काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेसँग राजीनामा माग्ने निर्णय गरेको छ । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपसभामुखलाई राजीनामा गराउने निर्णय गरेको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुखलाई राजीनामा गराउने निर्णय भएको बताए । उनले भने, “उपसभामुखलाई राजीनामा गराउने निर्णय भएको छ । राजीनामा पछि कसलाई उपसभामुख बनाउने भन्ने निर्णय हुन्छ ।” गत असोज १४ गते कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका थिए । बलात्कार जस्तो गम्भीर आरोप लागे पछि महराले राजीनामा दिए पछि रिक्त पद नेकपाले नछोड्ने भए पछि उपसभामुखलाई राजीनामा गराउने निर्णय गरिएको छ । एउटै दलबाट सभामुख र उपसभामुख राख्न नपाउने भएकाले संसदको दुवै पद रिक्त गराउन यस्तो निर्णय गरिएको छ ।
तर, उपसभामुख तुम्बाहाङ्फेले राजीनामा नदिने अडान कायमै राखेकी छन् । चिक्तबुझ्दो जवाफ नआएसम्म राजीनामा नदिने र पुस २७ गतेको संसद बैठक चलाउने अडान समेत लिएकी छन् । शनिबार साँझ मध्यान्ह सँग कुरा गर्दै उनले राजीनामा दिनुपर्ने प्रष्ट कारण नआएसम्म राजीनामा नदिने बताइन् ।
पार्टी निर्णय भएकाले उपसभामुखले राजीनामा गर्नुपर्ने नेकपा नेताहरुले बताउँदै आएका छन् ।
अव को ?
उपसभामुखले अडान लिए पनि अन्ततः राजीनामा हुने निश्चित छ । किनभने, उपसभामुख संसदीय फाँटमा स्वतन्त्र हुने भएपनि दल त्याग गरेको नमानिने संवैधानिक व्यवस्था छ । तसर्थ, दलको सदस्यको हैसियतमा उपसभामुखले पार्टी निर्णय मान्नुपर्ने वैधानिक व्यवस्था छ ।
तर, उनको राजीनामा गराउने भन्नेबारे भने निश्चित हुन सकेको छैन । किनभने, राजीनामा गरे पनि उनको सभामुखमा दावी कायमै रहने बताउँदै आएकी छन् । यता, सभामुख पदमा कुरा नमिलेकै कारण पुस ४ गते देखि बोलाइएको प्रतिनिधिसभा बैठक बस्न सकेको छैन ।
हुन पनि २०४६ को बहुदल यता कुनै पनि सभामुख विवाद रहित देखिन्न । हरेक पटकका सभामुखकै कारण संसद विवादित र बन्धक बन्दै आएका छन् ।
०४८–०५१ म सभामुख बनेका दमननाथ ढुंगानाले त पार्टीभित्रै विवादित थिए । ०४६ को जनआन्दोलनबाट बहुदलीय व्यवस्था स्थापनापछि पहिलो पटक गठित संसदका सभामुख दमननाथ ढुंगानाले प्रतिपक्ष नेकपा एमालेको उति धेरै आरोप खेप्न नपरे पनि पार्टीभित्र नै चर्को आलोचना खेप्नु प¥यो । पार्टी सभापति कृष्णप्रसाद भट्टराईको भक्त बनेको आरोप लाग्यो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा ‘टनकपुर सहमति नभई सन्धी’ भएकाले संसद्बाट अनुमोदन गराउने पक्षमा उभिएपछि कोइराला पक्षले ढुंगानालाई सभामुख नभई भट्टराईको कार्यकर्ता बनेको आरोप लगाएका थिए । कतिपय यसै कारण कोइरालाले संसद् विघटन गरेको विश्लेषण गर्छन् ।
०५१–०५६ का सभामुख रामचन्द्र पौडेलले ठूलो दल बनेको एमालेले गिरिजाप्रसाद कोइरालाका छायाँ भनी आलोचना गर्थे । महाकाली सन्धीका बेला पौडेलले एमाले फुटाउने भूमिका निर्वाह गरेको आरोप एमालेले अहिले पनि लगाउने गरेको छ । सभामुख छोडे पछि फेरि पटक–पटक मन्त्री बनेर पौडेल थप विवादित बने । उनकै पालामा सरकार ढाल्न र बनाउन सांसद खरीद–बिक्रीको चर्चा समेत चल्यो ।
०५६–०६३ का सभामुख तारानाथ रानाभाटले संसद विघटनकै आरोप खेपे । दरबार हत्याकाण्ड, काँग्रेस विभाजन र माओवादीलाई आतंकवादी यही समयमा घोषणा भयो । पछि राजा निकट बन्दै प्रतिनिधिसभा बैठक बोलाउने हिम्मत नगरेको आरोपका कारण उनी विवादित बने ।
०६३–०७२ सम्म लामो समय सभामुख बनेका सुवास नेम्वाङलाई सरकारी जागिरेकै बनेको आरोप लाग्छ । पुनःस्थापित संसद्, पहिलो र दोस्रो संविधानसभाका सभामुख नेम्वाङ फेरि पनि सभामुखका उम्मेद्वार छन् । संविधान निर्माणका बेला सभाध्यक्ष रहेका नेम्वाङको राजधानीकै सडकहरुमा आदिवासी, जनजाति तथा मधेशी अभियान्ताले पुत्ला दहन गरेका थिए । १४ जेठ ०६९ मा उनले सभा नबोलाएकै कारण संविधानसभा विघटन भएको आरोप सधैं लाग्ने गरेको छ ।
०७२–२०७४ का सभामुख ओनसरी घर्तीमगरलाई सरकार ढाल्न र नयाँ बनाउन सक्रिय राजनीति गरेको आरोप छ । संसदको नियमित कार्यसूची पर सार्दै केपी शर्मा ओली परेको अविश्वासको प्रस्ताव अगाडि बढाएको भनी उनी आलोचित भइन् । २०७४ को प्रतिनिधिसभा निर्वाचन पछि सभामुख बनेका कृष्णबहादुर महरालाई काँग्रेसले नेकपा कार्यकर्ताको आरोप मात्रै लगाएनन्, बलात्कार आरोपमा कारागार चलाउन भए ।
अहिले फेरि को सभामुख बन्ने विवादले संसद बन्धक बनेको छ । तिनै सुवास नेम्वाङ, उपसभामुख तुम्बाहाङ्फे, अग्नी सापकोटा, देव गुरुङ र पम्फा भुसाल सभामुख पदको दाबेदार छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies