२०८१ माघ २३ गते बुधवार / Feb 05 , 2025 , Wednesday
२०८१ माघ २३ गते बुधवार
Ads

एशोसिएसन महासचिव बस्नेतको राजीनामा सर्वसम्मतिले अस्वीकृत

hardik ivf
२०८१ माघ २२ गते ०६:१५
एशोसिएसन महासचिव बस्नेतको राजीनामा सर्वसम्मतिले अस्वीकृत

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले महासचिव महेशकुमार बस्नेतले दिएको राजीनामा अस्वीकृत गरेको छ । बस्नेतले एशोसिएसनको सोमबार बसेको कार्यसमिति बैठकमा अध्यक्ष दीपक थापालाई राजीनामा बुझाएका थिए ।

महासचिव बस्नेतलाई आमन्त्रण गरेर नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनको सम्मुखमा संस्थालाई बलियो बनाउनुपर्ने अवस्थामा पदबाट राजीनामाको घोषणा गर्दा गम्भीर असर पर्ने भन्दै अध्यक्ष थापासहित कार्यसमितिका अधिकांश पदाधिकारी र सदस्यहरूले राजीनामा फिर्तीका लागि एकै स्वरमा दबाब दिए थिए ।

संघको आगामी निर्वाचनका लागि एशोसिएसाबाट महासचिवमा उम्मेदवार बनाइएका बस्नेतले एशोसिएसनले यसअघि गरेको निर्णयमा पुनर्विचार हुने वातावरण बनेपछि आइतबार साँझ राजीनामा दिने घोषणा गरेका थिए । एशोसिएसन अध्यक्ष थापाले आवेगमा आएको राजीनामा स्वीकृत नहुने भन्दै महासचिव बस्नेतले एशोसिएसनको गत निर्वाचनमा व्यवसायीका अगाडि गरेको प्रतिबद्धता भुल्न नहुने समेतका विषय उठाए ।

सोमबारको बैठकमा महासचिव बस्नेत सहभागी थिए । बैठकपछि मध्यान्ह दैनिकलाई प्रतिक्रिया दिँदै बस्नेतले भने, ‘मेरो राजीनामा सम्बन्धमा लोकतान्त्रिक एशोसिएसन कार्यसमितिमा छलफल भइ सर्वसहमतमा अस्वीकृतसमेत भयो । संघको महासचिवको उम्मेदवारी सम्बन्धमा म मार्गप्रशस्त गर्न तयार छु ।’

एशोसिएसन अध्यक्ष थापाले कुनैपनि अवस्थामा महासचिव बस्नेतको राजीनामा स्वीकृत नगर्ने अडान कार्यसमितिको सोमबारको बैठकमा पनि राखेको बताइएको छ । 

कार्यसमित सदस्यहरूले संघको महासचिवमा उम्मेदवार बन्ने, नबन्ने विषयमा बस्नेतले लिने निर्णयलाई सहजरूपमा लिन सकिए पनि एशोसिएसनको महासचिवको जिम्मेवारीबाट बिदा गर्नु उचित नहुने धारणा राखेका थिए । एशोसिएसनको बैठकले उम्मेदवार घोषणा गर्न बाँकी पदमा पनि छिटोभन्दा छिटो उम्मेदवार सार्वजनिक गर्ने विषयमा छलफल भएको बताइएको छ ।

उम्मेदवार सार्वजनिक गर्न ढिलो भए प्रचारप्रसारमा समय नपुग्ने भएकाले सकेसम्म छिटो उम्मेदवार सार्वजनिक गर्नुपर्ने बाध्यता रहेको पनि अध्यक्ष थापाले बताए । एशोसिएसन कार्यसमितिको गत हप्ताको बैठकले संघको अध्यक्षको उम्मेदवारका लागि संघका पूर्वद्वितीय अध्यक्ष भुवनसिं गुरुङको नेतृत्वमा प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रा.लि.का संचालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्ष अलर्ट ओभरसिज प्रा.लि.का संचालक देवकुमार खोखाली तथा महासचिवमा बस्नेतलगायतलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध एशोसिएसनका पूर्वअध्यक्षसहितका ३ दर्जन बढी व्यवसायीले पार्टीका महामन्त्री गगनकुमार थापासमक्ष एकैस्वरमा विरोध जनाएपछि उम्मेदवार छनोट गर्ने  गतहप्ताको निर्णयमा पुनर्विचार हुने सार्वजनिक भएको थियो । तर पार्टी महासचिव थापालगायतका नेपाली कांग्रेसका नेताहरू पोखरामा रहेकाले सबैलाई मान्य हुने गरी उम्मेदवारको निर्णय गर्न अझै केही दिन लाग्ने बताइएको छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise