२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

पूर्वराजाको ‘सन्देश’ले राजनीतिक तरंग

draupadi film
जीवन शर्मा
२०८१ फागुन १२ गते ०६:३५
पूर्वराजाको ‘सन्देश’ले राजनीतिक तरंग

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका दिन सार्वजनिक गरेको शुभकामना भिडियो सन्देशलाई लिएर उनका बारेमा सदनदेखि सडकसम्म चर्चा भइरहेको छ । ७ फागुन २०८१ मा शाहले आफूले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न दिएको चेतावनीयुक्त सन्देशले राप्रपा र राप्रपा नेपालले खुसीका साथ स्वागत गर्दा अन्य दलहरूले आपत्ति जनाएका हुन् । 

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देशमा शाहले आफूहरूले राजगद्दी त्यागे पनि व्यवस्था बदलियो भन्नेहरूले जनताको अवस्था बदल्न नसकेको टिप्पणी गरेका थिए । राजसंस्थाको पुनस्र्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको मागसहित आन्दोलनमा रहेको राप्रपालाई पूर्वराजा शाहको सन्देशले बल थपेको राप्रपाका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले बताए ।

उनले मध्यान्हसँग भने, ‘जुन एजेन्डा हामीले बोकेर राजनीतिक आन्दोलनलाई अघि बढाउँदै आएका छौं, यो सन्देशले थप सहयोग पुगेको छ । राजाले पनि राप्रपाकै एजेन्डाको अग्रभागमा देखिनुले हामी उत्साहित हुनु स्वभाविकै हो ।’

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको राजसंस्था पुनस्र्थापनाका लागि सभामार्फत सबै राजनीतिक दलहरूलाई आह्वान गर्ने पूर्वमन्त्रीसमेत रहेका नेता तामाङले बताए । राप्रापाले राजसंस्थाको पुनस्र्थापना, प्रदेश खारेजी, कार्यकारी प्रधानमन्त्री र हिन्दु राष्ट्रको एजेन्डासहति ७ वटै प्रदेशमा सभाको आयोजना गरेर आफ्ना एजेन्डालाई जनतामा स्थापित गराउने प्रयासमा छ ।

तर, राप्रपाको उक्त प्रयासलाई अन्य राजनीतिक दलहरूले अस्वीकार गरेका कारण अहिले नै यो एजेन्डाले मुूर्त रूप लिन सक्ने अवस्था नरहेको राजनीतिक विश्लेषक शंकर तिवारीले बताए ।  

शाहको भिडियो सन्देशको सन्दर्भलाई लिएर अरू दलका सांसदहरूले पूर्वराजालाई चुनाव लडेर राज्यको नेतृत्वमा पुुग्न चेतावनी दिएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस, एमाले र माओवादीका सांसदहरूले ज्ञानेन्द्र शाह राज्यको मुूल नेतृत्वमा आउन खोजेका भए २०८४ सालमा चुनाव लडेर आउन चुनौती दिए ।

संसद्को आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा शाहलाई सत्तामा फर्किने इच्छा भए २०८४ सालको चुनावमा भाग लिन सुझाव दिँदै गणतन्त्रमाथिको आक्रमण स्वीकार्य नभएको बताइन् ।

‘सत्तामा नै फर्किने यदि चाहना छ भने टीका लगाएर वा कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाका्े उपभोग गर्दै  २०८४ सालको चुनावमा भाग लिने हिम्त गर्नुस्’, उनले भनिन् ।

सांसद न्यौपानेले प्रजातन्त्र दिवसका नाममा पूर्वराजा ज्ञानेन्द्रले दिएको सन्देश आपत्तिपूर्ण रहेको टिप्पणी गरिन् ।  

त्यस्तै, एमाले र माओवादीका सांसदहरूले वर्तमान व्यवस्थाको प्रयोग गरेर राज्य सत्तामा पुुगेकाहरूले व्यवस्थाका विरुद्ध बोल्नु अराजनीतिक गतिविधि भएको भन्दै राप्रपाका नेताहरूप्रति आक्रोश पोखेका छन् । एमाले सांसद गोकुल बाँस्कोटा र माओवादीका सांसद माधव सापकोटाले पूर्वराजाले फेरि टाउको उठाउन खोजेका भन्दै राजनीतिमा आउने इच्छा भए चुनाव लडेर आउन आग्रह गरे ।

‘यही व्यवस्थाको उपयोग गर्दै राज्यसत्तामा पुगेका साथीहरूले मरिसकेको सिनो बोक्ने कोसिस गरेर व्यवस्थामाथि संकट ल्याउन खोज्नुु जनतामाथिको अपमान हो’, एमाले सांसद बाँस्कोटाले भने ।    

कांग्रेस र एमाले सांसदले शाहको सन्देशप्रति सदनबाट आपत्ति जनाएसँगै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाली कांग्रेस र नेकपा एमालेले राजा चाहिँदैन भनेको नसुहाउने भन्दै प्रतिकार गरे । ‘आज माओवादीले राजा चाहिँदैन भन्दा सुहाउँछ तर राजाको पालामा प्रधानमन्त्री खाएका, राजाका अगाडि पाउमा दाम चढाउनेहरूले आज यहाँ राजाको विरोध गर्न पाइँदैन’, आइतबार संसद्मा बोल्दै सांसद शाहीले भने । 

एमालेका तत्कालीन महासचिव मदन भण्डारीले समेत ‘एउटा राजा रहँदैमा र नरहँदैमा केही फरक नपर्ने तर सामन्तवाद रहिरह्यो भने त्यसले फरक पार्छ’ भनेको कुरालाई सांसद शाहीले स्मरण गराए ।  

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै राजालाई राज्य संचालन र राजनीतिमा पूर्वराजालाई स्पेस दिनुपर्छ भनेको बताए । ‘म पूर्वराजालाई राजनीति र राज्य संचालनमा स्पेस दिनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ’, लिङ्देनले भने, ‘तसर्थ, मलाई जसले जति विरोध गरोस्, गणतन्त्र जसले लडेर ल्याएको होस् या विदेशीको बुई चढेर ल्याएको होस् विरोध गरिरहन्छु ।’

पूर्वराजा शाहको सन्देशसँगै राप्रपा नेपालले पनि सकारात्मक टिप्पणी गरेको छ । अध्यक्ष कमल थापाले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव गर्नु् सकारात्मक भएको बताए । उनले भने, ‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन ।’

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise