काठमाडौं : आर्थिक वर्ष २०७६/०७७ मा कुल बजेट खर्चको एक प्रतिशत रकम बेरुजु देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयले अर्थमन्त्री विष्णु पौडेललाई बिहीबार बुझाएको आन्तरिक लेखा परीक्षण प्रतिवेदन ‘आलेप’ अनुसार गत आवमा ११ अर्ब ३९ करोड ५५ लाख रूपैयाँ बेरुजु देखिएको हो ।
सो रकम गत बर्ष खर्च भएको कुल खर्च १० खर्ब ९३ अर्ब ५५ करोड रूपैयाँको एक प्रतिशत हो । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ११ खर्ब १० अर्ब ४५ करोड रूपैयाँ खर्च हुँदा बेरुजु १७ अर्ब २१ करोड रूपैयाँ थियो ।
प्रतिवेदन अनुसार अघिल्लो बर्षको तुलनामा बेरुजु पनि घटेको छ । समग्र बजेट खर्च नै अघिल्लो वर्षभन्दा घटेका कारण बेरुजु रकम पनि घटेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
प्रतिवेदन अनुसार सबैभन्दा बढी स्थानीय तहहरूमा ४ अर्ब २२ करोड रूपैयाँ बेरुजु देखिएको छ । स्थानीय तहको आन्तरिक लेखा प्रणालीको सही व्यवस्थापन नहुँदा बेरुजु बढ्ने क्रममा देखिएको छ । आन्तरिक लेखापरीक्षणका जनशक्ति विकासमा स्थानीय तहहरूलाई सशक्त गर्नुपर्न आवश्यकता महालेखाले औंल्याएको छ ।
त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयको १ अर्ब ८४ करोड, स्वास्थ्य मन्त्रालयको १ अर्ब ५२ करोड, रक्षा मन्त्रालयको ९८ करोड र राष्ट्रिय पुननिर्माण प्राधिकरणको ६० करोड रुपैयाँ बेरुजु रहेको छ । गत वर्ष कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको आकस्मिक खर्चका कारण स्वास्थ्य मन्त्रालयको बेरुजु उच्च देखिएको छ ।
नेपाली सेनाको खर्चमा पनि ठूलो बेरुजु देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयले गत आवमा १ हजार ३७६ सरकारी कार्यालयहरूको १४ हजार ३ सय ६८ कार्यक्रमहरूको आन्तरिक लेखा परीक्षण गरेर अर्थमन्त्रालय समक्ष प्रतिवेदन बुझाएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies