काठमाडौं : मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) डा. मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रमुखमा नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।
हालसम्म प्रदेश समन्वय विभागमा कार्यरत केसीले यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व सम्हाल्दा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेर चर्चा कमाएका थिए । उक्त प्रकरणमा ८१ जनाले उजुरी दिएका थिए, र मुख्य आरोपितहरू केशव दुलाल, टंक गुरुङ र सानु भण्डारी पक्राउ परेका थिए ।
केसीले प्रहरी सेवामा १८ चैत २०५४ मा प्रवेश गरेका थिए । गत वैशाख ४ गतेको बढुवा सिफारिस सूचीमा उनको नाम छैटौं स्थानमा थियो । उक्त सूचीमा चन्द्रकुवेर खापुङ पहिलो, लालमणि आचार्य दोस्रो, कृष्णहरि शर्मा पोखरेल तेस्रो, दानबहादुर कार्की चौथो र राजन अधिकारी पाँचौं स्थानमा थिए । हाल खापुङ प्रहरी महानिरीक्षक छन् भने आचार्य र पोखरेल अवकाशमा गइसकेका छन् ।