काठमाडौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीको आगामी महाधिवेशनले नेतृत्व परिवर्तन हुने बताएका छन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा स्थायी कमिटीको बैठकपछि उनले यस्तो बताएका हुन् । नेतृत्व परिवर्तनबारे पार्टीमा छलफल भइरहेको उनको भनाइ छ । आगामी महाधिवेशनसम्म जाँदा नेतृत्व परिवर्तनको कुरा हल हुने उनको दाबी छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा राजनीतिक दलका पुराना नेताहरुले नेतृत्व छोड्नुपर्ने माग उठेको थियो । प्रधानमन्त्री भइसकेको र पार्टीका नेतृत्वमा बारम्बार रहेको नेताहरुले नेतृत्व छोड्नुपर्ने माग राखेर दबाब दिएपछि माओवादीसहितका राजनीतिक दलका नेताहरुमाथि नेतृत्व परिवर्तनका लागि नेतृत्व छोड्नुपर्ने दबाब पार्टीभित्रैबाट आइरहेको छ ।
नेतृत्व परिवर्तनबारे पनि बहस भइरहेको छ नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘त्यो पनि छलफल भइरहेको छ, महाधिवेशनसम्म जाँदा सबै हल हुन्छ ।’ केन्द्रीय कमिटीको एजेण्डा तय गर्न बुधवार माओवादीको स्थायी कमिटी बैठक बसेको हो ।