२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

जीवन खोज्दै ‘यमगज’

hardik ivf
मध्यान्ह
२०८१ फागुन २९ गते १६:४२
जीवन खोज्दै ‘यमगज’


रौतहट : रौतहट जंगल र वरपरका बस्तीहरूमा घाइते अवस्थामा देखिएको जंगली हात्ती ‘यमगज’ उचित उपचार र हेरचाहको अभावमा जीवन–मरणको दोसाँधमा पुगेको छ ।

चन्द्रपुर नगरपालिका–२ र ३ स्थित जंगलमा दुई महिनादेखि देखिएको यमगज पूर्वी पर्सा राष्ट्रिय निकुञ्जबाट भटकिँदै आदर्श सामुदायिक वनको नर्सरी क्षेत्रमा आइ पुगेको छ । अगाडिको दाहिने खुट्टा सुनिएको र हिँड्न कठिन अवस्थामा रहेको कारणले ‘यमगज’ दिनप्रतिदिन कमजोर हुँदै गएको छ । आफैं चरन गर्न नसक्दा झनै संकटमा परेको छ ।

पीडाले छटपटाइरहेको ‘यमगज’लाई लिएर सामाजिक सञ्जालमा टिकटक र रिल भिडियोहरू भाइरल भइरहेका छन् । हात्ती हेर्न आउने मानिसहरूको भीड लाग्ने गरेको छ । कसैकसैले उनका लागि हरियो मकैको घोगा र केरा ल्याइपदन्छन् । तर, शिकारीहरूको उपस्थिति रहेको यस क्षेत्रमा ‘यमगज’को जीवन थप जोखिममा परेको छ ।

२०७० साल चैतमा यही जंगलमा चितवन राष्ट्रिय निकुञ्जबाट भट्किएको गैँडालाई शिकारीहरूले गोली हानेका थिए । घाइते अवस्थामा रहँदा उचित उपचार नपाउँदा दुई महिनापछि गैँडाको मृत्यु भएको थियो । सोही नियति ‘यमगज’ले भोग्न नपरोस् भनेर स्थानीयहरू चिन्तित छन् ।

डिभिजन वन कार्यालयले हात्तीको उद्धार तथा उपचारका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौं र राष्ट्रिय प्रकृति संरक्षण कोष ललितपुरलाई फागुन १५ गते पत्राचार गरिसकेको छ । वन कार्यालयले समयमा उपचार गर्न नसके हात्ती मर्ने खतरा रहेको स्पष्ट पारेको छ ।

यसअघि फागुन १ गते चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट आएको चिकित्सक टोलीले ‘यमगज’लाई डार्ट गरेर जंगलमै उपचार गरेको थियो । तर, उपचार प्रभावकारी नहुँदा अहिले पनि घाउ निको भइसकेको छैन । शिकारीको गोली लागेको हुनसक्ने अनुमान गरिएको भए पनि यसको आधिकारिक पुष्टि हुन सकेको छैन ।
 

ADV

सम्बन्धित खबर

Advertise