बीरेन्द्र साह / मध्यान्ह
काठमाडौं : चीनमा देखिएको कोरोनाभाइरस नेपालमा पनि फैलिन सक्ने सम्भावना बढेको छ । चीनको वुहान शहरमा उक्त भाइरसका कारण केही व्यक्तिको मृत्यु भइसकेको छ । जसकारण नेपाली विशेषज्ञहरुले नेपालमा पनि समस्या हुन सक्नेतर्फ सचेत गराएका छन् । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले वुहानबाटै फर्किएका एक नेपाली विद्यार्थीमा संक्रमण भएको शंका लागेपछि पाँच दिनदेखि चिकित्सकहरूको निगरानीमा राखिएको बताए ।
डा.पुनले नेपाल आउने चिनियाँ पर्यटक र चीन जाने नेपालीको संख्या बढिरहेकोले बेलैमा सजग हुन आवश्यक रहेको बताएका छन् । नयाँ वर्ष मनाउनका लागि आउँदा हप्ताहरूमा चीन र अरू एशियाली मुलुकमा लाखौँ मानिसको चहलपहल हुने भएकोले यो भाइरस फैलिन सक्ने डर रहेको उनले बताए । वुहानको भ्रमण गरी स्वदेश फर्किएका आफ्ना केही नागरिकमा सो भाइरसको संक्रमण देखिएको थाइल्यान्ड र जापानले बताएको छ ।
चिनियाँ चिकित्सकहरूको टोलीले सो भाइरसबारे बुझ्ने प्रयासलाई तीव्र पारेको चीन सरकारले जनाएको छ । ‘सीफूड’ विक्री हुने एउटा बजारमा पहिलो पटक नयाँ भाइरस देखिएको थियो । जनस्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा वैज्ञानिक डा. समीरमणि दीक्षितले नेपालमा यसलाई निगरानीमा राख्न जरुरी रहेको बताए । उनका अनुसार नेपालको तयारी कमजोर छ । चीन छिमेकी मुलुक भएकोले नेपालले सबभन्दा बढी सजगता अपनाउनु पर्ने डा.दीक्षितले बताए ।
यसको उपचारमा चाहिने औषधि पर्याप्त मात्रामा उपलब्ध हुने व्यवस्था गर्नुजस्ता प्रारम्भिक तयारी जरुरी रहेको उनले सुझाव दिएका छन् । नयाँ प्रकारको कोरोनाभाइरसको हकमा मात्रै नभई अन्य खतरनाक भाइरसको हकमा पनि उत्तिकै चनाखो हुनुपर्नेमा डा. पुनको पनि जोड छ । स्वास्थ्य मन्त्रालयका अनुसार चीनमा नयाँ प्रकारको कोरोनाभाइरसको संक्रमण देखिएपछि आवश्यक सजगता अपनाइएको छ ।
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले विश्व स्वास्थ्य सङ्गठनले ‘कन्ट्री अलर्ट’ जारी नगरे पनि आफूहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई चीनबाट आउने पर्यटकमा स्वास्थ्य समस्या देखिएमा त्यसलाई हेर्न भनेको बताए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो । नयाँ प्रकारको कोरोनाभाइरस यसअघि मानवमा पहिचान गरिएको थिएन । कोरोनाभाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो ।
पहिचान भएका थुप्रै प्रकारका कोरोनाभाइरस जनावरहरूमा देखिए पनि मानिसहरूलाई तिनले संक्रमति बनाएका छैनन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन् । ज्वरो आउनु र खोकी लाग्नु, छिटोछिटो सास फेर्नु, श्वासप्रश्वासमा कठिनाइ हुनु, गम्भीर भएमा निमोनिया हुनु जस्ता लक्षण देखिने गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies