दुबई : पाकिस्तानले यूएईको श्रम बजारमा आकर्षक तलब सुविधाको रोजगारीमा आफ्ना नागरिकको दबदबा बढाउने नीति लिएको बताएको छ । यूएईमा लेखापाल, आईटी दक्षहरू, बैंकरहरू, एआई विशेषज्ञहरू, चिकित्सक, नर्सहरू र पाइलटहरूको आवश्यकता बढिरहेको छ । पाकिस्तानले ती पदहरूका लागि उच्चस्तरीय तालिम दिन थालेको यूएईका लागि पाकिस्तानी राजदूत फैसल नियाज तिर्मिजीले बताएका छन् ।
यूएई नेपाली कामदारको पनि प्रमुख श्रम गन्तव्य हो । चालू आर्थिक वर्षको ६ महिनामा करिब १ लाख नेपाली रोजगारीका लागि यूएई पुगेका छन् । हाल यूएईमा दक्ष कामदारको माग निरन्तर बढ्दै गएको छ । तर, नेपालले उक्त मुलुकमा जाने कामदारको सीप बढाउने कार्यक्रम ल्याएको छैन ।
हाल यूएईमा नेपाली कामदारले जस्तै पाकिस्तानी कामदारले पनि मासिक १ हजार दिराम तलब पाइरहेका छन् । तर, अब भने पाकिस्तानले २० हजार दिराम तथा त्यसभन्दा बढी तलब पाउनेगरी कामदारको क्षमता बढाउने राजदूत तिर्मिजीले बताए । यूएईमा आगामी वर्षहरूमा आईटी, लेखा, स्वास्थ्य, हेरचाह, केयर गिभरका लागि फिजियोथेरापिस्ट र नर्सहरूको माग बढ्ने आँकलन गरिएको छ ।
यूएईबाट पाकिस्तान जाने रेमिट्यान्स अघिल्लो ६ महिनाको तुलनामा ५३ प्रतिशतले बढेर ४ दशमलव ५ बिलियन डलर पुगेको छ । पाकिस्तानले आगामी जुन अन्त्यसम्म यूएईबाट ९ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्र्याउने लक्ष्य राखेको पनि राजदूत तिमिर्जीले खुलासा गरेका छन् । पाकिस्तानले उच्च दक्षता प्राप्त कामदारका अतिरिक्त क्रेन अपरेटर तथा सुरक्षा गार्ड पठाउने बताएको छ ।