काठमाडौं : नेपाली क्रिकेट टीमले युएईको भिसा पाएको छ । नेपाल क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (युएई) मा वेस्ट इन्डिजसँगको युनिटी कप टी-२० शृंखला खेल्न जानका लागि भिसा प्राप्त गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार जारी गरेको विज्ञप्तिअनुसार टोलीले भिसा पाएसँगै सोमबार युएई प्रस्थान गर्नेछ । यो शृंखला सेप्टेम्बर २७, २९ र ३० मा शारजाह क्रिकेट स्टेडियममा आयोजना हुँदैछ ।
युएईले नेपालमा हालैको जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक परिवर्तनका कारण नेपाली नागरिकका लागि भिजिट भिसा रोकेको थियो भने कामदार भिसामा कडाइ गरेको थियो ।
निर्धारित तालिकाअनुसार टोली शुक्रबार युएई प्रस्थान गर्ने तयारीमा थियो, तर भिसा अस्वीकृत भएपछि टोली रोकिएको थियो ।
क्यानले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग समन्वय गरेर भिसा प्रक्रियालाई अगाडि बढाएको थियो । क्यानका प्रवक्ता छुम्बी लामाले आइतबार भिसा प्राप्त भएको र टोली सोमबार प्रस्थान गर्ने पुष्टि गरेका छन् ।
वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी-२० शृंखला शारजाह क्रिकेट स्टेडियममा हुनेछ । क्यानले रंगशाला बुक गरिसकेको छ भने अनलाइन टिकट बिक्री पनि सुरु भइसकेको छ । प्रतियोगिताको सम्पूर्ण खर्च र व्यवस्थापन क्यानले नै व्यहोर्नेछ ।
यो शृंखलापछि नेपाली टोली टी-२० विश्वकप एसिया–प्यासिफिक छनोटका लागि ओमान प्रस्थान गर्नेछ । त्यसपछि पुनः युएई फर्केर नेपालले युएई र अमेरिकासँग लिग २ मा प्रतिस्पर्धा गर्नेछ ।
मुख्य प्रशिक्षक स्टुवार्ट ल शुक्रबार नै युएई पुगिसकेका छन् । स्ट्रेन्थ एन्ड कन्डिसन प्रशिक्षक अब्दुर सतार भारतबाट सिधै युएई पुग्ने कार्यक्रम रहेको क्यानले जनाएको छ ।