केशर धामी / मध्यान्ह
काठमाडौं : घटना १ः– खै त्यसलाई बाउ (बुबा) भनु कि श्रीमान ? सानो त बाउ नै भन्थें । तर, आजभोलि यसले मलाई आफ्नै श्रीमती बनाएर राखेको छ । भर्खरै १७ वर्षमा प्रवेश गरेकी किशोरी मनको आक्रोशित भएर पीडा पोख्दै थिइन् । आफ्नै बाबुबाट पटक–पटक बलात्कृत हुँदै आएकी किशोरीको यो मनको भाव सुनेर उजुरी लिने प्रहरी समेत स्तब्द बने । २०७४ को पुसमा आफ्नै बाबुबाट बलात्कृत युवतीले प्रहरीमा उजुरी दिइएकी थिइन् ।
आमा पोईला गएपछि उनी आफ्नै बाबुकी श्रीमती बन्न बाध्य भइन् । घरमा कान्छी श्रीमती ल्याएका बाबुबाट उनी पटक–पटक बलात्कृत भइन् । अन्ततः कान्छी आमाको सहयोगमा उनले बाबुको कर्तुत प्रहरी सामू ल्याएकी थिइन । उजुरीको आधारमा प्रहरीले उनका ३७ वर्षीय बाबुलाई पक्राउ गरेर कारवाही गरेको थियो ।
घटना २ः– ताप्लेजुङको आठराई गाउँपालिका ३ की एक ५० वर्षीया महिला आफ्नै नातीबाट बलात्कृत भइन् । मानसिक सन्तुलन ठिक नभएकी ५० वर्षीया हजुरआमा १७ बर्षका आफ्नै नातिबाट बलात्कृत भएकी थिइन् । २०७५ साउन १९ गते दिउँसो १२ बजेको समयमा जबरजस्ती गरेका थिए ।
घटना ३ः– आफ्नै बुहारी बलात्कार गरेको आरोपमा पर्साको निर्मलवस्ती गाविसका ५० वर्षीय पदमबहादुर स्याङ्तान पक्राउ परे । जेठा छोरा रोजगारीका सिलसिलामा मलेशियामा रहेका बेला २४ वर्षीया बुहारीलाई पटकपटक यौन दुव्र्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
माथि उल्लेखित घटना त प्रतिनिधि पात्र हुन् । तर, आजभोलि तपाई हामीले सुन्दै आएको बलात्कारजन्य घटनामा आफन्त तथा नजिकको सम्बन्धका मानिसको संलग्नता देखिएको छ । मुलुकका विभिन्न ठाउँमा भएका बलात्कारका घटना भयावह छन् । जसका विरोध र अनुसन्धानका पाटामा सुरक्षा संयन्त्रसहित सरकारलाई चुनौतिका आवाज उठ्न थालेका छन् ।बलात्कार आफैंमा अपराधको चरम रूप हो । पात्र र प्रवित्ति अनि सम्बन्धका आधार फरक–फरक छन् । बलात्कारको एउटा सूक्ष्म पाटो हो– हाडनाता करणी । बाबुद्वारा छोरी, दाजुद्वारा बहिनी, ससुराद्वारा बुहारी बलात्कार भन्ने शीर्षकमा समाचार दिनदिनै आउने गरेका छन् ।
अर्कातिर हाडनाता सम्बन्ध पनि हुन्छ । जसरी बलात्कारका सवाल आउँछन् त्यसरी नै तिनै सम्बन्धबीच मिलोमतो र राजीखुसीका सम्बन्धका विषयका उजुरी प्रहरीसम्म कम छैनन् । नेपालमा पछिल्लो समय दैनिक ४ बलात्कारजन्य घटना भईरहेको प्रहरीको तथ्यांकले देखाइरहेको छ । गत वर्ष मात्रै नेपालमा एक हजार चार सय भन्दा बढी बलात्कारका उजुरी प्रहरीमा परेका थिए । प्रहरीमा उजुरी नपर्ने वा घटना लुकाईने गरेका बलात्कार त कति हुन्छन् ? यसको अनुसन्धान तथा खोजबिन अहिलेसम्म भएको छैन् ।
बलात्कार वा हाडनातामा सम्बन्ध राख्ने हरेक पात्र मानसिक रोगी नै समाजशास्त्री बताउँछन् । विश्लेषक डा. सुरेन्द्र केसीका अनुसार रगतको सम्बन्ध रहेकाहरूसँग यस्तो सम्बन्ध कायम राख्ने मानसिक रोगी हुन् । कानुनले पनि हाडनाता करणीलाई अपराध मानेको छ । मनोविद् गोपाल ढकाल आफन्तमाथि नै यस्तो दुव्र्यवहार गर्नेको मानसिक सन्तुलन ठिक नभएको बताउँछन् । कानूनले समेत बर्जित गरेको तथा अपराध मानेको विषयमा यस्तो कार्य गर्नुलाई मानसिक रोग भएको उनको भनाइ छ ।
मुलुकी फौजदारी संहिता २०७४ ले जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा जन्मकैद, सौतेनी आमा छोरा वा बाबु छोरी, सहोदर दिदी भाइ वा दाजु बहिनी, एकै हाँगाको ससुरा बुहारी, एकै हाँगाको बाजे नातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइ बुहारी वा देवर भाउजूको करणी भएमा चारदेखि दश वर्षसम्म कैद र ४० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।
एकै हाँगाको तीन पुस्ताभित्रको करणी भएमा तीन वर्षदेखि छ वर्षसम्म कैद र ६० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था कानुनले गरेको छ । वंशका सात पुस्तासम्मका अन्य नातामा करणी भएमा हाँगो, नाता र पुस्ता हेरी तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था वर्तमान कानूनले गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies