काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी कार्यसमितिको निर्वाचनका लागि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीच तालमेलका आधारमा जाने सहमति भएको छ । सहमति अनुसार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको सिफारिसमा द्वितीय उपाध्यक्ष, सचिव र केही सदस्य प्यानलमा उम्मेदवार बन्नेछन् ।
संगठनले द्वितीय उपाध्यक्षमा संस्थाका महासचिव मधुकर रिजाल र सचिवममा संस्थाका सचिव अनिल बोगटीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । सदस्यहरूको टुंगो लगाउन छलफल जारी रहेको बताइएको छ ।
मञ्चका तर्फबाट अध्यक्ष पदमा मञ्चका पूर्वअध्यक्ष तथा संघका पूर्वमहासचिव नरेश गेलाल र महासचिवमा मञ्चका अध्यक्ष जनक रावललाई उम्मेदवार बन्ने यसअघि नै सार्वजनिक भइसकेको छ ।
प्रथम उपाध्यक्षसहित पदाधिकारी र कार्यसमिति सदस्यका उम्मेदवारहरूको नामका लागि छलफल चलिरहेको बताइएको छ । मञ्चका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले बृहत्तररूपमा व्यवसायी एकता र वैदेशिक रोजगार व्यवसायका क्षेत्रमा रहेका समस्या समाधानका लागि ठोस काम गर्न सक्ने टिम तयार हुने बताए । उनले चुनावलाई जित–हारको परम्परागत शैलीभन्दा एजेन्डा केन्द्रित गराउन सबै पक्षसँग छलफल भइरहेको बताए ।