२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

जनता आवास कार्यक्रमका घर उपयोगविहीन

ADV
सुर्य प्रसाद भुसाल
२०८१ मंसिर १५ गते २०:२४
जनता आवास कार्यक्रमका घर उपयोगविहीन

अर्घाखाँची : अर्घाखाँचीका विभिन्न ठाउँहरुमा भूमिहीन, सुकुम्बासी तथा  विभिन्न  प्रकोपहरुबाट पीडित भइ घरबार विहीन परिवारहरुका लागि निर्माण भएका घरहरुमा बस्न पीडितले रुची देखाएका छैनन् । जसका कारण करोडौँका घर उपयोगविहीन बन्दै गएका छन् । अर्घाखाँची छत्रदेव गाउँपालिकाले जनता आवास कार्यक्रम अन्तर्गत निर्माण गरेका १० वटा घरमध्ये छ घर एक वर्षदेखि खाली छन् । स्थानीय सरकारसँगको समपूरक बजेटको ५० र पालिकाको ५० प्रतिशत बजेटमार्फत चार करोड रुपैयाँ लगानीमा ती घर निर्माण भएका थिए ।

रङ रोगन गरी बेहुली जस्तै सिँगारिएका प्लास्टर गरिएका सुविधा सम्पन्न घरमा पानी, बत्ती र शौंचालयको निकै राम्रो व्यवस्था भएपनि त्यहाँ बस्न स्थानीय  इच्छुक देखिँदैनन् । सबै घरमा सोलार बत्ती जडान गरिएको छत्रदेव गाउँपालिकाका स्थानीय युवा सन्जय पाण्डेले जानकारी दिए । गाउँको राम्रो ठाउँ खोजेर वरिपरि निकै हरियाली वातावरण र खुला ठाउँमा घर निर्माण भएका छन् । साना चिटिक्क र रङ रोगन गरिएका घर हेर्दा निकै आकर्षक छन् । छत्रदेव गाउँपालिका वडा नम्बर ६, चौवाहामा ४२ रोपनीमा घर निर्माण भएको छत्रदेव गाउँपालिका अर्घाखाँचीका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए  । घरसहित घरवारविहीनलाई  दुई रोपनी जग्गा उपलब्ध गराउने व्यवस्था भएपनि उक्त व्यवस्था कार्यान्वयन हुन सकेको छैन । 

सुकुमवासी भएपनि आफ्नै घर वा छिमेकीको घरमा बस्न रुचाउने भएकाले स्थानीयले ती सरकारी घरहरुमा बस्न खासै रुची नदेखाएको वडा नम्बर ६ का वडाध्यक्ष कमलप्रसाद पौडेलले बताए । अध्यक्ष पौडेलले भने,‘मान्छेहरू आफू बसेको घर झट्ट छोड्न नमान्दा रहेछन् । हामीले प्रयास गरियो, सुकुमवासी भएपनि घर छोड्न गाह्रो हुँदो रहेछ  । सरकारी मापदण्डमा परेका परिवार निःशुल्क ती घरमा बस्न पाउँछन् । नेपाल सरकारको भूमिहीन सुकुमवासी र आवासविहीनलाई जग्गा र बास उपलब्ध गराउने संवैधानिक व्यवस्था अनुसार घरजग्गा उपलब्ध गराइन्छ ।’

ती घरहरुमा दुई वटा कोठा र एउटा भान्साकोठासहितको घरहरु अहिले सेवाको खोजीमा छन् । ती घरमा सदस्यसम्मको परिवार बस्न मिल्छ । छत्रदेव गाउँपालिकाका अध्यक्ष श्रेष्ठले भने,‘मापदण्ड नपुगेका कारणले पनि घर बस्न आउनु भएको छैन । मापदण्ड पूरा हुन नसकेकालाई बसाल्ने कुरा भएन ।’ उनले प्राकृतिक प्रकोपबाट पीडित भइ घरबारविहीन भएकालाई पनि समेट्ने प्रयास गरेको र यो कार्यक्रम प्रभावकारी हुन्छ भन्ने विश्वास गरेको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले दाबी गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise