एजेन्सी : अफ्रिकी देश कंगोमा विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । प्राप्त समाचारअनुसार कंगोको पूर्वी किभु र इतुरीमा यहाँका सशस्त्र विद्रोहीहरुले हमला गरेका थिए । उनीहरुले गत शनिबार यी दुई प्रान्तका विभिन्न गाउँमा हमला गरी सर्वसाधारणको हत्या गरेका छन् ।
इतुरीको एक गाउँमा उनीहरुले एक गाउँका सर्वसधारणमाथि गोली चलाएका थिए । रातिको समयमा आएका सशस्त्र समूहका सदस्यले गरेको हमलामा परेर कम्तीमा पनि १० जना सर्वसधारणको ज्यान गएको हो ।
त्यस्तै उत्तरी किभुमा पनि उनीहरुले गाउँलेमाथि हमला गरेका थिए । ती हमलामा परेर सर्वसाधारण मारिएका छन् । इतुरी र यस आसपासका गाउँमा भएको हिंसात्मक आक्रमणमा परेर ११ जना सर्वसाधारण मारिएका बताइएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका सहायक प्रवक्ता फराह हकले सो कुराको जानकारी दिएका हुन् । उनले पछिल्ला केही हप्तामा पूर्वी कंगोका कैयौँ स्थानमा यहाँको सरकारसँग विद्रोह गरेको समूहले सर्वसाधारणमाथि हमला गर्ने गरेको छ । यहाँ संयुक्त राष्ट्रसंघीय मिसनले शान्ति स्थापनाका लागि प्रयास गरेको भएपनि हिंसाको अन्त्य हुन सकेको छैन ।
एजेन्सी : द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनले १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानूनी रूपमा देश निकाला गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो ।
आईसीसीले बालबालिकाको अधिकारसम्बन्धी रुसी राष्ट्रपतिका आयुक्त मारिया लभोभा बेलोभाविरुद्ध पनि सोही आरोपमा पक्राउ पुर्जी जारी गरेको बताएको छ । आईसीसी सदस्य देशका सरकारको सहयोग बिना संदिग्धहरूलाई पक्राउ गर्ने अधिकार अदालतलाई नभएकाले पुष्टिन र मारिया पक्राउ पर्ने सम्भावना अति कम छ ।
मस्कोले आईसीसीका आदेशलाई अर्थहीन भन्दै खारेज गरेको छ । साथै मस्कोले आरोप अस्वीकार गर्दै पक्राउ पुर्जी जारी हुनुलाई अपमानजनक भनेर त्यसको निन्दा गरेको छ । रुसी नेता पुटिन आईसीसीले पक्राउ पुर्जी जारी गरेका तेस्रो बहालवाला राष्ट्रपति भएका छन् ।
रुस आईसीसीको पक्ष राष्ट्र नभएकाले राष्ट्रपति पुटिन पक्राउ पर्ने सम्भावना छैन । अर्थात् द हेगमा रहेको उक्त अदालतको आदेश त्यहाँ कार्यान्वयन हुने कुनै आधार पनि छैन । यद्यपि त्यसले राष्ट्रपति पुटिनको अन्तर्राष्ट्रिय यात्रामा असर पर्नसक्छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्यता लिएका विश्वका एक सय २३ सदस्य राष्ट्रमध्ये कुनैमा उनले पाइला राखेमा उनलाई पक्राउ गर्न सकिनेछ । आईसीसीका अध्यक्ष पिओटर होफमान्स्कीले पक्राउ आदेश कार्यान्वयन अन्तर्राष्ट्रिय सहयोगमा निर्भर हुने बताएका छन् ।
युद्धग्रस्त युक्रेनले राष्ट्रपति पुटिनविरुद्ध आईसीसीले पक्राउ पुर्जी जारी गरेकामा त्यसको स्वागत गरेको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अदालतको कदमलार्य ऐतिहासिक निर्णय भन्दै स्वागत गरेका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको आगामी साता हुने मस्को भ्रमण तथा रुसलाई चीनले सैन्य सहायता गर्ने समाचार सार्वजनिक भइरहेका बेला जारी भएको आईसीसीको आदेशले अन्तर्राष्ट्रिय जगत्मा तरंग पैदा गरेको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफ्ना रुसी समकक्षी पुटिनविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जी जारी गरेकामा त्यसको स्वागत गरेका गरेका छन् । राष्ट्रपति पुटिनले युक्रेनमा युद्ध अपराध गरेको ठहर गर्दै पक्राउ पुर्जी जारी गर्नुलाई अमेरिकी राष्ट्रपति ‘न्यायसंगत’ भनेका छन् । अमेरिका पनि आईसीसीको पक्ष राष्ट्र होइन । राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट आफ्नो डेलावरस्थित निजी निवासतर्फ प्रस्थान गर्नुअघि उनले रुसी राष्ट्रपति पुटिनले ‘स्पष्ट रूपमा युद्ध अपराध गरेको’ पत्रकारहरूलाई बताए ।
गत महिना जर्मनीको म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा उपराष्ट्रपति कमला ह्यारिसले युक्रेनमा रुसले मानवताविरुद्धको अपराध गरेको आरोप लगाउँदै उसलाई दण्ड दिनुपर्ने बताएका थिए । रुसी सेनाले गैरसैनिक क्षेत्रमा गरेको आक्रमण आलोचना गर्दै उनले हत्या, यातना, बलात्कार र निर्वासन जस्ता घृणित कार्य भएकामा रुसको निन्दा गरेका थिए ।
त्यसअघि पनि बाइडेन प्रशासनले युक्रेनमा मस्कोले युद्ध अपराध गरेका प्रमाण आफूसँग रहेको जनाउँदै मस्कोविरुद्ध अन्तर्राष्ट्रिय समुदायले आवाज उठाउनुपर्नेमा जोड दिँदै आएको थियो ।
एजेन्सी : सी जिनपिङ तेस्रो पाँच वर्षे कार्यकालका लागि चीनको राष्ट्रपति चयन भएका छन् ।
आज चीनको नेशनल पिपुल्स कंग्रेसले ६९ वर्षीय सीलाई तेस्रो कार्यकालको राष्ट्रपतिमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
तेस्रोपटक राष्ट्रपति चयन भएसँगै सीले माओ त्से तुङपछि देशको सबैभन्दा शक्तिशाली नेताको रूपमा आफ्नो पकड बलियो बनाएका छन् ।
संसदले ६६ वर्षीय झाओ लेजीलाई संसदको नयाँ अध्यक्ष र ६८ वर्षीय हान झेङलाई नयाँ उपराष्ट्रपतिमा पनि निर्वाचित गरेको छ ।
बैठकले एनपीसी स्थायी समितिका १४ जना उपाध्यक्षसमेत चयन गरेको छ ।
एनपीसीले प्रधानमन्त्रीसहित बाँकी राज्य परिषद्का सदस्यहरु तथा अन्य सरकारी उच्च अधिकारीहरु पनि निर्वाचित गर्नेछ ।
केही दिनमा सी ले लामो समयसम्म सिको नजिक भएर काम गरेका लि छियाङ नयाँ प्रधानमन्त्री र तिङ स्वाइसियाङ कार्यकारी उपप्रधानमन्त्रीमा चयन गर्ने बताइएको छ ।
एनपीसीको बैठकले राज्य परिषद्का अंग तथा संस्थाहरुको सुधार सम्बन्धी योजनालाईसमेत पारित गरेको छ ।
नयाँ कार्यकालमा सीले तीन वर्षको कोरोना कहर र पश्चिमसँग बिग्रिएको सम्बन्धको कारण अर्थतन्त्रमा आएको अवरोध हटाउनुपर्ने चुनौती छ ।
यस्तै अमेरिकासँगको सम्बन्ध र युक्रेन रसिया युद्धमा चीनको भूमिकालाई उनले कसरी लग्छन् भन्ने पनि चासोका साथ हेरिएको छ ।
सन् २०१८ मा राष्ट्रपतिको कार्यकाल सीमा हटाएपछि सीलाई अर्को कार्यकाल राष्ट्रपति बन्ने वाटो खुला गरिएको थियो ।
उनी गत अक्टोबरमासत्तारूढ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको महासचिव निर्वाचित भएका थिए ।
एजेन्सी : जर्मनीको ह्याम्बर्गमा रहेको एउटा चर्चमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा छ जनाको मृत्यु भएको छ । गोलीकाण्डमा परी थुप्रै घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीले केही घाइतेहरूलाई अस्पताल लगिएको बताएको छ । घाइतेहरूको संख्या र उनीहरूको अवस्थाबारे विवरण सार्वजनिक भएका छैनन् ।
इसाई धर्माबलम्बीको कार्यक्रम चलिरहेको ‘जहोभस विटनेस बैठक हल’मा बन्दुक आक्रमण भएको हो । अहिलेसम्म आक्रमणकारीको पहिचान भएको छैन भने आक्रमणको उद्देश्य पनि खुलेको छैन ।
ज्यान गुमाउनेमा आक्रमणकारी पनि हुनसक्ने अनुमान गरिएको छ । ह्याम्बर्गकै अर्को स्थान ग्रस ब्रोस्टलमा भएको गोली प्रहारमा पनि केही मानिसहरू घाइते भएका छन् ।
प्रहरीले स्थानीय क्षेत्रमा मानिसहरूलाई प्रहरी कारबाही नसकिएसम्म घरबाट बाहिर ननिस्किन भनेको छ ।
ह्याम्बर्गका आन्तरिक मामिला मन्त्री एन्डी ग्रोटले प्रहरीको विशेष फौज र ठूलो संख्यामा अधिकारीहरू घटनास्थलमा परिचालन गरिएको बताएका छन् ।
प्रहरीले सर्वसाधारणलाई घटनाको अनुमानबारे सार्वजनिक अभिव्यक्ति नदिन र हल्ला नफैलाउन अपिल गरेको छ । जहोभस विटनेस’ इसाई धार्मिक अभियानकर्मीहरू हुन् ।
न्यूयोर्कमा मुख्यालय रहेको यो अभियानको स्थापना १९औँ शताब्दीको अन्त्यतिर अमेरिकामा भएको थियो ।
एजेन्सी : बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी भएको छ । कक्स बजारमा रहेको ११ नम्बर शरणार्थी शिविरमा आगलागीबाट कम्तीमा २ हजार घर टहरा जलेर नष्ट भएका छन् ।
आगलागीबाट हजारौं शरणार्थी बासविहीन बनेका छन् । ३५ वटा अस्थायी मस्जिद र १२ वटा प्रारम्भिक सिकाई केन्द्रहरु पनि जलेर नष्ट भएको बताइएको छ ।
बंगलादेशको दक्षिण पूर्वमा रहेको यो शिविरमा लागेको आगलागीका कारण १२ हजार मानिस घरबारविहीन भएका छन् ।
अधिकारीहरुका अनुसार कक्स बजारमा लागेको आगो नियन्त्रणमा आएको छ र ठूलो क्षतिको अनुमान गरिएको छ । आगलागीको यो घटनामा कुनै मानवीय क्षति भएको खबर छैन । आगलागीको कारण पनि खुल्न सकेको छैन ।
गत वर्ष जनवरीमा उखिया शरणार्थी शिविरमा भएको आगलागीमा ६ सय घर जलेर नष्ट भएका थिए । गत वर्ष मार्चमा भएको अर्को आगलागीमा करिब १० हजार आश्रयस्थल जलेर १५ जनाको मृत्यु भएको थियो ।
सन् २०१७ मा म्यानमारमा भएको सैनिक कारबाहीपछि भागेका करिब १० लाख रोहिंग्या शरणार्थीहरू बंगलादेशको शिविरमा बस्दै आएका छन् ।
एजेन्सी : ग्रीसमा दुईवटा रेल ठोक्किँदा कम्तिमा २९ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ८५ जना यात्रु घाइते भएका छन् । मध्य ग्रीसको टेम्पे सहर नजिक यात्रुबाहक र मालबाहक दुईवटा रेल एकआपसमा ठोक्किएका हुन् ।
यात्रुबाहक रेल एथेन्सबाट उत्तरी सहर थेस्सालोनिकी जाँदै गरेको तथा मालबाहक रेल थेस्सालोनिकीबाट लारिसाका लागि छुटेको थियो । दुर्घटनामा रेलका डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो ।
आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरुको टोली खटिएका थिए । दुई वटा रेल आपसमा ठोक्किनुको कारण खुल्न नसकेको बताइएको छ ।
एजेन्सी : रुसले युक्रेनमा आक्रमण गरेको आज एक वर्ष पुगेको छ । गत वर्ष फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेर युद्धको शुरुवात गरेको थियो ।
आक्रमणको वर्ष दिन पुगेको अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हतियार उत्पादन बढाउने बताएका छन् । राष्ट्रपति पुटिनले राष्ट्रिय सेनाबाटै राष्ट्रको स्थायित्व, विकास र भविष्य सुनिश्चित हुने बताएका छन् ।
एक वर्षको अवधिमा दुवैतर्फ गरी हजारौं सैनिक मारिएका छन् भने हजारौं सैनिक घाइते भएका छन् । युक्रेनबाट आधा भन्दा बढी मानिस देश छाडेर विभिन्न देशमा पुगेका छन् ।
युद्धका कारण अहिलेसम्म ८ हजार गैरसैनिक व्यक्तिहरू मारिएको तथ्यांक छ । १३ हजार बढी घाइते भएको तथ्यांक राष्ट्रसंघीय मानवअधिकार आयोगको छ ।
युद्धका शुरूवाती दिनहरूमा युक्रेनको राजधानी किएभसम्मै पुगेको रुसी सैनिक अहिले दक्षिणपूर्वी युक्रेनको डोनबास क्षेत्रमा केन्द्रित छ । डोनबास क्षेत्रलाई स्वतन्त्र घोषणा गरेको रुस त्यहाँबाट पछि नहट्ने पक्षमा छ ।
युक्रेनले आफ्नो भूमि फिर्ता लिने भन्दै प्रति आक्रमण जारी राखेको छ । तत्काल रुस–युक्रेन युद्ध अन्त्य हुने देखिएको छैन ।
राष्ट्रसंघीय साधारणसभाले रुसलाई युद्ध अन्त्य गर्न आह्वान गरेको छ । बिहीबार बसेको राष्ट्रसंघको साधारणसभाले अत्यधिक बहुमतसहित रुसलाई युद्ध अन्त्य गर्न आह्वान गर्दै प्रस्ताव पारित गरेको हो ।
प्रस्तावको पक्षमा १४० देशले मतदान गरेका थिए भने ३२ वटा देशले मतदानमा भाग लिएनन् । रुससहित सात वटा देशले भने प्रस्तावको विपक्षमा मतदान गरेका छन् ।
काठमाडौं : सात दशमलब आठ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको दुई सातपछि टर्कीमा पुनः शक्तिशाली भूकम्प गएको छ ।
दक्षिणी टर्कीको हतय प्रान्तलाई केन्द्रविन्दु बनाएर राति आठ बजेर ४४ मिनेटमा छ दशमलब तीन म्याग्निच्युडको भूकम्प गएको हो ।
भुकम्पमा परेर कम्तीमा तीन जनाको मृत्यु भएको छ । भूकम्पमा परी ६ सय ८० भन्दा बढी घाइते भएका छन् । भूकम्पको धक्का सिरियामा पनि महसुस गरिएको छ ।
भूकम्पपछि दर्जनौं पराकम्पनहरू गइरहेको त्यहाँका अधिकारीले जनाएका छन् । भूकम्प गएको हतय प्रान्त सिरियाको नजिकै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले उल्लेख गरेका छन् ।
सोमबारको भूकम्पमा परी मृत्यु हुनेहरु अन्टाक्या, दाफ्ने र समन्दगीका बासिन्दा छन् ।
भुकम्पपछि सरकारले जोखिमयुक्त भवनबाट बाहिर निस्कन सर्वसाधारणलाई अपिल गरेको छ ।
यसअघि गत फागुन ६ गते गएको भूकम्पमा ४४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए। राहत कार्यकर्ताहरू अझै पनि स्थिति सामान्यमा ल्याउन प्रयासरत छन् ।
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेन अचानक युक्रेनको राजधानी किएभ पुगेका छन् । बाइडेन सोमबार युक्रेनसँग जोडिएको पोल्याण्डको सीमाबाट रेल चढेर किएभ पुगेका हुन् । सुरक्षाका कारण उनको भ्रमण गोप्य राखिएको थियो ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अधिकारीहरूले यसअघि राष्ट्रपति बाइडेन एउटा कार्यक्रमका लागि वार्सा पुग्ने जानकारी मात्रै दिएको थियो । तर निर्धारित योजनाभन्दा पहिला नै पोल्याण्ड पुगेका बाइडेन रेल चढेर किएभ गएका हुन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो टेलिग्राम खातामा बाइडेनसँग हात मिलाउँदै गरेको तस्बिर सार्वजनिक गरेका छन् । ‘जोसेफ बाइडेन, (तपाईंलाई) किएभमा स्वागत छ, तपाईंको भ्रमण सबै युक्रेनीहरूको लागि समर्थनको अत्यन्त महत्वपूर्ण संकेत हो,’ उनले लेखेका छन् ।
अमेरिकी राष्ट्रपति बाइडनले आफ्नो किएभ भ्रमणले युक्रेनको लोकतन्त्र, सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रतिको हाम्रो अटल प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने बताएका छन् । एक वर्षअघि युक्रेनमाथि आक्रमण गर्दा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सजिलै युद्ध जित्ने सोचे पनि त्यस्तो हुन नसकेको बाइडेनको भनाइ छ ।
‘एक वर्षअघि रुसले आक्रमण शुरु गर्दा पुटिनले युक्रेन कमजोर रहेको र पश्चिमा राष्ट्रहरू विभाजित रहेको ठानेका थिए । उनले हामीलाई परास्त गर्न सकिने ठानेका थिए । तर उनी पूर्ण रूपमा गलत थिए,’ बाइडनले भने । विज्ञप्तिमा रुसमाथि थप प्रतिबन्धहरू लगाइने समेत उल्लेख गरिएको छ ।
रूसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुग्न लाग्दा बाइडेनले किएभमा गरेको भ्रमणलाई अर्थपुर्ण रुपमा हेरिएको छ । गत वर्ष फेब्रुअरी २६ मा रूसले युक्रेनमाथि आक्रमण शुरु गरेको थियो । रुसविरुद्ध लड्न युक्रेनलाई अमेरिका, बेलायतलगायत पश्चिमा र नेटो राष्ट्रले सैन्य तालिम र सामग्री दिँदै आएका छन् ।
काठमाडौं : आइतबारसम्मको विवरणअनुसार अमेरिकामा बन्दुकजन्य हिंसामा यो वर्ष पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको विवरणमा उक्त संख्या उल्लेख गरिएको छ ।
आज टेनेसीको मेम्फिसमा भएको गोली काण्डमा एक जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् । मेम्फिस प्रहरीका अनुसार गोलीकाण्ड गए राति एउटा नाइट क्लब र त्यसको आसपासको क्षेत्रमा भएको थियो ।
गोलीकाण्डको विवरण सार्वजनिक गरिएको छैन भने आक्रमणकारीका बारेमा पनि केही खुलाइएको छैन । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गत शुक्रबार मिसिसिपीको एउटा ग्रामीण क्षेत्रमा गोली हानाहान हुँदा छ जनाको ज्यान गएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies