आजको युगमा जब कुनै क्याम्पसको चोक, कुनै चिया पसल वा अनलाइन बहस चलिरहेको हुन्छ, त्यहाँ एउटा साझा स्वर गुन्जिन्छ– यो व्यवस्था ठिक छैन, यो भ्रष्टहरूको शासन हो, यहाँ अन्याय मात्रै छ । यस्तो असन्तुष्टि विशेषगरी युवाबीच बढी सुनिन्छ । प्रश्न उठ्छ– किन युवा व्यवस्थाप्रति असन्तुष्ट छन् ? के यो निरर्थक आलोचना मात्र हो, कि यसको पछाडि गहिरो पीडा, अपेक्षा र सम्भावनाको आवाज लुकेको छ ?
यदि कुनै पनि मुलुकको युवा शक्ति व्यवस्थाप्रति सन्तुष्ट छैन भने त्यसले राम्रो सन्देश दिँदैन । त्यसले विद्रोहको चेतावनी दिन्छ । ‘पानीको थोपा थोपा मिलेर सागर बन्छ’ भनेझैं, यदि युवाहरूको असन्तुष्टिलाई सम्बोधन गरिएन भने त्यसले व्यवस्थालाई नै बगाएर लैजाने जोखिम बढाउँछ । यतिबेला नेपालमा देखिएको अवस्था पनि त्यही हो । लामो समयदेखि शासक वर्गले व्यवस्थालाई बेवास्ता गर्दा नै आक्रोश बढेको हो ।
हाम्रा युवा शिक्षित छन्, प्रविधिसँग अपडेट छन्, विश्वको हरेक कुनाको समाचार एक क्लिकमै बुझ्न सक्छन् । उनीहरू देख्छन्– अरू देशका युवाहरूले कसरी नवप्रवर्तन गर्दै छन्, उद्यमशीलतामा लागेका छन्, समाजमा प्रभाव पारिरहेका छन् । उनीहरू आफ्नै देशमा त्यही कुरा गर्ने सपना देख्छन् । तर जब उनीहरूले यथार्थमा कदम चाल्न खोज्छन्, तब उनीहरू ठोक्किन्छन् अनावश्यक कागजी झमेलामा, गैरजिम्मेवार निकायमा, अपारदर्शी निर्णयमा र बिचौलियाको चलखेलमा । त्यसैले त उनीहरू प्रश्न गर्छन्– यो व्यवस्था कसका लागि ?
सबैभन्दा डरलाग्दो कुरा के छ भने, यस प्रश्नको जवाफ दिन तयार कोही छैन । शासन सत्तामा हालिमुहाली गर्नेहरू युवाको असन्तुष्टिलाई व्यर्थको भनी मजाक उडाउँछन् । यस्ता जवाफ युवाहरूका लागि औषधी होइन, थप घाउको कारण बन्छन् । साँच्चै, युवाहरूले त बास मागेका छैनन्, केवल बाँच्न मागेका छन् । तर जब राज्यले उनीहरूको बाँच्न पाउने अधिकारमाथि नै आँच पु¥याउँछ तब उनीहरू भन्छन्– हामी यो व्यवस्था स्विकार्दैनौं, यो हाम्रा लागि होइन ।
यसरी हेर्दा, युवाहरूको असन्तुष्टि व्यवस्थाविरुद्धको कुनै अविवेकी विद्रोह होइन । त्यो चेतनशील आक्रोश हो, जुन परिवर्तनको खोजीमा उठेको आवाज हो । इतिहासले देखाएको छ– जहाँ व्यवस्था बहिर्मुखी भयो, त्यहाँ क्रान्ति सम्भव भयो । फ्रान्सको क्रान्ति होस् या नेपालको २०६२/६३ को जनआन्दोलन– युवा शक्ति नै परिवर्तनको मूल थालनीकर्ता बन्न पुगे ।
आजको असन्तुष्टि पनि त्यही लहर हो । जब युवाहरू बिदेसिन बाध्य हुन्छन्, आफ्नै देशमा अवसर नपाउँदा ‘ब्रेन ड्रेन’ बढ्छ, तब त्यसले केवल व्यक्तिगत भविष्य गुमाउँदैन, समष्टिगत विकासको बाटो नै बन्द गर्छ । एक युवा जब विदेशमा जान्छ र भन्छ, ‘म यही काम नेपालमै गर्न चाहन्थें तर व्यवस्था नै थिएन’ तब त्यो केवल भावनात्मक कुरा होइन, त्यो व्यवस्थाप्रतिको गम्भीर संकेत हो ।
अब प्रश्न उठ्छ– के यो असन्तुष्टिको कुनै समाधान छैन ? अवश्य छ । तर, त्यसका लागि व्यवस्थाले लचकता देखाउनुपर्छ । सबैभन्दा पहिला, पारदर्शिता अनिवार्य छ । जब निर्णय प्रक्रिया खुला हुन्छ, जब नीति निर्माणमा युवाहरूको सहभागिता सुनिश्चित गरिन्छ, तब उनीहरूले आफ्नो आवाजलाई प्रतिनिधित्व भएको महसुस गर्छन् ।
अर्को उपाय हो– रोजगारमुखी शिक्षा नीति । अहिलेको शिक्षाले ज्ञान त दिन्छ तर सिप दिँदैन । जब शिक्षा बजारका लागि हुँदैन, तब त्यसको उपादेहिता पनि सकिन्छ । सरकारले प्राविधिक शिक्षा, उद्यमशीलताको प्रोत्साहन र स्टार्टअपमैत्री वातावरण सिर्जना गर्नुपर्छ । यस्तै, युवा अनुकूल ऋण योजना, कृषि र प्रविधि क्षेत्रमा नवप्रवर्तनलाई प्राथमिकता दिएर युवाहरूलाई देशमै अवसर खोज्न उत्प्रेरणा दिनुपर्छ ।
सबैभन्दा गम्भीर कुरा, युवाहरूको आवाज सुन्ने आदत नेतृत्वमा बस्नेहरूमा हुनुपर्छ । जब नेतृत्वकर्ता आवाज नसुन्ने हुन्छन्, तब सडक बोल्न थाल्छ । यो अवस्था आउनु नदिन पहिला नै संवेदनशीलता अपनाउनुपर्छ । आजको असन्तुष्टि सम्बोधन गरिएन भने, भोलिको आन्दोलन रोक्न सकिँदैन ।
नेपाली गाउँघरको उखान छ– साँढे डो¥याउने बेलामा घाँस नदिए, त्यसले जवाफ दिन्छ ? हो, युवाहरू देशका साँढेजस्तै हुन्– शक्तिशाली, उत्पादनशील र परिवर्तनशील । तर तिनीहरूलाई समयमै ‘घाँस’ नदिइयो भने, अर्थात् अवसर, न्याय र विश्वास दिइएन भने उनीहरूले व्यवस्था नै उखेलिदिन्छन् । त्यो बेलामा पछुताउनुको कुनै अर्थ रहँदैन ।
हिजोको परिवर्तनमा पनि युवाहरू अगुवा थिए, आजको परिवर्तनको मागमा पनि उनीहरू अगुवाइ गर्दै छन् । व्यवस्थाले यदि समयमै यो आवाज सुन्दैन, यदि युवाहरूलाई देशमै टिकाउने वातावरण निर्माण गर्दैन भने केवल असन्तुष्टि होइन, त्यसले व्यवस्था नै संकटमा पार्नेछ । अन्त्यमा, युवाहरूको प्रश्न व्यवस्थाविरुद्धको विद्रोह होइन– त्यो व्यवस्था सुधारको आग्रह हो । त्यो आग्रहलाई व्यवस्थाले सुन्न जरुरी छ । नत्र भने प्रश्नहरूको यो लहर, एक दिन ठुलो आँधी बन्नेछ । आँधीले घरको छाना मात्रै होइन, पूरै संरचना नै उडाइदिन्छ ।
त्यसैले, व्यवस्थामाथि सधैं प्रश्न किन उठ्छ ? उत्तर स्पष्ट छ– जब व्यवस्था मौन हुन्छ, जब जनताको चिच्याहटलाई बेवास्ता गरिन्छ, तब प्रश्नहरू जनताको अस्त्र बन्दछन् । आजको युवाले प्रश्न गरिरहेकै छ– तर त्यो प्रश्नको जवाफ दिन राज्य तयार छैन भने भोलिको उत्तरदायित्व कसले लिने ? वास्तवमा, व्यवस्थाले प्रश्नहरूलाई दबाउने होइन, सम्बोधन गर्ने प्रयत्न गर्नुपर्छ । किनकि आजको एक इमानदार जवाफ, भोलिको एउटा ठुलो आन्दोलन टार्ने शक्ति बन्न सक्छ ।
युवाहरू व्यवस्थासँग टकराउन चाहँदैनन्, उनीहरू व्यवस्थाभित्रै आफ्नो भविष्य देख्न चाहन्छन् । यदि व्यवस्था त्यो भरोसा दिन सक्दैन भने, प्रश्नहरू अवश्य बर्सिरहनेछन्, र एक दिन त्यो प्रश्न आँधी बन्नेछ । उसैमा बग्न नपरोस् ।