सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुटवलमा विहीबार कालो झण्डा देखाइएको छ । स्थानीय विकास निर्माणबारे अनुगमनमा निस्किएका मन्त्री पौडेललाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट तरुण र विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन् । उनीहरुको आरोप छ– बालुवाटार जग्गा प्रकरण अनि अरु भ्रष्टाचारका घटना ।
तर, बालुवाटार जग्गा प्रकरण ताजा होइन । पौडेलले उक्त जमिन फिर्ता गरे पछि धेरै पटक उनी बुटवल पुगिसकेका छन् । यसपटक भने उनी अर्थमन्त्री बनेपछि पहिलो पटक गएका हुन् । त्यसै मेसोमा तरुण दल र नेवि संघका कार्यकर्ताले कालो झण्डा देखाए । पौडेललाई कालो झण्डा देखाउनेलाई प्रहरीले पक्राउ गरेन । सायद, मन्त्री पौडेलकै चाहनामा उनीहरु पक्राउ परेनन् ।
यसअघि बुटवलमै केही समय अगाडि मात्रै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरिएको थियो । त्यसबेला बुटवलको अस्थायी राजधानी दाङमा सार्ने निर्णय पछि आक्रोशित समूहले ढुंगा प्रहार गरेका थिए । यिनीहरु धेरै त सत्तारुढ नेकपाकै कार्यकर्ता थिए । त्यसबेला पनि मुख्यमन्त्री पोखरेलले यो प्रकरणलाई अगाडि बढाएनन् । गएको शनिबार मात्रै पूर्व अर्थमन्त्री एवम् नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे विरुद्ध नेकपाकै कार्यकर्ताले हुलहुज्जत गरे । कार्यक्रम चलिरहेकै बेला हलमै नाराबाजी भयो । उनीहरु नेकपाको अर्को धारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओली निकटका थिए ।
नेपाली राजनीतिमा कालो झण्डा देखाउने, बाटो अवरुद्ध गर्ने, ढुंगामुढा प्रहार गर्ने प्रदर्शन गर्ने कार्य नौलो होइन । तर, यस्ता गतिविधि रोकिएको धेरै भइसकेको थियो । अहिले फेरि एकाएक यस्ता घटना देखिनुको पहिलो कारण त राजनीतिप्रति आम नागरिकको बितृष्णा नै मान्न सकिन्छ । किनभने, केही वर्ष अगाडिसम्म पूर्व प्रधानमन्त्रीहरु माथि हातपात नै हुने गरेको थियो । राजनीतिक स्थिरतासँगै यस्ता गतिविधि रोकिएको थियो । महामारीकै बेला दलहरुभित्र देखिएको कलहका कारण समाजले राजनीति हेर्ने दृष्टिकोण बदलिएको देखिन्छ । अर्का तर्फ विरोध जनाउने शैली पनि फेरि विगत तर्फ नै फर्किएको अनुभूति हुन्छ । किनभने, यस्तो असहिष्णु विरोधको शैली लगभग देख्न र सुन्न छोडिएको थियो । विरोध जनाउनु लोकतन्त्रको सुन्दर पक्ष हो, तर यसको शैलीमा पनि रचनात्मकताको खाँचो हुन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies