महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला सरकारले बलात्कारका घटनामा मिलापत्र गराउनलाई पनि कार्बाही गर्नेगरी अध्यादेश ल्याएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बलात्कारका घटनामा मिलापत्र गर्ने कार्बाही गर्नेगरी अध्यादेश ल्याएको हो । अध्यादेशको प्रावधान अनुसार, करणी सम्बन्धी कसूर गर्ने व्यक्तिसँग पीडितलाई मिलापत्र गराउन दबाव दिनेलाई पनि अब कार्बाही हुनेछ । त्यसरी बलात्कारका मुद्दामा मिल्न दबाव दिने वा मिलापत्रमा सामेल हुने देखि दबाव सिर्जना गर्नेलाई ६ महिना देखि तीन वर्ष कैद हुनेछ । सँगै, ३० हजारसम्म जरिवाना गरिनेछ । सार्वजनिक पद धारण गरेको भए थप ६ महिना बढी सजाय हुनेछ ।
उमेर समूह अनुसार बलात्कारका मुद्दाको सजाय पनि फरक–फरक राखिएको छ । १४ देखि १६ वर्षका बलात्कारका मुद्दामा १२ देखि १६ वर्षसम्म जेलको सजाय हुनेछ । १६ देखि १८ वर्षसम्म व्यक्ति भए १० देखि १४ वर्ष जेल तथा १८ वर्ष माथिका भए १० देखि १२ वर्षसम्म १० देखि १२ सम्म कैदको सजाय हुनेछ । तर, १० वर्ष मुनिकालाई भने पुरानै व्यवस्था गरिएको छ । सरकारले ल्याएको यो अध्यादेश लागू भएपछि अब धेरै बलात्कारका घटनामा मिलापत्र गराउन दबाव दिने समेत कानूनको कठघरामा उभिनेछन् ।
महिला अधिकारकर्मीहरुले यो अध्यादेशको स्वागत गरेका छन् । उनीहरुले लामो समयदेखि मिलापत्रमा सामेल हुनेलाई कार्बाहीको माग गर्दै आएका थिए । बलात्कारका घटना धेरै जसो चिनजानकै व्यक्तिबाट हुने भएकाले मिलापत्रमा बढी दबाव दिइने गरेको तथ्य सार्वजनिक भएको थियो । राष्ट्रिय महिला आयोगकै रिपोर्ट अनुसार पनि ९३ प्रतिशत लैङ्गिक हिंसा घरभित्र र परिवार नजिकका मानिसबाट हुने गरेको छ । यसले पनि मतियार कार्बाही हुने अध्यादेशको स्वागत गरिएको छ । अझ न्यून आर्थिक अवस्था भएका र सामाजिक रुपले पछाडि परेकाहरुमा बढी पीडा हुने गरेको थियो ।
अध्यादेश आए पनि कार्यान्वयनको विषय भने सजिलो देखिदैन । बलात्कारकै घटना लुकाउने प्रवृत्ति र बलात्कार पछि मृत्यु घटनाका दोषी समेत फेला पार्न नसकिरहेको अहिलेको अवस्थामा मतियारलाई कार्बाही गर्नु कम चुनौतीपूर्ण छैन । त्यसै पनि बलात्कारका घटनामा मिलापत्रका लागि दबाव दिने व्यक्ति पीडित भन्दा बढी सामाजिक र आर्थिक हैसियतका हुन्छन् । तर, यो चुनौती सामना गर्दै अध्यादेश कार्यान्वयन गर्दै न्यायपूर्ण समाज स्थापनाको अर्को विकल्प छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies