कपिलवस्तु : सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णानगरले विभिन्न स्थानबाट लाखौं मूल्य बराबरको राजस्व छलिएको सामान बरामद गरेको छ ।
कृष्णानगरको व्यारिएर चेकपोस्टमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छलि गरी नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीको कमाण्डमा खटिएको टोलीले कपडा बरामद गरेको हो ।
बरामद गरिएको सामानमा साडी ९४ थान, पर्दा ४५ थान, मोजा ३४ दर्जन, लेडिज सुट ३४ थान, कुर्ति सेट १५० थान रहेका छन् । यी सबै मिलाएर कुल मूल्य दुई लाख ६१ हजार रुपैयाँ बराबर हुने प्रहरीले जनाएको छ ।
बरामद गरिएको सामान आवश्यक कानूनी कारबाहीका लागि भन्सार कार्यालय कृष्णानगर पठाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीले जानकारी दिए ।