ढोरपाटनः बागलुङमा हरेक वर्ष हिउँद लाग्नासाथ नयाँ–नयाँ ठाउँमा सडकको ‘ट्रयाक’ खुल्छन् । ट्र्याक खुलेका सडकमा वर्षौंसम्म गाडी गुड्दैनन् । बर्खा लाग्यो भने ती सडक भत्किएर बग्छन् । बस्तीमाथि रहेका सडकले त झन् सिङ्गो गाउँलाई नै जोखिममा पर्ने गर्दछन् । जिल्लाका दुर्गम तथा सुगम क्षेत्रका ग्रामीण सडक बन्द भएको डेढ महिना बित्यो । असार पहिलो सातादेखि नै बन्द भएका सडक अहिलेसम्म बन्द नै छन् । वर्षाका कारण पहिराले अवरुद्ध बनेका सडक अब असोज लागेपछि मात्रै खुल्नेछन् ।
कतिपय सडक पहिरोले त कतिपय खोलामा पानीको बहाव बढ्दा बन्द छन् । धेरैजसो अव्यवस्थित रुपमा निर्माण भएका संरचनाले नै अवरुद्ध गरेका छन् । ग्रामीण सडक त अवरुद्ध छँदै थिए, समय–समयमा शाखा सडकबाट आउने भेल र बाढीले राष्ट्रिय लोकमार्ग पनि अवरुद्ध हुँदै आएको छ । अव्यवस्थित र वातावरणीय प्रभाव मूल्याङ्कन बिना निर्माण भएका शाखा सडकले राष्ट्रिय राजमार्गसमेत क्षतविक्षत बन्दा सयौँ सवारी साधन र हजारौँ यात्रु बेला–बेला अलपत्र पर्दै आएका छन् । ग्रामीण सडक सञ्चालन नहुँदा जनजीवन नै कष्टकर हुँदै आएको छ ।
निसीखोला गाउँपालिका–४ ओखरेनीमा केही वर्ष अगाडि मोटरबाटो पुग्यो । मोटरबाटोले स्थानीयवासीलाई सहज त बनायो तर बर्खामा धेरैलाई उठिबाससमेत लगाएको छ । ओखरेनी गाउँमा पुगेको मोटरबाटोले सोही गाउँको विभिन्न टोल चिनारे गाउँ नै पहिराको उच्च जोखिममा परेको छ । हरेक वर्ष गाउँका दर्जन घर पहिराको जोखिममा पर्ने गरेका छन् । हिउँदमा जसोतसो गाडी चले पनि बर्खा लाग्नासाथ कच्ची भू–भागका कारण यातायात ठप्प हुन्छ । वातावरणीय प्रभाव मूल्याङ्कन बिना सडक निर्माण गर्दा गाउँ नै पहिराको जोखिममा परेको स्थानीयवासीको गुनासो थियो । गाउँमा पुगेको उक्त सडकबाट भलसहितको लेदोले मध्यपहाडी लोकमार्गको धरमशाला कालापैरामा दिनदिनै सडक अवरुद्ध गराउँदै आएको छ ।
पानी पर्नेबित्तिकै माथिदेखि भल आएर एकै छिनमा सडक पुरीदिँदा लोकमार्ग अवरुद्ध हुने गरेको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधि पौडेलले बताए । बर्खा लागेदेखि थापागाउँ, बडाचौरलगायत गाउँका सडक बन्द रहेको उनको भनाइ थियो । अब नयाँ सडक निर्माण गर्न रोकेर पुरानालाई स्तरोन्नति गर्ने गरी योजना बनाइएको उनले बताए । धेरै सडक निर्माण गर्दा बस्तीसँगै पर्यावरणमा असर पुग्ने भन्दै अब सडक दीर्घकालीन रुपमा चल्ने गरी निर्माण गरिने उनले उल्लेख गरे ।
‘स्थानीय तह अगाडि कुनै पनि गाउँमा सडक पुगेका थिएनन्, पालिकाले सबै ठाउँमा सडक पु¥याउने योजना बनाएको थियो, सोहीअनुसार धेरै गाउँमा सडक पुगे, अहिले मोटरबाटो नपुगेको कुनै पनि गाउँ छैन’, अध्यक्ष पौडेलले भने, ‘धेरै ठाउँमा सडकका कारण बस्ती विस्थापित हुने अवस्था आएको छ, हाम्रोमा त त्यो समस्या छैन अहिलेसम्म, हिउँदमा चल्ने, बर्खामा नचल्ने सडकलाई अब बाह्रै महिना सञ्चालनमा ल्याउने गरी काम थालेका छौँ ।’
जिल्लाको तमानखोला गाउँपालिकाका सबै ग्रामीण सडक असारदेखि नै ठप्प छन् । बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्म चल्ने सडक नियमित चले पनि अन्य सडक बन्द छन् । बडिगाड, ढोरपाटन, गलकोटलगायत ठाउँका ग्रामीण सडक पनि बर्खामा चल्दैनन् । भौगोलिक अवस्था, सरोकारवालाको बेवास्ता तथा गाउँगाउँमा मनपरी सडक खन्ने प्रवृत्तिका कारण ग्रामीण र मुख्य सडक क्षतविक्षत हुँदै गएको स्थानीयवासी प्रेमबहादुर पुनले बताए ।
पुराना सडकलाई बेवास्ता गर्ने र मनपरी नयाँ शाखा सडक खन्ने प्रवृत्तिका कारण बर्खामा सडक सञ्चालन हुन नसक्ने उनको भनाइ थियो । ‘काम परेर बजार जान प¥यो भने दुई÷तीन ठाउँ गाडी परिवर्तन गर्नुपर्छ, गाउँतिर निकै समस्या हुन्छ, पानीका कारण ठाउँ–ठाउँमा सडक बिग्रिएको छ, यात्रा गर्न निकै गाह्रो’ स्थानीयवासी पुनले भने, ‘बर्खामा सबैभन्दा धेरै पहिरो सडकमै जाने गरेको छ, सडक खन्ने बेला नाप जाँच गरेर निर्माण गरेको भए, बर्खामा यस्तो समस्या आउने थिएन, हामी भुइँ मान्छेको कुरा कसैले सुन्दैनन् ।’
बागलुङमा निर्माण भएका कतिपय ग्रामीण सडक सरकारी मापदण्ड विपरीत वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै खनिएका छन् । यस्ता सडक प्राविधिक दृष्टिले जोखिमयुक्त मानिन्छन् । वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै सडक खन्ने होडबाजीका कारण पहिराको जोखिमका साथै गाउँ नै कुरूप हुँदै गएका छन् । सबैलाई पायक पर्ने एउटै सडक निर्माण गरी सोही सडकलाई फराकिलो बनाएमा मात्र समस्या केही समाधान हुने स्थानीयवासी तिलबहादु घर्तीले बताए ।
उनले गाउँ–गाउँमा निर्माण भएका सडक निकै साँघुरा र दुर्घटना नित्याउने खालका भएको बताए । नयाँ सडक खोल्नका लागि सरोकारवाला निकायले चासो दिएको स्थानीयवासी घर्तीले गुनासो गरे । उनले भने, ‘बाटो अलि फराकिलो बनाउनुपर्छ, गाउँ–गाउँमा पुगेर हेर्ने हो भने त्यहाँ बनेका सडकमा मोटरसाइकल पनि गुड्दैनन्, गाडी गुड्ने त कुरै भएन, हिउँदमा बाटो खन्छन्, बर्खामा बगाउँछ, विकास दीर्घकालीन हुन सकेको छैन, जहाँ पनि बाटो मात्रै खनेको देखिन्छ, अरू विकास कम भएको पाइन्छ ।’ डम्मर बुढामगर/रासस
रसुवाः क्रमिकरूपमा कुलो निर्माणबाट रसुवामा भएको सिँचाइको व्यवस्थाले कृषि उपज बढ्न थालेको छ । सिँचाइ डिभिजन कार्यालयले किसानको माग र टट्कारो आवश्यक्ताअनुसार गत आर्थिक वर्षमा १२ वटा नयाँ सिँचाइ कुलो निर्माण र १० वटा भइराखेको सिँचाइ कुलो मर्मत भएसँगै उर्वर भूमिमा पानीको आपूर्तिले कृषिउपज बढ्न थालेको हो ।
समय समयमा पानी नपर्दा कोदो खेतीसमेत बिग्रने जिवजिवेको भदौरे पाखामा सिँचाइको व्यवस्थाले अहिले धानसमेत फल्न थालेको छ । विगत वर्षदेखि पाखोबारीमा खेत बनाएर धान रोप्ने काम अगाडि बढिसकेको भदौरे क्षेत्रका किसानले बताएका छन् ।
सिँचाइ डिभिजन प्रमुख इन्जिनियर गोविन्द्रप्रसाद भुर्तेलका अनुसार जिल्लामा गत वर्ष कूल तीन सय ८० हेक्टर जमिनमा सिँचाइको सुविधा पुर्याई सकिएको र निर्माणका चरणमा अगाडि बढिरहेका क्रमागत केही सिँचाइ योजना भने चालु आर्थिक वर्षमा सम्पन्न हुनेछन् । सङ्घीय एवं प्रदेश सरकारको अनुदानबाट सिँचाइ कुलो निर्माण र मर्मतका साथै जिल्लाका विभिन्न भागमा १७ वटा नदी नियन्त्रणका काम सम्पन्न गरिएको बताइएको छ । सिँचाइ कुलो निर्माण, मर्मत तथा नदी नियन्त्रणलगायत कार्यसम्पन्न गर्न गत आर्थिक वर्षमा कूल रु. १३ करोड पाँच लाख खर्च भएको उनले जानकारी दिए ।
यसरी निर्माण गरिएका सिँचाइमा ठूला तथा मझौलासमेत रहेका छन् । उपभोक्ता समितिले जिम्मा पाएको प्रायः सिँचाइ योजना निर्माण सम्पन्न भइसकेका र टेन्डर गरिएका काम भने विविध कारणले अगाडि बढ्न नसकेको प्राविधिकले बताएका छन् । यस्तै जिल्लाको दक्षिणी भेकस्थित कालिका गाउँपालिका क्षेत्रभित्र अवस्थित जिवजिवेको आसपासमा पर्ने भदौरे गाउँ क्षेत्रमा निर्माण गरिएको नमुना थोपा सिँचाइले भने तीन सय ५० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेकोे छ ।
पाखोबारीलाई खेतमा रूपान्तरण गर्दै वर्षा याममा सौरेनी मुलको पानीबाट धान रोपाइँ गराउने र धाराबाट खेर जाने पानीलाई ट्याङ्कीमा सङ्कलन गरी हिउँद याममा तरकारी उत्पादन गराउने व्यवस्थापनले किसानमाझ उत्साह बढेको हो । वर्षायामको धान खेतीका लागि ६० हजार क्षमताको दुई र ३० हजार क्षमताको एउटा एवं हिउँद याममा धाराबाट खेर जाने पानी सङ्कलनका लागि ५० वटा सिमेन्टका ट्याङ्की निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष तारानाथ पौडेल उल्लेख गर्छन् ।
पानीको स्रोत नहुँदा बाँझो रहने जमिनलाई थोपा सिँचाइको अवधारणाअनुसार विसं २०७४ बाट क्रमागतरूपले निर्माण भएको भदौरे नामक थोपा सिँचाइ योजनाबाट तीन सय ५० घर परिवार लाभान्वित भएको बताइएको छ । सधैँभरी अधिकांश बाँझो बस्ने जमिनमा गरिएको सिँचाइको व्यवस्थाले मङ्सिरमा धान काट्ने र हिउँ याममा रोपिएका विभिन्न प्रकारका तरकारी टिप्न पाउँदा स्थानीय किसान हर्षविभोर भएको स्थानीय सामाजिक अभियानकर्मी बताउँछन् । भदौरे थोपा सिँचाइ योजना देशकै नमुना बन्दै गएको सिँचाइसँग सम्बन्धित प्राविधिकको भनाइ छ ।
विकासको पहुँचबाट पछाडि परिरहेको भदौरे क्षेत्रमा ढिलै भए पनि निर्माण भएको थोपा सिँचाइ विकासले समुदायको जीवनमा परिवर्तन ल्याएको र यस्तो जनहितकारी योजनाको डिजाइन गरी सञ्चालन गराउने डिभिजन सिँचाइ कार्यालयका तत्कालीन कार्यालय प्रमुख ई कृष्णबहादुर पाण्डे धन्यवादको पात्र रहेको यहाँका बासिन्दा बताउँछन् ।
सिँचाइ क्षेत्रमा सरकारले गरेको लगानी जनहितकारी बन्दै गएको बताउँदै स्थानीय किसानले बढी भिरपाखामा समय समयमा पहिरो जाने समस्या हुन थालेकाले विशेष जोखिम स्थानको भाग मर्मत गराउन वार्षिकरूपले थोरबहुत रकम मर्मतसम्भारका लागि उपलब्ध गराउन सरकारसमक्ष मागसमेत राखेका छन् । रासस
गलकोटः पाँच वर्षअघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ । काठेखोला गाउँपालिका–७ रेशस्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको पाखोबारीमा व्यावसायिक चिया खेती शुरु गरिएको छ ।
वनमाराले ढाकेको पाखो चिया बगान बनेपछि आन्तरिक पर्यटक अवलोकनका लागि यहाँ पुग्न थालेका छन् । चिया बगान हेर्न, सामाजिक सञ्जाल फेसबुक/टिकटकमा दृश्य सार्वजनिक गर्न आन्तरिक पर्यटक इलाम नगई रेशको चिया बगानमा आउने गरेका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । उनका अनुसार यहाँ विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन, अनुसन्धान गर्न पनि विद्यार्थी आउने गरेका छन् ।
‘मुख्यमैत्री वातावरणमैत्री नमूना कृषि गाउँका रुपमा रेश छनोट भएपछि चिया परीक्षणका लागि लगाएका थियौँ, यहाँको एक विद्यालय र सार्वजनिक जग्गा गरी ७२ रोपनीमा लगाएको चिया टिप्ने बेला भएको छ’, उनले भने, ‘यहाँ आउने पाहुनालाई कोसेलीका रुपमा सहकारीले चियाको ‘ब्रान्ड’ बनाएर प्रदान गर्न थालेको छ ।’
वडाध्यक्ष लामिछानेले चिया बगानमा रमाउन अब इलाम जानु नपर्ने भन्दै अहिले बागलुङ बजारबाट विद्यार्थी शैक्षिक अध्ययन तथा अवलोकनका लागि आउने गरेका बताए । उनका अनुसार आन्तरिक पर्यटकलाई लक्षित गरी चिया बगानसम्म पुग्ने सडक, खानेपानीलगायत पूर्वाधार वडा कार्यालयले निर्माण गरिरहेको छ ।
रेशमा सञ्चालित चार सामुदायिक घरबास र चिया पर्यटनलाई जोडेर आगमी दिनमा बजेट तथा कार्यक्रम ल्याउने गरी योजना तयार गरिने वडाध्यक्ष लामिछानेले जानकारी दिए । वडा कार्यालयको सहकार्यमा चिया सुकाउने औजार खरिद गरिएको बताउँदै उनले पछिल्लो समय ठूलो परिणाममा चिया उत्पादन हुन थालेपछि उद्योग सञ्चालनका लागि सरोकारवाला निकायसँग समन्यव भइरहेको जानकारी दिए ।
बागलुङको रेश पर्यटनको हिसाबले अत्यन्तै सम्भावना बोकेको ठाउँ रहेको बताउँदै धवलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक डा. दिनबहादुर थापाले स्थानीय सरकार, जनप्रतिनिधि, सर्वसाधारणका साथै नागरिका समाज मिलेर यस क्षेत्रको विकास गर्न आवश्यक रहेको बताए ।
‘क्याम्पसका विद्यार्थीलाई चिया बगानमा अध्ययन/अवलोकन गराउन रेशको चिया बगान पुर्याउने गरेका छौँ । विद्यार्थीलाई अब बगान देखाउन इलाम वा अन्यत्र लैजानु पर्दैन्’, उनले भने, ‘स्थानीयस्तरमा व्यावसायिक चियाखेती भइरहेको छ ।’ डा. थापाले यहाँ आउने पर्यटकका लागि सुन्दर वातावरणसहित अर्गानिक खानाको परिकार, घरबासको आतिथ्यतालगायत व्यवहारले लोभ्याउने बताए ।
चिया उत्पादन धेरै हुन थालेपछि बजारीकरणको चिन्ता लाग्न थालेको चिया व्यवस्थापन समितिका मुक्तिराम थापाले बताए । चियाका पातबाट प्रशोधित चिया निर्माण गर्न उपकरणको अभाव भएको भन्दै चिया उत्पादनले तीव्रता पाउँदा उद्योग स्थापना गर्नुपर्नेमा उनले जोड दिए ।
‘हरियाली चिया बगान हेर्न आन्तरिक पर्यटक आउन थालेका छन्, उत्पादन पनि विस्तारै बढ्दै गएको छ, क्रमशः चिया उत्पादन बढ्दै गएपछि प्रशोधनका लागि थप उपकरणको आवश्यकता देखिएको छ’, थापाले भने, ‘अहिले परम्परागत तरिकाले चिया उत्पादन गरेर पहुनालाई कोसेलीका रुपमा वितरण गर्न शुरुवात गरेका छौँ ।’
पाँच वर्षअघि गण्डकी प्रदेशले अघि सारेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँको रुपमा काठेखोला गाउँपालिका–७ रेश छनोट भएपछि सोही परियोजनाअन्तर्गत साना किसान सहकारीले बौर र तिङरिङको ७२ रोपनी खाली जमिनमा ६० हजार चियाका बोट लगाएको थियो । यहाँ चियाखेती गर्दा स्थानीयले २५ प्रतिशत श्रमदानसमेत गरेका थिए ।
विद्यालयको खाली जमिनमा लगाइएको चियाबाट आयआर्जन हुन थालेकाले विद्यालयको शैक्षिक र भौतिक सुधारमा केही रकम खर्च गर्नुपर्ने विद्यालयका प्रधानध्यापक थम्मन जिसीले बताए । बौरको चिया बिक्रीबाट स्थानीय र तिङरिङको चियाखेतीबाट विद्यालयलाई प्रत्यक्ष लाभ पुगेको उनको भनाइ थियो ।
समुद्री सतहबाट १८ सय मिटरदेखि २३ सय मिटरसम्मको उचाइमा चियाखेती राम्रो मानिन्छ । यस विषयमा सम्भाव्यता अध्ययन पछि रेश चियाखेतीका लागि उपर्युक्त स्थानका रुपमा छनोट भएपछि वयवसायिक चियाखेती शुरु गरिएको वडाध्यक्ष प्रेम लामिछानेले बताए । यस कार्यले अहिले सफलता पाइरहेको उनको भनाइ थियो । बाँझो र वर्षौँदेखि प्रयोगविहीन अवस्थामा रहेको जमिनलाई उत्पादनमूलक कार्यसँगै पर्यटन प्रवर्द्धनमा जोडेपछि यहाँका स्थानीय खुसी भएका छन् । खेमराज गौतम/रासस
डुम्रेः संस्कृतलाई अन्य भाषाको पनि मातृभाषा मानिन्छ । पूर्वीय दर्शनमा पनि संस्कृतको ठूलो महत्व छ । तर नेपालमा पनि संस्कृत अधयापन गराउने विद्यालय भने विद्यार्थीको सङ्ख्या घट्दै जाँदा बन्द चिन्ता पनि थपिएको छ ।
लामो समयदेखि संस्कृत अध्यापन हुँदै आएको राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घाबेँसीको भानु संस्कृत विद्यापीठ पनि पछिल्लो समय बन्द अवस्थामा छ । पठनपाठन बन्द भएपछि विद्यापीठको भवन यतिबेला जीर्ण बन्दै गएको छ । भवन वरपर घाँस पलाएको छ ।
विद्यापीठका तत्कालीन प्राचार्य पूर्णचन्द्र वाग्ले शिक्षा ऐनका कारण विद्यापिठ बन्द भएको तर्क गर्छन् । ‘विद्यार्थी नभएर मात्रै विद्यापीठ बन्द भएको होइन, विद्यार्थी अत्यधिक त थिएनन् तर कारण भने शिक्षा ऐन नै ।’
सरकारबाट विद्यापीठमा मध्यमासम्मको कक्षा सञ्चालनका लागि मात्रै स्वीकृति हुँदा यस्तो अवस्थामा पुगेको वाग्ले बताउँछन् । ‘सरकारले शिक्षा ऐन परिमार्जन गरी कक्षा १२ सम्मलाई विद्यालय तहमा ल्यायो, यसका लागि शास्त्री र आचार्य सञ्चालन गर्ने अनुमति चाहिन्छ तर अनुमति नहुँदा विद्यापिठ बन्द भएको हो’, वाग्लेले भने ।
भानुभक्त आचार्यको पहिचानकै रुपमा रहेको यस विद्यापीठ बन्द हुनु भानुवासीका लागि दुःखद भएको उनको भनाइ छ । ‘हरेक क्षेत्रको विकासमा राजनीतिक दलको पनि भूमिका रहन्छ, तर राजनीतिक दलले यसमा ध्यान नदिँदा शास्त्रीको कक्षा सञ्चालन हुन नसक्दा विद्यापिठ बन्द हुन पुगेको हो’, उनले भने । विद्यापिठ बन्द भएपछि प्राचार्य वाग्लेको कास्कीको पोखरास्थित बिन्दवासिनी संस्कृत विद्यापीठमा सरुवा भइसकेको छ । हाल यो विद्यापीठ सङ्घीय सरकार मातहत छ ।
नेपाल संस्कृत विश्वविद्यालयका रजिस्ट्रार माधव अधिकारीले विश्वविद्यालयको आ–आफ्नो नीतिअनुसार चल्ने क्रममा भानु संस्कृत विद्यापीठ उत्तरमध्यमा तहसम्म पठनपाठन गराइएको बताए । ‘उत्तर मध्यमा तहको पठनपाठन हुँदा छ महिनाको भाषा प्रशिक्षण दिएर संस्कृत अध्ययनका लागि विद्यार्थी भर्ना गरिने गरिएको थियो, सो समयमा विद्यालयमा ११/१२ कक्षा सञ्चालन भएको थिएन’, उनले भने ।
तत्कालीन समयमा विद्यार्थी अध्ययनका लागि आउने क्रम राम्रो थियो । तर, शिक्षा ऐनमा विद्यालय तह कक्षा १२ सम्म भएको तर सोअनुसार उत्तरमध्यमा तहको पढाइ शास्त्री तहमा परिणत गर्न नसक्दा बन्द हुन पुगेको उनको भनाइ छ । ‘वेदव्यास संस्कृत माध्यमिक विद्यालयसँग समन्वय गरी अगाडि बढाउने प्रयास समेत गरेको थियो, सरकारबाट निर्णय हुन सकेन र पूर्णरुपमा बन्द भएको हो’, उनले भने ।
प्राचीन वाङ्मयमा निहीत परम्परागत धर्म, नैतिक मूल्यमान्यता, सदाचार र सच्चरित्रको परिपालना गर्दै संस्कार, सभ्यताजस्ता विशिष्टताको खोजी गरी तिनको संरक्षण र संवर्द्धन गर्न संस्कृत भाषा अध्ययन हुने विद्यापीठ पुनः सञ्चालन गर्न आवश्यक भएको सरोकारवालाको भनाइ छ ।
भानु संस्कृत विद्यापीठमा उत्तर मध्यमा तह अध्ययन गरेका विद्यार्थी ओमकार आचार्यले वैदिक धर्मको पहिचान, संस्कार, संस्कृति, परम्परालाई संरक्षण गर्न सहयोग पुर्याउने यस्ता विद्यापीठ सञ्चालन हुनुपर्ने बताए । संस्कृत भाषाको संरक्षणका लागि पनि सबै पक्षले चासो दिनुपर्ने उनको भनाइ छ ।
‘वैदिक धर्म, पहिचान, संस्कार, संस्कृति र परम्पराको संरक्षणमा सहयोग पुर्याउने संस्कृत विद्यालय सञ्चालनलाई निरन्तरता दिन अन्य विद्यालयसरह सबैले चासो दिनुपर्छ, अन्य सामुदायिक तथा संस्थागत विद्यालयका लागि विद्यार्थी भर्नाका लागि खोजिए जसरी नै संस्कृत अध्ययनका निम्ति विद्यार्थी खोज्ने, छात्रवृत्तिलगायत विभिन्न शिक्षाको पहुँचका विषयको व्यवस्थापन गर्न सबै पक्षले समन्वय गर्नुपर्छ’, विद्यापीठका स्ववियु पूर्वसभापति समेत रहेका आचार्यले भने ।
स्थानीय मीनबहादुर श्रेष्ठले यहाँ विद्यापीठ सञ्चालनको अवस्थामा विद्यार्थीमार्फत नै भानु जन्मस्थलको प्रचारप्रसार भएको बताए । उनी भन्छन्, ‘मुलुकका विभिन्न ठाउँबाट यहाँ संस्कृत विद्या अध्ययनका लागि आउँथे, यसैको माध्यमबाट संस्कृत विद्या र राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको प्रचारप्रसार भएको थियो, अहिले बन्द भएपछि यहाँ नत चहलपहल छ न साहित्यिक प्रचारप्रसार भएको छ ।’
ढोरपाटनः समथर मैदानको चारैतिर सल्लाका रुखले घेरिएको हरियाली घाँस र बुट्यानले टाकुराको सुन्दरतामा चमक थपिएको छ । हिउँद र बर्खामा निकै आकर्षक देखिने टाकुरा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
खासगरी यो याममा धेरैलाई शीतलता प्रदान गर्ने छहारी बनेको छ टाकुरा । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारभन्दा केहीमाथि यो टाकुरा पर्छ । टाकुरा उच्च पहाडको शिरमा समथर भू–भागमा फैलिएको छ । तलपट्टी गाउँबस्ती छन्, त्यसभन्दा माथि बस्ती छैन । पर्यटकीयस्थल नरसिंहकोटको सामिप्यतामा रहेको टाकुरा यसकारण पनि पछिल्लो समय एक आकर्षक गन्तव्य बन्दै गएको छ ।
जिल्लाको निसीखोला गाउँपालिका–७ राजकुटमा पर्ने टाकुरामा चैतदेखि नै आन्तरिक पर्यटकको आगामन हुने गर्छ । निसीखोला र बडिगाड गाउँपालिकाको सङ्गमस्थलमा पर्ने यो एक खुला चौर हो । पहिले पशु चौपाया चरन क्षेत्रका रुपमा रहेको टाकुरा अहिले घुमफिर गर्ने उत्कृष्ट गन्तव्यका रुपमा विकास भएको छ । वरपर रुख र बीचमा खाली समथर मैदान छ । यो मैदानले धेरैलाई आकर्षित गर्छ । अझ वर्षातका बेलामा त झन् त्यस वरपरको हरियाली वातावरणले मनै लोभ्याउँछ ।
ऐतिहासिक क्षेत्र नरसिंहकोटसँग जोडिएको टाकुरा पिकनिकका लागि निकै उपयुक्त स्थानका रुपमा मानिन्छ । आन्तरिक पर्यटक यहाँ हरेक मौसममा पुग्ने गरेका छन् । शनिबार तथा बिदाको समयमा व्यापारी र अन्य नागरिक यहाँ घुम्न जाने गरेका छन् ।
नरसिंहकोटदेखि करिब एक किलोमिटर र बडिगाडको भिमगिठे बजारदेखि करिब तीन किलोमिटरको दूरीमा रहेको टाकुरामा बागलुङलगायत गुल्मीदेखि पनि आन्तरिक पर्यटक रमाउन आउने गरेका छन् । तराई–पहाड जोड्ने राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको नजिकै पर्ने यो टाकुरा पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेपछि स्थानीसमेत हर्षित छन् । भीमगिठे, राजकुट र बुर्तिबाङदेखि यहाँ सिधैँ पुग्न सकिन्छ । यहाँसम्म पुग्ने मोटरबाटो त निर्माण भएको छैन, तर गोरेटो बाटोमार्फत नै पदैलयात्रा गरेर पर्यटक यहाँ पुग्ने गरेका छन् ।
अझ ‘ट्रेकिङ’ गर्नेका लागि त झन् यो स्थान अति उपयुक्त मानिन्छ । विगतका वर्षभन्दा पछिल्लो दुई वर्षयता यहाँ घुम्न आउनेको सङ्ख्यामा वृद्धि भएको स्थानीय तिलबहादुर विकले जानकारी दिए । अहिले नरसिंहकोट आउने सडक सहज भएको र यहाँ आउने अधिकांश आगन्तुक टाकुरा पुग्ने गरेको उनको भनाइ छ । बर्खाको समय पनि मान्छे हरियाली घाँसमा फोटो, भिडियो खिच्न र रमाइलो गर्न आउने गरेको विक बताउँछन् ।
नरसिंहकोटदेखि टाकुरालाई सडक सञ्जालले जोड्न सके बढीभन्दा बढी पर्यकट भित्र्याउन सकिने विकको भनाइ छ । उनी भन्छन्, ‘पहिले–पहिले यो ठाउँमा गाईभैँसी चराउने गरिन्थ्यो, अहिले त मान्छेको भीड लाग्छ, अझ चाडपर्व र बिदाको दिन हुनुपर्छ, धेरै मान्छे आउने, गीत बजाउने नाच्ने गर्छन्, अहिलेसम्म मोटरबाटो पुगेको छैन, तर मान्छेहरु हिँडेरै जान्छन्, पहिले नरसिंहकोट आउने यहीबाटै फर्किने गर्थे, टाकुराको नामै सुनिदैनथ्यो, अहिले निकै चर्चित बन्यो, जसले पनि टाकुरा जाने भन्छन्, चाडवाडका बेला त तीन/चार सय मान्छे आउँछन् ।’
निसीखोला गाउँपालिकाले ऐतिहासिक नरसिंहकोटसँग टाकुरालाई जोड्न सके पर्यटन विकासमा टेवा पुग्ने थियो । टाकुराबाट देखिने अगिन्ती दृश्यले आगन्तुकलाई लोभ्याउने गरेको छ । यसको विकासका लागि सडकसँगै पर्यटन पूर्वाधार निर्माण गरिने निसीखोला–७ का वडाध्यक्ष दीपक कुवँरले बताए । अध्यक्ष कुँवरले एतिहासिक नरसिंकोटमा धेरै भौतिक संरचना निर्माण भएको भन्दै नरसिंहकोट र टाकुरालाई जोडेर पर्यटकीय हबका रुपमा विकास गर्ने बताए ।
‘पछिल्लो समय नरसिंहकोट र टाकुरामा आन्तरिक पर्यटकको आकर्षण बढेको छ, नरसिंहकोटमा विगतदेखिनै धेरै संरचना बन्दै आए, अब करिब–करिब पूरा हुने चरणमा छ, टाकुरामा अहिले कुनै पनि पूर्वाधार निर्माण भएका छैनन्, संरचना नबन्दा पनि नरसिंहकोट आउने पर्यटक टाकुरासम्म पुग्ने गरेका छन्, त्यहाँ जाने मोटरबाटो निर्माण भएको छैन, सडक सजिलो भयो भने अझ धेरै पर्यटक भित्र्याउन सकिन्छ’, अध्यक्ष कुवँरले भने, ‘यसपाली प्रदेश सरकारसँग बजेट माग गरेका छौँ, केही बजेट प्रदेशको र पालिकाबाट केही मिलाएर सडक निर्माण गर्नुपर्ने छ, शुरुवाती चरणमा छौँ, काम गर्दै जाने योजना बनाइरहेका छौँ ।’
सडक निर्माण गर्दा टाकुराको सौन्दर्य कुरुप बन्ने हुँदा व्यवस्थित रुपमा काम गर्ने अध्यक्ष कुँवरको भनाइ छ । आवश्यक ठाउँमा पदमार्ग, शौचालय र खानेपानीको व्यवस्थापन गर्न बाँकी रहेको हुँदा विभिन्न निकायसँग सहकार्य गरेर काम गर्ने उनी बताउाँछन् । डम्मर बुढा मगर/रासस
पर्वतः पर्वतको जलजला गाउँपालिका–८ नाङलीवाङमा बिरामी चितुवाको उद्धार गरिएको छ । बुधबार मालढुङ्गा–बेनी सडक नजिकै फर्सेमा मकैको खेतमा भेटिएको बिरामी चितुवाको डिभिजन वन कार्यालयले उद्धार गरेको हो ।
करिब डेढ वर्ष उमेरको चितुवा मकै बारीमा सुतेको देखेपछि स्थानीयले डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । कार्यालय प्रमुख विष्णु अधिकारीका अनुसार पशु कार्यालयको टोलीले अशक्त चितुवाको स्वास्थ्य जाँच गरिरहेको छ । चितुवालाई उपचारपछि उचित वासस्थानमा छाड्ने उनले बताए ।
पर्वतमा गत आवमा नौ चितुवा मृत फेला परेका थिए । दुई चितुवाको जिवितै उद्धार गरिएको थियो । डिभिजन वन कार्यालयले गत आवमा चितुवाले पुर्याएको क्षतिपूर्तिबापत पीडितलाई रु. २६ लाख ८६ हजार भुक्तानी गरेको छ ।
मनाङः अन्नपूर्ण पदमार्गअन्तर्गतको तिलिचो तालतर्फ आवतजावत गर्ने क्षेत्रमा सरसफाई गरिएको छ । फोहोरको मात्रा बढ्दै गएपछि मनाङ ङिस्याङ गाउँपालिका–९, खाङसारका होटेल व्यवसायी, अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षण व्यवस्थापन समिति खाङसार, सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय हुम्दे र स्थानीयको सक्रियतामा फोहोर सङ्कलन गरिएको हो ।
तालमा आवातजावतका क्रममा पर्यटकले फालेका एक सय ५० किलोग्राम फोहोर सङ्कलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । कोभिड–१९ को संक्रमणपछि पछिल्लो समय यस पदमार्गमा पर्यटक बढेसँगै फोहोरमैलाको हुने क्रम बढेको उनको भनाइ छ ।
‘विदेशीले आफैँ बोकेर फर्किन्छन् भने आन्तरिक पर्यटकले बढी फोहोरजन्य पदार्थ फाल्ने गरेको पाइएको छ’, गौतमले भने, ‘ताल जाने बाटोमा विभिन्न स्थानमा डम्पिङ साइट बनाइएको छ, तर फोहोरमैला भने यत्रतत्र फालिएको पाइयो ।’
पदमार्गमा धेरैजसो चाउचाउ, बिस्कुट, चकलेटका खोल र कोकाकोलाको बोतल भेटिएको उनले बताए । ती जथाभावी फालिएका फोहोरमैला डम्पिङ साइटमा व्यवस्थापन गरिएको उनले बताए । तिलिचो पदमार्गका विभिन्न स्थानमा यत्रतत्र छरिएर रहेका प्लास्टिकजन्य फोहोर संकलन गरिएको पर्यटन व्यवसायी एवं अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षण व्यवस्थापन समिति खाङसारका सचिव टसी गुरुङले जानकारी दिए ।
उनका अनुसार उक्त मार्गअन्तर्गत नकुहिने फोहोरमैला मात्रा बढेकोले सरसफाई तथा व्यवस्थापन गरिएको हो । ‘यस पदमार्गमा पर्यटक बढ्दै जाँदा फोहोर पनि बढेको छ, यहाँको फोहोरमैला संकलन गरी व्यवस्थापन गर्दै आएका छौं’, उनले भने । विदेशी र स्वदेशी पर्यटकलाई आकर्षित गर्न अन्नपूर्ण पदमार्गअन्तर्गतको तिलिचो ताल क्षेत्रलाई सधैँ स्वच्छ र सफा राख्नु आवश्यक रहेको अध्यक्ष टसीले बताए ।
तीन दिनसम्म चलेको ‘पदमार्ग सफाइ’ अभियनमार्फत अन्नपूर्ण पदमार्गमा पानी तथा कोकाकोलाका बोतल, चाउचाउ र बिस्कुटका खोल ठूलो मात्रामा भेटिएको थियो । गौतमका अनुसार अन्नपूर्ण पदमार्गअन्तर्गत तिलिचो ताल जाने पदैलमार्गको खाङसारदेखि चार हजार नौ सय १९ मिटर उचाईमा रहेको तिलिचो तालको किनारमा सरसफाई गरिएको छ ।
पछिल्लो समय विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल पदयात्रामा जाने स्वदेशी तथा विदेशी पर्यटकको भिड बढिरहेको छ । प्राकृतिक छटाले भरिएको तिलिचो ताल हिमश्रृङ्ला र निलगिरी हिमालको हिमनदीबाट निर्माण भएको हो । यस तालबाट अन्नपूर्ण हिमश्रृङ्खलाको मनोरम दृश्यावलोकन गर्नकै लागि यहाँ पर्यटकको भिड लाग्ने गरको छ । मनाङ पुगेका केही पर्यटक तिलिचो तालमा पुग्ने गरेका छन् । कतिपय पर्यटक तिलिचो ताल अवलोकन गरी फर्किएर खाङ्सार, थोराङला पास हुँदै जोमसोम निस्कने गर्दछन् ।
लमजुङको सदरमुकाम बेँसीसहरबाट शुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङको सदरमुकाम चामे हुँदै थोराङपास गरी मुक्तिनाथको दर्शन, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुग्ने गर्दछन् । पदयात्राका सौखिन पर्यटक पाँच हजार चार सय १६ मिटरको थोराङ भञ्ज्याङ कट्दा आफूलाई भाग्यमानी ठान्ने गर्दछन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । पदयात्राका लागि उपयुक्त मौसम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्मको दुई समयलाई मानिन्छ । नवीन लामिछाने/रासस
दाङः दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा विस्तार भएपछि बिरामीलाई सहज भएको छ । महँगो गाडी भाडा तिरेर नेपालगञ्ज, बुटवल वा काठमाडौं जानुपर्ने बाध्यता हटेको छ । बिरामीहरुले प्रतिष्ठानमा विस्तारित सेवाअन्तर्गत फिजिसियन, प्रसूति, सर्जन, हाडजोर्नी, बालरोग, मानसिक, छाला, नाक, कान, घाँटी रोग विशेषज्ञसहित अत्याधुनिक उपकरणसहितको ल्याबबाट सेवा पाउने गरेको बताइएको छ ।
प्रतिष्ठानमा विस्तारित सेवा (इएचएस) शुरु हुने भएको छ । विस्तारित सेवा प्राप्त गर्ने बिरामीहरुलाई लाइनमा लाग्नु नपर्ने र आफूले रोजेको चिकित्सकबाट उपचार सेवा प्राप्त गरेमा बिरामीहरु थप लाभान्वित हुने प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताए । उनले विस्तारित सेवा प्रभावकारी हुने र चिकित्सकबाट विशेषज्ञ सेवा बिरामीहरुले द्रुत गतिमा पाउने बताए ।
विस्तारित सेवा हरेक दिन दिउँसो १२ बजेपछि नाम दर्ता गरेर अस्पतालको टिकट काट्ने व्यवस्था मिलाइएको र १ बजेपछि बिरामीले सेवा पाउने छ्न । अस्पतालमा आउने बिरामीहरुले जनरल बाहेकको समयमा आफूले इच्छाएको र रोजेको चिकित्सकबाट उपचार सेवा दिने उद्देश्यले इएचएस सेवा शुरु हुन लागेको उपकुलपति डा. लामिछानेले जानकारी दिए ।
यसैगरी प्रतिष्ठानले पोषण पुनर्स्थापना गृहबाट ४२ कुपोषित बिरामीलाई उपचार सेवा दिएको जनाइएको छ । २०७० सालमा रु. ६० लाखको लागतमा दुईतले भवन बनाएर पाँच वर्ष आफैँले चलाएर २०७५ असार मसान्तमा नेपाल युथ फाउन्डेसनले हस्तान्तरण गरेपश्चात् सञ्चालनमा ल्याउने प्रयास गरिए पनि २०७८ पुस १ गतेदेखि विधिवत् रुपमा सञ्चालनमा आएको हो । पोषण पुनर्स्थापना गृहबाट साबिक राप्तीका दाङ, प्यूठान, सल्यान, रोल्पा र रुकुमका कुपोषित बिरामीको उपचार गरिएको जानकारी गराइएको छ ।
पोषण अधिकृत सर्जु बरालले हाल ६ शय्याबाट सेवा प्रदान गर्दै आएको जानकारी गराउँदै हालसम्म ४२ भर्ना भएकामा ३६ ‘डिस्चार्ज’ भएको र ६ उपचाररत रहँदा एक जनालाई भने ‘रिफर ’गरिएको बताए । उनका अनुसार २०७८ को पुसमा एक, माघमा एक, फागुनमा सात, चैतमा आठ, वैशाखमा १०, जेठमा ८ असारको १४ गतेसम्म सातजना भर्ना भएकामा उपचारपछि ३६ डिस्चार्ज भएको जानकारी दिए ।
उपचारका लागि आउने बिरामीहरुलाई पोषण सुरक्षासहित आहार, औषधि, उपचार निःशुल्क, जाँच परीक्षण, चिकित्सकको निर्देशनअनुसार औषधि पनि हुने गरेको बताइएको छ । उपचारका लागि सबैभन्दा सल्यानबाट कुपोषित बिरामी आउने गरेको जानकारीसमेत गराइएको छ ।
उपकुलपति डा. लामिछानेले केन्द्रको मात्रै बजेटले उपचार सेवा सम्भव नहुने भन्दै सकेसम्म कुपोषण हुनै नदिने गरी समुदाय स्तरमा सचेतना बढाउने कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिए । समुदायमा रहने नागरिकको स्वास्थ्यका लागि वडास्तरबाटै पहल हुनुपर्ने भए पनि अहिले पनि स्थानीय सरकार पूर्वाधार निर्माण मात्रै केन्द्रित हुँदा मानवीय विकास पछि पर्दै गएको उनले भने, ‘मानव विकास सूचकाङ्क सुधार गर्न उनीहरुको आधारभूत तहको सेवा र सुविधामा ध्यान दिनुपर्छ, जसका लागि समुदाय स्तरमा सचेतना पुर्याउनुपर्छ ।’
उनले अहिलेको भौतिक विकासले मानिसलाई धेरै कुरामा प्रभाव पार्दै लगेको हुँदा सचेत नागरिक, सेवा प्रवाहमा खटिने निकायले सही सूचना र सन्देश दिँदै मानवीय जोखिमबाट बचाउनुपर्ने बताए । समुदाय स्तरमा सुआहारा जस्ता कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।
प्रतिष्ठान अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेतले हालको सेवासुविधा बढाउन पूर्वाधार विकासमा ध्यान दिने बताइन् । सेवाको पहुँचसँगै आम नागरिकमा पोषण सुरक्षाका बारेमा सही जानकारी दिने गरी प्रतिष्ठानले निरन्तर कार्यक्रम गर्दै जाने उनको भनाइ थियो ।
सुआहाराका रोशन पौडेलले दाङमा एक हजार दुई सय बढी कुपोषित बिरामी रहेको जानकारी गराउँदै समुदाय स्तरमा पुगेर उनीहरुको उपचार गर्न चुनौतीपूर्ण बन्दै गएको बताए । उनले जानेका व्यक्तिले लापरबाही गर्ने तथा दूरदराजका नागरिकहरुले नजानेरै कुपोषणको सिकार हुने क्रम रहेको बताए । ‘कतिपय अत्यन्तै विपन्न भएकै कारण बालबालिका कुपोषणको सिकार भएका छनु भने कतिपय पोषण स्वास्थ्यका बारेमा जानकारी नपाएर प्रभावित भएका छन् यसमा सबै पक्षको सहयोग चाहिन्छ’, उनले भने, ‘वडाले यस्ता कुरामा पहल गर्नु जरुरी छ, त्यसका लागि लक्षित बिरामीको उपचारमा वडाले पहुँच बढाउनु पर्छ ।’
जिल्लामा अहिले कडा खालको कुपोषित बिरामी करीव ४ सय बढी रहेको पनि जानकारी गराउनुभयो । कुपोषण दर घटाउन र स्वस्थ नागरिक बनाउन समुदाय स्तरबाटै स्वास्थ्य सचेतना बढाउनुपर्ने हुँदा स्थानीय सरकारसँगको सहकार्यमा अब बृहत् रुपमा कार्यक्रम गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ । रासस
कन्चनपुरः निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको मूल नहर परीक्षणका लागि पानी छाडिएको छ । शुक्रबार टनकपुर ब्यारेजबाट महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर परीक्षणका लागि पानी छाडिएको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए ।
भीमदत्त नगरपालिकाको ब्रह्मदेवबाट शुक्लाफाँटा नगरपालिकाको फुलेली घरकटुवा खोलासम्म पानी छाडेर मूल नहर परीक्षण गरिने उनले जानकारी दिए । ‘ब्रह्मदेवबाट २८ किलोमिटर फुलेलीसम्मको मूल नहरमा पानी छाडिएको छ, एक सातासम्म पानी छाडेर मूल नहर परीक्षण गरिनेछ’, निर्देशक बमले भने ।
महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत ब्रह्मदेवबाट फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको उक्त मूल नहरमा पानी छाडेर परीक्षण गर्ने कार्य चलिरहेकाले यस अवधिमा नहर छेउछाउमा आफ्ना बालबच्चा र चौपाया नछाड्न आयोजनाले आग्रह गरेको छ ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको ब्रह्मदेवबाट बगुनखोलासम्म १९ किलोमिटर मूल नहरमा गत वर्ष परीक्षण गरिएको थियो ।
नेपाल–भारतबीच भएको महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपाली भूमिसम्म भारतले निर्माण गर्नुपर्ने एक हजार दुई सय मिटर नहर निर्माणको काम सम्पन्न भइसकेको छ । उनका अनुसार अहिले मूल नहर निर्माण भएको क्षेत्रमा शाखा नहर निर्माणको काम भइरहेको छ । ‘बाइस शाखा नहरमध्ये दुईको निर्माणको काम सकिएको छ, अन्यको काम भइरहेको छ’, उनले भने ।
आयोजनाअन्तर्गत मूल नहर २८ किलोमिटर शुक्लाफाँटाको फुलेलीबाट कैलालीको गोदावरीखोला ४८ किलोमिटरसम्म निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ । आगामी आव २०८०/८१ का लागि आयोजनामा एक अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ । ‘चालु आवको तुलनामा आगामी आवका लागि बजेट कम छुट्याइएको छ’, निर्देशक बमले भने, ‘चालु आवमा एक अर्ब २३ करोड बजेट थियो ।’
महाकाली सन्धि भएको १० वर्षपछि आव २०६३/६४ देखि निर्माण थालिएको नहरको कामले केही वर्षयता गति लिएको छ । विसं २०५२ माघ २९ मा नेपाल र भारतबीच भएको महाकाली सन्धिअनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८ दशमलव ३५ घनमिटर प्रतिसेकेन्ड तथा सुक्खायाममा आठ दशमलव ५० घनमिटर प्रतिसेकेन्ड पानी पाउनुपर्छ ।
यो पानी उपयोग गर्नका लागि नेपालले एक सय ५२ किलोमिटर लामो मूल नहर, एक सय ७२ किलोमिटर लामो शाखा नहर र एक हजार २३ किलोमिटरको प्रशाखा नहर निर्माण गर्नुपर्छ । राष्ट्रिय गौरवको आयोजनामा समेटिएपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणले गति लिएको हो । बाइस शाखा नहर निर्माण भए पाँच हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउन सकिने छ । रासस
स्याङ्जाः स्याङ्जाको वालिङ नगरपालिका–८ ले चौरासी वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई बुधबार सम्मान गरेको छ । वडा अध्यक्षसहित जनप्रतिनिधि तथा कर्मचारीले ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर सम्मान गरेका हुन् ।
ज्येष्ठ नागरिकलाई वडाबाट सम्मानस्वरुप यस वर्ष झुल, ‘हर्लिक्स’ र फलफूल उपलब्ध गराएको वडाअध्यक्ष दामोदर तिवारीले बताए । ‘समाजको अभिभावककारुपमा रहनुभएका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप झुल, हर्लिक्स र फलफूल घरघरमै पुगेर उपलब्ध गराएका हौँ’, उनले भने, ‘घरघरमै पुग्दा ज्येष्ठ नागरिकको अवस्थाकाबारेमा जानकारी लिनुका साथै उहाँहरुको अनुभव तथा सुझाव पनि सङ्कलन गर्न पायौँ ।’
वडाबासीको सुख दुःखमा वडा कार्यालय वा जनप्रतिनिधिहरु सँगै छन् भन्ने अनुभूति दिलाउनका लागि पनि नागरिकको घर दैलोमै पुगेर उक्त सामग्रीहरु उपलब्ध गराएको उनले बताए ।
ज्येष्ठ नागरिकलाई लक्षित गरी विगतका वर्ष स्वास्थ्यकर्मीसहित घरमै पुगेर स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको वडा सचिव प्रेमनारायण सुवेदीले बताए । वडा कार्यालयका अनुसार चौरासी वर्ष पूरा भएका २८ ज्येष्ठ नागरिक छन् ।
‘वडाको तथ्याङ्कमा रहनुभएका २८ जनामध्ये हाल वडाभित्रै बसोबास गर्नुभएका २२ जनालाई सम्मानस्वरुप उक्त सामग्री उपलब्ध गराएका हौँ’, वडा सचिव सुवेदीले भने ।
मत दिएर जिताएका जनप्रतिनिधि घरदैलोमै आएर सम्मान गर्दा खुसी लागेको वालिङ–८ कँडेलगाउँका पूर्णचन्द्र कँडेलले बताए । ‘जनप्रतिनिधिले बूढा भएर बसेका वृद्धवृद्धालाई घरघरमै आएर भेट्ने, दुःखसुखका कुरा सुन्ने गर्नु राम्रो पक्ष हो’, उनले भने, ‘आफ्नै दैलोमा जनप्रतिनिधिबाट सम्मानित हुन पाउनु एउटा सुखद अवसर हो ।’ वडा कार्यालयले वृद्धवृद्धालाई ख्याल गर्दै वर्षैपिच्छे फरक कामलाई निरन्तरता दिँदै जानुपर्ने उनले सुझाव दिए । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies