काठमाडौं : नेपाल प्रहरीको प्रहरी कल्याण कोषद्वारा सञ्चालित नेपाल प्रहरी विद्यालय सामाखुसीको २२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी विद्यालय परिसरमा मनाइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलको प्रमुख आतिथ्यमा आयोजित वार्षिकोत्सव कार्यक्रममा डिआइजी पोखरेलले विद्यालयलको मुखपत्र ‘दिप्तिका स्मारिका २०७६’ को विमोचन पनि गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै डिआइजी पोखरेलले पछिल्लो समयमा अभिभावकहरुले आफ्ना छोराछोरीलाई समयमै उचित ध्यान दिन नसकेका कारण उनीहरु गलत बाटोमा हिँड्ने गरेको बताए ।
अभिभावकहरु आफ्ना केटाकेटीलाई भौतिक सुविधा दिँदा दंग पर्छन्, तर नैतिक शिक्षा दिन चुकेको उल्लेख गर्दै डिआइजी पोखरेलले भौतिक सुविधाले केहीक्षण खुसी दिएपनि दीर्घकालमा भने केटाकेटी विग्रिरहेको तथ्य औँल्याए ।
‘आफ्ना छोराछोरीलाई सही मार्गमा ल्याउन र समाजमा सबैले सम्मान गर्ने खालको राम्रो काम गर्न अभिभावकहरुले समयमै आफ्ना छोराछोरीलाई सिकाउनु जरुरी छ’, उनले भने ।
राम्रो विरुवा नरोप्ने अनि राम्रो फलको आश गरेर हुन्छ ? विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका डिआइजी पोखरेलले अभिभावप्रति इंगित गर्दै भने । विद्यार्थीलाई सपार्ने काम विद्यालयको मात्रै नभई अभिभावकको पनि उत्तिकै जिम्मेवारी भएको उनको भनाइ थियो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पोखरेलले शिक्षाको गुणस्तरले मात्र देश समृद्ध बनाउन सकिने उल्लेख गर्दै शिक्षालाई समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने बताए ।
विद्यार्थीहरुले भविष्यमा देश निर्माणमा अहम् भूमिका निर्वाह गर्ने चर्चा गर्दै उनले अभिभावकहरुले विद्यार्थीको गुणस्तरीय शिक्षाको लागि आफ्नो घरमा पनि शैक्षिक वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
विद्यालयले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षा तथा अबलम्बन गरेको वैज्ञानिक शिक्षण प्रणालीले आफु निकै उत्साहित भएको साथै यसै स्तरको शैक्षिक वातावरण कायम राख्न विद्यालय व्यवस्थापन समितिलाई निर्देशन समेत दिए । कार्यक्रममा डिआइजी पोखरेलले उत्कृष्ट शिक्षकहरु राजदिप न्यौपाने, तामेन्द्रमान श्रेष्ठ, अजय तामाङ्ग, निशा खड्का र सुस्मा खरेल, विद्यार्थीतर्फ पुर्णिमा जोशी, आयुष लामिछाने र प्रनिशा कार्की तथा वेष्ट स्कुल क्याप्टेन सुमि गुरुङ्ग, उत्कृष्ट सदन रारा सदनलाई ट्रफि तथा प्रमाणपत्र प्रदान गरे ।
यसैगरी उनले १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा भलिवलतर्फ रजत पदक विजेता सो विद्यालयकी ९ कक्षाकी छात्रा उषा भण्डारीलाई नगद १० हजार, पदक र प्रमाणपत्र वितरण गर्नुको साथै विद्यालयमा कार्यरत उत्कृष्ट प्रहरीहरु प्रहरी हवल्दार सुरजकुमार थापा, प्रहरी जवान अनिता सन्मानी, प्रहरी जवान गोकुल बहादुर कार्की, प्रहरी कार्यालय सहयोगीद्वय सरोज पोडे, र चेतकुमारी थापा तथा प्रशासन तर्फका कार्यालय सहयोगी मान बहादुर थापालाई जनही दुई हजार रुपैया तथा प्रमाणपत्र प्रदान गरे ।
शिक्षण कार्यमा सहयोग गर्ने महानगरीय सशस्त्र प्रहरी गण महाराजगञ्जकी प्रहरी उपरिक्षक किरण राणालाई पनि सम्मान गरिएको थियोे । विद्यालयका प्राचार्य हरिस प्रकाश भट्टले विद्यालयको वार्षिक गतिविधि एवं स्वागत मन्तव्य व्यक्त गरेका उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख नन्दलाल पौडेल, काठमाडौं महानगरपालिका ३ नं वडाध्यक्ष दिपक केसी, अभिभावक प्रतिनिधि प्रहरी नायव निरीक्षक घनश्याम उप्रेतीलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सोही विद्यालयका पुर्व समादेशक प्रहरी निरीक्षक हिमा थोकर लामा,नेपाल प्रहरी विद्यालय सांगा, काभ्रेका प्राचार्य संजीव घिमिरे, समादेशक प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, विद्यालयका पूर्व प्राचार्यहरु, अभिभावकहरु समेतको ठुलो संख्यामा उपस्थिति रहेको सो कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरी कार्यक्रममा थप मनोरञ्जन प्रदान गरेका थिए ।
यसको अलवा विद्यार्थीहरुले प्रस्तुत गरेको विज्ञान प्रदर्शनीको कार्यक्रमका प्रमुख अतिथि डिआइजी पोखरेलका साथै सहभागी भएका वरिष्ठ प्रहरी अधिकृत एवम् अभिभावकहरुले अवलोकन गरेका थिए । यसअघि डिआईजी पोखरेललाई विद्यालयमा प्राचार्य हरिश प्रकाश भट्ट, उपप्राचार्य ओम भुषाल र समादेशक प्रहरी निरीक्षक लक्ष्मी भण्डारीले स्वागत गरेका थिए ।
मध्यान्ह राष्ट्रिय दैनिक १७ वर्ष पार गर्दै १८औं वर्ष प्रवेश गरेको जानकारी गराउन पाउँदा बडो हर्षित छौं । आजकै तिथि अर्थात् श्रीपञ्चमीका दिन सरस्वती पुजाको अवसर पारेर १७ बर्ष अघि मध्यान्हले नेपाली सञ्चार जगतमा पहिलो पाइला चालेको थियो । सूचना माथि आम नागरिकको सहज पहुँज स्थापित गर्दै मुलुकको समृद्धि यात्रामा सारथी बन्ने प्रण मध्यान्हले आज पनि छोडेको छैन ।
यो १७ वर्षे यात्रामा देशले अपनाएको भोगेको शासन प्रणाली र त्यस क्रममा सिर्जित सवै प्रकृतिका सजिला अप्ठ्याराहरुको मध्यान्ह साक्षी पनि हो । लोकतन्त्र, नागरिक स्वतन्त्रता र सामाजिक रुपान्तरणको यात्रामा मध्यान्ह सधैँ अग्रपंक्तिमा खडा भएको तथ्य छिप्न सक्दैन । यसबारे लामो वृतान्तको जरूरी पनि नरहला । किनभने, आम नागरिकसँग मध्यान्हले सधैं काँधमा काँध मिलाउने कुरामा कुनै सम्झौता गरेको छैन, गर्ने पनि छैन ।
तर मध्यान्ह हिडेको बाटो सजिलो पनि छैन । मुलुकको सर्वोपरी हित र नागरिक कल्याणको विषयमा बिना सम्झौता अगाडि बढ्ने क्रममा मध्यान्हले निक्कै अक्करिलो यात्रा पार गर्नुपरेको छ । दुई दशक नजिक पुग्न लागेको यात्रामा थुप्रै उतारचढाबको सामना गर्नुपरेको छ- मध्यान्हले । विकृति, विसंगती, भ्रष्टाचार र कुशासन विरुद्ध लड्न पक्कै सजिलो छैन, हिजो पनि थिएन । अझ सानो लगानीबाट ठूलो उद्देश्यसाथ अगाडि बढेको पाइलाले मूलबाटो भेटाउन निकै मुस्किल थियो । बाटो चौडा थिएनन्, अक्करिलो कच्ची गोरेटो भएर हिड्नु भनेकै एउटा पाइलामा संघर्ष र अर्कोमा अदम्य साहसको जरुरी थियो । तर, यी सर्त पालना गर्दै हामीले १७ वर्षे मूल गोरेटो बनाउन सफल भएका छौं । दुःख कष्ट त भोगेकै छौं , कहिल्यै हरेस खाएनौं ।
यी सफलताका पछाडि आम पाठक वर्ग, विज्ञापनज्ञाता र शुभेच्छुकहरुको अतुलनीय योगदान छ । आज पनि ती भीमकाय साथ छुटेको छैन । त्यसैले नै हाम्रो परिचय राष्ट्रिय तहको ‘क’ वर्गको दैनिक पत्रिकाका रुपमा स्थापित छ । मध्यान्ह प्रति तपाईँहरुको अटुट विश्वास र भरोसालाई हामीले पनि कहिल्यै निराशामा नबदल्ने प्रयास गरिरहेकै छौं । पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरु प्रति मध्यान्ह अझै बढी जिम्मेवार, भरोसायोग्य र इमानका साथ प्रस्तुत हुने हामी प्रण गर्दछौं । विश्वास छ, तपाई–हाम्रो विश्वास, साथ र सम्बन्धमा कतिपनि तलमाथि हुने छैन । लोकतान्त्रिक मूल्य मान्यता, नागरिक स्वतन्त्रता र समृद्ध समाज निर्माणमा हाम्रो प्रतिबद्धता अझ बलियो हुनेछ । धन्यवाद !
सीतादेवी श्रेष्ठ
शुभ नारायण कामती / मध्यान्ह
सिरहा : नेपाल सरकारको ग्रासरुट फुटबल ट्रेनिङ्गलाई मुर्तरुप दिने उद्देश्यले सिरहाको गोलबजार नगरपालिका वडा नं. ९ चोहर्वा स्थित रहेको श्री शेर गण क्लबको समन्वयमा दिंदै आएको ट्रेनिङ्ग अन्तर्गत शनिबार जिल्लास्तरीय ग्रास रुट फुटबल लिग शनिबार सम्पन्न भएको छ ।
क्लब, नेपाली सेना र विभिन्न निकायहरुसंग समन्वय गरी देशको कुना कुनामा लुकेर रहेको प्रतिभाशाली तथा क्षमतावान खेलाडीहरुको क्षमता र कलालाई तिखारेर राष्ट्रिय स्तरको खेलाडीको रुपमा विकसित गर्ने उदेश्यले सिरहाका विभिन्न विद्यालयहरुमा हरेक शनिबार श्री शेर गणले ग्रास रुट फुटबल ट्रेनिङ्ग संचालन गर्दै आइरहेको र अगामी दिनमा पनि सञ्चालन गरिने श्री शेर गण चोहर्वाका क्याप्टेन गिरिजाप्रसाद भट्टले बताएका छन् ।
जिल्लास्तरीय ग्रासरुट फुटबल लिग खेलमा प्रथम हुने छात्रा तर्फ सगरमाथा उच्च मा.वि., १० बर्ष मुनिका छात्र तर्फ सृजना सामुदायिक विकास केन्द्र, १०–१३ बर्ष उमेर समुहका छात्र तर्फ ट्रिनिटी बोर्डिंङ्ग स्कुललाई प्रमाणपत्र र कप साथै प्रत्येक उमेर समुहमा सर्वोत्कृष्ट खेलाडी छनोट गरी सिल्ड पनि वितरण गरिएको थियो ।
जिल्ला फुटबल संघ सिराहाका अध्यक्ष अरुण साहको अध्यक्षतामा सञ्चालन गरिएको खेलमा प्रमुख अतिथि गोलबजार नगरपालिकाका मेयर देवनाथ साह, विशिष्ट अतिथि उपमेयर रेशम कुमारी थापा, नं २७ बाहिनी अड्डाका सहायक बाहिनीपति रामचन्द्र कार्की, श्री शेर गणका गणपति प्र.से. जितेन्द्र कुमार गौली तथा अतिथीहरु सोही नगरपालिका वडा नं ९ र ७ का वडाध्यक्षहरु तथा जिल्ला फुटबल संघ सिराहाका पदाधिकारीहरु लगायत विभिन्न विद्यालयका शिक्षक तथा प्रतिनिधी, विद्यार्थीको उपस्थितीमा लिग खेल सम्पन्न भएको श्री शेर गण चोहर्वाका क्याप्टेन गिरिजा प्रसाद भट्टले बताएका छन् ।
बीरेन्द्र साह / मध्यान्ह
काठमाडौं : चीनमा देखिएको कोरोनाभाइरस नेपालमा पनि फैलिन सक्ने सम्भावना बढेको छ । चीनको वुहान शहरमा उक्त भाइरसका कारण केही व्यक्तिको मृत्यु भइसकेको छ । जसकारण नेपाली विशेषज्ञहरुले नेपालमा पनि समस्या हुन सक्नेतर्फ सचेत गराएका छन् । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले वुहानबाटै फर्किएका एक नेपाली विद्यार्थीमा संक्रमण भएको शंका लागेपछि पाँच दिनदेखि चिकित्सकहरूको निगरानीमा राखिएको बताए ।
डा.पुनले नेपाल आउने चिनियाँ पर्यटक र चीन जाने नेपालीको संख्या बढिरहेकोले बेलैमा सजग हुन आवश्यक रहेको बताएका छन् । नयाँ वर्ष मनाउनका लागि आउँदा हप्ताहरूमा चीन र अरू एशियाली मुलुकमा लाखौँ मानिसको चहलपहल हुने भएकोले यो भाइरस फैलिन सक्ने डर रहेको उनले बताए । वुहानको भ्रमण गरी स्वदेश फर्किएका आफ्ना केही नागरिकमा सो भाइरसको संक्रमण देखिएको थाइल्यान्ड र जापानले बताएको छ ।
चिनियाँ चिकित्सकहरूको टोलीले सो भाइरसबारे बुझ्ने प्रयासलाई तीव्र पारेको चीन सरकारले जनाएको छ । ‘सीफूड’ विक्री हुने एउटा बजारमा पहिलो पटक नयाँ भाइरस देखिएको थियो । जनस्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा वैज्ञानिक डा. समीरमणि दीक्षितले नेपालमा यसलाई निगरानीमा राख्न जरुरी रहेको बताए । उनका अनुसार नेपालको तयारी कमजोर छ । चीन छिमेकी मुलुक भएकोले नेपालले सबभन्दा बढी सजगता अपनाउनु पर्ने डा.दीक्षितले बताए ।
यसको उपचारमा चाहिने औषधि पर्याप्त मात्रामा उपलब्ध हुने व्यवस्था गर्नुजस्ता प्रारम्भिक तयारी जरुरी रहेको उनले सुझाव दिएका छन् । नयाँ प्रकारको कोरोनाभाइरसको हकमा मात्रै नभई अन्य खतरनाक भाइरसको हकमा पनि उत्तिकै चनाखो हुनुपर्नेमा डा. पुनको पनि जोड छ । स्वास्थ्य मन्त्रालयका अनुसार चीनमा नयाँ प्रकारको कोरोनाभाइरसको संक्रमण देखिएपछि आवश्यक सजगता अपनाइएको छ ।
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले विश्व स्वास्थ्य सङ्गठनले ‘कन्ट्री अलर्ट’ जारी नगरे पनि आफूहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई चीनबाट आउने पर्यटकमा स्वास्थ्य समस्या देखिएमा त्यसलाई हेर्न भनेको बताए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो । नयाँ प्रकारको कोरोनाभाइरस यसअघि मानवमा पहिचान गरिएको थिएन । कोरोनाभाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो ।
पहिचान भएका थुप्रै प्रकारका कोरोनाभाइरस जनावरहरूमा देखिए पनि मानिसहरूलाई तिनले संक्रमति बनाएका छैनन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन् । ज्वरो आउनु र खोकी लाग्नु, छिटोछिटो सास फेर्नु, श्वासप्रश्वासमा कठिनाइ हुनु, गम्भीर भएमा निमोनिया हुनु जस्ता लक्षण देखिने गरेको छ ।
कपिलबस्तु : श्री गौ संरक्षण समितिको प्रथम साधारण सभा आज सम्पन्न भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं २ मा आयोजित सो कार्यक्रमको उद्घाटन समितिका अध्यक्ष दुर्गादेवी थापाले गरेकी थिइन् ।
गौं रक्षामा सरकारको ध्यान जाओस् भन्ने उद्देश्यका साथ आयोजित कार्यक्रमको निरा गृहिणी समाजकी अध्यक्ष एबं समाजसेवी निरा तिम्सिनाले अध्यक्षता गरेकी थिइन् ।
निरा गृहिणी समाजले विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ । निरा गृहिणी समाजका सदस्यहरु, समितिका सदस्यहरु, स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा अध्यक्ष तिम्सिनाले गाईको महत्व उल्लेख गर्दै सरकारले गौ संरक्षणको लागि केही कदम चाल्नुपर्ने र यस विषयमा सरकारको ध्यानाकर्षण हुन जरुरी रहेको बताइन् ।
त्यस्तै समितिकी अध्यक्ष थापाले समितिको मुख्य उद्देश्य गाईको संवर्द्धन रहेको बताउँदै सरकारले गाईको प्रवर्द्धनका लागि खाली जमिनको व्यवस्था गरिदिनुपर्नेमा जोड दिएकी थिइन् । गाईको संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको समितिमा स्थानीय बासिन्दाहरु र जिल्लाबासीहरु आबद्ध रहेका छन् ।
चितवन : नेपाल भ्रमण वर्ष २०२० का अवसरमा चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको कविलास रिसोर्टले विशेष प्याकेज ल्याएको छ । राजधानीस्थित सञ्चार केन्द्र नेपालको हलमा कविलास रिसोर्ट एण्ड फनपार्क प्रा.लि.ले बिहीबार पत्रकार सम्मेलनमार्फत भ्रमण वर्षलाई लक्षित गरी आफूले प्रदान गर्ने सेवा सुविधाहरुका बारेमा जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा रिसोर्टका अध्यक्ष बाबुराम उपाध्यायले रिसोर्टले २० प्रतिशत छुटसहित विभिन्न प्याकेज ल्याएको बताए । उनले भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको पनि भूमिका रहेकाले छुटसहितको प्याकेज घोषणा गरिएको जानकारी दिए । रिसोर्टमा गुणस्तरीय खाना र बस्ने व्यवस्थादेखि मनोरञ्जनका लागि फनपार्क, वाटर पार्क र स्वीमिङ पुल, वनभोजस्थल, धार्मिक कार्यक्रमका लागि सिद्धेश्वर महादेवको मन्दिरसमेत रहेको छ ।
उनका अनुसार भ्रमण वर्षमा रिसोर्टमा आई रात बिताउने पाहुनालाई बिहानको खाजा र पैडी खेल्न निःशुल्क गरिएको छ । रिसोर्टले नै सौराहा, जनकपुर, लुम्बिनी, देवघाट, शास्वतधाम, गणेशस्थान, बीसहजारी तालसमेत घुमाउने छ ।
रिर्सोटमा पारिवारिक रुप्मा बस्न मिल्ने, आफूले पकाएर खान मिल्ने सात पारिवारिक भिल्ला, एकै पटकमा ४० देखि ५० समूहलाई पुग्ने वनभोज, जैविक फार्म हाउसः खेतीपाती, कुखुरापालन, बाख्रापालन, हाँसपालनसमेत रहेका छन् । भ्रमण वर्षका अवसरमा होटल एशोसिएशन नेपाल, नेपाल पर्यटन व्यवसायीले समेत छुट दिँदै आइरहेका छन् । करीब रु ६० करोड लगानीमा रहेको रिसोर्ट २५ बिघा क्षेत्रफलमा रहेको छ ।
केशर धामी/मध्यान्ह
भक्तपुर : धादिङ गजुरीकी २८ वर्षीया गीता रिजालको दैनिकै निकै व्यस्त हुन्छ । बिहान चार बजेतिर उठेसँगै राति १० बजेसम्म उनलाई पानी पिउन पनि फुर्सद हुँदैन् । फुर्सदको समयमा भने उनी आफ्नै बारीतिर लाग्छिन । उनको व्यस्तता पछिल्लो समय निकै बढेको छ ।
२०७० माघबाट १८ लाख रुपैयाँको लगानीमा भक्तपुरको सिरूवाटार, बस्नेत गाउँमा गीताले कृषि व्यवसाय सुरु गरेकी थिइन् । केही वर्ष उनी सक्रिय भएर लागिन् । तर, आजभोलि बहिनी पार्वती बारीको सबै काम हेर्दिन् । उनी भने कहिले कार्यक्रममा त कहिले बैठकहरूमा व्यस्त हुन्छिन् ।
कृषि व्यवसाय सुरु गर्दा उनकै निकै पापड झेल्नु परेको थियो । न आफुसँग लगानी गर्ने आर्थिक स्रोत न त घर परिवारको सहयोग । तरपनि उनी दृढ संकल्पका साथ अगाडि बढिन् र अहिले राम्रो उचाइमा पुगेकी छन् । सुरुमा उनले साथीभाइहरूबाट सापटी मागेर १८ लाखमा व्यवसाय सुरु गरेकी थिइन् ।
गीता भन्छिन्, ‘त्यो १८ लाख टनेल बनाउन, बस्ने घर, इनार, कृषिजन्य सामग्री खरिदमा खर्च भयो । उक्त रकम मैले आफन्त तथा साथीभाइबाट जुटाएकी थिएँ । त्यो बेला बैंकले मलाई विश्वास गर्ने वातावरण नै थिएन ।’
उनी काठमाडौंमा बसेर पढ्थिन् । पद्मकन्या कलेजमा भर्खरै स्नातक पढ्न थालेकी गीतालाई पढाइसँगै कृषि व्यवसाय अघि बढाउनु निकै चुनौती थियो । स्नातक तह प्रथम वर्षमा अध्ययन गर्दैगर्दा उनले कृषि व्यवसाय सुरु गरेकी थिइन् ।
घर परिवारको सहयोग तथा समर्थनविना नै काठमाडौं आएकी गीताको त्यो अडानले अहिले काम गरिरहेको छ । उनले धादिङबाट काठमाडौं आउँदा ‘म होटलमा भाँडा माझेर भए पनि काठमाडौंमै बसेर पढ्ने हुँ । तपाईहरूले स्वीकृति दिए÷नदिए पनि काठमाडौं गएरै छाड्छु ।’ भन्ने अडान राखेकी थिइन् ।
काठमाडौं आएपछि गीताले पढाइलाई अगाडि बढाइन् । पढाइसँगसँगै उनले विकास स्रोत परिचालन केन्द्रमा काम गर्न थालिन् । त्यहाँ उनले करीब ३ वर्ष बिताइन् । त्यो तीन वर्षमा उनले कृषि सम्बन्धी धेरै कुरा सिकिन् । यो ७० सालतिरको कुरा हो । उनले आफूले जानेको सीप प्रयोग हुनेगरी कृषि व्यवसाय सुरु गर्ने योजना बनाइन् । त्यसपछि उनले जागिर छोडिन् । आफ्नो योजना अघि बढाउनका लागि गीताले घर परिवारसँग सल्लाह गरिन् । आमाबुबाले उनको कुरा ठाडै अस्वीकार गरिदिए । ‘खेती नै गर्ने भए किन काठमाडौं गएकी, यतै पनि प्रशस्तै जग्गा छ । यहीँ आएर काम गर न’ भन्ने जवाफ आमाबुबाबाट आयो । उनले दोस्रोपटक पनि आमाबुबाको कुरालाई बेवास्ता गरिन् ।
गीता हरेक चुनौतीको सामना गर्दै अघि बढिन् । व्यवसाय गरेको पहिलो वर्ष त्यति धेरै ज्ञान थिएन तर, पनि राम्रै भयो । पहिलो वर्ष मात्र उनले १४ लाख रुपैयाँको टमाटर बेचिन् । त्यसपछि उनलाई यो व्यवसायबाट पनि राम्रै गर्न सकिने रहेछ भन्ने लाग्यो । दोस्रो वर्षदेखि उनी काठमाडौंको कोठा छोडेर फार्ममै बस्न थालिन् । आफूले सिकेको सीपलाई एकदमै जिम्मेवारीका साथ खेतबारीमा खन्याइन् । जसले गर्दा दोस्रो वर्ष पनि राम्रै भयो ।
गीताले यहाँसम्म आइपुग्दा निकै समस्याको सामना गर्नु परेको थियो । एकातिर घर परिवारको सपोर्ट थिएन भने अर्कोतिर समाजबाट बेला–बेला आउने कुराले पनि उनको चित्त दुख्थ्यो । ‘यहाँसम्म आइपुग्दा निकै संघर्ष गर्नुपर्यो ।’
गीतालाई कृषि व्यवसाय गर्न बहिनी पार्वतीको साथ र सहयोग छ । त्यसैले त कृषि फार्मको नाम नै दिदीबहिनी कृषि फार्म राखेका छन् । गीता भन्छिन्, ‘सुरुमा त बहिनीलाई पनि पठाउन मान्नु भएको थिएन । मैले होस् म एक्लै भए पनि बस्छु र काम गर्छु भनेपछि बहिनीलाई मसँगै पठाउन तयार हुनुभयो । पछि मैले राम्रो गर्दै गएपछि बुबाआमाले पनि थाहा पाउनुभयो । यहाँ आएर हेर्नुभयो । खुसी नै हुनुभयो । विस्तारै सबै ठीक होला ।’
गीता त्यो क्षेत्रमा यसरी आधुनिक प्रविधिको प्रयोग गरेर व्यवसाय गर्ने पहिलो किसान हुन् । उनकै सिको सिक्दै त्यो क्षेत्रमा अहिले धेरैले खेती गरिरहेका छन् ।
व्यवसाय सुरु गरेपछि गीताले दशैं, तिहार, तीजजस्ता चाडपर्व पनि मनाउन पाएकी छैनन् । दशै तिहारजस्ता चाडपर्वको बेला समेत घर जान पाइँदैन । अनि यहाँका मान्छेहरूले टीकाको दिन पनि किन घर नगएको ? तपाईहरूको आमाबुबा छैनन् हो ? भन्दै प्रश्न गर्छन् । त्यो बेला भने एकदमै नरमाइलो लाग्छ । हामी आमाबुबा नभएर नगएको त होइन, व्यवसाय छोडेर जान नमिलेको मात्र हो । तर त्यो उहाँहरूले बुझ्नुहुन्न ।
गीताले पढाइ र व्यवसायसँगै राजनीतिलाई पनि अगाडि बढाएकी छन् । उनी कांग्रेसप्रति आस्थावान हुन् । पार्टीका विभिन्न गतिविधिहरूमा सहभागी हुन्छिन् । नेविसंघको विद्यार्थी नेता भएकाले उनले विद्यार्थी हकहितको लागि आवाज उठाउँदै आएकी छन् । जीवनमा आवश्यक पर्ने सबै पाटाहरूलाई अगाडि बढाउने उनको योजना छ । गीता आफूले अँगालेको व्यवसायमा पूर्ण दक्षता हासिल गर्न चाहन्छिन् । त्यसको लागि उनले कृषिमै पीएचडी गर्ने सोंचमा छिन् । त्यसको लागि उनले घरमा बसेरै स्किल टेस्ट दिइरहेकी छन् । उनी यतिबेला लोकसेवाको पनि तयारी गर्दैछिन् । त्यसको लागि पनि उनी रातदिन अहोरात्र मिहेनत गर्दै आएकी छन् ।
युवाअवस्थामै उनी करोडपति व्यवसायी बन्न सफल भएकी हुन् । यतिबेला उनले थुप्रै क्षेत्रमा लगानी गरेकी छन् । यतिबेला उनलाई स्टाबेरी खेतीले निकै राहत दिइरहेको छ । स्टाबेरी लगाएर उनले अहिले लाखौं आन्दानी गरेकी छन् । स्टाबेरी खेतीलाई अझै विस्तार गर्ने उनको योजना छ ।
स्टाबेरीको माग एकदमै बढी छ । बजारको मागअनुसार उनी पूर्ति गर्न सकिरहेकी छैनन् । उनको बारीबाटै प्रतिकिलो सात सयका दरले स्टाबेरी बिक्री भइरहेको छ ।
सपनामा भाईको भविष्य
भाइ बसन्तलाई उनी डाक्टर बनाउने साथ पढाउँदै छिन् । यतिबेला एचए पढिरहेका भाइको सबै खर्च उनैले हेरिरहेकी छन् । त्यस्तै उनले घरमा समेत बेला बेला खर्च पठाउने गरेकी छन् । उनले घर खर्च, आफ्नो र बहिनीको खर्च तथा भाइलाई एचए पढाउँदाको सबै खर्च गीताले व्यहोर्दै आएकी छन् । त्यसका साथै उनले अहिलेसम्म लाखौं रुपैयाँ लगानी समेत गरेकी छन् ।
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेसँग राजीनामा माग्ने निर्णय गरेको छ । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपसभामुखलाई राजीनामा गराउने निर्णय गरेको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुखलाई राजीनामा गराउने निर्णय भएको बताए । उनले भने, “उपसभामुखलाई राजीनामा गराउने निर्णय भएको छ । राजीनामा पछि कसलाई उपसभामुख बनाउने भन्ने निर्णय हुन्छ ।” गत असोज १४ गते कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका थिए । बलात्कार जस्तो गम्भीर आरोप लागे पछि महराले राजीनामा दिए पछि रिक्त पद नेकपाले नछोड्ने भए पछि उपसभामुखलाई राजीनामा गराउने निर्णय गरिएको छ । एउटै दलबाट सभामुख र उपसभामुख राख्न नपाउने भएकाले संसदको दुवै पद रिक्त गराउन यस्तो निर्णय गरिएको छ ।
तर, उपसभामुख तुम्बाहाङ्फेले राजीनामा नदिने अडान कायमै राखेकी छन् । चिक्तबुझ्दो जवाफ नआएसम्म राजीनामा नदिने र पुस २७ गतेको संसद बैठक चलाउने अडान समेत लिएकी छन् । शनिबार साँझ मध्यान्ह सँग कुरा गर्दै उनले राजीनामा दिनुपर्ने प्रष्ट कारण नआएसम्म राजीनामा नदिने बताइन् ।
पार्टी निर्णय भएकाले उपसभामुखले राजीनामा गर्नुपर्ने नेकपा नेताहरुले बताउँदै आएका छन् ।
अव को ?
उपसभामुखले अडान लिए पनि अन्ततः राजीनामा हुने निश्चित छ । किनभने, उपसभामुख संसदीय फाँटमा स्वतन्त्र हुने भएपनि दल त्याग गरेको नमानिने संवैधानिक व्यवस्था छ । तसर्थ, दलको सदस्यको हैसियतमा उपसभामुखले पार्टी निर्णय मान्नुपर्ने वैधानिक व्यवस्था छ ।
तर, उनको राजीनामा गराउने भन्नेबारे भने निश्चित हुन सकेको छैन । किनभने, राजीनामा गरे पनि उनको सभामुखमा दावी कायमै रहने बताउँदै आएकी छन् । यता, सभामुख पदमा कुरा नमिलेकै कारण पुस ४ गते देखि बोलाइएको प्रतिनिधिसभा बैठक बस्न सकेको छैन ।
हुन पनि २०४६ को बहुदल यता कुनै पनि सभामुख विवाद रहित देखिन्न । हरेक पटकका सभामुखकै कारण संसद विवादित र बन्धक बन्दै आएका छन् ।
०४८–०५१ म सभामुख बनेका दमननाथ ढुंगानाले त पार्टीभित्रै विवादित थिए । ०४६ को जनआन्दोलनबाट बहुदलीय व्यवस्था स्थापनापछि पहिलो पटक गठित संसदका सभामुख दमननाथ ढुंगानाले प्रतिपक्ष नेकपा एमालेको उति धेरै आरोप खेप्न नपरे पनि पार्टीभित्र नै चर्को आलोचना खेप्नु प¥यो । पार्टी सभापति कृष्णप्रसाद भट्टराईको भक्त बनेको आरोप लाग्यो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा ‘टनकपुर सहमति नभई सन्धी’ भएकाले संसद्बाट अनुमोदन गराउने पक्षमा उभिएपछि कोइराला पक्षले ढुंगानालाई सभामुख नभई भट्टराईको कार्यकर्ता बनेको आरोप लगाएका थिए । कतिपय यसै कारण कोइरालाले संसद् विघटन गरेको विश्लेषण गर्छन् ।
०५१–०५६ का सभामुख रामचन्द्र पौडेलले ठूलो दल बनेको एमालेले गिरिजाप्रसाद कोइरालाका छायाँ भनी आलोचना गर्थे । महाकाली सन्धीका बेला पौडेलले एमाले फुटाउने भूमिका निर्वाह गरेको आरोप एमालेले अहिले पनि लगाउने गरेको छ । सभामुख छोडे पछि फेरि पटक–पटक मन्त्री बनेर पौडेल थप विवादित बने । उनकै पालामा सरकार ढाल्न र बनाउन सांसद खरीद–बिक्रीको चर्चा समेत चल्यो ।
०५६–०६३ का सभामुख तारानाथ रानाभाटले संसद विघटनकै आरोप खेपे । दरबार हत्याकाण्ड, काँग्रेस विभाजन र माओवादीलाई आतंकवादी यही समयमा घोषणा भयो । पछि राजा निकट बन्दै प्रतिनिधिसभा बैठक बोलाउने हिम्मत नगरेको आरोपका कारण उनी विवादित बने ।
०६३–०७२ सम्म लामो समय सभामुख बनेका सुवास नेम्वाङलाई सरकारी जागिरेकै बनेको आरोप लाग्छ । पुनःस्थापित संसद्, पहिलो र दोस्रो संविधानसभाका सभामुख नेम्वाङ फेरि पनि सभामुखका उम्मेद्वार छन् । संविधान निर्माणका बेला सभाध्यक्ष रहेका नेम्वाङको राजधानीकै सडकहरुमा आदिवासी, जनजाति तथा मधेशी अभियान्ताले पुत्ला दहन गरेका थिए । १४ जेठ ०६९ मा उनले सभा नबोलाएकै कारण संविधानसभा विघटन भएको आरोप सधैं लाग्ने गरेको छ ।
०७२–२०७४ का सभामुख ओनसरी घर्तीमगरलाई सरकार ढाल्न र नयाँ बनाउन सक्रिय राजनीति गरेको आरोप छ । संसदको नियमित कार्यसूची पर सार्दै केपी शर्मा ओली परेको अविश्वासको प्रस्ताव अगाडि बढाएको भनी उनी आलोचित भइन् । २०७४ को प्रतिनिधिसभा निर्वाचन पछि सभामुख बनेका कृष्णबहादुर महरालाई काँग्रेसले नेकपा कार्यकर्ताको आरोप मात्रै लगाएनन्, बलात्कार आरोपमा कारागार चलाउन भए ।
अहिले फेरि को सभामुख बन्ने विवादले संसद बन्धक बनेको छ । तिनै सुवास नेम्वाङ, उपसभामुख तुम्बाहाङ्फे, अग्नी सापकोटा, देव गुरुङ र पम्फा भुसाल सभामुख पदको दाबेदार छन् ।
केशर धामी / मध्यान्ह
काठमाडौं : घटना १ः– खै त्यसलाई बाउ (बुबा) भनु कि श्रीमान ? सानो त बाउ नै भन्थें । तर, आजभोलि यसले मलाई आफ्नै श्रीमती बनाएर राखेको छ । भर्खरै १७ वर्षमा प्रवेश गरेकी किशोरी मनको आक्रोशित भएर पीडा पोख्दै थिइन् । आफ्नै बाबुबाट पटक–पटक बलात्कृत हुँदै आएकी किशोरीको यो मनको भाव सुनेर उजुरी लिने प्रहरी समेत स्तब्द बने । २०७४ को पुसमा आफ्नै बाबुबाट बलात्कृत युवतीले प्रहरीमा उजुरी दिइएकी थिइन् ।
आमा पोईला गएपछि उनी आफ्नै बाबुकी श्रीमती बन्न बाध्य भइन् । घरमा कान्छी श्रीमती ल्याएका बाबुबाट उनी पटक–पटक बलात्कृत भइन् । अन्ततः कान्छी आमाको सहयोगमा उनले बाबुको कर्तुत प्रहरी सामू ल्याएकी थिइन । उजुरीको आधारमा प्रहरीले उनका ३७ वर्षीय बाबुलाई पक्राउ गरेर कारवाही गरेको थियो ।
घटना २ः– ताप्लेजुङको आठराई गाउँपालिका ३ की एक ५० वर्षीया महिला आफ्नै नातीबाट बलात्कृत भइन् । मानसिक सन्तुलन ठिक नभएकी ५० वर्षीया हजुरआमा १७ बर्षका आफ्नै नातिबाट बलात्कृत भएकी थिइन् । २०७५ साउन १९ गते दिउँसो १२ बजेको समयमा जबरजस्ती गरेका थिए ।
घटना ३ः– आफ्नै बुहारी बलात्कार गरेको आरोपमा पर्साको निर्मलवस्ती गाविसका ५० वर्षीय पदमबहादुर स्याङ्तान पक्राउ परे । जेठा छोरा रोजगारीका सिलसिलामा मलेशियामा रहेका बेला २४ वर्षीया बुहारीलाई पटकपटक यौन दुव्र्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
माथि उल्लेखित घटना त प्रतिनिधि पात्र हुन् । तर, आजभोलि तपाई हामीले सुन्दै आएको बलात्कारजन्य घटनामा आफन्त तथा नजिकको सम्बन्धका मानिसको संलग्नता देखिएको छ । मुलुकका विभिन्न ठाउँमा भएका बलात्कारका घटना भयावह छन् । जसका विरोध र अनुसन्धानका पाटामा सुरक्षा संयन्त्रसहित सरकारलाई चुनौतिका आवाज उठ्न थालेका छन् ।बलात्कार आफैंमा अपराधको चरम रूप हो । पात्र र प्रवित्ति अनि सम्बन्धका आधार फरक–फरक छन् । बलात्कारको एउटा सूक्ष्म पाटो हो– हाडनाता करणी । बाबुद्वारा छोरी, दाजुद्वारा बहिनी, ससुराद्वारा बुहारी बलात्कार भन्ने शीर्षकमा समाचार दिनदिनै आउने गरेका छन् ।
अर्कातिर हाडनाता सम्बन्ध पनि हुन्छ । जसरी बलात्कारका सवाल आउँछन् त्यसरी नै तिनै सम्बन्धबीच मिलोमतो र राजीखुसीका सम्बन्धका विषयका उजुरी प्रहरीसम्म कम छैनन् । नेपालमा पछिल्लो समय दैनिक ४ बलात्कारजन्य घटना भईरहेको प्रहरीको तथ्यांकले देखाइरहेको छ । गत वर्ष मात्रै नेपालमा एक हजार चार सय भन्दा बढी बलात्कारका उजुरी प्रहरीमा परेका थिए । प्रहरीमा उजुरी नपर्ने वा घटना लुकाईने गरेका बलात्कार त कति हुन्छन् ? यसको अनुसन्धान तथा खोजबिन अहिलेसम्म भएको छैन् ।
बलात्कार वा हाडनातामा सम्बन्ध राख्ने हरेक पात्र मानसिक रोगी नै समाजशास्त्री बताउँछन् । विश्लेषक डा. सुरेन्द्र केसीका अनुसार रगतको सम्बन्ध रहेकाहरूसँग यस्तो सम्बन्ध कायम राख्ने मानसिक रोगी हुन् । कानुनले पनि हाडनाता करणीलाई अपराध मानेको छ । मनोविद् गोपाल ढकाल आफन्तमाथि नै यस्तो दुव्र्यवहार गर्नेको मानसिक सन्तुलन ठिक नभएको बताउँछन् । कानूनले समेत बर्जित गरेको तथा अपराध मानेको विषयमा यस्तो कार्य गर्नुलाई मानसिक रोग भएको उनको भनाइ छ ।
मुलुकी फौजदारी संहिता २०७४ ले जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा जन्मकैद, सौतेनी आमा छोरा वा बाबु छोरी, सहोदर दिदी भाइ वा दाजु बहिनी, एकै हाँगाको ससुरा बुहारी, एकै हाँगाको बाजे नातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइ बुहारी वा देवर भाउजूको करणी भएमा चारदेखि दश वर्षसम्म कैद र ४० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।
एकै हाँगाको तीन पुस्ताभित्रको करणी भएमा तीन वर्षदेखि छ वर्षसम्म कैद र ६० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था कानुनले गरेको छ । वंशका सात पुस्तासम्मका अन्य नातामा करणी भएमा हाँगो, नाता र पुस्ता हेरी तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था वर्तमान कानूनले गरेको छ ।
रेशमराज पौडेल / मध्यान्ह
काठमाडौं : कतारमा प्रवुद्ध नागरिकको पहिचान बनाएका अब्दुल्लाह युसुफ रहमान अल फख्रु नेपाल भ्रमण वर्ष २०२० सफल पार्न एक महिना लामो भ्रमण योजना सहित काठमाण्डौं आएका छन् । नेपाल भ्रमण वर्ष २०२० शुरु भएपछि भिजिट भिसामा नेपाल आउने फख्रु पहिलो कतारी नागरिक हुन् । नेपाल भ्रमणमा आउनु अघि कतारस्थित नेपाली दूतावासमा एक विशेष कार्यक्रमको आयोजना गरी उनको भावपूर्ण विदाई गरिएको थियो ।
लामो समय कुटनैतिक क्षेत्रमा काम गरेर ख्याति कमाएका फख्रु कतारका लागि युएन मिशन प्रमुख, बेल्जियम र युएइका लागि कतारी राजदूतको जिम्मेवारी कुशलतापुर्वक निभाएका कुटनितिज्ञ समेत हुन् । उमेरले ७४ वर्षमा रहेका उनी हिडडुल गर्न सक्दैनन् । ह्वील चियरको सहारामा हिँडडुल गर्ने ७४ वर्षीय फख्रु ढाका टोपीमा हुवहु नेपाली लाग्दछन्, वर्षौ अघि बसाई सरेर कतार गएका नेपाली जस्तै । स्वभावले नम्र र मिजासिला । ७४ वर्ष लामो जीवनयात्रामा यसअघि उनी तीन पटक नेपाल आइसकेका छन् ।
उनी प्राकृतिक सुन्दरता र परिश्रमी नेपाली नागरिकको आत्मीय व्यवहारले आफु मोहित भएको बताउँछन् । रगत र पसिना सिञ्चिएर कतारको आर्थिक समृद्धिमा नेपाली युवाहरुले गरेको योगदानका कारण पनि हुनसक्छ, उनी नेपाल र नेपाली प्रति उत्तिकै संवेदनशील देखिन्छन् । नेपाल भ्रमण वर्षका अवसरमा नेपाल आउन उनलाई कतार एयरवेजले प्लाटुनियम सुविधा सहित आकर्षक व्यवस्था मिलाएको थियो । तर नेपाल र नेपाली प्रति विशेष अनुराग राख्ने फख्रु कतार एयरवेजले उपलब्ध गराएको सुविधा भन्दा नेपाल भ्रमण
वर्ष २०२० सफल बनाउन नेपाली राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट नेपाल आए । गत जनवरी ७ तारिखमा भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रममा कतारस्थित नेपाली राजदूतावासले एक विशेष कार्यक्रमकाबीच फख्रुलाई भिजिट भिसा प्रदान गरेको थियो । कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले भिसा प्रदान गर्दाको क्षण भावुक थियो । कुटनितिज्ञ फख्रुको नेपाल बसाई करिब १ महिनाको हुने छ । जसअनुसार उनी १० दिन गण्डक प्रदेश अन्तर्गत पोखरा र विभिन्न स्थान, ५ दिन काठमाडौ उपत्यका, २ दिन चितवन र गोरखा लगायत अन्य पर्यटकीयस्थलहरुको भ्रमण तथा अवलोकन गर्नेछन् ।
कतारको तर्फबाट नेपाल भ्रमणवर्ष २०२० सफल बनाउन आफुले सक्दो सहयोग गर्ने उनको भनाइ छ । भ्रमणका अवसरमा कुटनितिज्ञ फख्रु आफैले पनि सामाजिक क्षेत्रमा सहयोग गर्ने योजना बनाएका छन् । कतारको राष्ट्रिय मानव अधिकार समिति कतारका नेपाल डेस्क प्रमुख प्रोफेसर रमजान अलि मियाँले कुटनितिज्ञ फख्रुलाई नेपाल भ्रमणको चाँजो पाँजो मिलाएका हुन् । आफुले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्दा महामहिम फख्रुको आँखा रसाएको प्रो. मियाँले बताए । कुटनितिज्ञ फख्रुको नेपाल भ्रमणले कुटनितिक तहमा रहेको नेपाल र कतारको बलियो सम्वन्ध नागरिक स्तरमा थप विस्तार हुने अपेक्षा गरिएको छ ।
कतारको दोहा र काठमाडौंबीच सिधा र निरन्तर हवाई उडान रहेको र प्रतिदिन कम्तिमा ६ वटा उडान भइरहेको हालको अवस्थामा कतारका अन्य नागरिकहरुले पनि नेपाल पर्यटन वर्ष २०२० को अवसरमा नेपाल भ्रमण गरेर अविस्मरणीय अनुभव हासिल गर्नेे अपेक्षा गरिएको प्रोफेसर मियाँले बताए । मियाँले नै फख्रुलाई नेपाली ढाका टोपी लगाएर कतार विमानस्थलबाट विदाई गरेका थिए । भ्रमण वर्ष अवधिभर अर्थात् सन् २०२० भित्र अरु ९९कतारी नागरिकलाई नेपाल भ्रमण गराउने लक्ष्य पनि राखेका छन्, प्रो. मियाँले ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies