रेशमराज पौडेल / मध्यान्ह
काठमाडौं : कतारमा प्रवुद्ध नागरिकको पहिचान बनाएका अब्दुल्लाह युसुफ रहमान अल फख्रु नेपाल भ्रमण वर्ष २०२० सफल पार्न एक महिना लामो भ्रमण योजना सहित काठमाण्डौं आएका छन् । नेपाल भ्रमण वर्ष २०२० शुरु भएपछि भिजिट भिसामा नेपाल आउने फख्रु पहिलो कतारी नागरिक हुन् । नेपाल भ्रमणमा आउनु अघि कतारस्थित नेपाली दूतावासमा एक विशेष कार्यक्रमको आयोजना गरी उनको भावपूर्ण विदाई गरिएको थियो ।
लामो समय कुटनैतिक क्षेत्रमा काम गरेर ख्याति कमाएका फख्रु कतारका लागि युएन मिशन प्रमुख, बेल्जियम र युएइका लागि कतारी राजदूतको जिम्मेवारी कुशलतापुर्वक निभाएका कुटनितिज्ञ समेत हुन् । उमेरले ७४ वर्षमा रहेका उनी हिडडुल गर्न सक्दैनन् । ह्वील चियरको सहारामा हिँडडुल गर्ने ७४ वर्षीय फख्रु ढाका टोपीमा हुवहु नेपाली लाग्दछन्, वर्षौ अघि बसाई सरेर कतार गएका नेपाली जस्तै । स्वभावले नम्र र मिजासिला । ७४ वर्ष लामो जीवनयात्रामा यसअघि उनी तीन पटक नेपाल आइसकेका छन् ।
उनी प्राकृतिक सुन्दरता र परिश्रमी नेपाली नागरिकको आत्मीय व्यवहारले आफु मोहित भएको बताउँछन् । रगत र पसिना सिञ्चिएर कतारको आर्थिक समृद्धिमा नेपाली युवाहरुले गरेको योगदानका कारण पनि हुनसक्छ, उनी नेपाल र नेपाली प्रति उत्तिकै संवेदनशील देखिन्छन् । नेपाल भ्रमण वर्षका अवसरमा नेपाल आउन उनलाई कतार एयरवेजले प्लाटुनियम सुविधा सहित आकर्षक व्यवस्था मिलाएको थियो । तर नेपाल र नेपाली प्रति विशेष अनुराग राख्ने फख्रु कतार एयरवेजले उपलब्ध गराएको सुविधा भन्दा नेपाल भ्रमण
वर्ष २०२० सफल बनाउन नेपाली राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट नेपाल आए । गत जनवरी ७ तारिखमा भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रममा कतारस्थित नेपाली राजदूतावासले एक विशेष कार्यक्रमकाबीच फख्रुलाई भिजिट भिसा प्रदान गरेको थियो । कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले भिसा प्रदान गर्दाको क्षण भावुक थियो । कुटनितिज्ञ फख्रुको नेपाल बसाई करिब १ महिनाको हुने छ । जसअनुसार उनी १० दिन गण्डक प्रदेश अन्तर्गत पोखरा र विभिन्न स्थान, ५ दिन काठमाडौ उपत्यका, २ दिन चितवन र गोरखा लगायत अन्य पर्यटकीयस्थलहरुको भ्रमण तथा अवलोकन गर्नेछन् ।
कतारको तर्फबाट नेपाल भ्रमणवर्ष २०२० सफल बनाउन आफुले सक्दो सहयोग गर्ने उनको भनाइ छ । भ्रमणका अवसरमा कुटनितिज्ञ फख्रु आफैले पनि सामाजिक क्षेत्रमा सहयोग गर्ने योजना बनाएका छन् । कतारको राष्ट्रिय मानव अधिकार समिति कतारका नेपाल डेस्क प्रमुख प्रोफेसर रमजान अलि मियाँले कुटनितिज्ञ फख्रुलाई नेपाल भ्रमणको चाँजो पाँजो मिलाएका हुन् । आफुले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्दा महामहिम फख्रुको आँखा रसाएको प्रो. मियाँले बताए । कुटनितिज्ञ फख्रुको नेपाल भ्रमणले कुटनितिक तहमा रहेको नेपाल र कतारको बलियो सम्वन्ध नागरिक स्तरमा थप विस्तार हुने अपेक्षा गरिएको छ ।
कतारको दोहा र काठमाडौंबीच सिधा र निरन्तर हवाई उडान रहेको र प्रतिदिन कम्तिमा ६ वटा उडान भइरहेको हालको अवस्थामा कतारका अन्य नागरिकहरुले पनि नेपाल पर्यटन वर्ष २०२० को अवसरमा नेपाल भ्रमण गरेर अविस्मरणीय अनुभव हासिल गर्नेे अपेक्षा गरिएको प्रोफेसर मियाँले बताए । मियाँले नै फख्रुलाई नेपाली ढाका टोपी लगाएर कतार विमानस्थलबाट विदाई गरेका थिए । भ्रमण वर्ष अवधिभर अर्थात् सन् २०२० भित्र अरु ९९कतारी नागरिकलाई नेपाल भ्रमण गराउने लक्ष्य पनि राखेका छन्, प्रो. मियाँले ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies