-लक्ष्मीविलास कोइराला
सार्वजनिक सेवा जनताको नैसर्गिक अधिकार भएकाले सार्वजनिक सेवा प्रवाहमार्फत् दैनिक जनजीवनको सहजीकरणका लागि सरकारले कर्मचारीतन्त्र खडा गरेको हुन्छ । कर्मचारीतन्त्रले सरकारको नीतिगत ढाँचाभित्र रहेर सेवाको डिजाइन गर्दछ र देशव्यापी फैलिएको आफ्नो संगठनबाट त्यस्ता सेवा प्रवाह गर्दछ । कर्मचारी र सेवाग्राही सार्वजनिक सेवा प्रवाहका दुई अभिन्न पक्ष हुन् । कर्मचारीतन्त्रको एक मात्र जिम्मेवारी जनताको सेवा गर्नु हो । जनतालाई सेवा प्रवाह गर्ने कार्यमा कर्मचारीतन्त्र चुकेपछि कर्मचारीतन्त्रको विकल्प खोज्ने सन्दर्भमा सार्वजनिक संस्थान, समिति, अर्धस्वायत्त अड्डा र निजी क्षेत्रका संरचनाहरू प्रयोगमा आए । तर, सबै विकल्प कर्मचारीतन्त्रभन्दा खरो देखिएनन् र हरेक विकल्पमा कर्मचारीतन्त्रका चरित्र देखापरे । यसर्थ, कर्मचारीतन्त्रको विकल्प खोज्नुुभन्दा कर्मचारीतन्त्रमा सुधार गर्दै सक्षम बनाउन श्रेयस्कर देखियो ।
सेवाप्रवाह र पृष्ठपोषणबीच घनिष्ठ सम्बन्ध रहेको हुन्छ । कर्मचारीतन्त्रले सेवा प्रवाह गर्दा के कति नीतिगत, प्रक्रियागत तथा व्यवहारगत सुधार गर्नुपर्दछ भन्ने सूचना पृष्ठपोषणबाट प्राप्त हुन्छ । प्रशासनलाई सेवा प्रवाहको लागि सक्षम बनाउने उद्देश्यले विश्वव्यापी रूपमा भिन्नभिन्न देशले आआफ्नै पृष्ठपोषणका माध्यमको विकास गरे । पृष्ठपोषण लिने माध्यम जे भए पनि यसको विधि सरल हुनुपर्दछ र पृष्ठपोषणबाट प्राप्त सूचना सुधारका लागि उपयोग गरिनुपर्दछ भन्ने मान्यता बढ्दै गयो । सरकारले जनतालाई पु¥याइरहेका सेवा जनताको आवश्यकता र माग पूर्ति गर्न सक्ने किसिमका छन् कि छैनन् । सेवा उचित समय, उचित गुणस्तर, उपयुक्त स्थान र लागतमा जनताले पाइरहेका छन् कि छैनन् भन्ने जानकारी नभएसम्म सेवाको गुणस्तर र सेवाप्रवाहको प्रक्रियामा सुधार ल्याउन सकिँदैन । पृष्ठपोषणबाट सेवा प्रवाहको सुधारका लागि सूचना प्राप्त हुने भएका कारण पृष्ठपोषणको महत्व उच्च रहँदै आएको छ ।
सेवा प्रवाह पद्धति र व्यवहार सुधार गर्न र प्रशासन प्रणालीलाई उत्तरदायी बनाउन पृष्ठपोषण महत्वपूर्ण मानिन्छ । पृष्ठपोषण सेवा प्रवाहमा सुधार गर्ने मात्र नभई सरकार, प्रशासन तथा शासकीय पद्धतिप्रति सेवा प्रदायक र सेवाग्राहीबीचको सम्बन्ध स्थापित गर्ने संयन्त्र र सुधारको आधार स्तम्भ पनि हो । पृष्ठपोषणबाट सेवा प्रदायकलाई उत्तरदायी बनाउँछ, सेवा प्रवाह गर्ने नीति, प्रक्रिया, कर्मचारीको व्यवहार परिवर्तन र परिमार्जन गर्न सहयोग पुग्दछ र गुणस्तर संयोजन गर्न सहयोग पुग्छ, अनावश्यक होहल्ला र दुष्प्रचारलाई निरुत्साहित गर्दछ भने सेवाको प्रभावकारिता अभिवृद्धि गर्न, कार्यदक्षता बढाउन, मितव्ययिता कायम गर्न, कार्यसम्पादन प्रवाह चार्ट पुनरावलोकन गर्न र गुणस्तर बढाउन पनि सघाउ पुर्याउँछ ।
सार्वजनिक सेवा प्रवाह गर्नु सरकारको प्रमुख जिम्मेवारी हो । सरकारले विभिन्न नीति, ऐन, कानुन, संगठन संरचना, प्रक्रिया, कर्मचारीतन्त्र आदिको माध्यमबाट जनतालाई सेवा प्रवाह गरिरहेको हुन्छ । सरकारले प्रदान गरेको सेवा प्राप्त गर्ने सेवाग्राहीले आफूले पाएको सेवाको गुणस्तरस सेवा पाउने प्रक्रियास सेवा लिन जाँदा लाग्ने खर्च, बिताउनुपर्ने समय, पार गर्नुपरेको दूरीस तथा सेवा दिने कर्मचारीको व्यवहारका सम्बन्धमा जनताले व्यक्त गरेको राय प्रतिक्रिया तथा सुझावलाई सार्वजनिक पृष्ठपोषण भनिन्छ । अर्थात्, आफ्ना कामकारबाहीको आफैं मूल्यांकन गर्नु वा अन्य विज्ञ वा सेवाग्राहीको मूल्यांकन प्रतिक्रिया पाउनु एवं सेवाप्रवाहसम्बन्धी सूचना प्राप्त गर्नु पृष्ठपोषण हो । पृष्ठपोषण पाउनु भनेको आफ्नै कार्यसम्पादन र व्यवहारको एकपटक सिंहावलोकन गर्नु पनि हो । पृष्ठपोषण खास गरी दुई अवस्थामा पहिलो, सेवा प्राप्त गर्नु अगाडि अर्थात् प्रस्तावित सेवा र सेवाप्रवाहको प्रक्रियाको सम्बन्धमा तथा दोस्रो, सेवा प्राप्त गरेपछि सेवा, सेवाप्रवाहको प्रक्रिया र कर्मचारीको व्यवहार सम्बन्धमा लिने गरिन्छ ।
पृष्ठपोषण लिन विभिन्न संयन्त्र प्रयोग गरिन्छ । सरकारका निर्णय र कामकारवाहीप्रति विधायिकी चासो, खोजबिन, अनुसन्धान, प्रश्नोत्तर तथा संसदीय समितिको सक्रियता र प्रतिवेदन पृष्ठपोषण लिने संवैधानिक संयन्त्र हो । सेवाप्रवाहको नाममा मौलिक हक, मानवअधिकार, स्वतन्त्र प्रेसको व्यवस्था वा सार्वजनिक चासोमा सम्बन्धमा रिट निवेदन वा न्यायिक सक्रियतामा जारी हुने आदेश न्यायिक सक्रियताको माध्यमबाट पृष्ठपोषण प्राप्त गर्ने गरिन्छ ।
सुपरिवेक्षण, अनुगमन र मूल्यांकन तथा समीक्षा परिपाटी, स्टाफ बैठक÷सुझाव पेटिका÷हटलाइन÷गोष्ठी सेमिनारका सुझाव, सेवाप्रवाहको प्रक्रियागत पारदर्शिता, उजुरी लिने, सुन्ने र व्यवस्थापन पद्धति, नियमित पृष्ठपोषण प्राप्त हुने संयन्त्र, पृष्ठपोषणका लागि सेवा प्राप्त गरेपछि सेवाग्राहीले भर्ने सिटिजन रिर्पोट फर्म, सेवाप्रवाह पूर्व गरिने पाइलट टेस्ट, क्वालिटी सर्कल÷टिमवर्कको छलफल र सुझाव, सार्वजनिक सुनुवाइ÷जनसम्पर्कबाट प्राप्त प्रतिक्रिया, सेवा प्रदायक र सेवाग्राहीबीचको विषय केन्द्रित छलफल, शंखघोषको व्यवस्था र प्राप्त सूचना, सहभागितामूलक निर्णय प्रक्रिया, नागरिक वडापत्र तथा नियमित सूचना प्रवाह र उपयोगकर्ताको भनाइ वा सुझाव पृष्ठपोषण लिने सार्वजनिक संगठनात्मक संयन्त्र हुन् । यसका अतिरिक्त फोन मोबाइल सामाजिक मिडिया, नेटवर्क र अनलाइनबाट समेत पृष्ठपोषण प्राप्त हुने प्रवृत्ति बढ्दै गएको छ ।
पृष्ठपोषण लिने संगठनात्मक उत्सुकता, दक्ष जनशक्ति र बजेटको कमी, सरकारी निकायमा सार्वजनिक सम्पर्क अधिकारीको व्यवस्थाको अभाव, पृष्ठपोषण दिनेको सम्मान गर्ने प्रचलनको अभाव, पृष्ठपोषण वा उजुरी मूल्यांकनका लागि सेवाको स्तरको अभाव तुलनात्मक अध्ययन गर्न कठिन, सूचना आग्रह र पूर्वाग्रहबाट प्रभावित, सामाजिक परीक्षण प्रभावकारी बन्न नसकेको, उजुरी दर्ता, पक्षपोषण दिने व्यक्ति संस्थाप्रति नकारात्मक दृष्टिकोण राख्ने प्रवृत्ति, पृष्ठपोषण अभिलेखको कमी, पृष्ठपोषण व्यवस्थापनमा नेतृत्वको उदासीनता समस्याको रूपमा रहेका छन् ।
पृष्ठपोषणको सत्यतथ्य खोज्ने प्रवृत्तिको कमी, सार्वजनिक सुनुवाइ प्रभावकारी बन्न नसकेको, मन्त्रालय, विभाग र कार्यालयका उजुरी पेटिका समयमा नखोल्ने तथा स्टाफ बैठक समयमा नबस्ने स्थिति, अनलाइन पृष्ठपोषण लिन प्रणालीकोे विकास र प्रयोगको कमी, अनुसन्धानमूलक तथा व्यावसायिक प्रेसको कमी, बजेट र योजनाको अध्यावधिक मूल्यांकन प्रभावकारी बन्न नसकेको, पृष्ठपोषणबाट जनतालाई के प्राप्त हुने नीतिगत, पृष्ठपोष्णका लागि प्रक्रियागत, व्यवहारगत, सांस्कृतिक सुधारबारे जानकारीको कमी, गर्ने नभए लुकाउने पृष्ठपोषणको राजनीतिले पृष्ठपोषणलाई प्रभावकारी हुन दिएको देखिँदैन ।
पृष्ठपोषण प्रजातान्त्रिक शासन व्यवस्थाको विशेषता हो । जनताले आफूले चुनेर पठाएका प्रतिनिधिले आफ्नो पक्षमा सही निर्णय गर्न, सेवा दिन वा काम गर्न सकेनन् भने त्यस्ता व्यक्ति तथा राजनीतिक दललाई अर्को निर्वाचनबाट सत्याच्युत गर्ने क्षमता राख्छन् । यसर्थ, आवधिक निर्वाचन सशक्त पृष्ठपोषणको सुन्दर पक्ष हो । पृष्ठपोषण सेवा प्रवाह पद्धति र त्यसको परिणामको सुधारको आधार हो । पृष्ठपोषणले नीतिगत, प्रक्रियागत, व्यवहारगत तथा संस्कृतिगत पक्षलाई निरन्तरता दिन वा सुधार गर्न सुझाव दिन्छ । पृष्ठपोषणबाट प्राप्त सूचनाको आधारमा सूधारका एजेन्डा तय गर्न र यसको कार्यान्वयन गर्न सरल हुन्छ । राजनीतिक एवं कर्मचारीतन्त्र दुवैका लागि पृष्ठपोषण महत्वपूर्ण विषय हो । यस परिप्रेक्ष्यमा व्यवस्थापनले महत्व तथा प्राथमिकताका साथ पृष्ठपोषणको कार्यान्वयन र प्राप्त सूचनाको उपयोग गर्नुपर्दछ । परिणाममूलक कर्मचारीतन्त्रका लागि पृष्ठपोषण अत्यावश्यक हुन्छ ।
सारमा, नेपालको सार्वजनिक प्रशासनमा पृष्ठपोषणले अत्यन्त कम महत्व पाएको देखिन्छ । सेवाप्रवाह तथा परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमन मूल्यांकन, चौमासिक र वार्षिक रूपमा रिपोर्टिङ, रिपोर्टिङको आधारमा राष्ट्रिय र मन्त्रिस्तरीय समीक्षा गर्ने र पृष्ठपोषण दिने व्यवस्था गरिएको भए पनि ती प्रभावकारी देखिएका छैनन् । प्रशासन प्रणाली सेवाग्राहीमुखी, परिणाममुखी, उत्तरदायी, पारदर्शी, सूचनासञ्चार प्रविधिमैत्री र विकेन्द्रित हुँदै गएको भए पनि सेवाप्रवाहको पृष्ठपोषणबाट लाभ लिन सकेको देखिँदैन । पृष्ठपोषणको प्रयोग र उपयोगलाई सशक्त बनाउन सार्वजनिक प्रशासन, सेवाग्राही, राजनीतिक नेतृत्व र सरोकारवाला सक्रिय एवं उत्तरदायी बन्नु पर्ने हुन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies