
अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जिल्लामा सरकारी र निजी सम्पत्तिमा आगो लगाउनेहरुको पहिचान भएकोले त्यस्ता व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।
नेकपा एमाले अर्घाखाँची जिल्लाले शनिबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघीय सरकारले विकास रोक्का गर्दा चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट कार्यान्वयनमा समस्या परेकोले प्रदेश सरकार गम्भीर बनेको बताए ।
सडक पूर्वाधार, शहरी विकास, खानेपानी लगायत जनतासँग प्रत्यक्ष जोडिएका आयोजनामा विनियोजित बजेट संघीय सरकारले रोक्का गरेकाले काम अघि बढ्न नसकेपनि प्रदेश सरकारले विकास निर्माणका कामहरु निरन्तर अगाडि बढाएको उनको भनाइ छ । आचार्यले भने,‘संघीय सरकारले बजेट रोक्का गर्दा शहरी विकास, खानेपानी, सडकका कामहरू रोकिएका छन् । आज काम नगर्ने भनिएको छ । अर्घाखाँची जिल्लाको विकासको गति अहिलेको संघीय सरकारले कहाँ पुयाउँदैछ ?, देशको विकास के हुँदैछ ?, यो विषयमा जवाफदेहिता हुनुपर्छ कि पर्दैन ? यसको जिम्मेवारी आन्दोलन गर्नेले लिनु पर्दैन ?’ मुख्यमन्त्रीले प्रश्न गरे ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको तर्फबाट अर्घाखाँची जिल्लामा धेरै कामहरू भइरहेको उल्लेख गर्दै आगामी दिनमा उपलब्ध साधन स्रोतको सदुपयोग गरी जनताको आकांक्षा पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।
मुख्यमन्त्री आचार्यले भने,‘केही व्यक्तिहरूले सरकारी कार्यालयहरूमा पुगेर धम्कीपूर्ण व्यवहार देखाउने जस्ता अराजक गतिविधि गरिरहेका छन् । प्रशासन मुखदर्शक बनेको मैले पाएको छु । सरकारी कार्यालयमा समस्या भएमा सिडिओले कारबाही गर्ने हो । अब सरकारी कार्यालयमा यस्तो देख्न नपरोस्। म तपाईं सुरक्षा प्रमुखहरूलाई स्पष्ट निर्देशन दिन चाहन्छु ।’
उनले थपे, ‘निश्चित व्यक्तिका समूहहरू आज कार्यालय–कार्यालय गएर कर्मचारीलाई तेजोवध गर्ने शैलीमा धम्क्याउने र थर्काउने काम भइरहेको छ । अबिलम्ब त्यसलाई रोक्न निर्देशन दिन चाहन्छु। यस्तो गर्न कसैलाई पनि छुट छैन । कर्मचारीको मनोबल घटाउने अधिकार कसैलाई पनि छैन। यो कार्य तुरुन्त रोकिनु आवश्यक छ ।’
आचार्यले आपसी भाइचारा र सम्बन्ध कायम राख्दै आएको सामाजिक सद्भावलाई अक्षुण राख्न सबै राजनीतिक दल, नागरिक समाज र संघसंस्थाका प्रतिनिधिलाई सहयोग गर्न आग्रह गरे ।
मुख्यमन्त्री आचार्यले कात्तिम १० गते एमाले अर्घाखाँचीले संविधान संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि सद्भाव ¥यालीको आयोजना गर्न लागेको जानकारी दिँदै सो कार्यक्रममा सबैलाई सहभागी हुन आह्वान गरे ।
कार्यक्रम एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालको अध्यक्षता तथा मुख्यमन्त्री एवम् पार्टीका केन्द्रीय सदस्य चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान), नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुरकुमार विक (किशोर), राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर विसी, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा नेकपा एमालेका प्रदेश स्तरका नेताहरु प्रदेश सदस्य रामजी प्रसाद घिमिरे, नेत्र प्रसाद अधिकारी, नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठ, नेकपा एमालेका केन्द्रीय सल्लाहकारहरु नरेन्द्रकुमार क्षेत्री, जनार्दन खनाल, जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, नेपाल निर्माण व्यवसायी संघका सहअध्यक्ष तथा एमालेका युवा नेता कबिराम खनाल, उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप मिश्र, एमाले युवानेताहरु सिद्धिप्रसाद भुसाल, सरोज भुसाल, लक्ष्मण पराजुली, नारायण बस्याल, पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई, भूमिकास्थान उप–प्रमुख बालकृष्ण बञ्जाडे तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।