केशर धामी/मध्यान्ह
भक्तपुर : धादिङ गजुरीकी २८ वर्षीया गीता रिजालको दैनिकै निकै व्यस्त हुन्छ । बिहान चार बजेतिर उठेसँगै राति १० बजेसम्म उनलाई पानी पिउन पनि फुर्सद हुँदैन् । फुर्सदको समयमा भने उनी आफ्नै बारीतिर लाग्छिन । उनको व्यस्तता पछिल्लो समय निकै बढेको छ ।
२०७० माघबाट १८ लाख रुपैयाँको लगानीमा भक्तपुरको सिरूवाटार, बस्नेत गाउँमा गीताले कृषि व्यवसाय सुरु गरेकी थिइन् । केही वर्ष उनी सक्रिय भएर लागिन् । तर, आजभोलि बहिनी पार्वती बारीको सबै काम हेर्दिन् । उनी भने कहिले कार्यक्रममा त कहिले बैठकहरूमा व्यस्त हुन्छिन् ।
कृषि व्यवसाय सुरु गर्दा उनकै निकै पापड झेल्नु परेको थियो । न आफुसँग लगानी गर्ने आर्थिक स्रोत न त घर परिवारको सहयोग । तरपनि उनी दृढ संकल्पका साथ अगाडि बढिन् र अहिले राम्रो उचाइमा पुगेकी छन् । सुरुमा उनले साथीभाइहरूबाट सापटी मागेर १८ लाखमा व्यवसाय सुरु गरेकी थिइन् ।
गीता भन्छिन्, ‘त्यो १८ लाख टनेल बनाउन, बस्ने घर, इनार, कृषिजन्य सामग्री खरिदमा खर्च भयो । उक्त रकम मैले आफन्त तथा साथीभाइबाट जुटाएकी थिएँ । त्यो बेला बैंकले मलाई विश्वास गर्ने वातावरण नै थिएन ।’
उनी काठमाडौंमा बसेर पढ्थिन् । पद्मकन्या कलेजमा भर्खरै स्नातक पढ्न थालेकी गीतालाई पढाइसँगै कृषि व्यवसाय अघि बढाउनु निकै चुनौती थियो । स्नातक तह प्रथम वर्षमा अध्ययन गर्दैगर्दा उनले कृषि व्यवसाय सुरु गरेकी थिइन् ।
घर परिवारको सहयोग तथा समर्थनविना नै काठमाडौं आएकी गीताको त्यो अडानले अहिले काम गरिरहेको छ । उनले धादिङबाट काठमाडौं आउँदा ‘म होटलमा भाँडा माझेर भए पनि काठमाडौंमै बसेर पढ्ने हुँ । तपाईहरूले स्वीकृति दिए÷नदिए पनि काठमाडौं गएरै छाड्छु ।’ भन्ने अडान राखेकी थिइन् ।
काठमाडौं आएपछि गीताले पढाइलाई अगाडि बढाइन् । पढाइसँगसँगै उनले विकास स्रोत परिचालन केन्द्रमा काम गर्न थालिन् । त्यहाँ उनले करीब ३ वर्ष बिताइन् । त्यो तीन वर्षमा उनले कृषि सम्बन्धी धेरै कुरा सिकिन् । यो ७० सालतिरको कुरा हो । उनले आफूले जानेको सीप प्रयोग हुनेगरी कृषि व्यवसाय सुरु गर्ने योजना बनाइन् । त्यसपछि उनले जागिर छोडिन् । आफ्नो योजना अघि बढाउनका लागि गीताले घर परिवारसँग सल्लाह गरिन् । आमाबुबाले उनको कुरा ठाडै अस्वीकार गरिदिए । ‘खेती नै गर्ने भए किन काठमाडौं गएकी, यतै पनि प्रशस्तै जग्गा छ । यहीँ आएर काम गर न’ भन्ने जवाफ आमाबुबाबाट आयो । उनले दोस्रोपटक पनि आमाबुबाको कुरालाई बेवास्ता गरिन् ।
गीता हरेक चुनौतीको सामना गर्दै अघि बढिन् । व्यवसाय गरेको पहिलो वर्ष त्यति धेरै ज्ञान थिएन तर, पनि राम्रै भयो । पहिलो वर्ष मात्र उनले १४ लाख रुपैयाँको टमाटर बेचिन् । त्यसपछि उनलाई यो व्यवसायबाट पनि राम्रै गर्न सकिने रहेछ भन्ने लाग्यो । दोस्रो वर्षदेखि उनी काठमाडौंको कोठा छोडेर फार्ममै बस्न थालिन् । आफूले सिकेको सीपलाई एकदमै जिम्मेवारीका साथ खेतबारीमा खन्याइन् । जसले गर्दा दोस्रो वर्ष पनि राम्रै भयो ।
गीताले यहाँसम्म आइपुग्दा निकै समस्याको सामना गर्नु परेको थियो । एकातिर घर परिवारको सपोर्ट थिएन भने अर्कोतिर समाजबाट बेला–बेला आउने कुराले पनि उनको चित्त दुख्थ्यो । ‘यहाँसम्म आइपुग्दा निकै संघर्ष गर्नुपर्यो ।’
गीतालाई कृषि व्यवसाय गर्न बहिनी पार्वतीको साथ र सहयोग छ । त्यसैले त कृषि फार्मको नाम नै दिदीबहिनी कृषि फार्म राखेका छन् । गीता भन्छिन्, ‘सुरुमा त बहिनीलाई पनि पठाउन मान्नु भएको थिएन । मैले होस् म एक्लै भए पनि बस्छु र काम गर्छु भनेपछि बहिनीलाई मसँगै पठाउन तयार हुनुभयो । पछि मैले राम्रो गर्दै गएपछि बुबाआमाले पनि थाहा पाउनुभयो । यहाँ आएर हेर्नुभयो । खुसी नै हुनुभयो । विस्तारै सबै ठीक होला ।’
गीता त्यो क्षेत्रमा यसरी आधुनिक प्रविधिको प्रयोग गरेर व्यवसाय गर्ने पहिलो किसान हुन् । उनकै सिको सिक्दै त्यो क्षेत्रमा अहिले धेरैले खेती गरिरहेका छन् ।
व्यवसाय सुरु गरेपछि गीताले दशैं, तिहार, तीजजस्ता चाडपर्व पनि मनाउन पाएकी छैनन् । दशै तिहारजस्ता चाडपर्वको बेला समेत घर जान पाइँदैन । अनि यहाँका मान्छेहरूले टीकाको दिन पनि किन घर नगएको ? तपाईहरूको आमाबुबा छैनन् हो ? भन्दै प्रश्न गर्छन् । त्यो बेला भने एकदमै नरमाइलो लाग्छ । हामी आमाबुबा नभएर नगएको त होइन, व्यवसाय छोडेर जान नमिलेको मात्र हो । तर त्यो उहाँहरूले बुझ्नुहुन्न ।
गीताले पढाइ र व्यवसायसँगै राजनीतिलाई पनि अगाडि बढाएकी छन् । उनी कांग्रेसप्रति आस्थावान हुन् । पार्टीका विभिन्न गतिविधिहरूमा सहभागी हुन्छिन् । नेविसंघको विद्यार्थी नेता भएकाले उनले विद्यार्थी हकहितको लागि आवाज उठाउँदै आएकी छन् । जीवनमा आवश्यक पर्ने सबै पाटाहरूलाई अगाडि बढाउने उनको योजना छ । गीता आफूले अँगालेको व्यवसायमा पूर्ण दक्षता हासिल गर्न चाहन्छिन् । त्यसको लागि उनले कृषिमै पीएचडी गर्ने सोंचमा छिन् । त्यसको लागि उनले घरमा बसेरै स्किल टेस्ट दिइरहेकी छन् । उनी यतिबेला लोकसेवाको पनि तयारी गर्दैछिन् । त्यसको लागि पनि उनी रातदिन अहोरात्र मिहेनत गर्दै आएकी छन् ।
युवाअवस्थामै उनी करोडपति व्यवसायी बन्न सफल भएकी हुन् । यतिबेला उनले थुप्रै क्षेत्रमा लगानी गरेकी छन् । यतिबेला उनलाई स्टाबेरी खेतीले निकै राहत दिइरहेको छ । स्टाबेरी लगाएर उनले अहिले लाखौं आन्दानी गरेकी छन् । स्टाबेरी खेतीलाई अझै विस्तार गर्ने उनको योजना छ ।
स्टाबेरीको माग एकदमै बढी छ । बजारको मागअनुसार उनी पूर्ति गर्न सकिरहेकी छैनन् । उनको बारीबाटै प्रतिकिलो सात सयका दरले स्टाबेरी बिक्री भइरहेको छ ।
सपनामा भाईको भविष्य
भाइ बसन्तलाई उनी डाक्टर बनाउने साथ पढाउँदै छिन् । यतिबेला एचए पढिरहेका भाइको सबै खर्च उनैले हेरिरहेकी छन् । त्यस्तै उनले घरमा समेत बेला बेला खर्च पठाउने गरेकी छन् । उनले घर खर्च, आफ्नो र बहिनीको खर्च तथा भाइलाई एचए पढाउँदाको सबै खर्च गीताले व्यहोर्दै आएकी छन् । त्यसका साथै उनले अहिलेसम्म लाखौं रुपैयाँ लगानी समेत गरेकी छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies