पोखराः ज्योतिर्विद् एवं कवि पिताम्बर पौड्यालको ज्योतिःशतकम् बजारमा आएको छ । पोखरा महानगरपालिका–३३ शिववस्ती निवासी उनको उक्त पुस्तकमा ज्योतिष विषयका विविध पक्षलाई समेट्ने प्रयास गरिएको छ ।
विभिन्न पाँच पल्लवमा विभाजित पुुस्तक छन्दोबद्धः संस्कृत तथा नेपाली रचना हो । पौड्यालले ज्योतिषीय विश्लेषणसँगै संस्कृतमा उल्लेखित श्लोकलाई नेपालीमा अनुवाद गरी सरल र जो कोहीले बुुझ्ने गरी प्रस्तुत गरेका छन् ।
छयत्तर पृष्ठमा समेटिएको सो पुस्तकको प्रथम पल्लवमा उनले नक्षत्र एवम् राशिबारे उल्लेख गर्दै पञ्चाङ्ग र ज्योतिषको विश्लेषण गरेका छन् । दोस्रो पल्लवमा ग्रह विश्लेषण, तेस्रो पल्लवमा षड्वर्ग विश्लेषण, चौँथो पल्लवमा संक्षिप्त फलादेश, लग्नादी बाह्र भावबाट प्रश्नावलोकन, भावेश फल, विभिन्न भावस्थित व्ययेश फल, उच्च नीच ग्रह फल र व्याधी मृत्युबारे चर्चा गरिएको छ । पाँचौँ पल्लवमा संक्षिप्त राशिफल, वैदिक सम्पदा र नीति श्लोक उल्लेख गरिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्यसचिव सूूर्यप्रसाद ढुुङ्गेलले शिक्षाको सूत्र झैंँ सामान्यबाट जटिलतिर लम्केको यो पुस्तक विशेष गरेर ज्योतिष पेसा एवम् पुरोहित्याई गर्नेहरुका लागि र वालज्योतिषीलाई समेत बढी उपयोगी हुने बताए ।
वि.सं. २००८ जेठ ३१ गते भरतपोखरी – ६ बर माझथर (हाल पोखरा महानगरपालिका–३३)मा जन्मेका स्व. खडानन्द/जानुकाको छोरा पौड्यालको यस अघि ज्योतिषसम्बन्धी विभिन्न लेखरचना (२०७२), फलित पञ्चामृतम् पहिलो संस्करण (२०७३), दोस्रो संस्करण (२०७४) र तेस्रो संस्करण (२०७६) प्रकाशित भइसकेकोे छ ।
शैक्षिक, सामाजिक एवम् राजनीतिक क्षेत्रका दर्जनौं सङ्घ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनले यसअघि राष्ट्रिय शिक्षा समिति पुरस्कार (२०५२), अन्तर्राष्ट्रिय ज्योतिष भूूषण पुरस्कार (२०५६)लगायत राष्ट्रिय एवम् स्थानीय पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् । प्रातःप्रार्थना, स्तुति एवम् पञ्चयज्ञ, स्तोत्रानुवाद, सर्वदेव पूजा पद्धति, सरल ज्योति उनका प्रकाशोन्मुख कृति हुन् ।
काठमाडौंः भारत सरकारको सहयोगमा दैलेखमा निर्माण गरिएका सामुदायिक विद्यालय भवन स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।
नेपालस्थित भारतीय राजदूतावासको विकास साझेदारी परियोजना अन्तर्गत निर्माण भएका सामुदायिक विद्यालय भवन सोमबार स्थानीय निकायलाई हस्तान्तरण गरिएको दूतावासले जनाएको छ । भारतीय राजदूतावास विकास साझेदारी प्रभागका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको रु. १० करोड ८६ लाख आर्थिक सहयोगमा दैलेखको लालिकाँडास्थित मालिका उच्च माध्यमिक विद्यालय, बडाभैरवस्थित भैरव माध्यमिक विद्यालय, बडाखोलास्थित जगदिश माध्यमिक विद्यालय र रामपुरस्थित नारायण क्याम्पसका भवन निर्माण गरिएको हो ।
भवन हस्तान्तरणको अवसरमा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसी, भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापा, महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्मा (पाण्डे), नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माका साथै समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारीलगायतको उपस्थिति थियो ।
विद्यालय र क्याम्पस भवनले त्यस क्षेत्रका विद्यार्थीलाई शैक्षिक पूर्वाधारमार्फत गुणस्तरीय शिक्षा उपलब्ध गराउन सहयोग पुग्नेछ । सन् २००३ देखि भारतले नेपालमा पाँच सय ४४ भन्दाबढी उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ । यसमध्ये चार सय ८० वटा परियोजना सम्पन्न भइसकेका छन् ।
उक्त परियोजनामध्ये कर्णाली प्रदेशमा १४ वटा परियोजना छन् । यसका अतिरिक्त भारत सरकारले भारतको स्वतन्त्रता र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा शैक्षिक संस्थालाई नौ सय ४० वटा एम्बुलेन्स र एक सय ८४ वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरिसकेको छ । यस परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल प्रदान गरेको दूताबासको भनाइ छ । रासस
म्याग्दीः म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत भुरुङ्गखोलामा दुई हप्तामै बेलीब्रिज जडान गरिएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने भुरुङ्गखोलामा करिब रु. ३५ लाखको लागतमा ३० मिटर लामो बेलीब्रिज जडान भएको बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख जगत् प्रजापतिले बताए । सडकअन्तर्गत मुस्ताङको लेतेखोलाको बेलीब्रिजलाई भुरुङ्गखोलामा स्थानान्तरण गरिएको हो ।
‘भुरुङ्गखोलामा हालै आएको बाढीले त्यहाँ रहेको कल्भर्ट बगाएको थियो’, उनले भने, ‘बर्खायाममा बाढी आउँदा पनि बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या आउन नदिन तत्कालै बेलीब्रिज राखिएको हो ।’
असार पहिलो साता शुरु गरिएको बेलीब्रिज जडानको काम सकिएर यातायातका साधन आवतजावत गर्न थालेका अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य वीरबहादुर पौडेलले जानकारी दिए । ‘कल्भर्ट बगाएपछि भुरुङ्गखोलामा बाढी आउँदा सवारीसाधन आवतजावत अवरुद्ध हुने समस्या थियो’, उनले भने, ‘म्याग्दी र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्री समस्यामा परेका थिए । बेलीब्रिज सञ्चालन भएपछि सहज भएको छ ।’
लेतेखोलामा पक्की पुल बनेपछि त्यहाँको बेलीब्रिजको सामान सडक डिभिजन कार्यालय पोखरा लगिएको थियो । पोखराबाट बेलीब्रिजको पाटपुर्जा ल्याएर भुरुङ्गखोलामा राखिएको हो । बेनी–जोमसोम सडक आयोजनाले हालै बेनी नगरपालिका–८ कालीपुबाट पर्वतको जलजला गाउँपालिका २ र ३ बगरफाँट जोड्ने म्याग्दी नदीमाथि ४५ मिटर लामो बेलीब्रिज जडान गरेको थियो । गत फागुनमा दुई करोड चार लाखमा ठेक्का सम्झौता हिमालयन विल्डर्सले जेठमै बेलीब्रिज जडानको काम सकेर यातायात सञ्चालन भइसकेको छ ।
बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण–३ दानास्थित रुप्सेखोलामा ४५ मिटर लामो बेलीब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । रुप्सेखोलामा बेलीब्रिज जडान र नजिकैको पहिरो हटाउन मुक्तिनाथ निर्माण सेवाले तीन करोड ५६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
असार महिनाभित्रै रुप्सेको बेलीब्रिजमा यातायातका साधन सञ्चालन हुने गरी तीव्रताका साथ जडानको काम भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । रासस
कर्णालीः सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गमा जथाभावी निर्माण गरिएका घरटहरा हटाउने भएको छ ।
सडक डिभिजन कार्यालयको कार्यक्षेत्रभित्र पर्ने राजमार्गअन्तर्गत खुलालुदेखि नाग्म बजार हुँदै जुम्ला खलङ्गासम्म र रारा राजमार्गको नाग्मदेखि गमगढी हुँदै नाक्चालाग्ना सडकखण्डको सीमाभित्र बनेका संरचना हटाउन लागिपरेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी चित्र चौलागाईंले जानकारी दिए ।
‘राजमार्गमा पर्ने उक्त क्षेत्रको दायाँबायाँका अतिक्रमित संरचना हटाउने भनी ३५ दिने सार्वजनिक सूचनासमेत जारी गरेका छौँ’, सूचना अधिकारी चौलागाईंले भने, ‘राजमार्गमा बनेका संरचना हटाइ सडक फराकिलो बनाउन कार्यालय लागिपरेको छ ।’ सडकको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन पटकपटक सूचना प्रकाशित गरे पनि अटेर गरेकाले सर्वजनिक सडक ऐन २०३१ को दफा १८ (३) अनुसार कार्यालय अगाडि बढ्ने सूचना अधिकारी चौलागाईंको भनाइ छ ।
सडकमा राखेका सामग्री, होटल व्यवसायी, मदिरा उत्पादनकर्ता एवं डिलरद्वारा राजमार्गको सीमा क्षेत्रभित्र होर्डिङ, विज्ञापन बोर्ड राखेको पाइएकाले सडक सुरक्षाको दुष्टिकोणले जोखिमयुक्त हुने भएकाले हटाउन भनी सार्वजनिक सूचना जारी गरिएको सडक कार्यालयका प्रमुख दिपेन्द्रबहादुर विष्टले बताए ।
सडकको सीमा मिचेर बनाइएका घर, टहरालगायतका संरचना अविलम्ब हटाएर सडकको जग्गा खाली गर्न जिल्लाका स्थानीय तहलाई पत्राचार गरिएको सडक कार्यालयले जनाएको छ । अहिलेसम्म स्थानीय तहले राजमार्गको अतिक्रमण हटाउने कदम चालेका छैनन् । बितेका वर्षमा पनि कार्यालयले अतिक्रमण हटाउन निर्णायक पहल गरेको डिभिजन सडक कार्यालयले जनाएको छ ।
सार्वजनिक सडक ऐन, २०३१ अनुसार स्थानीय तहले सम्झाउँदा पनि हट्न नमानेमा प्रशासनको सहयोग लिएर जुनसुकै बेला बल प्रयोग गरेर अतिक्रमण हटाइने सूचना अधिकारी चौलागाईंले जानकारी दिए । सडकलाई अतिक्रमणबाट जोगाउने जिम्मेवारी स्थानीय सरकारको भए पनि जनप्रतिनिधिले बेवास्ता गर्दे आएका छन् । रासस
वालिङः दोस्रो पुस्ताले रुचि नदेखाउँदा पछिल्लो समय यहाँको बाजा बजाउने पेसा हराउने अवस्था देखा परेको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका–८ बङ्रातीमा पुर्खौंदेखि परियार समुदायले बजाउँदै आएको नौमती बाजा पछिल्लो समय नयाँ पुस्ताले अँगाल्न नसक्दा सो पेसा हराउने अवस्था देखिन थालेको हो ।
बङ्रातीका बाजा भनेपछि यसको छुट्टै महत्व र माग हुँदाहुँदै पनि नयाँ पुस्ताले यो पेसाप्रति रुचि नदेखाएकाले भोलिका दिनमा हराउँछ कि भन्ने चिन्ता बङ्राती कालिका बाजा समूहका अध्यक्ष दलबहादुर परियारको छ ।
‘लगनका बेला र शुभकार्यमा नौमती बाजाको माग हुने गरेको छ, अरु बेला काम पाइँदैन, लगनका बेलामा मात्रै बाजा बजाएर दैनिक चल्ने कुरै भएन’, उनले भने । बाजा बजाएर दैनिकी चलाउन गाह्रो हुने, नियमित आम्दानी नहुने, मेहनत अनुसारको पारिश्रमिक नपाइने भएकाले युवा पुस्ताले रुचि नदेखाएको उनले बताए ।
‘गाउँमा युवाको सङ्ख्या त अधिक छ, यो पेसाबाट आम्दानी कम हुने भएकाले टिक्न सक्ने अवस्था भएन, गाउँका अहिले करिब ३५–४० युवा वैदेशिक रोजगारीमा छन्, यहाँका युवाले बाजा बजाउने सीप नै नजानेका होइनन्’, उनले भने, ‘सीप त जानेका छन्, तर यसबाट भएको आम्दानीले घर खर्च चलाउनै मुस्किल भएपछि टिकिराख्न सकेनन् ।’
दिन तथा दूरीका हिसाबले नजिक तथा टाढाको दर फरक हुने गरेको समूहका सदस्य तुलवीर परियार बताउँदै नजिकदेखि टाढा तथा समयानुसार न्यूनतम रु. २० देखि ४० हजारसम्म पारिश्रमिक लिने गरेको उनले बताए । ‘अहिले बाजा समूहमा १२ जना ४०–४५ वा सोभन्दा माथिका मात्रै सहभागी छौँ’, उनले भने, ‘समूहमा युवा पुस्तालाई हिँडाउन सकेका छैनौँ, युवा बाजाभन्दा पनि वैदेशिक रोजगार वा अन्य व्यवसायतर्फ आकर्षित भएका छन् ।’
केही वर्ष पहिले गल्याङ नगरपालिकाले नौमती बाजा सेट उपलब्ध गराएको थियो । बाजा पुराना भएकाले बजाउन समस्या हुन थालेको समूहका सदस्य लोकबहादुर परियारले बताए । बाजा समूहका लागि नयाँ बाजा र समूहको पोशाक आवश्यक रहेको उनले बताए ।
‘बाजाको माग भएका स्याङ्जासहित छिमेकी जिल्लाका विभिन्न ठाउँमा बाजा बजाउन जान्छौँ’, उनले भने, ‘बाजाको माग नभएका बेला घरमै सिलाइकटाइ गर्ने गरेका छौँ ।’ बिहान कमाएर साँझ खानपर्ने बाध्यता रहेकाले नयाँ बाजागाजा थप गर्नसक्ने अवस्था नरहेको सदस्य लोकबहादुरले बताए ।
काठमाडौंः सहज च्यालेन्ज फन्डले मकै, अलैँची, दुग्ध उत्पादन र तरकारीको मूल्य शृङ्खलाहरूमा विद्यमान अवरोधहरू समाधान गर्न नवीन उत्पादन विकास तथा गुणस्तर सुधार र पर्यावरणीय तथा वातावरणीय पहलहरूका सेवाहरू प्रदान गर्ने सेवा प्रदायकलाई सहयोग गर्ने जनाएको छ ।
सहज च्यालेन्ज फन्डले शुक्रबार पत्रकार सम्मेलन गरी चौथो र पाँचौँ चरणको सहयोग कार्यक्रमबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा नेपाल कृषि बजार विकास कार्यक्रमकी टिम लिडर रिमा श्रेष्ठले स्विस कोन्टाक्ट, सहज च्यालेन्ज फन्ड र कोशी प्रदेशमा कृषि सेवा प्रावधान बढाउन फन्डको महत्त्वबारे जानकारी दिइन् । उनले च्यालेन्ज फन्डको पहिलो पटक आवश्यक उपकरण र दोस्रो राउन्ड डेरीमा कसरी केन्द्रित छ भन्नेबारेमा विस्तृत जानकारी गराइन् ।
कृषि बजार विकास कार्यक्रमका प्रबन्धक शुभेच्छा श्रेष्ठले उत्पादन विकास तथा गुणस्तर सुधारद्वारा सुधारिएको कृषि गतिविधिका सान्दर्भिकताको बारेमा जानकारी दिइन् । साथै उनले प्रशोधित खाद्य पदार्थको माध्यमबाट उत्पादन विविधिकरणलाई कसरी सहयोग गर्ने भन्नेबारेमा कुरा बताइन् । यसैगरी कृषिबजार विकास कार्यक्रमका ब्रजेश मल्लले च्यालेन्ज फन्डले जलवायु र वातावरणीयरूपमा दिगो अभ्यासमा सहयोग गर्ने कम्पनीको प्रकारमा स्पष्ट पारे ।
परियोजनाका उत्पादन विकास तथा गुणस्तर सुधारविज्ञ दिप्ताङ्शु थापाले नेपालको सान्दर्भिक चुनौती र सम्भावित समाधानका बारेमा बताउए । परियोजनाका पर्यायवरणीय तथा वातावरणीय विज्ञ विपिन थापाले फन्डले नवप्रवर्तनको माध्यमबाट दिगो परिवर्तन ल्याउने बताए।
सहज च्यालेन्ज फन्डले पाँच लाख देखि रु. ५० लाखसम्म सहयोग गर्ने जनाएको छ । प्रस्तावित सेवाको माग, सान्दर्भिकता र सेवा प्रदायकको क्षमताको जाँच गरी सहयोग रकम तोकिनेछ । सहज च्यालेन्ज फन्डको चौथो चरणमा उपकरण तथा मेसिनरी खरिदका लागि सहयोग दिइने छैन भने पाँचौँ चरणमा सहज च्यालेन्ज फन्डबाट प्राप्त हुने सहयोगबाट तीन सय पाँच उपकरण तथा मेसिनरी खरिदका लागि प्रयोग गर्न सकिनेछ ।
यस च्यालेन्ज फन्डका लागि २०८० साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदनको समयसीमा सकिएपछि पहिलो चरणको मूल्याङ्कन गरिनेछ र सफल आवेदकहरूलाई पूर्ण व्यावसायिक योजना बुझाउन अनुरोध गरिनेछ ।
आवेदकको मागअनुसार अनुकूलित वित्तीय र प्राविधिक सहयोगमार्फत सहज च्यालेन्ज फन्डले लक्षित सेवाहरूमा पहुँच बढाउँदै कोशी प्रदेशको कृषि क्षेत्रमा उच्चस्तरको व्यावसायीकरण र आर्थिक मूल्य–प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य राखेको जनाएको छ ।
काठमाडौंः एक अध्ययनका अनुसार पृथ्वीको सरदर तापमान एक दशमलव पाँचदेखि दुई डिग्री सेन्टिग्रेड बढेको अवस्थामा हिन्दकुश हिमालय क्षेत्रको ३० देखि ४० प्रतिशत हिउँ लोप हुने खतरा रहेको देखिन्छ ।
नेपालसहित आठ राष्ट्र सदस्य रहेको अन्तर–सरकारी निकाय अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले मंगलबार सार्वजनिक गरेको एक अध्ययनअनुसार विश्वको सरदर तापमानमा भएको बढोत्तरीका कारण पछिल्ला वर्षमा हिमनदी, हिउँ र हिउँ जमेको स्थानमा अभूतपूर्व परिवर्तन आएको देखिएको छ ।
तीन हजार पाँच सय किलोमिटर लामो हिन्दकुश हिमालय शृङ्खलामा नेपालसहित अफगानिस्तान, बङ्गालादेश, भुटान, चीन, भारत, म्यानमार र पाकिस्तान गरी आठ मुलुक पर्दछन् । हिमनदीको क्षयीकरणको दर हिमालय क्षेत्रका विभिन्न भू–भागमा फरक–फरक रहने अध्ययनको प्रक्षेपण गरेको छ । यो शताब्दीको अन्त्यसम्ममा तीन डिग्री सेन्टिग्रेडले पृथ्वीको तापक्रम बढ्दा हिमालय क्षेत्रले ७५ प्रतिशत हिउँ गुमाउने र पृथ्वीको तापमान चार डिग्रीले बढ्दा यो ८० प्रतिशत पुग्ने आँकलन गरिएको छ ।
इसिमोडले सार्वजनिक गरेको ‘हिन्दकुश हिमालय क्षेत्रको पानी, हिउँ, समाज र पारिस्थिकीय प्रणाली’ शीर्षकको अध्ययन प्रतिवेदनमा उच्च भूभागमा पानी जमेको क्षेत्र, पानी, जैविक विविधता, समाजको अन्तरसम्बन्ध र यसको प्रभावबारे समीक्षा गरिएको छ ।
अध्ययनले पृथ्वीको तापमानमा भएको वृद्धिका कारण सन् २००० को दशकको तुलनामा सन् २०११ देखि २०२० सम्मको दशकमा हिमनदीहरुको क्षयीकरणको दर ६५ प्रतिशतले बढिरहेको देखाएको छ । हिउँ पग्लने प्रक्रियाका कारण यो शताब्दीको मध्यसम्म यो क्षेत्रमा पानीको मात्रा र प्रवाह अत्यधिक हुने र त्यसपछि क्रमशः अभाव हँुदै जाने आकलन अध्ययनमा छ ।
अध्ययनका प्रमुख लेखक तथा इसिमोडका वातावरण वैज्ञानिक फिलिपस वेस्टरले भनेका छन्, ‘पछिल्लो सयवर्ष अवधिमा हामी हिमनदी गुमाउँदै छौँ ।’ हिउँ र बरफ पग्लिँदा यस क्षेत्रमा बसोबास गर्ने दुई अर्ब मानिसको जीवनयापन र विभिन्न प्रजाति लोप हुने खतरा रहेको अनुमान गरिएको छ ।
उच्चतम उत्सर्जनको अवस्थामा ७४ प्रतिशत पानीका लागि हिम नदीमा निर्भर रहेको अमुदर्या नदी, ४० प्रतिशत पानीका लागि हिम नदीमा निर्भर रहेको इन्दुज नदी तथा ७७ प्रतिशत पानीका लागि हिमनदीमा निर्भर रहेको हेलमन्ड नदीमा पानीको प्रवाह नाटकीय हिसाबले घट्ने अध्ययनको आँकलन छ ।
हिन्दकुश हिमालय क्षेत्रबाट बग्ने १२ प्रमुख नदीका लागि हिमालय क्षेत्रको हिउँ र बरफ महत्वपूर्ण स्रोत रहँदै आएको छ । यी नदीले यस क्षेत्रका पहाडी भूभागमा बस्ने रु २४ करोड जनसङ्ख्यालाई स्वच्छ पानी तथा अन्य पारिस्थिकीय सेवा दिँदै आएका छन् भने तल्लो तटका एक अर्ब ६५ करोड मानिस यही स्वच्छ पानीमा आधारित छन् ।
उच्चतम भू-भागमा हिउँ जमेको जमिन घट्दै जाँदा यसले धेरै पहिरो जाने र उच्चतम भूभागमा निर्माण भएका भौतिक संरचना संकटमा पर्ने, हिमतालमा विस्फोटको खतरा बढ्ने तथा विपद्का कारण ठूलो जनसङ्ख्या विस्थापित हुनेसमेत देखिएको छ । ‘भविष्यमा हुने हानि तथा नोक्सानीलाई सम्बोधन गर्न र समुदायको अनुकूलन क्षमता बढाउन तत्काल अन्तर्राष्ट्रिय सहयोग र क्षेत्रीय सहकार्य आवश्यक छ’, अध्ययनले भनेको छ ।
इसिमोडकी उपमहानिर्देशक इजाबेला कोजिएलले भनेकी छिन्, ‘हिन्दकुश र हिमालय क्षेत्रका हिमनदी पृथ्वीको प्रणालीको अभिन्न अङ्ग हुन् । यसलाई गुमाउँदा हुने नोक्सानीलाई हिसाब गरी साध्य छैन । विश्वले यो सङ्कटलाई रोक्न आवश्यक छ । तत्काल यो सङ्कट न्यून गर्ने प्रयासका साथै अनुकूलन कोषको आवश्यकता, पारिस्थिकीय प्रणाली, पुनःस्थापना तथा हानिनोक्सानीका लागि थप वित्तीय परिचालन आवश्यक देखिएको छ ।’
काठमाडौंः प्रहरीलाई चिनियाँ भाषा तालिम प्रदान गरिएको छ । पर्यटक प्रहरी, इमर्जन म्यान्डरिन एकेडेमी (आइएमए) र इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीको सहकार्यमा पर्यटक प्रहरीलाई दुई महिने चिनियाँ भाषा प्रशिक्षण दिइएको हो ।
प्रशिक्षणमा सहभागी पर्यटक प्रहरीलाई बुधबार प्रमाणपत्र वितरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रशिक्षणले पर्यटक प्रहरीलाई चिनियाँ पर्यटकसँग सञ्चार गर्न र उनीहरुको समस्या तत्काल समाधान गर्न सहज हुने बताए । उनले पर्यटक प्रहरीलाई अन्य भाषाको पनि प्रशिक्षण दिन जरुरी रहेको उल्लेख गरे ।
चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपाल र चीन छिमेकी मुलुक भएकाले एकापसमा भाषा जाने हरेक कुरामा सहज हुने बताए । चिनियाँ राजदूतवासका काउन्सिलर वाङ्छिन, नेपाल पर्यटन बोर्डका महानिर्देशक होमप्रसाद लुइँटेल, प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठलगायतले प्रशिक्षणबाट पर्यटक प्रहरीलाई काम गर्न थप हौसला मिल्ने बताए ।
कार्यक्रममा भाषा प्रशिक्षणमा सहभागी पर्यटक प्रहरी लक्ष्मण राउत, कुमारबहादुर खड्का, सुनिता नेपाल, शुभराज महतरा र सुनिल श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरिएको थियो । दुई महिनासम्म सञ्चालन भएको पर्यटक प्रहरी भाषा प्रशिक्षण कक्षका लागि इमर्जन म्याण्डरिन एकेडेमीले छुट्टै पाठ्यक्रम बनाएर अध्यापन गराएको एकेडेमीकी सञ्चालक प्रमिला तामाङले जानकारी दिइन् ।
कन्चनपुरः महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशद्वारा गरिएको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमअन्तर्गत महाकाली प्रादेशिक अस्पतालमा गरिएको अनुगमन मूल्याङ्कनमा विगतको तुलनामा अस्पतालले स्वास्थ्य सेवामा उलेख्य सुधार गरेको पाइएको हो ।
स्वास्थ्य सेवा विभागले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार अस्पतालमा सेवा सञ्चालन भए/नभएको हरेक छ/छ महिनामा अनुमगन गर्ने गरेको छ । विभागका अनुसार सन् २०१९ मा महाकाली अस्पतालको गुणस्तर ३५ प्रतिशतमात्रै रहेको थियो । हाल अस्पतालले गुणस्तर वृद्धि गर्दै ८५ प्रतिशत पुर्याएको छ । त्यसैगरी २०२० मा अस्पातलले सेवा सुधार गर्दै ६३ प्रतिशत पुर्याएको थियो । सन् २०२१ मा ६८ प्रतिशत, २०२२ मा ७८ प्रतिशत सेवा सुधार भएको हो ।
स्वास्थ्य सेवा विभागले अनुगमन गर्दा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सञ्चालन भए/नभएको हेर्ने गरेको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले जानकारी दिए । उजले विगतका तुलनामा अस्पतालले गुणस्तर वृद्धि गर्दै गएको बताए । ‘हामीले अस्पतालले दिने स्वास्थ्य सेवा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नै दिने गरेका छौँ’, उनले भने, ‘अहिले अस्पतालमा विशेषज्ञ चिकित्सक र अन्य सेवा सुविधासमेत थप गरिरहेका छौँ, जसले गर्दा बिरामीको चाप बढेको छ ।’
उनले शतप्रतिशत पुर्याउने लक्ष्यअनुसार अस्पतालले स्वास्थ्य सेवा विस्तार गरिरहेको बताए । ‘हामीले सुविधासम्पन्न इमर्जेन्सी भवन सञ्चालनमा ल्याएका छौँ’, अध्यक्ष भट्टले भने, ‘सेवा सुविधा पनि थप हुने प्रक्रियामा छन् हाम्रो लक्ष्य सय प्रतिशत गुणस्तरीय स्वास्थ्य सेवा दिने हो ।’
उनले समिति जनशक्तिका बीच पनि सेवा प्रवाह चुस्त रहेको बताए । अस्पतालमा हाल १४ विशेषज्ञ चिकित्सक, १२ मेडिकल अफिसर, छ जना डेन्टलले सेवा दिँदै आएका छन् । ‘अस्पतालमा अझै नर्सिङ स्टाफको अभाव छ, भौतिक संरचना निर्माण हुँदैछनु’, उनले भने, ‘आवश्यक जनशक्ति व्यवस्थापन र भौतिक संरचनाका लागि पहल गरिरहेका छौँ ।’
यहाँका स्थानीयले पनि पछिल्लो समय अस्पतालको सेवा सुधार भएको बताएका छन् । महाकाली अस्पतालमा उपचारको क्रममा भेटिएका पुष्पा पन्तले अस्पतालमा सहजरुपमा सेवा पाइरहेको बताए । ‘विगतको तुलनामा अहिले धेरै सुधार भएको छ तर बालरोग विशेषज्ञ ल्याउनु जरुरी छ’, उनले भने, ‘अहिले यही अस्पतालमा शल्यक्रिया हुने गरेको देखेपछि खुसी लागेको छ ।’ त्यसैगरी यहाँका नागरिक अगुवाले पनि अस्पतालमा राजनीति गर्न नहुने भन्दै अस्पतालको सेवा विस्तारमा लाग्नुपर्ने बताउँछन् ।
यहाँका स्थानीय रमेश पन्तले पछिल्लो सयम अस्पतालले स्वास्थ्य सेवा थप गरेको बताउँदै यहाँका स्थानीयले घरआँगनै उपचार पाउने गरेको बताए । ‘एक विशेषज्ञ चिकित्सक बस्ने अस्पतालमा अहिले १४ जना विशेषज्ञ चिकित्सक छन् त्यस्तै अन्य सुविधा पनि थप भएका छन् ।’ उनले भने, ‘अस्पतालमा राजनीतिक आग्रह–पूर्वाग्रहले गर्दा बेला–बेला विवादमा आउने गरेको छ अस्पतालमा राजनीति गर्नु हुँदैन ।’ महाकाली प्रादेशिक अस्पतालले स्वास्थ्य सेवा सुधार गरेपछि सामान्य उपचारका लागि पनि यहाँका स्थानीयले अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । रासस
ललितपुरः धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दू तथा बौद्धधर्ममा पवित्र मानिन्छ । वाग्मती नदी किनारमा रहेका केही मन्दिर परिसरमा उद्यान (पार्क) निर्माण हुँदैछन् ।
उपत्यकाको वातावरण स्वच्छ, पवित्र र सुन्दर तुल्याउने, नदी प्रणालीसँग सम्बन्धित ऐतिहासिक पुरातात्विक एवं सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सम्पूर्ण वाग्मती सभ्यताको पहिचान एवं जगेर्ना गर्ने उद्देश्य बोकेको अधिकारसम्पन्न एकीकृत विकास समितिले वाग्मती किनारमा पार्क निर्माणलाई जोड दिँदै आएको छ ।
ललितपुरको ज्वागलमा वि.सं. २०५२ मा स्थापना भएको युएनपार्क हाल अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको स्वामित्वमा छ । रुख भएका कारण हरियाली देखिने युएनपार्क आकर्षक बनाउनका लागि काम भइरहेको छ ।
युएनपार्कअन्तर्गतको करिब एक हजार पाँच सय ७६ रोपनी जग्गा वि.सं. २०७५ देखि अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको स्वामित्वमा रहेको युएनपार्कसँगसँगै वाग्मती किनारमा विभिन्न पार्क निर्माण भइसकेको र कुनै निर्माणका क्रममा रहेको सूचना अधिकारी कमल अर्यालले जानकारी दिए ।
अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी अर्यालले भने, ‘वाग्मती करिडोर छेउमा साना–ठूला गरी जम्मा ३१ वटा पार्क छन् । हाम्रो स्वामित्वमा भएको केही जग्गा पार्क व्यवस्थापनाका लागि विभिन्न संस्थालाई निश्चित अवधिका लागि दिएका छौँ । उहाँहरुले संस्थागतरुपमा नाम राखेर पार्क निर्माण गर्नुभएको छ ।’
अधिकारी अर्यालका अनुसार वाग्मती नदीको किनारमा पार्क निर्माणका लागि नदीको माटो निकालेर पार्क व्यवस्थापन गरिएको छ । वाग्मती नदीले माटो बगाएर ल्याउँदा नदीमा माटो थुप्रिएर बाढी पार्क र बस्तीमा पस्छ । नदीको माटो निकालेमा बागमती नदी सलल बग्छ र पार्क र बस्तीलाई पनि जोखिम कम हुन्छ । नदी छेउमा पार्क निर्माण गर्नुले नदी सफा हुन्छ ।
हाल निर्माण भएका पार्कमा टिकटको व्यवस्था गरिएको छैन । म्युजिक भिडियो सुटिङको लागि मात्र केही सीमित रकम लिने गरिएको छ । पार्क व्यवस्थापनका लागि टिकटको सिस्टमको व्यवस्था गरेमा पार्क अझै राम्रो हुने अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको भनाइ छ ।
‘पार्कमा बिहान र बेलुका मान्छेको भीडभाड हुन्छ । बिहान योगा र मोर्निङवाकका लागि मान्छे आउँछन् । आजभोलि त दिउँसो अत्यधिक गर्मी हुने भएकाले गर्मी छल्नका लागि पनि मान्छे पार्कभित्र पस्छन् । अरु बेला भने बेलुकीपख धेरै जना पार्कभित्र घुमिरहेका हुन्छन् ।
‘अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती करिडोरको छेउमा पार्क मात्र नभई वाग्मती किनारमा भूकम्पपछि भत्किएका मन्दिर पनि निर्माण गरेको छ । अबको करिब चार वर्षपछि वाग्मती किनारका पार्क आकर्षक देखिने छन् ।’ एकीकृत विकास समितिका इन्जिनियर असिम अधिकारीले भने ।
वाग्मती किनारमा निर्माण भएका विभिन्न पार्क निर्माण भइसकेपछि त्यसको राम्रोसँग व्यवस्थापन र संरक्षण गर्नको लागि महानगरपालिकालाई हस्तान्तरण गर्ने अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको भनाइ छ । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies