोखरा आएका २६ कुरियामा बसोबास गर्ने नेवार आफ्ना मौलिक कला, परम्परासँगै जात्रा, पर्व मनाएर व्यापार विस्तार गर्ने गरेको र उनीहरु पोखरामा आएसँगै यहाँको सामाजिक, आर्थिक, धार्मिक एवम् सांस्कृतिक विकासले गति लिएको मान्निछ ।
पोखराका यिनै ऐतिहासिक सत्य तथ्यलाई फोटो कथाका माध्यमबाट देखाउन खोजिएको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए । पोखराको तत्कालीन इतिहासको कल्पना गरेर आयुुष श्रेष्ठले तयार गरेका २० वटा फोटाकथा प्रदर्शनीमा राखिने उल्लेख गर्दै उनले यसअघि काठमाडौंमा पनि प्रदर्शन गरिएको बताए ।
काठमाडौं : नियात्राकार राजेन्द्रमान डंगोलद्वारा रचित नियात्रा संग्रह ‘बादलडाँडा'को लोकार्पण गरिएको छ । प्रमुख अतिथि प्रा.डा. रमेशप्रसाद भट्टराईले एक कार्यक्रमका बीच नियात्रा संग्रह ‘बादलडाँडा'को लोकार्पण गरेका हुन् ।
उक्त संग्रह लोकार्पण गर्दै प्रा.डा. भट्टराईले डंगोलका नियात्रामा आत्मपरक लेखनको प्रभाव, पर्यावरण संरक्षण र स्थानीय जनजीविकाका सवालमा नियात्रा रचिएको बताए ।
कार्यक्रममा विशिष्ट अतिथि ,नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा समालोचक डा. धनप्रसाद सुवेदीले नियात्राकारले भूगोल, संस्कृति र समाजको सौन्दर्यलाई आत्मसात गर्दै रचिएको ‘बादलडाँडा’ नियात्रा संग्रह स्तरीय र पठनीय रहेको बताए । उनले चीनमा अध्यापनरत रहँदा चिनियाँ विद्यार्थीहरूलाई उत्कृष्ट सामग्री सिफारिस गर्न धौधौ परेको धारणा राख्दै ‘बादलडाँडा’ जस्ता कृतिले त्यस अभावलाई मेट्ने बताए । साथै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरू रारा साहित्यिक महोत्सवमा सहभागी हुँदा जेजस्ता टीकाटिप्पणीहरू भएपनि त्यो नियात्रा लेखनका लागि महत्वपूर्ण साहित्यिक खुराक भएको दृष्टिकोण सबैले राख्नुपर्ने उनले बताए ।
यस्तै कवि तथा समालोचक डा.विन्दु शर्माले नियात्राकार डंगोलको 'बादलडाँडा'मा यथार्थ र तथ्यपरक सूचना समेटिएको बताउँदै घुमफिरका क्रममा स्थानीय ठाउँको सूक्ष्म दृष्टिकोणसहित पर्यटन प्रवर्द्धन,आर्थिक विकास, विसंगति, जीविकोपार्जनको अवस्था, पर्यावरणमा आएका असर र जोखिमका बारेमा स्पष्ट पारेको बताए ।
यसैगरी समालोचक राम लोहनीले नियात्राकार डंगोलको लेखनशैली र भाषामा परिष्कार रहेको बताए । कवि तथा समालोचक आर.एम. डंगोलले नियात्राकार डंगोलको परिचय, व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्दै नियात्रा लेखनमा डंगोलले नयाँपन दिएको आभास भएको बताए ।
नियात्राकार डंगोलले लेखकका कृतिहरू सार्वजनिक भएपछि सबैको सम्पत्ति हुने बताउँदै ‘बादलडाँडा’ पाठकको मनमस्तिष्कमा रहे मात्र नियात्राकार बाँच्न सक्ने बताए ।
कार्यक्रममा प्रा.डा. ऋषिराम शर्मा, पर्यटन व्यवसायी तथा समाजसेवी आङछिरिङ शेर्पा, टानका पूर्वअध्यक्ष नवराज दाहाल र नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले शुभकामना मनतव्य राखेका थिए । यसैगरी गाउँ पर्यटन मञ्च (भिटोफ)का महासचिव निशेष थापाले स्वागत मनतव्य र भिटोफका पूर्वअध्यक्ष बोधराज भण्डारीले धन्यवाद ज्ञापन गरे । भिटोफ नेपालका अध्यक्ष गोपाल थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सहजीकरण कवियत्री लक्ष्मी रूम्बाले गरेकी थिइन् ।
काठमाडौं : नेपाली हास्यव्यङ्ग्य सम्वर्द्धन र अभ्युत्थानमा समर्पित फित्कौली अनलाइन मिडियाद्वारा विशिष्ट व्यक्तित्व भैरव रिसाल, शान्तदास मानन्धर, रोचक घिमिरे, प्रा.डा. गोविन्दराज भट्टराई, चट्याङ मास्टर लगायतको आतिथ्यतामा बागमती बोर्डिङ स्कुल, सुकेधारामा ‘फित्कौलीको खित्कौली सभा–२’ कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ ।
हास्यव्यङ्ग्यप्रेमी दर्शक स्रोताहरूको बाक्लो उपस्थितिमा पाँच जना स्रष्टाका पाँच कृति एकैसाथ लोकार्पण गरिएको थियो भने हास्यव्यङ्ग्य तथा बुढ्यौली साहित्यमा साधनारत पाँच मूर्धन्य स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार समर्पण गरिएको थियो । कार्यक्रमको आरम्भमै हास्यव्यङ्ग्यकार चट्याङ मास्टरले कार्टुन नै कोरेर काटुनिस्ट राजेश मान्धरको एकल कार्टुन प्रदर्शनीको उद्घाटन गरेका थिए ।
जेष्ठ र विशिष्ट व्यक्तित्वको आसन ग्रहणपश्चात स्वागत सम्मानमा फित्कौलीको तर्फबाट माला अर्पण– विमला लुइँटेल, एरिका गजुरेल गरिमा उपाध्यायबाट भएको थियो । फित्कौलीका प्रधान सम्पादक नरनाथ लुइँटेलले कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै फित्कौलीको योजना, फित्कौली अक्षय कोष, विमोचित कृति र स्रष्टा, साथै पुरस्कार र पुरस्कृत व्यक्तिको बारेमा जानकारी दिएका थिए । विमोचन हुन लागेका किताबहरू डिजिटल (विद्युतीय) माध्यमबाट रिमोट थिची लोकार्पण गरिएको थियो । अग्रज हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलको हास्यव्यङ्ग्य निबन्धसंग्र्रह ‘भ्यागुताको श्वेतपत्र’ वरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेद्वारा, स्रष्टा राजेन्द्र कार्कीको हास्यव्यङ्ग्य निबन्धसंग्रह ‘खाइराइड’ वरिष्ठ समालोचक तथा साहित्यकार गोविन्दराज भट्टराईद्वारा, स्रष्टा सुभाषचन्द्र देवकोटाको व्यङ्ग्य कवितासंग्रह शान्तदास मानन्धरले र बुढ्यौली साहित्यिक अभियन्ता डा. मुकेशकुमार चालिसेको बुढ्यौली साहित्यिक कृति उज्याला जून’ भैरव रिसालद्वारा र साहित्यकार ठाकुरप्रसाद अधिकारीको हास्यव्यङ्ग्य निबन्धसंग्रह ‘बेसारे घुर्की’ चट्याङ मास्टद्वारा लोकार्पित भएको थियो ।
लोकार्पित कृति ‘डाँडाका उज्याला जून’ समीक्षात्मक चर्चा वरिष्ठ साहित्यकार पत्रकार रोचक घिमिरेले गरेका थिए भने बाँकी चार वटा विमोचित हास्यव्यङ्ग्य कृतिहरूका बारेमा वरिष्ठ समालोचक/साहित्यकार गोविन्दराज भट्टराईले प्रकाश पारेका थिए । यसलगत्तै लोकार्पित कृतिका स्रष्टाहरूले आफ्ना सारगर्वित मन्तव्यसहित रचना सुनाएका थिए ।
कार्यक्रमको दोस्रो चरणमा सम्मान तथा पुरस्कार समर्पण कार्य भएको थियो । फित्कौली अनलाइन मिडियाद्वारा स्थापित ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान–२०८०’ द्वारा विगत चार दशकदेखि हास्यव्यङ्ग्य लेखनमा क्रियाशील व्यक्तित्व पाल्पाका चोलेश्वर शर्मालाई नगद २० हजार १ सय ५ सहित सम्मानपत्र अर्पण गरिएको थियो ।
त्यसैगरी स्याङ्जाकी हास्यव्यङ्ग्य लेखिका गायत्री परिरोशनीलाई ‘गोविन्द–विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार–२०८०’, झापाका हास्यव्यङ्ग्य कवि खगेन्द्र नेउपानेलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार–२०८०’, गुल्मीका हास्यव्यङ्ग्य निबन्धकार काशीनाथ मिश्रितलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय निबन्ध पुरस्कार–२०८०’ र भक्तपुरका कवि रामशरण न्यौपानेलाई ‘मुकुन्द–मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार–२०८०’ समर्पण गरिएको थियो ।
सम्मानित स्रष्टा एवम लोकार्पित कृतिका स्रष्टाहरूलाई भैरव रिसालले शुभकामना व्यक्त गर्दै फित्कौलीले यस्तो कार्यकममा सहभागी हुने मौका दिएकामा धन्यवाद दिएका थिए ।
यी पुरस्कारहरूको रकम जनही १५ हजार १ सय ५ र सम्मानपत्र रहेको थियो भने फित्कौली प्रोत्साहन पुरस्कार स्वरूप कार्टुनिस्ट राजेश मानन्धरलाई नगद १० हजार १ सय ५ रुपैयाँ सम्मानपत्र समर्पण गरिएको थियो । यसपछि सम्मानित तथा पुरस्कृत व्यक्तिहरूबाट मन्तव्य तथा रचना वाचन भएको थियो ।
यसैगरी जेष्ठ तथा विशिष्ट व्यक्तित्वको सघन मन्तव्यसहित फित्कौलीको कदम अब नरोकियोस् सुझाव दिँदै कार्यक्रमका जेष्ठ तथा विशिष्ट अतिथि शान्तदास मानन्धरद्वारा सभा विसर्जन गरिएको थियो । कार्यक्रम हास्यव्यङ्ग्य स्रष्टा अनिल पौडेल कीर्तेले सहजीकरण एवम् सञ्चालन गरेका थिए ।
काठमाडौं : कवि रामचन्द्र न्यौपाने ‘वनवासी’का ज्ञानक्रान्ति (महाकाव्य) र भक्तिसागर (खण्डकाव्य) को शनिबार लोकार्पण गरिएको छ ।
सिसार साहित्य परिवारको आयोजनामा सम्पन्न सो कार्यक्रम त्रिविका उपप्राध्यापक तथा पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत, पत्रिकारिता र हिन्दी विभागका पूर्व विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा सम्पन्न भएको हो । महात्मा दीपकजीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष, प्रमुख अतिथि र साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीलगायत विभिन्न व्यक्तिहरूले संयुक्त रूपमा कृतिहरुको लोकार्पण गरेका थिए ।
दुबै लोकार्पित कृतिको समीक्षा प्रा.डा. भागवत ढकाल, कवि सीता भट्टराई र पूर्व प्रशासक कृष्णचन्द्र घिमिरेले गरेका थिए । कवि रामचन्द्रका दुई कृतिबाट कवि प्रभा भट्टराई, लक्ष्मी घिमिरे र स्वस्तिक ढकालले रचना वाचन गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरु राधेश्याम लेकाली, विजयराज न्यौपाने, चन्द्रप्रसाद न्यौपाने, विजयध्वज थापा, राजनप्रसाद न्यौपाने, मीनप्रसाद ज्ञवालीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रमुख अतिथि महात्मा दीपकजीले तत्त्वज्ञान प्राप्तिका लागि कृतिहरु सहयोगी भएको धारणा राख्नुभयो भने कृतिका सम्पादक एवं भूमिका लेखक ज्ञाननिष्ठ ज्ञवालीले सम्पादन र भूमिका लेखनको जोखिमबारे धारणा राखेका थिए । कवि वनवासीले धन्यवाद ज्ञापन गरेको सो कार्यक्रमको सञ्चालन कवि राधिका पन्तले गरेकी थिइन् ।
–नारायण पौडेल
“ए हजुर हो ! सुन्नुहोस् कसैले सुनिन भन्न पाउनु हुने छैन, डाँडाघरे कान्छा हिजो दिउँसोबाट हराएकोले खोजीका लागि दुलै पिच्छेबाट एकएक जना निस्कनु अरे हो....!”
झिसमिसेमा स्कुल ग्राउन्डको डिलमा उभिएर कटुवाल बुढाले घोक हाले ।
जीवनको उकालो चढिसकेका कटुवाल बुढाको दाँत झरिसकेको थियो । त्यसैले पनि उनको बोली प्रष्ट सुनिदैनथ्यो । कतिले बुझे कतिले बुझेनन् । वल्लो गाउँका लागि स्कुल ग्राउन्डको डिलबाट र पल्लो गाउँको लागि डिलको थुम्को गरि दुई ठाउँबाट घोक्ने चलन थियो । उनले अर्काे ठाउँमा गएर घोक हाले । नबुझेकाहरूले फेरि कान थापेर सुने ।
“कहिल्यै घर नछोड्ने डाँडाघरे कान्छा बुढा कता हराए त ?” सबैको मनमा एउटै प्रश्नले डेरा जमायो । उत्तर कसैसँग पनि थिएन ।
गाउँले सबै डाँडाघरे कान्छाको आँगनमा जम्मा भए । उनकी श्रीमती राममायाले पिलपिल गर्दै भनिन् “दिउँसोसम्म कोठामै सुतेका थिए, म बाख्रालाई स्याउला लिन पाखातिर गएँ, आउँदा थिएनन् !”
उनको कुरा सुनेपछि कोही खोलातिर, कोही वनतिर र कोही भीर पाखातिर खोज्न गए । चारै दिशा खोजी कार्य शुरु भयो । उनी कतै फेला परेनन् ।
उनको खोजी कार्य पहिलो दिन, दोस्रो दिन, तेस्रो दिन हुँदै चौथो दिनमा चल्यो । खोज्दा खोज्दै गाउलेहरू सबै थाकिसके तर पनि उनको कुनै फाल फेला पर्न सकेन ।
चौंथो दिन झमक्क रात परिसकेको थियो । एउटा समाचार आयो । “एकजना भुपु लाहुरेले काजिरामको घरभित्र मान्छेले खोकेको आवाज आफूले सुनेको कुरा बतायो अरे !”
परिवार सबै शहर पसेकाले काजिरामको घर लामो समयसम्म खाली थियो । पातल वनसँग जोडिएको काजिरामको घर गाउँको किनारामा थियो । सबैले शंका गरे डाँडाघरे राती त्यो घरमा बसेका हुनसक्छन् ।
गाउँलेहरू बिहान उज्यालो भएपछि काजिरामको खाली घरमा गएर हेरे । डाँडाघरे कान्छा त भेटिएनन् तर, काफलका बियाहरू प्रशस्त भेटिए । भूइँमा पाको मान्छेका चप्पलका छाप पनि देखिए । यसबाट डाँडाघरे कान्छा बिहानै जंगल पस्ने, दिनभरि जंगलतिर ऐँसेलु काफल खाएर बस्ने र रात परेपछि काजिरामको घरमा सेल्टर लिने गरेको र त्यो बिहान पनि डाँडाघरे झिसमिसेमा जंगल पसिसकेको हुन सक्ने अनुमान लगाए गाउँलेहरूले ।
गाउँलेहरूको खोजी समूह गाउँको तलतिर झर्दै थियो बाटोमा घुराने दाइ भेट्टिए । “डाँडाघरे कान्छालाई मैले हिजो बिहान भैंसी खोज्न जाँदा भन्ज्याङको चौतारीमा भेटेको हुँ, मलाई देखेर लुक्न खोजे !” घुराने दाइले अर्काे खबर ल्याए ।
डाँडाघरे बिहानै उठेर जंगल हैन सिधाने गाउँतिर हानिएको कुरा पत्ता लाग्यो । खोजी कार्य अब भन्ज्याङ तलको सिधाने गाउँतिर सोझियो । उनको आफन्तको घर सिधानेमा थियो । त्यतै गएको अनुमान लगाएर गाउँलेहरू सिधाने गाउँतिर लागे ।
डाँडाघरे सिधाने गाउँको आफन्तको घरमा भेटिए । चार÷पाँच दिनदेखि छापामार शैली अपनाएका डाँडाघरेले गाउँलेका अगाडि खुट्टाले टेक्न मानेनन् । उनले आफू बिरामी जस्तो बनेर उठ्नै नसक्ने सिरियस बिरामीको बहाना बनाए । खुट्टा टेक्न मानेनन् । बाटो करिब चार घण्टा लामो थियो । डाँडाघरेलाई डोलीमा बोकेर लैजाने निधो भयो । गाउँलेहरूले उनलाई तन्नाको डोलीमा बोकेर घर ल्याए ।
डाँडाघरे कान्छा उपाध्याय बाहुनका छोरा थिए । राममाया क्षेत्रीकी छोरी । दुबैको घर नजिकै थियो । वन जंगल, मेलापात सँगसँगै हिँडे । एक अर्काले भित्रभित्रै मन पराए । उनीहरूको माया प्रेम झाँगियो । एक आपसमा छुट्नै नसक्ने अवस्थामा पुगे ।
त्यतिबेलाको कठोर संस्कारलाई चुनौती दिएर डाँडाघरे कान्छाले राममायालाई भगाएका थिए ।
राममायाका दाजुभाइ दिदिबहिनी कोही थिएनन् । बाउ छोरी मात्रै थिए । भएको सम्पत्ति खाने कोही थिएन । बाबुको शेषपछि त्यो सम्पत्ति राममायाको नाममा आएको थियो ।
बाउको सम्पत्तिबाट प्राप्त हुन आएको बेसी खेतबाट २० मुरी गुडुरा धान भित्र्याउँथे । त्यही बेसी खेतको अन्नले पाँच जना छोराछोरीको पालन पोषण गरे उनीहरूले । जग्गाको मूल्य पनि उतिबेला राम्रो थियो । डाँडाघरे कान्छा आफ्नो घर छोडेर ससुरालीमै घर ज्वाईँ बसे । जिन्दगीको उर्वर समय सुखद तरिकाले बित्यो उनीहरूको ।
समयक्रममा तिव्र बसाइँसराइको कारणले गाउँको जग्गाको मूल्य कम हुँदै गयो । कोदो मकै लगाउने बारीका पाटाहरू वनमाराले भरिए । स्थिति यस्तो बन्न गयो कि कसैलाई त्यसै कमाएर खाभन्दा पनि कसैले नमान्ने स्थिति बन्यो । उनीहरूका तीन वटा छोराहरू तीनतिर छरिएका थिए । छोरीको पनि बिहे भैसकेको थियो । घरमा दुई बुढाबुढी मात्रै बस्थे । हुँदाहुँदा जग्गा नै बाँझो बस्ने अवस्था सिर्जना भयो ।
बुढाले बुढी र बुढीले बुढाको मुख हेरेर चित्त बुझाएर बसेका थिए । राममायालाई बुढेसकालले छोइसकेको थियो । उनमा जैविक आवश्यकताको भोक थिएन । तर गाउँको अर्गानिक आँटो पिठो र सागपात खाएर हुर्किएका डाँडाघरे कान्छा ७० पुग्नै लागेपनि अझै हट्टाकट्टा थिए । उनी जैविक आवश्यकताका भोका थिए । तैपनि राममायाले बेला–बेला डाँडाघरे कान्छाको जैविक आवश्यकता पूरा गरेकी थिइन् ।
एकदिन सम्पत्तिको विषयमा राममाया र डाँडाघरेको बीचमा ठाकठुक पर्यो । उनले आफ्नो माइतीको पेवाले पालिएको भनेर घोचपेच गरिन् । दुुई पैसा नपर्ने सम्पत्तिको धाक देखाएर घोचपेच गरेको डाँडाघरे कान्छालाई मन परेन ।
उनीहरूबीच झगडा भयो । झगडा भएको दिनपछि जैविक आवश्यकताको भोक मेट्ने मेटाउने क्रम राममायाले अस्वीकार गरेपछि बन्द भयो ।
एकदिन बिहानको खाना खाएर डाँडाघरे कोठाभित्र पसेर बिस्तारामा पल्टिए । उनको मनमा अनेक विचार खेल्न थाले ।
“यो घर ज्वाईं बस्न त शत्रुलाई पनि नपरोस्, एउटा झुपडी नै बरु किन नहोस् आफ्नै माटोमा बनेको हुनुपर्ने रहेछ !” उनले मनमनै सोंचे । उनलाई छोराहरूले शहरमा नबोलाएका पनि होइनन् । उसैको मायाले रोकिएका थिए डाँडाघरे कान्छा ।
“थुइक्क ! छोराहरुले बोलाउँदा जानुपर्ने रहेछ, नगएर आज दुःख पाएँ ।” ग्लानीले उनको मन छियाछिया भयो ।
सम्पत्तिको धाक लगाउने र कहिलेकाहीँको चाहाना पूरा नगर्ने श्रीमती राममायालाई उनले सबक सिकाउने निधो गरे । दिउँसो बाख्रालाई घाँस लिन गएको मौका छोपेर उनी घरबाट सुटुक्क निस्किए र जंगल पसे ।
उनले साथमा केही पनि लगेका थिएनन् । खानका लागि जंगलमा प्रशस्त काफल र एँेसेलु पाकेको थियो । त्यही ऐँसेलु र काफल खाएर उनले चार दिन बिताए । उनलाई हल्का चिसोले भेट्यो । खोकी लाग्यो । खोकीलाई बलजफ्ती रोक्न खोजे तर, सकेनन् । यदि खोकी नलागेको भए डाँडाघरे कान्छालाई फेला पार्न सजिलो थिएन ।
डाँडाघरे कान्छाको प्रेम विवाह भएकोले विवाहमा डोली चढ्न पाएनन् । त्यो धोका उनले बिरामीको बहाना बनाएर डोली चढे र पूरा गरे । डोलीमा बोकेर ल्याएका डाँडाघरे कान्छा भोलिपल्टदेखि ठमठमी हिँडेका छन् ।
–मधुसूदन अधिकारी
एकजोड साडी किनिदिन्छु भनेर गुइँठेले श्रीमतीलाई भनेको थियो । देवरको बिहेमा दामीसाडी लाउन पाउँछु भनेर गुइँठेकी श्रीमति फुरुक्कै परेकी थिई । बिहेको सम्पूर्ण खर्च आफ्नै थाप्लोमा पर्न गएकाले गुइँठेलाई भित्रभित्रै सुकेनास लागे झैँ देखिन्थ्यो । नयाँ घर बनाउनु र भाईको बिहे गर्न अघि सर्नु भ्यागुतालाई तराजुमा तौलिनु जस्तै भएको थियो गुइँठेलाई ।
एकातिर मिलाउँदा अर्कोतिर मिल्दैन । बिहेको सम्पूर्ण हाटबजार, बेहुलीका गरगहना इत्यादि भइसक्यो । श्रीमतीको साडी चै किनेको थिएन । बिहेको दिन लगन नजिकै आइसक्यो श्रीमतीको साडी चै आएन यो देखेर एकदिन् उसकी श्रीमती रिसले मुरमुरिन्दै बेलुन फुलेझैं फूलेर बम् भई । कुरै कुरामा दुबै दम्पतीबीच घमासान वाक्य शब्दको कम्पिटिसन् हुन् थाल्यो । उडुस् र मच्छरले टोकेको पुरूषहरुले सहन सकलान् तर, श्रीमतीको वाक्य बान् को टोकाइ त सहन् निकै धर्यवान् व्यक्तिहरूले मात्र सकलान् । अश्रुबानको साहारा लिँदै गुइँठेकी श्रीमती भूतभुताउँन थाली, “बिहेभाको सात वर्ष बिते कहिल्यै आफूले मन खाएको साडी किन्देका छौ ? अरूका लोग्नेहरुले कस्ता–कस्ता साडी ल्याइदिन्छन् ।”
यसरी गुइँठेलाई श्रीमतीले शब्द वाणको झटारो हानी । साडीको तृष्णामा रिसाएकी श्रीमतीलाई फकाउनु गुइँठेले निकै प्रयास गर्यो तर, सकेन् । मोबाइलको जमानामा रिसाएकी श्रीमतीलाई फकाउनुभन्दा बरु नयाँ प्रेमिकालाई पट्याउँनु नै सजिलो थियो नि तर के गर्ने पड्के कोरोनाले नारी जति सबैलाई दिदी–बैनी बनाइदियो ।
तपाईं पनि जानी राख्नुहोस् रिसाएकी श्रीमतीको छेऊमा जानुअघि आफ्नो दाँत पहिले चेकगर्नु होला फोल्डिङ्ग दाँत लगाउनु भएको छ भने बाहिरै फुकाली जानुहोला । नौ ग्रह बिग्रिएमा पण्डितद्वारा शान्त होलान् तर, केही कथन नारीग्रह रुष्ट भए भने शान्त हुन् अलिक समय लिन्छन् । अझै एउटा कुरा जानी राख्नुहोस् रावणसँग युद्ध गर्न सकिएला तर, नारीजातीसँग युद्ध गर्न सकिँदैन, यसैकारण उहाँहरुलाई आदिशक्ति भनिएको होला मलाई लाग्छ ।
गुइँठे गाउँमा बिहेको निम्तो बाँड्न गयो । यता उसकी श्रीमती छेपारोले रंग फेरे झैं रङ्ग फेर्दै भित्र चुलाकोठामा पसि । हल्का रुगा (सर्दी) लागे छ क्यार, स्याक्कसुक्क नाकतान्दै घोप्टोपरि लामा लामा नङग्राका नेलपलिस् उक्काउन थाली । गाउँमा निम्तो बाँडेर गुइँठे घर आई पुग्यो र उसलाई साह्रै भोक लागेको हुनाले सरासर भान्सा कोठाभित्र पस्यो । भातदाल त पाक्न परै जाओस् त्यहाँ त ठूलो भूँइचालो आएर हो कि श्रीमतीको रणचण्डी शक्तिले हो भान्सा कोठाको भाँडाकुडा, थालबटुका सबै बाहिर आँगनमा ताण्डब नृत्य गरि रहेका थिए । घरभित्रका समान सबै छरपस्ट देखेर गुइँठे आफ्नो कोठाभित्र पस्यो त्यहाँ उसकी श्रमती व्यञ्जन वर्ण को ‘द’ जस्तै भएर सुतिरहेकी थी । गुइँठे रिसले बम किएर एकपल्ट झपारो श्रीमतीलाई तर केही असर पारेन झन् रिएक्सन गर्यो । श्रीमतीले जन्मसिद्ध पाएको बरदान उनको रुन्चे संगीत भोल्यूम बढ्दै गयो । पल्ला घरकी आमै श्रीमती रोएको सुनेर गुइँठेलाई भन्छिन् – “अइ गुइँठे यो साँझमा बुहारी किन्न रुन्छे कुटिस् कि क्या हो ?” गुइँठेले लाज पचाउँदै आमैलाई भन्यो, “ए आमै यो पाली हामीले रुन्चे संगीत प्रतियोगितामा भाग लिएका छौं अनि पूर्वाभ्यास गरेको ।” गुइँठेको कुरा सुनेर श्रीमतीलाई हाँस् त उठनु समन उठेको छ नि तर यहाँ हाँस्नु भएन किन् की श्रीमानलाई घुर्कि देखाउँनु छ । अन्त्यमा श्रीमतीदेखि गुइँठेले हारमानी मिठो बचनले भन्यो, “हेर मिना यसरी तिमी नरिसाउ । शाहजहाँले आफ्नी श्रीमतीको यादमा विश्व प्रसिद्ध ताजमहल बनाए भने के म तिमीलाई साडी किन्दिन् सक्दिन र ? साडी किन गाडी मागन् ।”
यस्तो मिठो बोलिबचन लोग्नेमान्छेबाट श्रीमतीले सुन्न पाउँदा त्यो घरभित्रका झिटीमिटीहरू अघि आँगनमा छरिएका थिए सबै भित्र प्रवेश गरेछन् । देख्नु भयो त आइमाई रिसाउँदा घरको झिटीमिटीहरू चकनाचुर हुन् कतिबेर लाग्दैन् । त्यतै लोग्ने स्वास्नी मिलेपछि सिनेमाको प्रोग्राम बनिनु कति समय लाग्दैन् । दाम्प्त्य जीवनमा बेला मौका लोग्ने स्वास्नी बीच यसो ठ्याक ठुक नपरे विवाहित जीवनको आनन्दै ।
स्वास्नीले एउटा निहुँ खोजेर कुनैदिन भाँडभैलो गरी भने आफूले पनि उखरमाउँलो लाउनु भएन । स्त्री जातिसँग मल्ल यूद्ध गरी कुटपिट गर्नु पुरुषलाई शोभा दिँदैन । भाईको बिहे भयो नयाँ दुलही घर भित्राए हर्ष उल्लासको नाचगान हुँदै थियो । बिहेमा आएका अतिथिहरुका भिडाभिड, थियो त्यही समय अचानक गुइँठे लरखराउँदै भुइँमा लड्यो । बिहे घरमा निकै खलबली मच्चियो त्यहीबेला गुइँठेकी श्रीमती अतिन्दै आई र रुँदै भन्छे, “हे भगवान यो के भयो मेरो गुइँठेलाई बचाई देऊ, मलाई केही चाहिँदैन”
यसो भन्दै श्रीमती बिलौना गर्दै थी त्यही बेला गुइँठे छातीमा हात राखी जुरुक्कै उठ्यो र भन्यो, “यो मेरो हृदयरोग हो ।” श्रीमतिले च्याप्प अंगालो हालेर रोई । सबै कुरा शान्त बन्यो । सम्बन्ध फेरि उस्तै मिठास बन्यो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies