२०८२ मंसिर २ गते मङ्गलवार / Nov 18 , 2025 , Tuesday
२०८२ मंसिर २ गते मङ्गलवार
Ads

एलबिइएफ स्किल स्पार्क च्याम्पियनसिपमा टिम ‘राइज चेतना’ पहिलो

shivam cement
२०८२ मंसिर २ गते १३:०२
Shares
एलबिइएफ स्किल स्पार्क च्याम्पियनसिपमा टिम ‘राइज चेतना’ पहिलो

काठमाडौं : 'एन एजुकेटेड वुमन, अ ट्रान्सफर्म्ड नेसन' भन्ने मूल नारासहित आयोजित एलबिइएफ स्किल स्पार्क च्याम्पियनसिप २०२५ राजधानीमा सम्पन्न भएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ‘राइज चेतना’ पहिलो, ‘टिम बटरफ्लाई’ दोस्रो र ‘टिम नमस्ते’ तेस्रो बने ।

विजेता, उपविजेता र तेस्रो हुने टोलीले क्रमशः ५० हजार, ३५ हजार र २० हजार रुपैयाँसहित प्रमाणपत्र, ट्रफी, द आरकेएस उपहारको गिफ्ट ह्याम्पर र स्किल स्पार्कका सबै तालिममा ५० प्रतिशत छुट पाएका छन् ।

प्रि–इभेन्टतर्फ ‘टिम फिनिक्स’ले उत्कृष्ट प्रस्तुति दिँदै ५ हजार रुपैयाँ नगद, ब्रान्डेड इयरबड, प्रमाणपत्र, ट्रफी तथा तालिममा छुटसहित विजेताको उपाधि हात पार्‍यो ।

कार्यक्रमका मुख्य अतिथि विघटित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मागरले महिला शिक्षा राष्ट्र रूपान्तरणको आधार भएकाले महिलालाई पढाइबाट टाढा राख्ने सबै अवरोध हटाउन राज्य र समाज दुवैले पहलकदमी गर्नुपर्ने बताइन् ।

विशिष्ट अतिथि राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले महिला शिक्षाबारे विवाद नभए पनि महिलालाई अघि बढ्न नदिने वास्तविक कारण पहिचान गरी समाधानमुखी कदम चालिनुपर्ने धारणा राखे ।

युवा नेतृ ममता शर्माले एउटी महिला शिक्षित हुँदा एक पुस्ता शिक्षित हुन्छ भन्दै महिला शिक्षा राष्ट्र विकासको मूलढोका भएको टिप्पणी गरिन् ।

एलबिइएफका प्रमुख सञ्चालक अधिकृत सुनिल ओझाले स्किल स्पार्कले युवाहरूको क्षमता पहिचान गरी सीपयुक्त जनशक्ति उत्पादनमा योगदान पुर्‍याइरहेको बताए ।

प्रतियोगिताका निर्णायकहरू कमला पन्थी, सृजना श्रेष्ठ, हरिराम रिमाल, संगम महत र अस्मिता लमिछानेले सहभागी युवाहरूमा देखिएको परिपक्वता, नेतृत्व, प्रविधि–दक्षता र टीम–वर्कको प्रशंसा गर्दै ‘युवाहरूको प्रस्तुति भविष्यप्रतिको आशा हो’ टिप्पणी गरे ।

आयोजक स्किल स्पार्ककी संस्थापक ई. सिर्जना झाले सहभागी हुनुलाई नै जितको पहिचान बताउँदै, युवाहरूको प्रतिबद्धता र मेहनतले सीप आधारित शिक्षालाई अझ सुदृढ बनाएको बताइन् ।

कार्यक्रमले शिक्षित महिलाले परिवारदेखि राष्ट्रसम्म सकारात्मक मार्गदर्शन गर्न सक्ने सन्देश प्रभावकारी रूपमा दिएको आयोजकको भनाइ छ ।

स्किल स्पार्क एक आईटी तालिम संस्था हो जसले प्रविधि, पेशागत तालिम, इन्टर्नसिप र रोजगारी अवसर उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रमलाई सफल बनाउन लर्ड बुद्ध एजुकेसन फाउन्डेसन टाइटल स्पोन्सरका रूपमा रहेको थियो । हिमालय कलेज अफ इन्जिनियरिङ, डायनामिक टेक्नोसफ्ट र दि आरकेएस उपहार सहप्रायोजक बने । टेक्नोलोजी पार्टनर टेक्नोस्पायर र कन्सल्टेन्सी पार्टनर करियर क्याटालिस्ट रहेका थिए ।

ADV

सम्बन्धित खबर