तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : गैरआवासिय नेपाली संघ कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा हुन लागेको ‘गैरआवासीय नेपाली तारा सिजन ४’को डिजिटल अडिसनको नतिजा सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको नतिजाअनुसार गायन विधाबाट ४७ जना र नृत्य विधाबाट २१ जनाले शुक्रबार औपचारिकरुपमा उद्घाटन हुने कार्यक्रममा पहिलो अडिसन दिने भएका छन् ।
गायन र नृत्य गरी दुई विधाबाट अलग–अलग विजेता छानिने प्रतियोगिताको पहिलो अडिसनमा ४०/४० जना लैजाने लक्ष्य भए पनि नृत्य विधामा कम प्रतिस्पर्धीले सहभागिता जनाएका कारण गायन विधाका थप ७ जनालाई अगाडि लगिएको हो । प्रतिस्पर्धीहरुलाई आफ्नो कतारी आइडी, फोटोसहित सहभागिता शुल्क लिएर शुक्रबार बिहान ११ बजे सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टमा उपस्थित हुनका लागि आयोजकले आग्रह गरेका छन् । प्रतिस्पर्धाको गायन विधाका लागि वीरेन्द्र श्रेष्ठ, गुञ्जन तामाङ र मंगल बिक निर्णायकका रूपमा रहेका छन् भने नृत्य विधामा भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगर निर्णायकको रूपमा रहेका छन् ।
कार्यक्रममा अतिथि निर्णायकका रूपमा गैरआवासीय नेपाली संघका उपमहासचिव प्रविन गुरुङ रहने भएका छन् । ‘नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं’ भन्ने मूल नाराको साथ कतारमा हुन लागेको गैरआवासीय नेपाली तारा सिजन ४ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजना गर्न लागिएको हो । फिनालेका लागि निर्णायकहरू सम्बन्धित विधाका नेपालबाट ल्याइने र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई कतार ल्याइने भएको छ ।
दोस्रो, तेस्रो र ग्राण्ड फिनालेका लागि स्थान र समयका बारेमा एक हप्ता अगाडि सूचनामार्फत जानकारी गराइने भएको छ । गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कार्यक्रमबाट भएको मुनाफाको ६५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने आयोजकले जानकारी दिएको छ । यसभन्दा अगाडि सन् २०१०÷११ र १५ मा सफलतापूर्वक प्रतियोगिता सम्पन्न भइसकेको अवस्थामा सिजन ४ पनि भव्यरूपमा सम्पन्न हुने विश्वास आयोजकको रहेको छ । मध्यान्ह राष्ट्रिय दैनिक उक्त प्रतियोगिताको सञ्चार सहयोगीका रूपमा रहेको छ ।
गायन विधामार्फत पहिलो अडिसनमा पुगेका कलाकारहरुमा अनमोल श्रेष्ठ, उत्तम राई, नन्द बहादुर विक, अक्षय लिम्बू, अनमोल ढकाल, भीम कार्की, अशोक गुरुङ, विनीता राई, बुद्धसिंह लामा, चित्र थापा, एकराज लिम्बू, गौतम सामी लिम्बू, हरिचन्द्र नेपाली, ईशान रेग्मी, जोन विक, किरण विक, क्षितिज तामाङ, लक्ष्मी दास, लक्ष्मी कार्की, लोकेन्द्र दूतराज, मान सिंह परियार, मिलन राई, असलमान राई, रमेश विक, खगेन्द्र तामाङ, राजकुमार मगर, राम विश्वकर्मा (रामबाबु), राम सानु, रश्मि विक, समीर साङदेम्वा लिम्बू, सरला तामाङ, सुजन गुरुङ, सुजन केसी, सुनिल लिम्बु, सुरेश राजवंशी, सुनिल थापा, रुष्तम तामाङ, राजन पाण्डे, सम्झना राई, विजय राजपाटी, सानो बाबु तामाङ, सञ्जय विक, प्रविन रामदाम, रोशन बाबु, बद्री देवकोटा, मालती लामा र दीपक घले रहेका छन् ।
यस्तै नृत्य विधामार्फत पहिलो अडिसनमा पुगेका कलाकारहरुमा सौजन चहार, जुनु माया कुमाल, झरना राई, सविना राई, सरस्वती परियार, दिया सिंह, जीवन राई, सुनिता शेर्पा, आस कुमारी चौधरी, रेखा मगर, ललिता लामा, अमित राई, शिला गुरुङ, रितु चौधरी, निरु श्रेष्ठ, रितु वाइबा लामा, शान्ति वली, जिया हमाल, अनुजा चौधरी, शर्मिला घर्ती र सरोज तामाङ रहेका छन् ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : गैरआवासिय नेपाली संघ कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा हुन लागेको 'गैरआवासीय नेपाली तारा सिजन ४'का लागि अतिथि निर्णायकहरूको टुंगो लाग्न थालेको छ। शुक्रबार हुने पहिलो अडिसनमा अतिथि निर्णायकका रुपमा गैरआवासीय नेपाली संघका उपमहासचिव प्रविन गुरुङलाई जिम्मेवारी दिइएको छ ।
संघको संस्कृति र सम्पदा विभागका संयोजकमा मनोनीत भयसँगै गुरुङ निर्णायकका रूपमा चयन भएका हुन् । गुरुङलाई कलाप्रेमी सामाजिक व्यक्तिका रूपमा चिनिन्छ । उनले यसअघि नै विभिन्न प्रतिस्पर्धाहरुमा निर्णायकको जिम्मेवारी निर्वाह गरिसकेका छन् । कतारमा सफल सांगीतिक कार्यक्रम आयोजकका रूपमा परिचित उनले नेपाल आइडलको ग्रान्ड फिनाले, भोइस अफ नेपालको ग्रान्ड फिनाले सम्पन्न गरिसकेका छन् । उनले बुगीउगी, एनआरएनए ग्लोबल सिंगिङ आइडल, एनआरएनए दि सिंगर कार्यक्रमको आयोजक तथा कार्यक्रम संयोजकका रूपमा जिम्मेवारी पूरा गरिसकेका छन् ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दो खेलको प्रतिनिधित्व गर्दै उनले एनआरएनएको झण्डा फहराउँदै विभिन्न पदक जित्ने कार्यमा सफल संयोजक भएर काम गरेका छन् । गुरुङले नेपालको महाभूकम्प, हावाहुरी, बाढी पहिरो, कोभिड–१९ लगायत दैवी विपत्तिको समयमा स्वयं उपस्थित भएर गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अस्थायी तथा स्थायी बासस्थान, खाद्यान्न, स्वास्थ्य सामग्रीसहित विभिन्न राहत सामग्री वितरणलगायतका दर्जनौं सामाजिक कार्य गर्दै आइरहेका छन् ।
'नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं' भन्ने मूल नाराको साथ कतारमा गायन र नृत्य विधामा हुन लागेको गैरआवासीय नेपाली तारा सिजन ४ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजना गर्न लागिएको हो । दोस्रो चरण २२ डिसेम्बर, तेस्रो चरण १२ जनवरी २०२४ र ग्राण्ड फिनाले २ फेब्रुअरी २०२४ मा सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।
काठमाडौं : कवि सयपत्री थुलुङको कविता कृति ‘गाउँ फर्किरहेको परदेशी’को काठमाडौंमा लोकार्पण सम्पन्न भएको छ । सम्भव समूहको आयोजनामा मण्डला थिएटरमा साहित्यकार कवि सयपत्री थुलुङको कविता कृति लोकार्पण गरिएको हो ।
संखुवासभाकी कवि थुलुङ विगत डेड दशकदेखि साहित्य सिर्जनामा क्रियाशील छिन् । २०७० सालमा ‘शान्तिको फूल’ गजलसंग्रह प्रकाशन गरेकी थुलुङले एक दशकपछि दोस्रो कृतिका रूपमा कवितासंग्रह पाठकसामु ल्याएकी हुन् ।
कार्यक्रमका वक्ताहरू वरिष्ठ कवि श्रवण मुकारुङ, कवि ज्योति जंगल र कवि उत्तम तुम्सा लिम्बू रहेका थिए । कवितासंग्रहका बारेमा बोल्दै कवि उत्तम तुम्साले भने, ‘कविता लेखनको आ–आफ्नै पक्ष हुन्छ । गाउँ फर्किरहेको परदेशी अनुभूतिको गर्भबाट निस्किएको एउटा सफा संग्रह हो ।’
त्यस्तै पुस्तकका बारेमा बोल्दै कवि ज्योति जङ्गलले प्रेमको मसिले लेखिएको यो संग्रह आशा र आत्मबलको बाटो देखाइरहेको राम्रो पुस्तक बनेको बताइन् । देश, प्रेम र राज्यसत्तामाथि शान्ति सौहार्दताको वातावरण बनाइराख्नुपर्ने कृतिमा जिकिर गरिएको उनले औंल्याइन् ।
वरिष्ठ कवि श्रवण मुकारुङले कुनै सिपालु संगीतकारले चाह्यो भने सबै कवितामा संगीत भर्न सकिने कुरा राख्दै कवि थुलुङलाई अब कविताको यात्रामा बलियो गरी निस्किएको नाक्छोङ्को दोस्रो स्टेपमा पुगिसकेको बताए ।
कार्यक्रममा कवि मिथोच र रंगकर्मी नुसा लिङ्देनले संग्रह भित्रका एक–एक वटा कविता वाचन गरेका थिए भने कवि स्वयंले एउटा कविता वाचन गर्दै आफूलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेकी थिइन् ।
प्रदिप ज्ञवाली/मध्यान्ह
सैनामैना : रुपन्देहीको सैनामैनामा बुधबारदेखि शुरु भएको छैटौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सवको सांस्कृतिक कार्यक्रमतर्फ दर्शकहरुको आकर्षण उल्लेख्य मात्रामा बढ्दै गएको छ । महोत्सवमा कलाकारहरुको प्रस्तुति हेर्न दर्शकहरु झुम्मिने गरेका छन् भने त्यसले महोत्सवमा सांस्कृतिक आकर्षणसमेत थपेको छ ।
महोत्सवको क्रममा आयोजित मम्मी डान्स प्रतियोगिता, सैनामैना डान्सिङ आइडल, भजन प्रतियोगिता, र्याप प्रतियोगिता, नगरविद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, जिल्लास्तरीय दोहोरी गीत प्रतियोगिता, स्थानीय कलाकारको प्रस्तुति र स्थानीय कला संस्कृतिको प्रस्तुतिले महोत्सवमा पृथक आकर्षण थपेको छ ।
महोत्सवका क्रममा शनिबार लोक गायक पशुपति शर्माले सैनामैनाका दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । पशुपति शर्माको प्रस्तुतिमा दर्शकहरु साँझ अबेरसम्म झुम्मिएका थिए । त्यसैगरी महोत्सवकै क्रममा आइतबार चर्चित गायक दुर्गेश थापाको प्रस्तुति रहने महोत्सवको सांस्कृतिक संयोजक कृष्ण पोखरेलले बताए । त्यसैगरी लोकगायक दिपक गरौजा र गायिका विष्णु श्रीपालीको समेत प्रस्तुति रहने छ । सोमबार चर्चिय गायक चन्द्र शर्मा र खेम सेञ्चुरी एवम् गायिका रीतु शाहीलगायतले प्रस्तुति दिने छन् ।
महोत्सवकै क्रममा आयोजित मम्मी डान्स प्रतियोगितामा बुटवल तामनगरकी मेनुका राई प्रथम हुँदै नगद १५ हजार रुपैयाँ पुरस्कार हात पारेकी छिन् । त्यसैगरी देवदह चरंगेकी एली बुढा मगर दोस्रो हुँदै १० हजार र सैनामैना सालझण्डीकी निलकुमारी रास्कोटी तृतीय हुँदै नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको मम्मी डान्स प्रतियोगिताकी संयोजक सिता क्षेत्रीले जानकारी दिइन् ।
‘आर्थिक विकासको राष्ट्रिय आधारः कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सवले सैनामैनासँगै यस क्षेत्रको उद्योग व्यापार र लोक संस्कृति संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ ।
सैनामैना नगर क्षेत्रमा लगानीको अवसर सिर्जना गर्न तथा कृषि, पर्यटन उद्योग व्यापारको प्रवर्द्धन, धार्मिक एवम् सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न महोत्सवले सघाउ पुग्ने आयोजकले विश्वास लिएका छन् ।
महोत्सव मूल आयोजक समितिका संयोजक तथा सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्काले महोत्सवको सांस्कृतिक कार्यक्रमले दर्शकहरुलाई छुट्टै मनोरञ्जन प्रदान गर्नुका साथै स्थानीय कला संस्कृतिको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी आयोजक समितिका सदस्य सचिव तथा संघका महासचिव लोकनाथ अधिकारीले महोत्सवबाट उद्योग व्यापारको प्रवर्द्धन, धार्मिक एवम् सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
महोत्सवका अवसरमा सैनामैनाभित्र रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार, पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी, सैनामैनाको पर्यटकीय सम्भावनाबारे गोष्ठी तथा अन्तरक्रिया लगायतका कार्यक्रम आयोजना गरिने भएको छ । महोत्सव साढे ३ लाख दर्शकले अवलोकन गर्ने तथा ५ करोड बढीको कारोबार हुने अपेक्षा राखिएको आयोजकले जनाएको छ ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नुवाकोट सेवा समाज कतारले बडादशैं, दीपावली, नेपाल संवत् एवम् छठ पर्वको अवसरमा आयोजना गरेको ‘नुवाकोट सांगीतिक साँझ–२०२३’ भव्यरूपमा सम्पन्न भएको छ । समाजको कोष अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा आफ्नो सांगीतीक प्रस्तुति दिन नेपालबाट आमन्त्रित म्हेन्दोमाया कलाकार सौराम तामाङले म्हेन्दोमाया तथा सेलो भाकाका आधा दर्जन गीतहरू पस्किएका थिए ।
लोक तथा दोहोरी गायिका अमृता श्रीपाल ‘देउरालीलाई भेटी’ गीत गाउँदै स्टेज उक्लिएकी थिइन् । उनले फुलको थुङ्गा, घुम्तीघुम्ती रोड, डाँडा घरे साइँली, पञ्चेबाजालगायतका गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरिन् । कार्यक्रमको अन्त्यतिर स्टेज चढेका काठे भाकाका राजा मानिने नुवाकोटे गायक सरोज लामिछानेले मुसौरी, कहाँ होला र सुन जस्तो पित्तल, धानको बाला लसरी पसरी, हे मेरो सानु, कोठा भाडा तिर्दिने मै होनि, बदाम खाको सुन्तला छोडाकोलगायतका गीतहरू गाए ।
कतारमा रहेका गायक सूर्य लामा, सानुबाबु तामाङ, रामजी थापा मगर, राजन थोकर तामाङ, बद्री प्रसाद देवकोटा, रोशनी हिम्डुङ तामाङ, गुना मगर निशु, पुकार थापा लगायतका कलाकारहरूले प्रस्तुति दिएका थिए । समाजका अध्यक्ष दीपेन्द्र घले लामाको सभापतित्व तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भट्टले छोटो समयमा पनि सबै प्रक्रिया पूरा गर्दै तोकिएकै समयमा कार्यक्रम गर्न सफल भएकोमा समाजलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रमको समापन गर्दै सभापति लामाले कार्यक्रम सफल बनाउन उपस्थित सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रमलाई बिट मारेका थिए । समाजका महासचिव विकास तामाङले सहजीकरण गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हिरा तामाङले स्वागत मन्तव्य राखेका थिए । नेपालबाट आमन्त्रित कलाकारहरूलाई आयोजक र सिन्धुपाल्चोक सेवा समाजले मिलेर मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए भने प्रमुख अतिथि भट्ट र गायिका गुना मगर निशुलाई आयोजकले सम्मान पत्रद्वारा सम्मान गरेको थियो ।
काठमाडौं : नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच शेयर बाँडफाँडको विषयमा सहमति भएको छ । नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघले गठन गरेको वार्ता टोलीको बिहीबार बसेको बैठकमा दुवै संस्थाले ५०, ५० प्रतिशत शेयर बाँडफाँड गर्ने सहमति जुटेको हो ।
चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार फिल्म ‘दिमाग खराब’ रिलिज भएको मिति कात्तिक २४ गतेदेखि नै यो व्यवस्था लागू गर्न दुवै पक्ष सहमत भएका हुन् । अब नेपाली फिल्मले हलमा प्रदर्शन हुञ्जेल ५० प्रतिशत शेयर पाउनेछन् ।
यसअघि प्रदर्शनको पहिलो र दोस्रो हप्ता प्रदर्शक र निर्माताले ५०/५० प्रतिशत सेयर बाँडफाँड गर्थे । तर तेस्रो हप्तादेखि निर्माताले जम्मा ३५ प्रतिशत र प्रदर्शकले ६५ प्रतिशत सेयर पाउँथे ।
‘दिमाग खराब’का निर्माताले फिल्म हलमा चलुन्जेल ५० प्रतिशत सेयर नपाए प्रदर्शन नै स्थगित गर्ने चेतावनी दिएका थिए । यसपछि संघले फिल्मका निर्मातासँगै चलचित्र निर्माता संघसँग सेयर बाँडफाँडको विषयमा छलफल गर्न वार्ता टोली नै गठन गरेको थियो । तीन दिन लामो छलफलपछि नेपाली फिल्मलाई ५० प्रतिशत सेयर दिने विषयमा सहमति जुटेको हो ।
शेयर बाँडफाँडसँगै चलचित्र संघ र निर्माता संघबीच अन्य सहमति पनि भएको छ । सहमति अनुसार अबदेखि चलचित्र हलमा लाग्नुअघि नेपाली फिल्मको तीन मिनेटसम्मको ट्रेलर १५ दिनसम्म हलले सित्तैमा बजाइदिनेछ । यसअघि डेढ मिनेटको ट्रेलर मात्रै हलले बजाइदिने गरेको थियो । साथै हलहरुमा पोस्टर लगाउन निर्माताहरुले हल सञ्चालकलाई पैसा तिर्नुपर्ने अवस्था थियो । अबदेखि पोस्टर टाँस्न पनि पैसा तिर्नु नपर्ने भएको छ ।
निर्माता संघको तर्फबाट गठित टोलीमा पूर्व अध्यक्ष तथा सल्लाहकार अशोक शर्माको संयोजकत्वमा उदयकुमार इङ्नाम, दीपकराज गिरी, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, रवीन्द्रसिंह बानियाँ र कृषा चौलागाईं सदस्य रहेका थिए । चलचित्र संघको तर्फबाट गठित वार्ता टोलीमा पूर्व अध्यक्ष राजकुमार पोखरेलको संयोजकत्वमा नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, सुरेन्द्र थापा, प्रज्वल राणा लगायत सदस्य थिए ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नुवाकोट सेवा समाज दोहा कतारद्वारा आयोजित "नुवाकोट सांगीतिक साँझ २०२३" मा आफ्नो प्रस्तुति दिन नेपालबाट आमन्त्रित कलाकार कतार आइपुगेका छन् । समाजको कोष अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा प्रस्तुति दिन चर्चित लोक तथा दोहोरी गायिका अमृता श्रीपाल, काँठे लोक तथा दोहोरी गायक सरोज लामिछाने र म्हेन्दोमाया गायक सौराम तामाङ बुधबार राति कतार आइपुगेका हुन् ।
कलाकारहरूलाई स्वागत गर्नका लागी हमाद विमानस्थलमा समाजका अध्यक्ष दीपेन्द्र घले लामा, महासचिव विकास तामाङसहित समाजका कार्यसमितिका विभिन्न पदका पदाधिकारीलगायतका व्यक्तित्वहरू पुगेका थिए । कलाकार कतार आइपुगेसँगै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष लामाले मध्यान्ह राष्ट्रिय दैनिकलाई जानकारी दिए ।
शुक्रबार साना सिङ्गल नजिकै रहेको ग्रान्ड रिगल होटेलमा दिउँसो १२ बजेदेखि शुरु हुने कार्यक्रममा उपस्थित भएर सँगै रमाउन आमन्त्रित कलाकारहरूले कतारवासी नेपालीलाई आग्रह गरेका छन् । कतारमा रहेका स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने कार्यक्रममा प्रवेशका लागि ५० र १०० रियालको टिकटको व्यवस्था गरीएको समाजका महासचिव लामाले बताए । मध्यान्ह राष्ट्रिय दैनिक उक्त कार्यक्रमको आधिकारिक सञ्चार सहयोगीका रूपमा रहेको छ ।
काठमाडौंः भरतपुर महानगरपालिकाले ‘भिजिट भरतपुर २०२४’ अभियान सञ्चालन गर्ने भएको छ । महानगर र पर्यटन बोर्डद्वारा आज आयोजित ‘सरोकारवाला निकायसँग अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा’ भरतपुरलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको जनाइएको हो ।
महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरलाई पर्यटकीय सहरका रुपमा परिचित गराउन सन् २०२४ लाई भ्रमण वर्षका रुपमा अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । मध्य नेपालको उत्कृष्ट गन्तव्यका रुपमा रहेको चितवनको भरतपुर महानगरपालिका ‘भ्रमण वर्ष’ अभियान सञ्चालन गर्ने पहिलो स्थानीय सरकार रहेको भन्दै यो अभियान महानगरको मात्र नभइ समग्र मुलुकको रहेको बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले प्राकृतिक सौन्दर्यताको पहिचान गरी पर्यटन प्रवर्द्धन गर्न महानगरले चालेको पहल ऐतिहासिक रहेको बताइन् । पर्यटन क्षेत्रको संरक्षण र प्रवर्द्धनमा देखिएका कानुनी बाधालाई समीक्षा गरी समाधानतर्फ मन्त्रालय प्रयासरत रहेको उनको भनाइ थियो ।
‘प्राकृतिक पर्यटकीय गन्तव्यका रुपमा रहेको नेपालका सम्भावित क्षेत्रलाई पहिचान गरी पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्न खोज्नु आफैँमा सुन्दर पक्ष हो । काठमाडौं घुम्न आउने पर्यटक चितवन गन्तव्य बनाउन सक्नुपर्छ’, राज्यमन्त्री ठकुरीले भनिन्, ‘एक क्षेत्रमा आएका पर्यटकलाई अन्य क्षेत्रमा आकर्षित गर्न सक्नेगरी काम गर्नुपर्छ । पर्यटन प्रवर्द्धन गर्न महानगरले चालेको अभियानले भ्रमण वर्षले ऐतिहासिक र सुन्दर चित्र कोरेको छ ।’
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले महानगरले चितवनमा लुकेका गन्तव्यलाई प्रकाश पार्न थालेको ‘भ्रमण वर्ष २०२४’ अभियान उपयुक्त समय रहेको भन्दै यस अभियानलाई सफल पार्न बोर्ड प्रतिबद्ध रहेको बताए ।
महानगरका आर्थिक विकास महाशाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेलले मुलुकको प्रमुख आयस्रोतका रुपमा रहेको पर्यटन क्षेत्रको प्रर्वद्धन र विस्तार गर्न थालिएको अभियान प्रभावकारी हुने बताए । यहाँका सम्भावित स्थानको प्रसारप्रचार गरी पर्यटक भित्राउन सकिनेमा उनले जोड दिए ।
महानगरका पर्यटन विज्ञ सल्लाहकार डा. विश्व सुवेदीले आर्थिक समृद्धिको लागि यस अभियान आवश्यक रहेको भन्दै भ्रमण वर्षलाई प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ५२ कार्यक्रम गर्ने निर्णय भएको जानकारी दिए ।
नाटा (नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स) महासचिव कुमार थपलियाले महानगरसँगै चितवनका पर्यटकीय गन्तव्यलाई पनि समेट्नु पर्नेमा जोड दिए । गैरआवासीय नेपाली सङ्घका उपमहासचिव सोम सापकोटाले भरतपुरका साथै समग्र मुलुकको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग समन्वय गरी ईन्टरनेटको माध्यमबाट प्रसारप्रचार गर्नुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, पर्यटन समितिका उपसभापति अचुत गुरागाइँले पर्यटन बोर्डमा भएको बजेट कार्यान्वयन गर्न कार्यविधि नहुँदा पर्यटन क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्न नसकिएको बताए । ‘विश्व सम्पदा सूचीमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्धार, विविध प्राकृतिक सम्पदाले समृद्ध महानगर भरतपुर हो’, उनले भने, ‘यहाँको सांस्कृतिक अनेकता, भौगोलिक विविधता, प्राकृतिक भू–बनोटलगायत आधारले पर्यटनको प्रमुख गन्तव्यका रुपमा विस्तार गर्न सकिने देखिएको छ ।’
पर्यटन प्रवर्द्धनका लागि सन् २०२४ लाई ‘घुमौँ भरतपुर’ नाराका साथ भरतपुर भ्रमण वर्ष अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ । महानगरका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने, प्राकृतिक, सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक सम्पदाको प्रचारप्रसार गरी पर्यटकको सङ्ख्या र बसाइँ अवधि वृद्धि गर्ने उद्देश्यले महानगरले निजी क्षेत्रसँग सहकार्यमा पहिलो पटक अभियान सञ्चालन गर्न लागिएको महानगरका उपप्रमुख अधिकारीले जानकारी दिए ।
भ्रमण वर्षमा अन्तर्राष्ट्रिय सफारी मार्ट, लगानी सम्मेलन, हेरिटेज म्याराथन, सरकार एवं सम्वद्ध पक्षको बैठक तथा भेला, जङ्गल फेस्टिवल, युवा तथा महिला सम्मेलन, साहित्यिक कार्यक्रम, र्याली, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार, ट्राभल एजेन्सी तथा टुर अपरेटरको सम्मेलन, विज्ञ समूहसहितको कार्यशाला गोष्ठी, खेलकूद प्रतियोगिता, पर्यटन तथा वातावरणसँग सम्वद्ध दिवस, जातीय सांस्कृतिक कार्यक्रम, प्रदर्शनी तथा फुड फेस्टिवललगायत क्रियाकलाप निरन्तर आयोजना गरिने आज आयोजित कार्यक्रममा जानकारी गराइएको छ ।
काठमाडौंः केही समयसम्म चलचित्रबाट टाढा रहेकी अभिनेत्री रेखा थापा पुनःचलचित्र उपहारमार्फत निर्माण र अभिनयमा सक्रिय भएकी छिन् । केही समय राजनीति र घर गृहस्थीमा व्यस्त भएकाले कलाकारितामा निरन्तरता दिन नपाएको उनले बताइन् ।
‘म चुनावको क्रममा घुम्दा पनि दर्शकले पर्दामा नदेखिएको धेरै भयो, नयाँ चलचित्र कहिले हेर्न पाइन्छ ? भन्ने जिज्ञासा राख्नुहुन्थ्यो । म विविध कारणले केही समय विश्राममा रहे पनि अलग भने भएको थिइन्’, अभिनेत्री थापाले भनिन् ।
उनले आफू चिनिएको चलचित्रकर्मबाट आउँदा दिनमा पनि लामोसमय नटाढिने बताइन् । उपहार चलचित्रमा अभिनेत्री थापासँगै पूजा शर्मा, बेनिषा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पणजङ्ग कार्की, शिशिर राणा, सुष्मा कार्की, अंशु महर्जन, विनोदकुमार पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । उनले अभिनेत्री थापासँग लामो समयदेखि काम गरिरहेको स्मरण गर्दै चलचित्रमा तीन अभिनेत्रीलाई मुख्य पात्रका रुपमा प्रस्तुत गरेको बताए ।
रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र फागुन २५ गते प्रदर्शन तय भएको छ । चलचित्र वितरण काठमाडौं उपत्यकामा करण श्रेष्ठ र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।
काठमाडौंः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेडियो र टेलिभिजनमा आबद्ध महिला पत्रकारको छाता संस्था ‘इन्टरनेसनल एसोसिएसन अफ वमन इन रेडियो एन्ड टेलिभिजन (आइर्वाट)’ले अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ ।
महिला निर्देशकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यही मङ्सिर ९ गते महोत्सवको तेस्रो संस्करण आयोजना गर्न लागिएको महोत्सवकी निर्देशक सङ्गीता श्रेष्ठले जानकारी दिइन् । ‘चलचित्र क्षेत्रलाई आफ्नो रचनात्मक सिर्जनाबाट संसारभरि चिनाउन सक्ने सशक्त महिला निर्देशक हामी कहाँ छन् । तर सामाजिक दृष्टिकोण, कम प्राथमिकता र अवसर तथा प्रोत्साहनको कमीले यो क्षेत्रमा महिला निर्देशकको उपस्थिति कम देखिन्छ । यस्ता महोत्सव उहाँहरूलाई उपयोगी हुनाका साथै अवसर हुन् सक्छन्’, उनले भनिन् ।
आइर्वाटका नेपाल च्याप्टरकी अध्यक्ष इच्छा गुरुङले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइन् । नेपाल चलचित्र विकास बोर्डको सभाहलमा महोत्सव आयोजना गरिने छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला चलचित्र निर्देशकको सहभागिता जनाउने तथा नेपाललगायत विभिन्न देशका महिला निर्देशकले निर्देशन गरेका चलचित्र प्रदर्शन गरिने छन् । महोत्सवमा नेपाली लघुचलचित्र प्रतिस्पर्धाका विजेतालाई ‘अवार्ड’ प्रदान गरिने छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies