काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम गन्तव्य मुलुकमा कार्यरत काउन्सिलर श्रम र श्रम सहचारीहरूसँग नेपाली कामदारको अवस्थाबारे बुझ्न भर्चुअल छलफलको तयारी गरेको छ ।
प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई)लगायतका देशमा नेपाली कामदारको भिसामा ढिलाइ भएपछिको अवस्थाबारे जानकारी लिन भर्चुअल छलफल गर्न लागिएको मन्त्रालय स्रोतले बताएको छ ।
छलफलमा नेपालमा भएको जेनजी प्रदर्शनपछि औपचारिक रूपमा कुनैपनि मुलुकले नेपाली कामदारको भिसा रोकेको जानकारी नदिएको, तर भिसा जारी गर्न भएको ढिलाइ सम्बन्धमा जानकारी लिने बताइएको छ ।
कतिपयले साउदी अरेबिया, कतार र मलेसियामा पनि नेपाली कामदारको भिसा रोकिएको हल्ला फिँजाएका छन् । यसअघि परराष्ट्र मन्त्रालयले खाडी मुलुकले वर्किङ भिसा नरोकेको, तर अस्थायी रूपमा कडाइ भने गरेको नेपाली दूतावासबाट जानकारी आएको बताएको थियो ।
काउन्सिलर श्रम र श्रम सहचारीहरूलाई वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको हित रक्षाका लागि एक दर्जनभन्दा बढी जिम्मेवारी तोकिएको छ । उनीहरूले आफू कार्यरत मुलुकको श्रम तथा रोजगारको स्थिति, अध्यागमनसम्बन्धी तथ्यगत जानकारी, उक्त देशले श्रम तथा अन्तर्राष्ट्रिय मानवअधिकार तथा कामदारको हित संरक्षणका लागि चालेका कदमबारे नेपाल सरकारलाई मासिक रूपमा जानकारी दिनुपर्ने व्यवस्था छ ।
यसका अतिरिक्त उनीहरूले कामदार, रोजगारदाता संस्था वा इजाजतपत्रवालाबीच कुनै विवाद उत्पन्न भएमा समस्या समाधान गर्न सहयोग गर्ने, वैदेशिक रोजगारको क्रममा अलपत्र अवस्थामा परेका कामदारलाई स्वदेश फिर्ता गर्न/गराउन आवश्यक व्यवस्था गर्नेदेखि प्राकृतिक विपत्तिमा परेका वा कुनै कारणवश मृत्यु भएका कामदारको शव सम्बन्धित मुलुक वा रोजगारदाता संस्थाको सहयोगमा स्वदेश फिर्ता पठाउन पहल गर्नेलगायतका विषयमा पनि मासिक रूपमा जानकारी दिनुपर्ने व्यवस्था छ ।