रुकुमपूर्व : २०७२को संविधान जारी भइ देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै साविक रुकुम जिल्ला रुकुम पश्चिम र रुकुमपूर्व गरी दुई जिल्लामा विभक्त भयो ।
रुकुमपूर्वले नयाँ जिल्लाको रुपमा पहिचान पायो । २०७४ असोज १९ गते सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोटमा अस्थायी सदरमुकाम रहने भन्दै जिल्लास्तरमा हुने कार्यालय उद्घाटन गरेर रुकुमकोटबाटै प्रशासनिक सेवा प्रवाह भइरहेको थियो । तर शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते जिल्लाको स्थायी सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२ गोलखाडामा तोक्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयको विपक्षमा सर्वोच्च अदालतमा रिट दायर भयो । उक्त मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा करिब ६ वर्ष विचाराधीन रह्यो ।
२०८० भदौ २७ गते संवैधानिक इजलासले सरकारले गरेको निर्णय बदर गर्दै सदरमुकाम तोक्नको लागि विभिन्न आधार र मापदण्डहरु ब्याख्या गर्दै फैसला गरेको थियो । यही क्रममा जिल्ला समन्वय समिति रुकुमपूर्वको नाममा रहेको जग्गामा एकीकृत सरकारी भवन निर्माण भइरहेको थियो । तर सदरमुकामको टुंगो नलागीसकेको अवस्थामा रुकुमकोटकै अनुकुलतामा पूर्वाधार विकासका कार्यहरु हुँदै गरेको ब्यहोरा जनाउँदै उक्त निर्माण कार्य रोक्न सर्वोच्च अदालतमा अर्को रिट दायर भयो ।
तत्पश्चात् २०८१ मंसिर १६ गते अदालतले स्थायी सदरमुकाम नतोकिएसम्म निर्माण कार्य रोक्न आदेश दियो ।
हाल जिल्ला सदरमुकाम विवाद अत्यन्तै जटिल बन्दै गइराखेको छ । सदरमुकामको विषयले जिल्लाको मनोविज्ञान विभाजित हुँदै अत्यासलाग्दो परिस्थिति सिर्जना गरीरहेको छ ।
अर्कोतर्फ जिल्लाको विकास निर्माणका कार्यहरु अलपत्र परेका छन् भने प्रशासनिक काम कारबाही र सेवा प्रर्वाह पनि प्रभावित छ । यस विषयले खडा गरेको अन्यौलपूर्ण स्थिति, अनिर्णित समय र निरन्तर द्वन्द्वको अवस्थामा भूमे गाउँपालिकाले लामो समयको मौनतालाई तोड्दै द्वन्द्व व्यवस्थापनको लागि सदरमुकामको विकल्पको खोजी गर्ने निर्णय गरेको छ ।
आइतबार गाउँपालिकाको सभाहलमा बसेको ११ औं कार्यपालिकाको बैठकमा गाउँपालिकाका प्रवक्ता तथा २ नं. वडाका वडाध्यक्ष नारायण पुन, १ का अध्यक्ष मनकाजी पुन, ३ का अध्यक्ष पर्शुराम बुढामगरले लिखित निवेदन तथा वडा नं. ६ का वडाध्यक्ष बिक्रम पुन र ७ का अध्यक्ष संगम रोकामगरले मौखिक प्रस्ताव गरी सदरमुकामको विषय भूमेली समुदाय र नागरिकको पनि सरोकारका साथै अधिकारको विषय भएकोले भूमे गाउँपालिकाले आफ्नो भूगोलमा सदरमुकाम स्थापना गर्न पहल गर्नुपर्ने विषय राखेका थिए । छलफल पश्चात् प्रस्तावको पक्षमा सर्वसम्मत निर्णय भएको गाउँपालिकाका प्रवक्ता पुनले जानकारी दिए ।
भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले सदरमुकामको विवादमा द्वन्द्वरत दुई पक्षहरु सिस्ने गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकाको बीचमा मध्यस्थताको भूमिका खेल्दै दुवैको मिलन बिन्दु भूमे गाउँपालिका हुन सक्ने बताए ।