तिलोचन गौतम/मध्यान्ह
मलेसिया : वैदेशिक रोजगारीका लागि ९ वर्ष अघि मलेसिया पुगेका गोरखा आरुघाट गाउँपालिका वडा नं.५, जलफुङ्का अमर गुरुङलाई तमु समाज मलेसियाले उद्वार गरी स्वदेश फर्काएको छ । अवैधानिक हैसियतमा मलेसियामा कार्यरत रहेका गुरुङ सडक दुर्घटनामा परी घाइते भएका थिए ।
उपचाररत अवस्थामा रहेको गुरुङको थप उपचारको लागि तमु समाज मलेसियाले सहयोग गरी हिमालयन एयरमार्फत स्वदेश फिर्ता गराएको हो । नेपाली राजदूतावास मलेसियाले गुरुङलाई ट्राभल डकुमेन्ट उपलब्ध गराएर सहयोग गरेको थियो ।
मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् । गत २८ चैत २०८० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गैरकानुनी रुपमा पाँच करोड ३३ लाख ५३ हजार एक सय ७९ रुपैयाँ सम्पत्ति आर्जन गरेको थापामाथि अख्तियारको दाबी छ ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार जनप्रतिनिधिविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा परेको यो पछिल्लो उदाहरण हो । अख्तियार कार्यालयका अनुसार भ्रष्टाचारमा मुछिने जनप्रतिनिधिहरुको संख्या ठूलो छ । पछिल्लो चार वर्षमा पाँच सय भन्दा बढी जनप्रतिनिधिविरुद्ध मुद्दा विशेष अदालतमा पुगेको छ ।
अख्तियारको तथ्यांकअनुसार पछिल्लो चार वर्षमा भ्रष्टाचारको आरोपमा ४६९ जनप्रतिनिधिविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ७०, २०७७/०७८ मा २२, २०७८/०७९ मा १५१ र २०७९/८० मा २२६ जना जनप्रतिनिधि भ्रष्टाचारका अभियुक्त बनेका छन् । यो तथ्याङ्क २०८० साल भदौ मसान्तसम्मको हो । त्यस यता अदालतमा मुद्दा पुगेकाहरुका विवरण समावेश गर्दा पाँच सय नाघ्ने अख्तियारका अधिकारीहरु बताउँछन् ।
अख्तियारका प्रवक्ता घिमिरेका अनुसार २०८० सालको विवरण सार्वजनिक गर्ने तयारी छ । त्यसपछि यकिन तथ्यांक आउनेछ । अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार जनप्रतिनिधि भ्रष्टाचारमा संलग्न रहेको प्रमाण जुटाउनै मुस्किल छ । प्रमाण जुटेकाहरुको सन्दर्भमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्ने गरेको छ ।
जनप्रतिनिधिहरुले भ्रष्टाचार गरेको रकम आमाबुबा, श्रीमती, दाजु, भाइ, सासुससुरा वा नजिकका आफन्तको नाममा राख्ने गर्छन् । आफन्तकै नामबाट घरजग्गा खरीद गर्ने, विभिन्न कम्पनीमा गरेको लगानी गर्ने, शेयर खरीद गर्ने, जीवन बीमा प्रिमियम भुक्तानी लगायतमा राख्ने गरेको अनुसन्धान अधिकृतहरु बताउँछन् । यस्तो हुने भएकाले अनुसन्धानमा प्रमाण जुटाउन अनुसन्धान अधिकृतहरुलाई सकस पर्ने गरेको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अख्तियारमा भ्रष्टाचार सम्बन्धी सबैभन्दा बढी उजुरी स्थानीय तहसँग सम्बन्धित रहने गरेका छन् । त्यसमा जनप्रतिनिधिको संख्या पनि ठूलो रहेको छ ।
अख्तियारको पछिल्लो वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘आयोगमा परेका संघ, प्रदेश र स्थानीय तह मातहतका सार्वजनिक निकायहरुका उजुरीहरुलाई तहगत आधारमा विश्लेषण गर्दा उजुरीको झण्डै आधा हिस्सा स्थानीय तहसम्बद्ध निकायहरुका विरुद्ध परेको देखिन्छ ।’
संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक निकायहरुमा अलग–अलग रुपमा प्रदेशगत उजुरीलाई विश्लेषण गर्दा प्रत्येक प्रदेशमा स्थानीय तहका निकायविरुद्ध बढी उजुरी पर्ने गरेको छ ।
सन्तोष पौडेल/मध्यान्ह
बर्दिया : बर्दियाको राजापुर नगरपालिका वडा नं. ५ को कौवा बजारमा बाल विवाह, लागुपदार्थ दुव्र्यसन तथा लैंगिक हिंसाविरुद्धको जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।
प्लान नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित ‘सशक्त बालिका परियोजना’ अन्तर्गत राधाकृष्ण थारु जनसेवा केन्द्रले बुधबार सडक नाटक प्रदर्शन गरेको हो ।
समुदायमा हुने बाल विवाहबाट उत्पन्न हुने समस्या तथा लागुपदार्थ दुर्व्यसन तथा लैंगिक हिंसाका घटनाका बारेमा समुदायलाई सचेतीकरण गर्ने उद्देश्यले नाटक प्रदर्शन गरिएको राधाकृष्ण थारु जनसेवा केन्द्रकी फिल्ड सुपरभाइजर दिक्षा विष्टले बताइन् ।
बालविवाह भइसकेपछि आउने समस्या तथा लैंगिक हिंसा के कसरी हुन्छ र यसलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने बारेमा नाटकको माध्यमबाट सन्देश दिन खोजिएको थियो ।
बालविवाहको कारण बालक तथा बालिकाको शिक्षा, स्वास्थ्य र उनीहरूको जीवन तथा परिवारमा पर्न सक्ने असर एवम् बालविवाहको कारण बालबालिकाको आर्थिक, शैक्षिक र स्वास्थ्य सम्बन्धी दीर्घकालिन समस्याका वारेमा जानकारी गराइ त्यसलाई रोकथाम गर्न समुदायलाई नै उत्प्रेरित गर्न नाटक प्रदर्शन गरिएको थियो ।
बालविवाह बढी हुने अर्थात् बालबालिका सम्बन्धी घटना बढी आउने समुदाय छनौट गरेर नाटक प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।
सडक नाटक प्रदर्शनले स्थानीयवासी र सरोकारवाला निकायहरूलाई जिम्मेवार र सचेत बनाउन ध्यानाकर्षण गरेको राजापुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ५ का वडा अध्यक्ष रमेश दहितले बताए ।
सडक नाटकमा स्थानीय जनप्रतिनिधि, समाजका बुद्धिजीवि,राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : जनता समाजवादी पार्टी नेपाल रौतहटका अध्यक्ष श्याम विहारी यादवले आफ्नै व्यक्तिगत लगानीमा लाखौंको टावर लाइट जडान गरेका छन् ।
जसपाका जिल्ला अध्यक्ष यादवको व्यक्तिगत लगानीमा जिल्लाको माधवनारायण नगरपालिका–३ भेल्ही बजारमा सुविधा सम्पन्न अत्याधुनिक टावर लाइट बुधबारदेखि सञ्चालनमा आएको छ ।
माधवनारायण नगरपालिकाका पूर्व नगर प्रमुख विरेन्द्र प्रसाद यादवले उक्त टावर लाइटको स्वीच थिचेर बुधबार उद्घाटन गरेका छन् ।
भेल्ही बजारमा टावर लाइट नहुँदा रातिको समयमा सर्वसाधारण जनतालाई हिँड्डुल गर्न समस्या भइरहेकोे भनी व्यापक गुनासो आएपछि अध्यक्ष यादवले आफ्नै व्यक्तिगत लाखौंको लागतमा उक्त टावर लाइट जडान गरी सञ्चालनमा ल्याएका हुन् ।
टावरबत्तीको अभावमा आम नागरिकलाई रातिको समयमा हिँड्डुल गर्न समस्या नहोस् र चोरी तथा आपराधिक क्रियाकलाप रोक्ने वा नियन्त्रण गर्ने उद्देश्यले लाइट जडान गरी सञ्चालन गरेको जिल्ला अध्यक्ष यादवले बताए ।
टावर लाइट सञ्चालनमा आएपछि भेल्ही बजार अब उज्यालोमय बनेको छ भने स्थानीयबासीन्दाहरु निकै हर्षित भएका छन् ।
रौतहट क्षेत्र नं १ का सांसदहरुले टावर लाइट जडान गर्न नसकेको अवस्थामा आफ्नै लगानीमा टावर लाइट सञ्चालन गरी सराहनीय काम गरेको भन्दै स्थानीयहरुले जसपा जिल्ला अध्यक्ष यादवको प्रशंसा गर्न थालेका छन् ।
सो अवसरमा जसपाका वडा अध्यक्ष प्रत्याशी रामबहादुर यादव, नेता शम्भु यादव, बिगनेश पसवान, तपसि यादव, उमाशंकर साह र भेल्हि मेला समितिका अध्यक्ष विरेन्द्र साह लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
बाँके : नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ फुलटेक्रास्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका सचिव प्रदीप शाहद्वारा सञ्चालित कार्यक्रममा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका अध्यक्ष बिमल कुमार टण्डनको अध्यक्षता, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि बिष्टले १४ औं वार्षिकोत्सव र नयाँ वर्ष २०८१ सालको सबैलाई शुभकामना दिँदै हस्पिटललाई उपमहानगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।
साथै यस हस्पिटलको गुणस्तरीय सेवाले नेपाल र भारतमा नेपालगन्जको पहिचान बढेको भन्दै अझै गुणस्तरीय सेवा दिन आग्रह गरे ।
कार्यक्रममा भेरी अस्पताल नेपालगञ्जका अध्यक्ष वीरेन्द्रबहादुर शाह, गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष चन्द्र प्रकाश तिमिल्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा कार्यसमितिका सदस्य अभिनाष चौधरीले स्वागत मन्तव्य राखेका थिए । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका प्रबन्धक चेत नारायण चौधरीले नेपाल सरकारमा वि.सं.२०६६ सालमा दर्ता भएकोे पहिलो संस्था ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा रहेको भन्दै यस हस्पिटलमा २६ जना कर्मचारी कार्यरत रहेको जानकारी गराए । कार्यक्रममा यस क्षेत्रमा आजको समयमा सबैभन्दा बढी ९९ औं पटक रक्तदान गर्नु हुने सञ्चारकर्मी तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाललाई प्रमुख अतिथि प्रशान्त बिष्ट, हस्पिटलका अध्यक्ष बिमल कुमार टण्डन, बिशिष्ट अतिथि चन्द्र प्रकाश तिमिल्सिनाले खादा ओढाएर सम्मान गरेका थिए ।
प्रबन्धक चौधरीले गत आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन बिरामी दर्ता ३२०२८ जना जसमध्ये ९ हजार ९ सय १८ जनाको कान पाक्ने रोग भेटिएका थिए । ७ सय ७४ जनाको कानको अप्रेशन, ४ हजार २ सय ६८ जनाले प्याथालोजी सेवाबाट लाभान्वित भएका थिए । २०६६/०६७ देखि आ.व.२०७९/०८० सम्म २,४८९८२ जना कानका बिरामीहरु लाभान्वित भएको बताएका छन् ।
यस संस्थाले कान सम्बन्धी सबै रोगको परीक्षण र औषधि उपचार वाक्स,फारेन बोदि रिमुभ अप्रेशनहरुमा एम.प्लाष्टि, टि.प्लाष्टि, एम.आर.एम, आर.एम.,तथा कानको सुनाईको जाँच, कान सुन्ने मेसिनहरुको जडान जस्ता सम्पूर्ण सेवाहरु, बिरामीहरुलाई अझ व्यवस्थित र सहुलियत दरमा सेवा प्रदान गर्नको लागि आफ्नै प्याथोलोजिक सेवा सञ्चालनमा रहेको छ ।
बिरामीहरुलाई थप गुणस्तरीय कान उपचार सेवा दिन र बिरामीहरुको सुरक्षालाई ध्यानमा राखी प्याथोलोजी विभागमा थप परिक्षणहरु समेत शुरु गरिएको छ । बिरामीहरुलाई सहुलियत दरमा गुणस्तरीय र भरपर्दो औषधि उपलब्ध गराउन संस्थाले औषधि पसल सञ्चालन गरेको छ ।
पवन जायसवाल/मध्यान्ह
बाँके : बाँकेको साहू समाज समिति जिल्ला कार्य समिति र साहू समाज युवा समिति नेपालगन्जद्वारा वैशाख ५ गते बुद्धवार श्रीराम नवमी (श्रीराम जन्मोत्सव) को उपलक्ष्यमा प्रसाद बितरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपालगन्ज उप–महानगरपालिका वडा नंं ५ स्थित साहू समाज समितिद्वारा निर्मित श्रीराधा कृष्ण मन्दिर एवं धर्मशालामा रहेको साहू समाज समिति जिल्ला कार्य समिति र साहु समाज युवा समितिको संयुक्त आयोजनामा नेपालगञ्जको मुख्य चौकको रुपमा रहेको त्रिभुवन चौकमा श्रीराम नवमी (श्रीराम जन्मोत्सव) को उपलक्ष्यमा नेपालगञ्को प्रसिद्ध मन्दिर माता बागेश्वरीको दर्शन गर्न र राम नवमी मेला हेर्न आउने नेपाल र भारतको विभिन्न स्थानबाट आउने दर्शकहरुका लागी प्रसाद बितरण गरिएको थियो ।
उक्त कार्यक्रममा साहू समाज जिल्ला कार्य समितिका अध्यक्ष हंशराम साहू, युवा समितिका अध्यक्ष राम किसुन साहू , समाजका सचिव बाबुराम साहू , हरिष गुप्ता (साहु), राम नरेश तेली, प्रहलाद साहू (पे्रमलाल), मोतीलाल साहु, बृजलाल साहु, सह सचिव प्रदीप शाह, कानूनी सल्लाहकार रामनाथ साहू, पिन्टू साहू, दिनेश साहू, राजकुमार साहू, कन्धईलाल साहू, नीरज कुमार साहू, रामसनेही साहरु, राम नरेश साहू, मूलचन्द साहू, शिव प्रसाद साहू, बिक्रम कुमार साहू, राजु साहू सन्तोष साहू लगायतको सक्रियता प्रसाद बितरण कार्यक्रम सम्पन्न भएको छ ।
यसरी रानीतलाव नजीक रहेको मन्दिर, त्रिवेणी चौक स्थित मन्दिर, लगायत विभिन्न ठाउँमा दर्शकहरुका लागी प्रसाद बितरण कार्यक्रम गरिएको छ ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लाको सिमकोट गाउँपालिकाले कार्यालय सहयोगीहरु धेरै भएको भन्दै हटाउने निर्णय गरेको छ । सिमकोट गाउँपालिका भरी ३२ जना कार्यालय सहयोगीहरु छन् । त्यसमध्ये २४ जना करारका र ८ जना स्थायी दरबन्दी कार्यालय सहयोगी छन् ।
ठूलो संख्यामा गाउँपालिकाले कार्यालय सहयोगी भर्ना गरेको हुँदा जेठ महिनासम्म सबै करार कार्यालय सहयोगी हटाउने र न्यून संख्यामा कार्यालय सहयोगी राख्ने निर्णय गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले जानकारी दिए ।
यसले गर्दा आर्थिक भार गाउँपालिकाले भोग्दै आएको र काम भन्दा बढी कार्यालय सहयोगी भएकाले हटाउन खोजिएको प्रमुख प्रशासकीय अधिकृत आलेको भनाइ छ । गाउँपालिकामा भएका करार कार्यालय सहयोगीलाई यसभन्दा अगाडिका वर्ष प्रति महिना २२ हजार पाँच सय रुपैयाँ तलब दिँदै आएको भएपनि आफू यस गाउँपालिकामा आएदेखि ५ हजार घटाएर १७ हजार पाँच सय रुपैयाँ प्रतिमहिना दिँदै आएको आलेले बताए ।
२४ जना करार कार्यालय सहयोगीलाई यसभन्दा अगाडिका वर्षमा प्रति महिना ५ लाख ४० हजार गाउँपालिकाबाट भुक्तानी हुन्थ्यो, तर अहिले ४ लाख २० हजार भुक्तानी हुन्छ । घटाएर दिँदा १ लाख २० हजार बच्ने हुँदा त्यो रकम गाउँपालिकाको काममा खर्च गरिने उनले बताए । घटाएर तलब दिँदा पनि आर्थिक भार हुने र अनावश्यक कर्मचारी बढी हुने हुँदा जेठ महिनासम्म करारका कार्यालय सहयोगीहरु मात्र राख्ने र त्यसपछि हटाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
काठमाडौं : मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक मदनकुमार श्रेष्ठले आफ्नो जन्मदिन वृक्षारोपण गरेर मनाएका छन् । आफ्नो जन्मदिनका अवसरमा सामाजिक कार्य गर्दै आएका सम्पादक श्रेष्ठले यसपटक वैशाख ५ गते बुधबार तराई विकास तथा सञ्चार केन्द्र नेपाल काठमाडौंको संयोजनमा राजधानीको तीनकुनेमा एबोगाडोको बिरुवा रोपेर जन्म दिन मनाएका हुन् ।
सो अवसरमा संक्षिप्त मन्तव्य राख्दै सम्पादक श्रेष्ठले प्रकृति संरक्षणका लागि वृक्षारोपण कार्य महत्वपूर्ण रहेको बताए । सम्पादक श्रेष्ठले बढ्दो शहरीकरणले हरियाली पक्ष जोखिममा परेको अवस्थामा ‘जन्मदिनलाई सत्कर्ममा जोडौं, वृक्षारोपण गरौं’भन्ने अभियान चलाउँदै आएको तराई विकास तथा सञ्चार केन्द्र नेपाल काठमाडौंका अध्यक्ष तथा नेपाल पत्रक्रार महासंघका सचिव गोविन्द चौलागाईंलाई धन्यवाद दिँदै आभार व्यक्त गरे ।
सो अवसरमा संक्षिप्त मन्तव्य राख्दै राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्वराज राईले वन जंगल विनास हुँदै जाँदा जलवायु परिवर्तनले पर्यावरणमा गहिरो असर गरेको अवस्थामा वरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले जन्मदिनको अवसरमा वृक्षारोपण गरेर अनुकरणीय कार्य गरेको बताए ।
यस्तै केन्द्रका अध्यक्ष चौलागाईंले जन्मदिनको अवसरमा विभिन्न खालका भड्किला कार्यक्रम गरेर साधन र स्रोतको फजुल खर्च गर्ने बढ्दो परिवेशमा सम्पादक श्रेष्ठले वृक्षारोपण गरेर पर्यावरण संरक्षणमा योगदान दिएको बताए ।
उनले सञ्चारकर्मी तथा नागरिक अभियानमा लागि परेका व्यक्तित्वहरूले आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण, वृद्ववृद्वा तथा आश्रयविहीन बालबालिकाको शिक्षा दीक्षाका लागि योगदान गर्ने संस्कृतिको शुरूवात गर्नुपर्ने धारणा राखे ।
त्यस अवसरमा मध्यान्ह दैनिककी प्रकाशक सितादेवी श्रेष्ठले पनि वृक्षारोपण गरेकी थिइन् । सो अवसरमा केन्द्रका पदाधिकारीहरू उदय मास्के, एलिजा लामिछाने, पत्रकार महासंघ काठमाडौंकी पूर्व उपाध्यक्ष सीता पोख्रेल, हिमान्सु मिश्र, सुदान्सु मिश्र, मनोज थापा, मध्यान्ह दैनिकका उपसम्पादक मुकुन्द लामिछाने, अर्थ विभाग प्रमुख सागर तिमिल्सिना, वैदेशिक रोजगार विट प्रमुख रेशमराज पौडेल, उपत्यका संवाददाता लक्ष्मी खरेललगायत केन्द्रका वृक्षारोपण अभियन्ताहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं : हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेर छुटेका लीलाबहादुर गुरुङ फेरि पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रिहा गरेपनि सहकारीको रकम हिनामिना प्रकरणमा उनलाई जिल्ला प्रहरी परिसर ललितपुरले फेरि पक्राउ परेको हो ।
उनीविरुद्ध मंगलबार नै जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्यादसमेत लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
यसअघि काठमाडौंस्थित नयाँ कृषि सहकारीको रकम हिनामिना प्रकरणमा सीआईबीबाट पक्राउ परेका उनीहरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको थियो ।
नयाँ कृषि सहकारीको उपाध्यक्ष रहेका गुरुङ उपकार सहकारीको पनि उपाध्यक्ष रहेको बताइएको छ ।
विराटनगर : विराटनगर–१५ स्थित रानी क्षेत्र दुई समूहबीच विवाद भएपछि तनावग्रस्त बनेको छ । एक समूहले निकालेको र्यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेको थियो ।
रामनवमीको अवसरमा विश्व हिन्दु परिषद नेपाल युवा विभागले निकालेको र्यालीमा सहभागी केही युवा र मुस्लिम समुदायको युवाहरुबीच झडप भएको छ ।
दुवै पक्षका युवाहरुले एकअर्को बीच ढुंगामुढासमेत प्रहार गरेका छन् । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको छ । केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास पनि प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बल प्रयोग गरेपछि दुवै समूह तितरबितर भएको र अहिले अवस्था सामान्य हुँदै गएको प्रहरीले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies