सिन्धुली: स्वादिलो चटपटेले जमुना तामाङको भोक मात्रै मेटाउँदैन । खान नपाउँदा तलतलै लाग्छ । “दिनमा एक पटक नखाई चित्तै बुझ्दैन, तलतल लागिरहन्छ,” उहाँले भन्नुभयो । तामाङ हिजो मङ्गलबार सिन्धुलीको कमलामाई नगरपालिका–५ मधुटार र वडा नं ६ को गैरीबजारलाई जोड्ने पुल छेवैमा रहेको समिरा सुब्बा टिकटिक भाइरल चटपटे पसलमा भेटिनुभएको थियो ।
जिल्लाको सदरमुकाम सिन्धुलीमाडी क्षेत्रका चोक–चोकमा व्यवसायी ठेलागाडामा चटपटेका सामान राखेर बिक्रीका गर्न बस्छन् । साथीहरुसँग भेटघाट हुँदा होस् वा दिउँसोको खाजा खाने समय तन्नेरी तामाङ त्यतै पुगिहाल्नु हुन्छ । उहाँजस्तै चटपटे, पानीपुरी खाने ग्राहकको रहरलाग्दो उपस्थितिले व्यवसायीलाई जाँगरिलो बनाएको छ । ठेलागाडामा चटपटे, पानीपुरी मात्रै बेच्दै आएका व्यवसायी तथा व्यापारीले खाजाका ‘आइटम’ थप्दै गएछन् ।
चटपटे, पानीपुरीसहित समोसा, जुलेवी, चनाभुजा, आलुचप, पकौडा, कचौडी एकै ठाउँमा राख्न थालेका छन् । ठेलागाडामा व्यवसाय गर्नेहरुले बनाएका खानेकुरा स्वादिष्ट हुने उपभोक्तामा छाप बस्दै गएको छ । जति नै प्रकारका खानेकुरा बोके पनि सबैभन्दा बढी बिक्ने पिरो, अमिलो जिब्रोमा च्वास्सै लाग्ने चटपटे र ट्वाक्क परेको पानीपुरी हो । यसको व्यापार सदाबहार हुने व्यवसायी समिरा सुब्बाले बताउनुभयो ।
“चटपटे, पानीपुरी सबैले मन पराउँछन्,” विशेषगरी दिउँसो खाजा खाने समय र विद्यार्थीहरुको विद्यालय छुट्टी भएपछि बनाएर दिन भ्याइनभ्याइ नै हुन्छ । विद्यार्थी, कर्मचारी, युवायुवती बढी आउँछन्,” उहाँले भन्नुभयो ।
दुधौली नगरपालिका–११ पत्रिङ्गामा उहाँको घर छ । पाँच वर्षदेखि छोराछोरी पढाउन जिल्ला सदरमुकामस्थित मधुटारमा कोठाभाडामा लिएर बस्दै आउनुभएकी सुब्बाले आफ्नो कोठा नजिकै चटपटे व्यापार गर्न थाल्नुभएको दुई वर्ष पुग्नै लाग्यो ।
एक छोरा र एक छोरीकी आमा सुब्बा कोठाको कामधन्दा सकाएर दिउँसो १२ बजे मात्रै व्यापार गर्न निस्कनुहुन्छ । साँझ ६ बजेसम्म ठेलागाडामा चटपटे, पानीपुरी बेच्न खटिनुहुन्छ । यसको व्यापार कम लगानीमा गर्न सकिने भएकाले जो कोहीले गर्न सक्ने उहाँको बुझाइ छ । उहाँले २५ हजारबाट व्यवसाय सुरु गर्नुभएको हो ।
“पन्ध्र महिनाअघि २० हजार ठेलागाडा र पाँच हजार चटपटे, पानीपुरीको सामानमा लगानी गरेर यो व्यवसाय सुरु गरेको थिएँ,” उहाँले भन्नुभयो, “व्यापार, व्यवसायले हामीलाई आत्मानिर्भर बनाउने रहेछ । दुई वर्षदेखि रोजगारी नपाएर श्रीमान् घरैमा हुनुहुन्छ । चारजना परिवारको खर्च यसैको कमाईले टारिराखेको छु ।”
रु. ३० हजारको लगानीमा सुरु भएको चटपटे व्यवसायबाट मासिक ४० हजार बचत हुने मुकेश चौधरीले बताउनुभयो । पढाइमा ५ कक्षा उत्तीर्ण नगर्नु भएका चौधरीले सिन्धुलीमाडी बजारमा चटपटे व्यापार गरेरै १५ वर्ष बिताइसक्नुभएको छ । रु. २० हजारको ठेलागाडामा चटपटे, पानीपुरीको सामान, पकौडा, आलुचप, चनासहितको खाजासेट तयार गर्न ग्यास चुलो राखिएको हुन्छ । सोही ठेलागाडा ठेल्दै उहाँ मधुटारदेखि लोकतान्त्रिचोक, १ नं बजार, गैरीबजार हुँदै २ नं बजारसम्म पुग्नुहुन्छ । बजारमा कपडा, खाद्यान्न, तरकारी, भाँडाकुँडालगायत व्यापार गर्न बसेका अधिकांश व्यापारी उहाँको ठेलामा तयार भएका खानेकुरा खान रुचाउँछन् ।
दिउँसोको खाजा खाने समयमा जीवन सँगिनी रानीदेवी चौधरी र उहाँलाई धौधौ नै पर्छ । रानीदेवीका अनुसार उहाँकामा दैनिक ५० देखि एक सयजना बढी खाजा खाने ग्राहक हुन्छन् । ठेलागाडामा गरेको व्यवसाय भए पनि सफा, स्वादिष्ट र गुणस्तर हुने भएकाले सबैको रोजाइमा परेको उहाँको बुझाइ छ । “चटपटे, पानीपुरी स्वादिष्ट बनाउन सबै मरमसलाको मात्रा मिलाउन सक्नुपर्छ । गेडागुडी, काँक्रो, बन्दाकोभी, आलुचप, कचेडी, टमाटर, प्याज, चाउचाउ, दालमोट लगायतका कुरा भुजामा मिसाएर हेर्दै खाउँ–खाउँ लाग्ने बनाउनुपर्छ,” व्यवसायी रानीदेवीले भन्नुभयो, ।
व्यापार, व्यवसाय गर्नेहरुले आफ्ना सेवाग्राहीलाई माया गर्न जरुरी रहेको व्यवसायी मुकेशको बुझाइ छ । त्यसैले आफ्नो पसलको नाम ‘लभ्ली चटपटे, पानीपुरी पसल’ राखेको उहाँले बताउनुभयो । यस पसलले चौधरी दम्पती स्वरोजगार मात्रै भएका छैनन्, आम्दानीबाट सिन्धुलीमाडीको धुराफाँटमा सात धुर घडेरी जोडिसकेका छन् । महोत्तरीमा दुई धुर घडेरी किनेर एकतले पक्का घर बनाइसकेको चौधरी दम्पती बताउँछन् । तीन छोरा र एक छोरीको पढाइ खर्चसहितका सबै खर्च यसैबाट चलेको छ । बाहिरी जिल्लाबाट सिन्धुली आएर चटपटे, पानीपुरी मात्रै व्यापार गरेर आफ्ना सन्तानलाई बोडिङमा पढाउनेलगायतका सबै खर्च टारेर घरजग्गा जोड्ने चौधरी दम्पती त प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता उदाहरण जिल्लामा अरू पनि थुप्रै छन् ।
पच्चिसवर्षे रवि शाहले चटपटे, पानीपुरी व्यापारमा आफ्नो वर्तमानमात्र नभएर भविष्य पनि देख्नुभएको छ । बाजे र बुबाले गर्नुभएको पेसालाई उहाँले निरन्तरता दिनुभएको हो । १० जना परिवारको जीविका यही व्यापार, व्यवसायबाट चलेको उहाँले बताउनुभयो । “जागिर गर्दा अरूको चाहनामा चल्नुपर्छ । आफ्नो व्यापार, व्यवसायको आफैँ मालिक हो । कसैको दबाबमा काम गर्नु पर्दैन । आफ्नो इच्छा, चाहना र खुसीअनुसार मन लागेको गर्न पाइन्छ । यसमा स्वतन्त्रता हुन्छ, स्वाभिमानसहितको सम्मानित जीवन बिताउन पाइन्छ,” युवा व्यवसायी शाहले सुनाउनुभयो ।
उहाँका अनुसार सिन्धुलीमाडीमा चट्पटेको व्यापार सुरु गर्ने पहिलो व्यवसायी आफ्ना हजुरबा लक्ष्मण र बुबा महन्त शाह हुन् । २०३२ सालमा उहाँहरुले सुरु गर्नुभएको व्यवसायलाई छोरा नातिले समेत पछ्याउँदै आएका छन् । व्यवसायबाट बाबु–बाजेले सबै परिवारको खर्च टारेर घरजग्गा लगायतका सम्पति जोड्न सफल भएकाले आफूहरुले पनि यसैमा भविष्य देखेको युवा व्यवसायी शाहको भनाइ छ ।
तीस वर्षदेखि सिन्धुलीमाडीमा चटपटे बेच्दै आउनुभएका सीतादेवी ठाकुर र कमला चौधरी पछिल्लो समय चटपटे, पानीपुरी व्यापार, व्यवसायमा समस्या, चुनौती थपिएका धारणा राख्नुहुन्छ । सामान महँगिएकाले व्यापारबाट पहिलाजस्तो आम्दानी लिन नसकेको, व्यापारी र व्यवसायी बढेकाले एकअर्कामा प्रतिस्पर्धा हुने गरेको, सेवाग्राहीहरु मीठो, सस्तो, गुणस्तर खोज्ने र बजारमा प्रतिस्पर्धा गरेर बेच्नु परेकाले पहिलाको भन्दा आम्दानी घटेको उहाँले बताउनुभयो ।
बजार क्षेत्रमा ठेलागाडामा चटपटे, पानीपुरी व्यापार गर्ने व्यवसायीहरुलाई नगरपालिकाले विभिन्न बहानामा दुःख दिने गरेकोसमेत उहाँले गुनासो गर्नुभयो । सानो लगानीमा सुरु गर्न सकिने र खाजाका रुपमा अधिकांश व्यक्तिको रोजाइमा पर्ने पिरो, अमिलो चटपटे, पानीपुरी व्यवसाय जिल्लामा फस्टाउँदै गएको छ । सिन्धुलीको सिन्धुलीमाडी, खुर्कोट, ढुङ्ग्रेवास, चियाबारी, नयाँखर्क, मूलकोट, डकाहा, दुधौली, मरिणलगायत जिल्लाभरका मुख्य–मुख्य चोकमा चटपटे, पानीपुरीको व्यापार बढेको छ । यसबाट व्यवसायीले आकर्षक आम्दानीसमेत दिँदै आएका छन् । राधिका बुढाथोकी/ रासस
स्याङ्जाः स्याङ्जाको वालिङमा संस्कृत भाषाको संरक्षणका लागि सञ्चालन गरिएको आधारभूत संस्कृत भाषा कक्षामा युवा प्रशिक्षार्थी आकर्षित हुँदै गएका छन् । विश्व हिन्दू महासङ्घ स्याङ्जा, विश्व हिन्दू युवा सङ्घ स्याङ्जाको सहकार्य र केदारनाथ मन्दिरको आयोजनामा वालिङमा सञ्चालन भएको भाषा कक्षामा युवा प्रशिक्षार्थी आकर्षित हुँदै गएका हुन् ।
एक महिना अघिदेखि शुरु गरिएको भाषा कक्षामा वालिङ तथा आसपासका पालिकाका एकसय जना भर्ना भई अध्ययन गरिरहेका कार्यक्रम संयोजक खगेन्द्रप्रसाद अर्यालले बताए । ‘संस्कृत भाषा कक्षामा अहिले युवा बढी आकर्षित देखिएका छन्, विद्यार्थीको सक्रिय सहभागिता रहेको छ’, उनले भने, ‘भाषा कक्षाबारे धेरैले चासो लिएका छन्, आगामी चरणका कक्षामा समावेश गर्ने तयारी छ ।’
भाषा कक्षा सञ्चालन भएको एक महिना भइसकेकाले नयाँ प्रशिक्षार्थीलाई बीचमा सहभागी गराउँदा प्रभावकारी नहुने भएकाले अर्को चरणमा सुरुआतबाटै सहभागी गराउने संयोजक अर्यालले बताए । वालिङ–८ का सिलाइकटाइ व्यवसायी लीलाबहादुर रनपाल संस्कृत भाषा सिक्न पाउँदा खुसी लागेको बताउँछन् ।
सिलाइकटाइ व्यवसायका अलावा उनले आफ्नो समुदायमा हुने शुभकार्य तथा पितृ कार्य गराउँदै आएका छन् । किताब पढेको र आफूभन्दा अग्रजले गरेको देखेकै आधारमा कार्य गराउँदै आएका रनपालले संस्कृत भाषा कक्षामा सहभागी भएसँगै अहिले धेरै सहज भएको महसुस गरेका छन् ।
‘हिजो धार्मिक तथा पितृ कार्य गराउँदा अप्ठ्यारा भएका विषयलाई आधारभूत संस्कृत भाषा कक्षामा सहभागी भई ज्ञान प्राप्त भएसँगै सहज भएको महसुस गरेको छु’ उनले भने, ‘यस्तो कक्षा पहिल्यै जो कोहीले भए पनि सञ्चालन गर्नुपर्थ्यो, ढिलै भए पनि सञ्चालन भएको छ यो हाम्रा लागि खुसीको कुरा हो ।’
जन्मदेखि मृत्युसम्मका कर्मकाण्ड गर्ने तरिका, नैतिक शिक्षा, आध्यात्मिक शिक्षा, हाम्रा जीवन पद्दतिका विषयमा गुरुकुलीय पद्दतिबाट ज्ञान लिइरहेको उनले बताए । संस्कृत भाषा कक्षा लिएसँगै संस्कृत भाषा उच्चारण तथा शुद्धिकरणमा पनि सहयोग पुगेको उनी बताउँछन् । पछिल्लो समय वैद्धिक सनातन धर्मप्रति विभिन्न प्रकारबाट प्रहार भइरहँदा संस्कृत भाषालाई लोप हुन नदिइ संरक्षण गर्नका लागि आधारभूत संस्कृत भाषा कक्षा सञ्चालन गरिएको विश्व हिन्दू महासङ्घ नेपालका केन्द्रीय सदस्य एवं मुख्य प्रशिक्षक नेत्रप्रसाद पराजुली बताउँछन् ।
संस्कृत भाषाको संरक्षण गर्दै नयाँ पुस्तामा भाषा हस्तान्तरण गर्दै संस्कृत साहित्यको संरक्षण, सम्वर्द्धन र जगेर्ना गर्ने उद्देश्यसहित भाषा कक्षा सञ्चालन गरिएको उनले बताए । ‘वालिङ सञ्चालन भएको संस्कृत भाषा कक्षामा विशेष गरी युवाको सक्रिय सहभागिता रहेको छ’ उनले भने, ‘केही पहिलेदेखि कर्मकाण्ड गराउँदै आउनुभएका व्यक्ति पनि थप ज्ञान लिनका लागि सहभागी हुनुभएको छ ।’
कक्षामा वैद्धिक धर्म, संस्कार, संस्कृति, नैतिक शिक्षा, कर्मकाण्ड, ज्योतिष विद्या, पाठ पारायण तथा सामान्य ब्याकरणकाबारेमा अध्यापन गराइन्छ । तीन महिनाको अवधि रहने गरी सोही अनुसारको पाठ्यसामग्री तयार पारिएको छ । ‘कक्षामा संस्कृत भाषाप्रति युवा पुस्ताको रुचि राम्रो छ, माध्यमिक तहमा अध्ययनरत विद्यार्थी बाबुहरु पनि सहभागी छन्’, उनले भने, ‘भाषा कक्षालाई एउटा अभियानस्वरुप नियमितरुपमा अगाडि बढाउँछौंँ ।’ भाषा कक्षामा चार जना प्रशिक्षक छन् । वालिङ–८ केदारनाथ मन्दिरमा साँझमा दैनिक एकघण्टा संस्कृत भाषा कक्षा सञ्चालन हुँदैआएको छ । रासस
बागलुङः बागलुङ नगरपालिका-५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खेपिङ हालियो । चर्खेपिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खेपिङ हालिएको थियो । यसअघि साझखोलामा लिङ्गे पिङ मात्रै हाल्ने चलन थियो ।
गत वर्ष बनाइएको चर्खेपिङ अहिले फेरि हाल्ने तयारी भइरहेको साझखोलाका स्थानीय जुना न्यूरेले बताउनुभयो । “यहाँ पहिले लिङ्गे पिङ थियो, गतवर्ष सामुदायिक वनको सक्रियतामा परम्पराको संरक्षण गर्ने उद्देश्यले लिङ्गेपिङको सट्टा चर्खेपिङ हालियो”, न्युरेले भन्नुभयो, “दश वर्ष अघि मालिकाको पञ्चासेमा चर्खेपिङ हालिएको थियो, त्यसयता चर्खेपिङ थिएन, गत वर्षबाट साझोखोलामा चर्खेपिङ हाल्न थालिएको हो ।”
न्यूरेका अनुसार लिङ्गे पिङभन्दा चर्खेपिङ महँगो हुन्छ । उहाँका अनुसार गत वर्ष सुनाखरी सामुदायिक वन उपभोक्ता समितिमार्फत रु. २० हजारमा काठ खरिद गरी पिङ तयार गरिएको थियो । लिङ्गे पिङ भने रु पाँच हजारमै तयार गर्न सकिने उहाँको भनाइ छ ।
यस्तै बागलुङ नगरपालिका–८ सिगानाको सायकोट गाउँमा दशैँ तिहारमा चर्खे पिङ नहालेको १० वर्ष पुग्यो । दश वर्ष अघिसम्म हालिँदै आइएको चर्खेपिङ गाउँमा युवाको सङ्ख्या कम हुन थालेपछि हराउँदै गएको हो । सिगानाको कायमारेमा १० वर्ष अघिसम्म दशैँ र तिहारमा हालिएको चर्खेपिङ लोप भएपछि पुन लिङ्गे पिङ हाल्न शुरु भएको थियो ।
दशैँमा भूँइ छाड्नुपर्छ भन्ने मान्यताले पनि पिङको महत्व बढेको पाइन्छ । पहिले लिङ्गे पिङमा प्रयोग हुने घाँस (बाबियो)को सट्टा अचेल डोरीको प्रयोग गर्न थालिएको छ । गाउँमा दशैँ शुरु हुनु महिना अघिदेखि चर्खेपिङ बनाउनेको निकै उत्साह हुनेभए पनि पछिल्लो पुस्ताको बेवास्ता र बढ्दो युवा पलायनका कारण चर्खेपिङ लोप हुन थालेको हो ।
झन्डै दुई दशकअघि गाउँ–गाउँमा हुने मेला पर्वमा चर्खेपिङ अनिवार्य जस्तै थियो । तर अहिले यस्ता पिङको सङ्ख्या निकै कम भएको बागलुङ बजारका स्थानीय काजी गाउँले श्रेष्ठको भनाइ छ ।
“कतिपयले संरक्षणका लागि भए पनि चर्खेपिङ बनाउनुभएको छ, तर अहिले गाउँनैपिच्छे चर्खेपिङ देख्न पाइदैन”, श्रेष्ठले भन्नुभयो, “अब स्थानीय तहले चर्खेपिङ संरक्षण नगरे भविष्यमा चर्खेपिङ देख्न नपाउने अवस्था आउन सक्छ ।” गाउँका युवाहरु जम्मा भएर जङ्गलमा काठ काटेर चर्खेपिङ बनाउँदा निकै रमाइलो हुने भए पनि पछिल्लो समय गाउँमा युवाको सङ्ख्या कम भएपछि पिङ हाल्ने चलन पनि हराउँदै गएको हो ।
चर्खेपिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यकपर्ने हुँदा पनि अहिले लोपहुँदै गएको हो । हिजोआज वनमा काठ काट्न नपाइने नियम लगाएपछि काठ अभावले चर्खेपिङ राख्न छाडेको स्थानीय हरि सुनारको बुझाइ छ । केहीले जसोतसो संस्कृति जोगाउन फ्याट्टफुट्ट लिङ्गेपिङ राख्ने गरेको पाइए पनि पहिलेजस्तो गाउँघरमा पिङ राख्ने र खेल्नेको रौनक नभएको उहाँको भनाइ छ ।
युवा जनशक्ति विदेश पलायन हुनु, बाह्य संस्कृतिको प्रभाव गाउँघरमा पर्न थालेपछि यतिबेला दशैँले ढपक्कै छोए पनि गाउँघरमा पिङ राख्ने र खेल्नेको उत्साह नदेखिएको सुनारको भनाइ छ । रासस
गण्डकीः पोखरा आसपासका प्राचीन बस्तीमध्ये एक हो आर्बा । पोखरा महानगरपालिका–१३ मा अवस्थित यो गाउँमा धार्मिक पर्यटनका धेरै सम्भावना भएर पनि प्रवर्द्धनको अभावमा ओझेलमा परेको छ । यस स्थानको पर्यटकीय महत्वलाई उजागर गर्ने लक्ष्यका साथ हाइकर्स क्लब नेपालले आफ्नो ३९औँं शृङ्खला आर्बामा सम्पन्न गरेको छ । हाइकिङका माध्यमबाट पोखरा र आसपासका पर्यटकीय सम्भावना बोकेका स्थलको निरन्तर प्रवर्द्धन गरिरहेको उक्त क्लबले आफ्नो पछिल्लो शृङ्खला आर्बामा सम्पन्न गरेको त्यहाँका अध्यक्ष कृष्ण रानाभाटले बताउनुभयो ।
“हामी पर्यटकीय बजारमा पुग्न नसकेका गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवर्द्धन गरिरहेका छौँ”, उहाँले भन्नुुभयो, “पोखरा नजिक रहेर पनि आर्बाका धार्मिक पर्यटकीय गन्तव्यको गरिमा तथा महत्व अपेक्षित उजार हुन नसकेको अवस्थालाई दृष्टिगत गरी यो शृङ्खला आर्बामा केन्द्रित गरिएको हो ।” क्लबले प्रत्येक महिनाको अन्तिम शनिबार विभिन्न पर्यटकीय गाउँमा हाइकिङ सञ्चालन गरिरहेको अध्यक्ष रानाभाटले बताउँनुभयो । उहाँका अनुसार पोखरामा रही विभिन्न सेवा, पेसा र व्यवसायमा आवद्ध व्यक्तिका लागि हाइकिङ आकर्षणको विषय बन्न थालेको छ ।
क्लबले पोखराको काहुँ खोलाबाट हाइकिङ शुरु गरी भञ्ज्याङ, चिप्लेटी, डाँडागाउँ, दुुर्गा मन्दिर, उपल्लोथर, ब्याडा, उपल्लो गाउँहुँदै आर्वाको शिर महाप्रभुधामसम्म हाइकिङ गराएको सदस्य प्रितमबहादुर सेन ठकुुरीले जानकारी दिनुुभयो । हाइकर्स टोली महाप्रभुुधामबाट रतन पाण्डे माध्यमिक विद्यालय हुँदै पुनः काँहुखोलासम्म पदयात्रा गरी फर्केको उहाँले बताउनुुभयो । पोखराको दृश्यावलोकनसहित हिमाली दृश्य अवलोकन गर्दै एक दिवसीय हाइकिङ गर्न आर्बा उपयुक्त गन्तव्य ठहरिएको उल्लेख गर्दै सदस्य ठकुरीले यहाँका धार्मिक महत्वका स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताउनुभयो ।
दुई शताब्दीभन्दा अघिदेखि अस्तित्वमा आएका आर्बास्थित महाप्रभुधाम, मणिद्विपलगायत धार्मिकस्थललाई समेटेर धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्न सकिने महाप्रभुधाम रतन पाण्डे पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष धर्मराज बरालले बताउनुभयो । पोखराको मुख्य बजारबाट नजिकै रहेको आर्वा प्राचीन धार्मिक एवम् ऐतिहासिकस्थल भएर पनि उचित प्रचारप्रसार र भौतिक पूर्वाधार विकासको अभावमा ओझेलमा परेको उहाँको भनाइ थियो । पोखरा उपत्यकाको दृश्यावलोकनसहित अन्नपूर्णदेखि लमजुङ हिमालसम्मका रमणीय दृश्य एकसाथ नियाल्न पाउनुका साथै ऐतिहासिक एवं धार्मिकस्थल पनि प्रत्यक्ष अवलोकन गर्न सकिने भएकाले यहाँको महत्व अझै बढेको छ ।
महाप्रभुधाम, मणिद्विपलगायत स्थानको प्रचारप्रसार एवं पूर्वाधार विकास गर्न सके यो क्षेत्रलाई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने अध्यक्ष बरालले बताउनुुभयो ।आजभन्दा झण्डै दुई सय वर्षअघि स्वर्गद्वारीबाट आउनुभएका महाप्रभुले यहाँ दुई महिनासम्म यज्ञ गरेर मनोकांक्षा पूरा गर्नुभएकाले यहाँको गरिमा बढेको बताइन्छ । उहाँकाअनुसार तत्कालीन समयमा महाप्रभुहरूले यज्ञ गरेका कुण्ड अझै सुरक्षित रहनाका साथै वरपरका गुफा, गणेश तथा शिवजीको मन्दिर, रतन पाण्डे मन्दिर आदि धार्मिक एवं ऐतिहासिकस्थल पनि छन् ।
यहाँको अर्को धार्मिक महत्वको गन्तव्य रतन पाण्डे मन्दिर हो । अध्यक्ष बरालका अनुसार आर्बावासीको कल्याणको कामना गर्दै प्राचीनकालमा विन्ध्याचलबाट रतन पाण्डेको शिला ल्याएर स्थापना गरी पूजाआजा गर्न थालिएको हो । प्रत्येक वर्ष धान रोप्ने र भित्र्याउने समयमा रतन पाण्डे मन्दिरमा आर्बालीले श्रद्धापूर्वक पूजाआजा गर्ने प्रचलन रहिआएको छ । पूजाका दिन आर्बा क्षेत्रमा हलो नचल्ने प्राचीन प्रचलन अझै पनि कायमै छ ।
महाप्रभुधाम, रतन पाण्डे मन्दिरसँगै यहाँको अर्को धार्मिक पर्यटकीयस्थल मणिद्विप पनि हो । आर्वामा बस्ती स्थापना हुँदा गाउँको पूर्वमा मणिद्विप नागेश्वर महादेव स्थापना गरिएको थियो । स्थानीयवासीका अनुसार शक्तिशाली शक्तिपीठका रुपमा रहेको यस मन्दिरमा धेरै पटक नाग प्रकट भएका छन् । मन्दिरमा श्रद्धा र भक्तिपूर्वक पूजा गर्दा निःसन्तान दम्पतीलाई सन्तान प्राप्त भएकाले टाढाटाढाबाट दर्शनार्थी आउने गरेको स्थानीयवासीले बताए । नागको दोषका कारण स्वास्थ्यलगायत समस्यामा परेका व्यक्ति पनि यहाँ आएर श्रद्धा रभक्तिपूर्वक पूजाआजा गरेर फर्केपछि समस्याबाट मुक्त भएको विश्वास कायमै छ ।
प्राचीनकालदेखि नै सन्यासी बस्दै आएको यस स्थानको खरले छाएको मन्दिर २०६२ मा पुनःनिर्माण गरिएको तत्कालीन मन्दिर निर्माण समितिका सञ्चार संयोजक शिरोमणि बरालले बताउनुुभयो । उहाँका अनुसार २०६३ सालमा हरिद्वारका महामण्डलेश्वरसहित विशिष्ट व्यक्तिको उपस्थितिमा मणिद्विपमा महायज्ञ गरी उक्त मन्दिरमा नर्मदा नदीबाट ल्याइएको शिला प्राण प्रतिष्ठा गरेर स्थापना गरिएको थियो । प्रतिष्ठापनका बेला शिलामा लामो समयसम्म पसिना आएको विषयलाई यहाँको धार्मिक महत्वसँग जोडेर हेरिएको छ । त्यसयता ती धाम तथा द्विपमा प्रत्येक वर्ष बालाचतुर्दशीका दिन मेला लाग्ने तथा शतबीज छर्ने प्रचलन छ ।
शिलाको प्राणप्रतिष्ठा भारतबाट आएका १००८ स्वामी बालसन्त महामण्डलेश्वर रामेश्वरजी महाराज, १००८ स्वामी सोमेश्वरजी महाराज, १००८ स्वामी विष्णुराजजी महाराज, स्वामी सुतिक्षणजी महाराजलगायत सन्तमहन्तले गर्नुभएको थियो । महाप्रभधामुका साथै आर्वाका मणिद्विप तथा यहाँका दुर्गा, महाकाली, र राधाकृष्ण मन्दिरलगायत धार्मिकस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोच राखिएको छ ।
आर्बाका धेरै पर्यटकीय सम्भावना प्रवर्द्धनको पर्खाइमा रहेको पोखरा महानगरपालिका–१३ का वडासदस्य बलबहादुर बरालले बताउनुभयो । यी स्थललाई प्रवर्द्धन गर्न सकेमा यस ठाउँलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सकिने उहाँको भनाइ थियो । रासस
ताप्लेजुङः ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्राकृतिक सुन्दरता लोपोन्मुख अवस्थामा पुग्दा मिक्वाखोला गाउँपालिका-५ तोक्पेगोला क्षेत्रमा भने अझसम्म प्राकृतिक सुन्दरता कायम छ ।
यही सुन्दरताको अवलोकन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । जाति र ठाउँको नाम हो, तोक्पेगोला । मिक्वाखोला–५ पापुङमा पर्छ यो ठाउँ । समुद्र सतहदेखि चार हजार १०० मिटर उचाइमा पर्छ तोक्पेगोला । उक्त बस्तीमा ढोक्प्या जातिका करिब १७ घर छन् । स्थानीय ढोक्प्या जाति भनिए पनि सिमान्तकृत समूहमा तोक्पेगोला भनि सूचीकृत गरिएको छ । झुरुप्प घर । काठले छाएको छानो । भोटे झ्याल । टाढाबाट देख्नेबित्तिकै लाग्छ कि यो ठाउँ उत्सव स्थल पो हो कि ! किनकी घरैपिच्छे खम्बामा गाडिएका मन्त्रयुक्त ध्वजापताका फरफराउँदा थकित शरीरले शीतलता महसुस गर्छ । गुम्बा र मन्दिरले पौराणिक तथा ऐतिहासिक महत्व झल्काउँछ । हिमाली ठाउँ भएकाले आफैँमा सुन्दर त हुने नै भयो ।
अग्लो चट्टान छिचोलेर बग्ने झरनाको काखको बस्तीबाट वरपरका भिर र चट्टानमा मानव तथा जनावरका आकृतिका देखिन्छन् । पूर्वपट्टिको अग्लो भिरबाट झर्ने झरनाको दृश्य साँच्चिकै लोभलाग्दो छ । झरनाबाट दूध रङको छङ्छङ झर्ने पानीको दृश्य र आवाजले जोकोहीलाई आनन्दित तुल्याउँछ । वरिपरिका चउरमा फुलेका रङ्गीचङ्गी फूलले सुनमा सुगन्ध थपिए झैँ बस्तीको सुन्दरता अझ बढाइदिएको छ । महिनैपिच्छे रङ फेर्नु र छिनछिनमा मौसम बदलिरहनु तोकक्पेगोलाको बस्तीको विशेषता हो ।
कहिले पहेंलो फूलले पहेंलपुर बन्छ । कहिले निलो, रातो र हरियो फूलको सौन्दर्यले अचम्मित बनाउँछ । कहिले सबै फूल सुकेर मरुभूमि जस्तो देखिन्छ । बस्ती क्षेत्र सिजनमा हरियो घाँसे मैदानमा परिणत हुन्छ । एकै छिनमा डाँडाकाँडा र बस्ती बाक्लो कुहिरोले छोपी दिन्छ । कुनै दुलहीले लजाउँदै घुम्टो खोलेको जस्तौ मौसम उघ्रिदिन्छ । गाउँमा दुःख बिराम नहोस्, अशान्ति नसहोस्, सधैँ सुख शान्ति होस् भनेर प्रत्येक वर्ष लामा बोलाएर पूजापाठ गर्ने गरेको मिक्वाखोला –५ पापुङका वडाध्यक्ष ग्याञ्जे शेर्पाले बताउनुभयो ।
भोटे भाषामा ‘लू’ भनिने रहेछ । प्रत्येक घरले पालोपालो गरेर प्रत्येक वर्ष ‘लू’ खेदाउने गरेको उहाँले बताउनुभयो । शेर्पाका अनुसार तीन दिनसम्म लामाले मन्त्र जप गरेर अन्तिम दिनरात परेपछि गाउँका सबै भएर थाल बजाउँदै लू अर्थात् भूत खेदाउने गर्दछन् । बस्तीमा आउँने बाटो सबैमा मन्त्र जपेको विभिन्न मूर्तिहरुले बाटो बन्द गर्दछन् । लू देखाउने समयमा बस्तीमा अन्य मान्छे आवतजावत गर्नु हुँदैन भन्ने जनविश्वास रहिआएको स्थानीयको भनाइ छ । लू खेदाउने समयमा बस्तीमा मान्छे आवतजावत गरियो भने बिरामी हुने । मृत्युसमेत हुनसक्ने स्थानीयको जनविश्वास रहेको तोक्पेगोलाका स्थानीय पासाङ भुटी शेर्पाले बताउनुभयो ।
यहाँ पुग्न बर्खामा घामपानीको लुकामारी छिचोल्नै पर्छ । हिउँदमा कठ्याग्रिँदो जाडो । जुन समयमा पुगे पनि गलेर शिथिल बनेको शरीरमा फुर्ती बढ्छ । तोक्पेगोला क्षेत्रमा दर्जनौँ तालतलैया रहेका छन् । सोदो पोखरी, भूत पोखरी, तीन पोखरी, थाङ्ला पोखरी, साजु पोखरी र पाथीभरा पोखरी इत्यादि । डाँडाकाँडा, पाखा, पखेरा, छाँगा, वन जङ्गल, जडीबुटीले यो क्षेत्र सजिएको छ । बस्तीदेखि तीन सय मिटर दूरीमा छ, सोदोपोखरी । नागपञ्चमीका दिन पूजा हुन्छ । यहाँ आउन चाहनेको एउटै लक्ष्य हुन्छ, तोक्पेगोला र सोदोपोखरी अवलोकन गर्ने । स्थानीय मिलन दोर्जे शेर्पाका अनुसार यहाँका बासिन्दाको मुख्य पेसा पशुपालन हो । गाई, याक तथा चौँरी पालेर जीवनयापन चल्छ ।
बिहान छाड्दा र गोधुली साँझमा फर्कंदा याक तथा चौँरीको घाँटीमा झुन्ड्याइएको घन्टीको कुन्डुङकुन्डुङ आवाजले मन प्रफुल्ल बन्छ । चीनको तिब्बतसँग सीमा जोडिएको छ यो ठाउँ । तिब्बतको रिउ बजार पुग्न दुई दिन पैदल हिँड्नुपर्छ । चामलबाहेक दैनिक उपभोग्य सामग्री तिब्बतबाट ल्याउने गरेको थियो तर चार वर्षदेखि नाकाबन्द भएको छ । लामो समयसम्म नाका नखुल्दा व्यापार व्यवसाय ठप्प भएको तोक्पेगोलाका स्थानीय तेञ्जिङ शेर्पाले बताउनुभयो ।
यस क्षेत्रमा आवश्यक सामग्री याकमार्फत् ढुवानी गर्छन् । याकलाई ‘हिमाली ट्रक’ पनि भनिन्छ । तोक्पेगोलामा आठ महिनामात्र मान्छे बस्छन् । जाडो र हिउँ छल्न घरपालुवा जनावरसँगै पापुङमा झर्छन् । प्रायः सबैको पापुङमा घर छ । कात्तिकदेखि माघसम्म हिउँ पर्ने र जाडो अधिक हुने भएकाले बस्ती अर्थात् बेंसी झर्छन् । तोक्पेगोला क्षेत्रमा जडीबुटी पनि आम्दानीको स्रोत हो । तोक्पेगोला पुगेर फर्कने भन्छन्, “भर्जिन पर्यटकीय क्षेत्र ।”
कसरी पुगिन्छ ?
सदरमुकामदेखि गाडीमा दोभान–नाल्बु–पापुङसम्म गाडी चल्छ । अर्को दिन हिँडेर तोक्पेगोला पुगिन्छ । कच्ची सडक भएकाले गाडीमा घल्च्याकघुल्चुक सहनुपर्छ । सदरमुकामदेखि हिँडेर हान्दु्रङ–खोक्लिङ–लिवाङ–साँवा हुँदै गाडी पुग्ने ठाउँ पापुङ पुगिन्छ । सदरमुकामदेखि गाडी वा हिँडेर जसरी गए पनि तोक्पेगोला पुग्न दुई दिन लाग्छ । दर्जन बढी झोलुङ्गे र काठे पुल तर्नुपर्छ । पापुङ बस्ती छाडेपछि तोक्पेगोला नपुगेसम्म बस्ती छैन । ठाउँठाउँमा भेटिएका गाईगोठ नै होटल हो । पर्यटको चहलपहल हुन थालेसँगै तोक्पेगोलामा भने होटल तथा घरबास (होमस्टे) खुल्नेक्रम शुरु भएको छ । रासस
बागलुङः नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना । बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटो र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ ।
तर अनिष्टको डरले बागलुङमा रहेको सीमान्तकृत माझी समुदायले भने जमरा नराखी नै दसैँ मनाउँदै आएका छन् । देवीलाई जौँको जमरा मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन भए पनि बागलुङ नगरपालिका–१ रामरेखाका खनियाबासका माझी समुदायले भने जमराबिनै दसैँ मनाउँदै आएका छन् । उनीहरूले घरमा जमरा नराखेको वर्षौँ भएको बताएका छन् ।
जमरा राख्दा अनिष्ट हुने भन्दै पुस्तौँदेखि घटस्थापनामा जमरा नराख्ने गरेको माझी समुदायका स्थानीय देउकुमारी माझीले बताइन् । ‘जमरा राख्दा अनिष्ट भएपछि राख्न छाडिएको हो भन्ने गर्छन् पाका पुरानाहरू, घटस्थापनाको दिन जमरा छर्ने क्रममा कन्याहरूको मृत्यु भएको र त्यसपछि जमरा नराखी दसैँ मनाउन थालिएको भन्ने सुनिन्छ, अहिले दसैँको दिन कालिका मन्दिरमा छरेका जमरा लिएर टीकासँगै लगाइन्छ’, उनले भनिन् ।
माझीका अनुसार दसैँको दिन टीका, जमरा त लगाउँछन् तर जमरा भने मागेर वा मन्दिरमा पुगेर ल्याउने चलन छ । घरमा जमारा राखेपछि अनिष्ट हुने विश्वासले यहाँका १७ माझी परिवारले घरमा जमरा नराख्ने गरेको पाइन्छ । यसलाई माझी समुदायले आफ्नो परम्पराको रूपमा लिँदै आएका छन् ।
तीन पुस्ताअघिसम्म जमरा राखे पनि त्यसपछि ठूलै अनिष्ट घटना भएपछि जमरा राख्न छाडिएको सोमबहादुर माझीले बताए । खनियाबास र मालढुङ्गामा बस्ने माझीहरूले घरमा जमरा नराख्ने चलन अहिले परम्पराका रुपमा स्थापित भइसकेको छ ।
‘जुन वर्ष जमरा राख्यो, त्यो वर्ष घरकी कन्याको मृत्यु भएको भन्ने छ, जमरा राख्दा घरकी छोरीको मृत्यु हुने गरेका कारण जमरा नराख्ने भनेर सल्लाह गरेर राख्न छाडिएको सुनिन्छ’, सोमबहादुरले भने । दसैँ मनाउने भए पनि जमरा नराख्ने माझी समुदायको प्रचलनलाई अनौठो प्रचलनका रुपमा अन्य समुदायले लिँदै आएका छन् । माझीहरूले दसैँमा जमरा लगाउन हुने भए पनि जमरा राख्न नहुने मान्यता स्थापित भइसकेको छ ।
पुर्खौँदेखि कालीगण्डकी नदीमा माछा मारेर, डुङ्गा खियाएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ–१ रामरेखाका माझी समुदायले अहिले भने आफ्नो पेसा सङ्कटमा परेको बताउँछन् । दुई वर्षदेखि नदीबाट बालुवा निकाल्न नपाएको बताउँदै रोजीरोटीका लागिसमेत समस्या भएको दुःखेसो उनीहरूको छ ।
न्यून आयस्तर भएका सीमान्तकृत माझी समुदाय आश्रित भएको कालीगण्डकी नदीमा बालुवा निकाल्न नपाएपछि उनीहरू अन्य समुदायको घरमा पुगेर ज्याला मजदुरी गर्न बाध्य भएका छन् । रासस
बागलुङः पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न थालेका हुन् ।
“पहिले–पहिले गाईभैँसी, भेडाबाख्रा चराउन जङ्गल जाने, दिनभर निगालोको चोयाबाट डाला, नाङ्ला र डोको बुन्ने गर्थ्यौँ । महिना दिन लगाएर बुनेका डाला नाङ्ला एकै दिनमा बिक्री हुन्थे । त्यसबाट मनग्ये आम्दानी हुन्थ्यो”, ढोरपाटन–९ का ८३ वर्षीय लिलबहादुर घर्तीमगरले भन्नुभयो । उहाँले आफ्नो युवा उमेरमा चोयाबाट थुप्रै किसिमका सामग्री बनाएर बिक्री गरेको स्मरण गर्दै अहिले प्लास्टिकका सामग्रीले चोयाका सामान विस्थापित गरिदिएको बताउनुभयो ।
अहिले आफ्नै घरमा पनि प्लास्टिकका नाङ्लो र गाग्री प्रयोग गर्न थालेको घर्तीमगरको भनाइ थियो । प्रविधिको बढ्दो विकाससँगै स्थानीय परनिर्भर बन्दै गएका उहाँले बताउनुभयो ।
आफ्नो पालामा नुन, भाँडाकुँडा र लत्ताकपडाबाहेक अन्य सामान बाहिरबाट नल्याएको स्मरण गर्दै पछिल्लो समय गाउँमा सबैले आयातित सामान प्रयोग गर्ने गरेका घर्तीमगरको भनाइ थियो । अहिले पनि केही बूढापाकाले चोयाबाट सामग्री बनाउने गरेका भन्दै उहाँले आधुनिक सामग्रीको प्रयोगका कारण ती बिक्री नहुने बताउनुभयो । “आफूहरू दसैँ, माघेसङ्क्रान्ति र चैते दसैँका बेला दर्जनौँ डोका, नाङ्लो बोकेर बजारमा बिक्री गर्न जाने गरिन्थ्यो । फर्किदा घरमा चाहिने सामान लिएर आउथ्यौँ”, घर्तीमगरले स्मरण गर्नुभयो ।
स्थानीय प्रेमबहादुर सुनारले आफू ११ वर्ष हुँदादेखि डालो, नाङ्लो बुन्दै आएको सुनाउँदै अहिले पनि बुन्ने गरेको बताउनुभयो । पहिले एकै सिजनमा रू डेढ लाखको चोयाका सामग्री बेच्ने गरेकामा अहिले बिक्री नै हुन छाडेको उहाँको भनाइ थियो ।
बाउ, बाजे र काकाबाट मान्द्रो, डालो, नाम्लो, दाम्लो र नाङ्लो बुन्न सिकेको भन्दै नयाँ पुस्ताले यसप्रति चासो नदेखाउँदा सीप हस्तान्तरण हुन नसकेको सुनारले गुनासो गर्नुभयो । बूढापाकाको हातखुट्टा चल्न छाडेपछि स्थानीयस्तरमा भएका कला, सीप र संस्कृति लोप भएर जाने खतरा बढेको भन्दै एक दशकदेखि गाउँमा प्लास्टिकका भाँडाकुँडा र डालो, नाङ्लो पुगेपछि चोयाबाट बुनेका सामान प्रयोग गर्न छोडेका उहाँले जानकारी दिनुभयो ।
चोयाबाट बनेका डालो, नाङ्लो, डालोलगायत सामग्री प्लास्टिकको तुलनामा निकै बलियो हुने बताउँदै सुनारले स्थानीय उत्पादनभन्दा आयातित सामानप्रति आकर्षण बढी भएकाले मौलिक सीपबाट बनेका सामानले बजार नपाएको गुनासो गर्नुभयो । डालो, नाङ्लो वनमा गएर गजिङ, मालिङका चोया निकालेर बुन्न निकै समय लाग्ने भन्दै बजार नपाउँदा आफूहरूको मेहनत खेर गएको उहाँले दुःखेसो पोख्नुभयो ।
“अहिले ७० वर्षको भए । अझै पनि हातमा सीप छ । दिनभरि लगाएर सामान बुन्ने हो, बिक्री नहुँदा दुःख लाग्छ । अहिले वर्षभरि रु. ५० हजारको सामान बेच्न पनि मुस्किल हुन्छ”, सुनारले भन्नुभयो, “हाम्रा पालामा मानापाथी चल्थे । अहिलेको जस्तो एक किलो, दुई किलो भन्ने थिएन । व्यापारीले पाँच मानादेखि १० पाथीसम्मका ठाला राख्थे, मेला महोत्सवमा पनि धेरै सामान बिक्थे ।”
बडिगाडका होमबहादुर सिंजालीले पहिले बिस्कुन सुकाउन, गोठ छाउनका लागि चोयाका मान्द्रो, बलाङ प्रयोग गर्ने गरेको भन्दै अहिले प्लास्टिकका त्रिपाल बढी चल्ने गरेको बताउनुभयो । उतिबेला गोठालाले लेक, बेँसीमा गोठा हाल्दा चोयाकै बलाङले छाउने गरे पनि अहिले लेकका टुम्पासम्म पानीकागज र त्रिपाल पुग्न थालेको उहाँको भनाइ थियो ।
सिंजालीले पहिले गाउँका अधिकांश स्थानीयले अल्लो, भेडाको ऊन, भाँगोको लोक्ताबाट कपडा बनाउने गरेको भन्दै अहिले त्यो प्रचलन नै हराएको बताउनुभयो । उहाँले भन्नुभयो, “दशौँ वर्ष अगाडिका धेरै चालचलन र सीप अहिले हराउँदै गएका छन् । गाउँ र बस्तीमा मोटर गुड्न थाले । मोटर गाडीले सहरबजारका सामान सर्लक्कै गाउँ ल्याउँछ । ती सामान देख्दा राम्रो भए पनि हाम्रा जमानाका जस्ता बलियो र गुणस्तरीय हुँदैनन् । अबको केही वर्षपछि डालो, नाम्लो केही देख्न पाइने छैन ।” डम्मर बुढामगर/रासस
रुकुमः कुनै बेला दशैं तथा तिहार नजिकिँदै गर्दा मुसिकोट नगरपालिका नगरपालिका–७ की चम्पा पुनलाई रातो माटोले घर रङ्गाउन भ्याई नभ्याई हुन्थ्यो । गाउँमा धेरै पुराना र मौलिक घरहरु हुन्थ्ये ।
प्रत्येक घर यो बेला रङ्गाउन सबैलाई उत्तिकै हतार हुन्थ्यो । पछिल्लो समय त्यो प्रचलन फेरिएको छ । पहिले जस्तो घर रङ्गाउन माटो, कमेरोको खोजी हुँदैन किनभने गाउँमा बनेका सबै घरमा सिमेन्टको प्रयोग बढेको छ भने, रङ्ग पनि बजारकै प्रयोग हुन थालेको छ । यसले ग्रामीण जीवनमा एकातिर सहजता त ल्याएको छ भने अर्कोतिर घरमा हुने खर्च र लगानी बढाएको छ । ‘पहिला पहिला हामी कमेरो, माटोले घर लिप्ने गथ्यौँ, घरमा विभिन्न रङ्को माटोले लिपेपछि मात्र दसैँ आएकोजस्तो लाग्थ्यो, घर रमाइलो हुन्थ्यो’, चम्पा पुनले भनिन् ।
पछिल्लो समय गाउँमा घर लिप्ने माटो खन्ने प्रचलन हराउँदै गएको छ । मौलिक घरहरु पनि बिस्तारै हराउँदै गएका छन् । सिमेन्ट र रडको प्रयोग गरेर घर निर्माण भइरहेका छन् । गाउँमा बन्ने नयाँ घरमा सिमेन्टको प्रयोग हुन थालेपछि मौलिक घरको सङ्ख्या घट्दै जान थालेको छ । मौलिक घरहरुमा पनि बजारको रङ्ग प्रयोग हुँदै जानु र सिमेन्टको प्रयोग गरिएकाले पनि घरहरु माटो तथा कमेरोले रङ्गाउन नमिल्ने भएकाले घर रङ्गाउने प्रचलन लोप हुँदै गएको मुसिकोट–१ का गोविन्द केसीको भनाइ छ ।
स्वास्थ्यका हिसाबले ढुङ्गा माटोको गारोले निर्माण गरिएका घर उपयुक्त मानिए पनि झट्ट हेर्दा आकर्षक देखाउने होडबाजीका कारण पनि गाउँमा सिमेन्ट र विभिन्न रङ्गको प्रयोग बढेको हो । मौलिक घर र मौलिक जीवनशैली संरक्षणमा भने कुनै पनि स्थानीय सरकारले नीति तथा कार्यक्रम ल्याउन नसकेको गुनासो पनि स्थानीयबाट सुनिन्छ । हाम्रो जीवनशैली, संकृति, वेशभूषा र भाषा पर्यटनका महत्वपूर्ण आधार रहेको भन्दै आधुनिकताका नाममा कहिल्यै आफ्ना मौलिकता भुल्न नहुने स्थानीय उदय केसी बताउँछन् । रासस
गण्डकीः स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थित भैंसेगौँडा यस क्षेत्रको प्राचीन बस्ती हो । उत्तरतर्फ आँखा जुधाएर हेर्न सकिने चाँदी जस्तै टलक्क टल्कने हिमाल, वरपर ढपक्कै ढाकिएको वनजङगल एवम् मनोरम प्रकृति र संस्कृति यहाँको विशिष्टता हो ।
तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीको सहस्राब्दी पदमार्ग ९मिलेनियम ट्रेक०को लगभग बीच भागमा पर्ने भएका कारण यहाँको गरिमा र महत्व अझै चुलिएको छ । प्रकृतिको वरदान पाउको भैंसेगौँडा यहाँका प्राचीन मौलिक संस्कृतिले पनि उत्तिकै सम्पन्न रहेको स्थानीय समाजसेवी मिलेनियम भैसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङ बताउनुहुन्छ ।
प्राकृतिक सम्पन्नताकै कारण पछिल्लो समयमा यो ठाउँ वनस्पति र वन्यजन्तु अनुसन्धानको केन्द्रका रुपमा समेत विकास हुँदै गएको उहाँले बताउनुभयो । यहाँका प्राकृतिक विधिताकै कारण प्रकृतिका साथीहरू नामक संस्थाले विभिन्न छवटा शृङ्खलामा यसै ठाउँमा वन्यजन्तु अनुसन्धान विधि तालिम सञ्चालन गरिसकेको उहाँले जानकारी दिनुभयो ।
वन्यजन्तु अनुसन्धान तालिमका क्रममा यस स्थानमा एक सय ७४ प्रजातिका चरा भेटिएको प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार यस क्षेत्रमा ५७ प्रजातिका पुतली र १४ प्रजातिका स्तनधारी प्राणी फेला परेका छन् ।
“वनस्पति र वन्यजन्तुको अध्ययन एवम् अनुसन्धानका लागि भैसेंगौँडा अत्यन्त उपयुक्त स्थल हो”, उहाँले भन्नुभयो, “नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुरदेखि नेपालमा मात्रै पाइने चमेराका प्रजाति पनि यही ठाउँमा भेटिएका छन् ।” प्राकृतिक रुपमा भैसेंगौँडा आफैँमा सम्पन्न क्षेत्र भएकाले प्रकृतिका साथीहरूको रोजाइमा यो ठाउँ परेको बताउँदै उहाँले यस स्थललाई वनस्पति एवम् वन्यजन्तु अनुसन्धानका केन्द्रका रुपमा विकास गर्न सकिने बताउनुभयो ।
तालिममा सहभागीलाई जङ्गलमा रहेका चरा, पुतली एवं स्तनधारी प्राणीको पहिचान, तिनको अनुसन्धान विधिलगायत वन्यजन्तुका विषयमा जानकारी दिने गरिएको उहाँले बताउनुभयो । प्रकृतिका साथीहरूको छैटौँ चरणका वन्यजन्तु अनुसन्धान तालिमका साथै उक्त संस्थाका माध्यमबाट यो ठाउँ वनस्पति एवम् वन्यजन्तु अनुसन्धान तालिमका लागि उपयुक्त ठहरिनुलाई आफूहरूले यसलाई महत्वका साथ हेरेको होमस्टेका अध्यक्ष गुरुङ बताउनुहुन्छ ।
प्रकृति र संस्कृतिले सम्पन्न भैंसेगौँडालाई वनस्पति एवम् वन्यजन्तु अनुसन्धानका केन्द्रका रुपमा समेत स्थापित गर्ने आफूहरूको लक्ष्य रहेको जनाउँदै उहाँले यसको सम्भावना र महत्वलाई पनि प्रवद्र्धन गरिने बताउनुभयो । “प्रकृतिका साथीहरू संस्थाले अनुसन्धान विधि तालिमका क्रममा फेला परेका चरा, स्तनधारी प्राणी एवम् पुतली लगायतका प्रजातिको विवरण समेटेर हामी चाँडै नै पुस्तक प्रकाशन गर्ने सोचमा छौँ”, उहाँले भन्नुभयो, “यहाँको महत्वलाई उजागर गर्ने गरी वनस्पति एवम् वन्यजन्तुको अध्ययन अनुसन्धानका लागि यो ठाउँलाई खुल्ला विश्वविद्यालयका रुपमा स्थापित गर्ने हाम्रो दीर्घकालीन लक्ष्य छ ।”
यहाँ आउन चाहने पर्यटक एवम् वन्यजन्तु तथा वनस्पतिको अध्ययन गर्ने अध्येता जो कोहीलाई बस्नखानका लागि मिलेनियम भैंसेगौँडा सामुदायिक होमस्टेले सेवा प्रवाह गर्दै आएको जनाउँदै उहाँले समयमा ठाउँठाउँबाट आन्तरिक तथा बाह्य पर्यटक होमस्टेमा आउने गरेको जानकारी दिनुभयो । होमस्टेमा दैनिक २० जनासम्म पर्यटकलाई राख्न सकिने व्यवस्था छ ।
नेपालमा मात्रै पाइने काँडे भ्याकुरका साथै चीन, मङ्गोलिया लगायतका स्थानबाट बसाइँ सर्ने सिकारी प्रजातिका चराहरू पनि यही स्थान भएर नेपालको तराईका साथै भारततिर जाने भएकाले चरा अध्ययनका लागिसमेत यो महत्वपूर्ण गन्तव्य रहेको पोखरा पछी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताउनुभयो । हिउँदको समयमा भैंसेगौँडा र आसपासका विभिन्न स्थानमा ठूलै सङ्ख्यामा हिमाली चराहरूसमेत देख्न सकिने उहाँले बताउनुभयो ।
तनहुँ र स्याङ्जाका विभिन्न भागलाई जोड्ने कूल ७२ किलोमिटरअन्तर्गत रहेको सहस्राब्दी पदमार्गको ५२ किलोमिटर वनजङ्गल क्षेत्रमा पर्ने भएकाले चराचर, पर्यावरणलगायत वन्यजन्तु र वातावरणसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि यो आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङ बताउनुहुन्छ । पछिल्लो नक्साङ्कनबाट सहस्राब्दी पदमार्गलाई पोखरा महानगरपालिकासँग पनि जोडिएको छ । यहाँबाट देखिने अन्नपूर्ण, धवलागिरि लगायतका हिमशृङ्खलाका साथै पहाडी दृश्यावलोकनले पनि पर्यटकहरू लोभिने गरेको उहाँले बताउनुभयो । रासस
धनकुटाः राणाकालीन समयमा धनकुटा पूर्वी नेपालको प्रशासन सञ्चालनका लागि गौडाका रूपमा स्थापित केन्द्र थियो । धरानबाट नुन तथा मालासामान लिएर भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ आवतजावत गर्ने व्यापारी तथा भरियाको प्रमुख व्यापारिक केन्द्र यही थियो । उक्त समयमा यहाँ निर्मित, पटीपौवा, चौतारा, सडकलगायतका ऐतिहासिक संरचना अहिले संरक्षणविहीन बनेका छन् भने कतिपय नष्ट भएर गइसकेका छन् ।
सबैको बेवास्ताका कारण धनकुटा सदरमुकामस्थित धनकुटा नगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक महत्व बोकेका सम्पदा संरक्षण र प्रवर्द्धन अभावमा गुमनाम हुँदै गएका छन् ।
धनकुटाको इतिहासमा छुट्नै नहुने धनकुटा बजारमा रहेको तत्कालीन प्रशासनिक केन्द्र धनकुटा गौँडा अहिले कहाँ छ भनेर खोज्नुपर्ने अवस्थामा गुमनाम छ । हाल नगरपालिकाको वडा नं ४ स्थित नेपाली सेनाको भीमदल गण ब्यारेकभित्र रहेको यो गौँडा सबैले नाम सुने पनि पछिल्लो पुस्ताका लागि परिचित छैन ।
संरक्षण अभावमा यहाँका सबै ऐतिहासिक वस्तु गुमनाम भएको बताउनुहुन्छ धनकुटा बहुमुखी क्याम्पसका पूर्वप्राधापक तथा धनकुटाको इतिहाससम्बन्धी जानकार ठाकुरप्रसाद बराल । धनकुटाकै परिचय बोकेको सल्लेरी वनभित्र रहेको महेन्द्र पार्क पुनःनिर्माण तथा संरक्षणमा एकलरूपमा निरन्तर लागिरहनुभएका बराल पुरातात्विक कुरा जोगाउन नगरवासी धेरै पछि परिसकेको बताउनुहुन्छ ।
बराल भन्नुहुन्छ, “धनकुटाका पुराना पाटीपौवा, चौतारा कङ्क्रिटिङ भरियो । कतिपय पाटीपौवा देख्दादेख्दै व्यक्तिगत घर बने । सडकमा छापिएका ढुङ्गा रातारात गायब भए । राम्रो बनाउने नाममा हाम्रो इतिहास बिगार्यौ ।” आफूले देख्दादेख्दै नगरमा घर बढेर व्यापार–व्यवसाय बढे पनि पर्यटक गुमनाम भएको र कुनै बेला पूर्वको शिक्षाको केन्द्र मानिएको धनकुटा क्याम्पससमेत अहिले विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्था देखिएको उहाँको भनाइ छ ।
जिल्लाकै पहिचानका रूपमा रहेको धनकुटा गौँडा, यहाँ रहेको पैसा छाप्ने टक्सार, बरपिपललगायत स्थानको तत्काल स्थानीय सरकारबाट संरक्षण गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । त्यस्तै धनकुटा नगरपालिका–६ स्थित ऐतिहासिक ५२ ढोके दरबारमा अहिले एक निजी विद्यालय सञ्चालनमा छ । यो दरबार तत्कालीन राजदरबारबाट निष्कासनमा परेका यक्षविक्रम साहका निम्ति राजदरबारले बनाइदिएको थियो ।
तर पछिल्लो समयमा उनका छोरा श्यामराजालगायतका शाहहरूले अंशबण्डा गरेपछि उक्त दरबारमा निजी स्कुल सञ्चालनमा आएको स्थानीयबासी तथा नेपाल पत्रकार महासङ्घ धनकुटाका निवर्तमान सभापति राजेश्वरबहादुर श्रेष्ठको भनाइ छ । ऐतिहासिक महत्व बोकेको यो दरबार शाहहरूबाट किनेर सङ्ग्राहलयमा परिणत गर्नबाट धनकुटा नगरपालिका चुकेको इतिहासका जानकार बरालको तर्क छ । “अहिले पनि नगरपालिकाले किनेर साझा सम्पत्ति बनाउँदा धनकुटाको सान नै अर्कै हुन्छ”, उहाँले भन्नुभयो, “धनकुटाले इतिहास चिनेन र यसको मूल्य पनि चिनेन ।”
ऐतिहासिक महत्व बोकेको धनकुटा गौँडा सर्वसाधारणका लागि खुला गर्न नेपाली सेनासँग कुरा भइरहेको उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईको भनाइ छ । राणाकालमा स्थापित प्रशासनिक तथा व्यापारिक केन्द्र भएसँगै धनकुटा बजारमा बटुवा र भरियाका लागि नगरमा अनगिन्ती चौतारा र पाटीपौवा निर्माण भएको देखिन्छ । एक प्रकारले धनकुटा नगरपालिका कुनै बेला चौतारी नै चौतारीको नगर थियो । अहिले पनि नगरमा बाक्लै चौतारा छन् । अधिकांश चौतारी भौतिक संरचना निर्माणसँगै काटिएर मासिए भने बाँकी भएका कतिपय ऐतिहासिक चौतारी संरक्षणविहीन बनेका छन् ।
पछिल्लो समय सबै ठाउँ बाटाघाटा पुगेपछि प्रयोगविहीन बनेका यहाँ निर्मित पाटीपौवा र बरपिपलका चौतारीहरू नाममा सीमित छन् । यस्ता ऐतिहासिक विषय समाज र राज्यको सम्पत्ति भए पनि यसप्रति नागरिक र जनप्रतिनिधि सचेत नहुँदा संरक्षण नभएको पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष राईको भनाइ छ ।
नागरिक, भूगोल र त्यहाँका सम्पदा मिलेरै राष्ट्र बन्ने भएकाले यहाँका ऐतिहासिक र पुरातात्विक सम्पदाको नाश हुँदा नगरवासीलाई मात्र नभएर देशलाई नै घाटा हुने उहाँको भनाइ छ । राणाकालीन समयमा बजार क्षेत्रको तीन किलोमिटरभन्दा बढी च्याप्टो ढुङ्गाले छापिएको सडक विसं २०५६ बाट भत्काएर कालोपत्र गरिसकिएको छ । यसले नगरवासीलाई केही सुविधा त भयो तर यसले धनकुटा बजारलाई ठूलो क्षति भएको वडा नं ३ का अध्यक्ष विकास घिमिरेको भनाइ छ ।
यहाँका ऐतिहासिक सम्पदा जगेर्ना गरेर पर्यटन प्रवर्द्धनमा धनकुटावासी चुकेको उहाँको पनि भनाइ छ । पुरानो पुस्ताको बेवास्ता तथा नयाँ पुस्तामा ऐतिहासिक र पुरातात्विक महत्वसम्बन्धी जागरण नहुँदा पुराना कुराको संरक्षण हुन नसकेको धनकुटाका प्रा डा गोपालबहादुर भट्टराईको भनाइ छ । पुरातात्विक महत्वका सम्पदालाई समग्र धनकुटाको आर्थिक अवस्था मजबुत बनाउने आधारका रूपमा विकास गर्न नसक्नु धनकुटावासीको दुर्भाग्य भएको उहाँको भनाइ छ ।
अहिले राणाकालमा निर्मित धनकुटा बजारको ऐतिहासिक बिहीबारे हटिया पुनःनिर्माण भएर यसको पुरानो स्वरुप नष्ट भइसकेको छ । त्यस्तै यस नगर क्षेत्रमा मात्र पाइने ‘किरात आठपहरिया’ जातिको टिनको छाना लगाउन नहुने भनिएका खरले छाइएका घुमाउने घरसमेत नष्ट हुँदै गइरहेका छन् ।
साविक जिविसमा योजनासम्बन्धी २० वर्षभन्दा लामो अनुभव बटुलेका हाल धनकुटा नगरपालिकामा प्रशासन योजना तथा अनुगमन अधिकृत रहनुभएका सीताराम गौतमले नागरिकले सधैँ नयाँ कुराप्रति आकर्षित हुने भएकाले पुराना कुरा छाड्दै गएको हुनसक्ने जिकिर गर्नुभयो ।
नगरका जति पनि पुराना संरचनाको ठाउँमा नयाँ बनेका छन् ती सबै नागरिकको माग र स्थानीय तहहरूको समेत लगानीमा पुनःनिर्माण हुँदै आएको उहाँको भनाइ छ । समाजको विकासक्रमसँगै यहाँका ऐतिहासिकस्थल तथा सम्पदाको संरक्षण नहुँदा धनकुटा बजार क्षेत्र केवल घर नै घरको बजारमात्र बन्न पुगेको छ ।
विसं २०४० मा धनकुटा बजारबाट भोजपुर, सङ्खुवासभा तेह्रथुम जाने मोटरबाटो बजारको बीच भागबाट लैजान नदिएर सडक बाहिरबाट गएपछि यो बजार उस्तै साँघुरो अवस्थामा छ । पछिल्लो समय पूर्वाञ्चलका १६ जिल्लाको सदरमुकाम रहेको गुल्जार नगरपालिका देश सङ्घीयतामा गएपछि धनकुटा जिल्ला सात स्थानीय तहमा विभाजन भएसँगै यो नगर थप कमजोर भएको छ ।
धनकुटा नगरपालिका क्षेत्रमा रहेको ऐतिहासिक तथा पुरातात्विकस्थलका लागि कार्यक्रम नभएको तर संस्कृति प्रव्द्र्धनका लागि नगरपालिकाले योजना र बजेट विनियोजन गर्दै आएको नगरका उपप्रमुख भीमादेवी खनालले जानकारी दिनुभयो । नगर क्षेत्रको आर्थिक विकासका लागि यस वर्षबाट बन्दीपुरको घरबास (होमस्टे)मोडलमा आधारित होमस्टे सञ्चालनको कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । संरक्षण र प्रवर्द्धनको पर्खाइमा रहेका ऐतिहासिक विषयमा भने आफूहरूको ध्यानाकर्षण भएकाले आगामी नगरको नीति तथा कार्यक्रममा यसलाई समावेश गरिने उहाँको भनाइ छ । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies