२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कविता : ब्युँझन्छन् बिपनाहरू !

shivam cement
२०८१ मंसिर २२ गते ०६:२०
Shares
कविता : ब्युँझन्छन् बिपनाहरू !

–गणेश लोहनी

ऊ... देख्यौ ?
जगतोद्धारिणी माताको
आशीर्वाद केन्द्र नजिकै
लट्टे झाँक्रीको प्रेत
पिचास कारखानासँगै 
ऊ... त्यो त्रिकालदर्शी
ज्योतिषको पसल
आफ्नो भविष्य थाहा पाउन 
जन्मपत्रिका हातमा लिएर
पंक्तिबद्ध महामहिम
सम्माननीय, माननीय, 
श्रीमान्, श्रीमती, सुश्रीहरूको 
लर्को देख्यौ नि !

खोइ हाम्रो आत्मविश्वास ?
आफ्नो पराक्रम, पुरुषार्थ ?
भाग्योदयका लागि
हामी कस्ताका पछि छौं ?
के ती साँच्चै हाम्रा तारणहार हुन् त ?

यो मनोदशाबाट
पहिले स्वयं ब्युँझौं
ब्युँझन्छन् बिपनाहरू ।

चोटाभरि, कोठाभरि ठूला भकारी छन्
जसरी हुन्छ, भकारी त भर्नु नै छ
पुर्खाको शान–मान, स्वाभिमान,
बलबुता, धीरता, वीरता 
सबै त सकियो
भकारी त्यसै कहाँ भरिन्छ र ?
जुनसुकै यन्त्र, मन्त्र, तन्त्र
प्रयोग गरेर भए पनि
मेरो भकारी भरियोस्
मनभित्र झन् ठूलो भकारी छ 
तृष्णाको मृग मरिचिकाका
पछिपछि दौडिरहेका 
हे मन !
त्याग मृगतृष्णाको पथ
ब्युँझन्छन् बिपनाहरू ।

सायद, धरती छाड्यो
हामीभित्रको मान्छेले
टिकटककै माध्यमले किन नहोस्
एलन मस्क, स्टिभ जब्स पो बन्नु छ त
सधैं स्वप्न महलमै बास छ
स्वप्निल रहनसहन
स्वप्निल लीला रास छ
उडान स्वप्निल छ
स्वप्नमय मन–मस्तिष्क
स्वप्निल चिदाकाश छ
यथार्थ धरातल
कता हो कता
हे अविश्रान्त स्वप्न पथिक !
ओर्ल धरतीमा स्वप्नलोकबाट
ब्युँझन्छन् बिपनाहरू ।

हो ! अनि मात्र ब्युँझन्छन् बिपनाहरू ।

सम्बन्धित खबर