सिरहा : सिरहा जिल्लास्थित भगवानपुर गाउँपालिका–१, भगवानपुर चोकबाट ३०० मिटर पूर्वमा अवस्थित श्री बालासुन्दरी भगवती मन्दिरको प्राङ्गणमा आइतबार सरसफाइ अभियान सम्पन्न भएको छ । श्री ल.ना.कौ.ज.मा.वि. पूर्व विद्यार्थी मञ्चद्वारा आयोजित यो सरसफाइ कार्यक्रममा दर्जनौं युवाहरूले सहभागिता जनाएका थिए ।
बिहान साढे ७ बजेदेखि दिउँसो ११ बजेसम्म चलेको उक्त अभियानमा मन्दिर परिसरलाई सफा र स्वच्छ बनाउन युवाहरूले सक्रियतापूर्वक सहयोग गरे । अभियानका संयोजक विनोद यादवले सामाजिक कार्यमा युवाहरूको उत्साह र प्रतिबद्धता रहेको बताउँदै आगामी दिनमा चरणबद्ध रूपमा थप कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए । उनले भने, “हाम्रो अभियानले सरसफाइसँगै अन्य सामाजिक कार्यहरूको एजेन्डा चाँडै प्रस्तुत गर्नेछ ।”
यसैगरी, पूर्व विद्यार्थी मञ्चका सरोज यादवले मन्दिरजस्ता अमूल्य सम्पदा क्षेत्रको संरक्षणमा युवा पुस्ताको महत्त्वपूर्ण भूमिका रहने बताए । “हाम्रा सांस्कृतिक र धार्मिक सम्पदाहरूलाई जोगाउन यो अभियान सुरु गरिएको हो। अबको समयमा युवाहरूले नेतृत्व लिनुपर्छ,” उनले जोड दिए ।
युवा रूपान्तरणका विभिन्न लक्ष्य बोकेर अगाडि बढिरहेको यो अभियानले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ । आगामी दिनमा यस्ता कार्यक्रमहरूले थप गति लिने अपेक्षा गरिएको छ ।