
सुवास दर्नाल/रासस
सोलुखुम्बु : “पानी र हिमालको छायासँगै बाटो हरायो, मोबाइलमा सिग्नल थिएन, वरिपरि कुहिरो मात्र थियो । हामीले हेर्ने आकाश पनि हरायो ।” ओखलढुंगाका डेनिस मगरले यसरी यर्थाथ सुनाए । सोलुखुम्बुको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल दुधकुण्ड पुग्ने क्रममा मगरसहितको टोली करिब १० घण्टा बेपत्ता भएका थिए ।
गत सोमबार सल्लेरीबाट हिँडेको मगरसहितको एक टोली सोलुदुधकुण्ड नगरपालिका-१ कै कामोडाँडा क्षेत्र पार गर्दै दुधकुण्डतर्फ लाग्दै थियो । बिहानै उकालो लागेका उनीहरू पदमार्गको दोबाटोमा पुगेपछि गलत दिशातर्फ हिँडे । केही समयपछि बाटो भिरको टुप्पोमै हरायो । मोबाइल सिग्नलसमेत हराएसँगै टोली नै कामोडाँडाभन्दा माथिल्लो क्षेत्रमा बेपत्ता भयो ।
स्थानीय होटेल व्यवसायी मिलन कार्की भन्छन्, “सांकेतिक बोर्ड र दिशानिर्देश नभएपछि पर्यटकले गलत बाटो समात्ने समस्या बढ्दै गएको छ ।” भौगोलिक कठिनाइ र कमजोर सञ्जालका कारण खोज तथा उद्धारमा स्थानीयलाई निकै कठिनाइ भएको थियो । स्थानीय पर्यटन व्यवसायी र युवाहरूको सहयोगमा मगर र उनका साथीहरूको करिब १० घण्टापछि उद्धार गर्न सफल भयो । दुधकुण्ड क्षेत्रमा पर्यटकहरू हराउने गरेको घटना सामान्य बन्दै गएको छ । पछिल्ला वर्षहरूमा दुधकुण्ड क्षेत्रमा बाटो भुल्ने, हराउने र उद्धारमा ढिलाइ हुने घटना बारम्बार भइरहेको स्थानीय बताउँछन् ।
दुधकुण्ड पुग्ने मुख्य पदमार्गमा पर्ने तीन हजार ८६० मिटर उचाइमा अवस्थित कामोडाँडा यस्ता घटनाको केन्द्रबिन्दु बनेको छ । यहीँबाट बायाँतर्फ मोडिनुपर्ने बाटो नै दुधकुण्ड पुग्ने मुख्य मार्ग हो । तर कतिपय स्वदेशी तथा विदेशी पर्यटक सो मोड थाहा नपाएर लुक्ला जाने बाटोतर्फ उकालो लाग्ने गर्छन् ।
त्यसपछि उनीहरू घण्टौँसम्म जंगल र भिरालो भूभागमा भतारिन्छन् । “पदमार्गमा स्पष्ट देखिने कुनै संकेत छैन । कुन बाटो कुन ठाउँ जान्छ भन्ने थाहा नहुने भएकाले धेरैजसो भ्रमणकर्ता बाटो भुल्छन्”, स्थानीय पर्यटन व्यवसायी फुर्वा शेर्पाले भने ।
कमजोर नेटवर्क
दुधकुण्ड क्षेत्र हिमालको फेदमा पर्ने भिरालो भूगोलमा पर्छ । यहाँ टेलिफोन सञ्जाल अत्यन्त कमजोर छ । भिरालो बाटो, हिउँले ढाकिएको पदमार्ग, कुहिरो र हावाका कारण दृश्य कम हुने भएकाले पर्यटकहरूलाई दिशा पत्ता लगाउन गाह्रो हुन्छ ।
स्थानीय मिंमर शेर्पा भन्छन्, “कसैले हरायो भने तुरुन्त खोजी सुरु गर्न सकिँदैन । नेटवर्क नै नचल्ने ठाउँ छ । उद्धारका लागि मानिस पैदलै हिँड्नुपर्छ ।” भौगोलिक कारणले सञ्चार सम्पर्क कमजोर हुँदा उद्धारमा कठिनाइ हुने गरेको स्थानीय जानकारहरू बताउँछन् । “दुधकुण्ड पुग्ने बाटो अत्यन्त कठिन छ । हिँड्दा लाग्छ हिमाल बोल्दै छ, तर बाटो देखिँदैन । बाटोमा कुनै जानकारीमूलक बोर्ड छैन ।” सुनसरीको धरानबाट दुधकुण्ड पुगेका भक्तजन भविस्वर साम्पाङले भने ।
नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष टिआर सेनेहाङले भने, “दुधकुण्ड धार्मिक मात्र होइन, अन्तरराष्ट्रि यस्तरको ट्रेकिङ र अध्यात्मिक केन्द्र बन्न सक्ने सम्भावना बोकेको गन्तव्य हो । तर सम्बन्धित निकायले अझै प्राथमिकता दिएको छैन ।” धनकुटाका अमृत पौडेलले भन्छन्, “हामी दुधकुण्ड पुगेका थियौँ, तर बाटोमा बोर्ड नभएका कारण करिब छ घण्टा जंगलतिर भुल्यौँ । अहिले पनि यस्तो अवस्थामा पर्यटक हिँड्नुपर्ने ?”
दुधकुण्ड: दूधजस्तो सेतो ताल र आस्थाको केन्द्र
समुद्री सतहबाट चार हजार ७०० मिटर उचाइमा अवस्थित दुधकुण्ड सोलुदुधकुण्ड नगरपालिका–१ मा पर्दछ । यो ताल नुम्बुर हिमाल (६,९५८ मिटर)को फेदमा रहेको छ । जसलाई स्थानीयले ‘नुम्बुर हिमाल माताको काख’ भन्छन् । यहाँको कुण्डमा दूधजस्तो सेतो पानी भएकाले यसलाई ‘दुधकुण्ड’ नाम दिइएको हो । प्रत्येक वर्ष जनै पूर्णिमा पर्वका समयमा हजारौँ भक्तजन यहाँ पुग्छन् । धार्मिक विश्वासअनुसार यो तालमा स्नान गर्दा पाप नाश हुने, मनोकामना पूरा हुने र आत्मा शुद्ध हुने जनविश्वास छ । हिन्दु, बौद्ध र किरात धर्मावलम्बी सबैका लागि यो स्थान पवित्र मानिन्छ । दुधकुण्ड केवल प्राकृतिक दृश्य होइन, यो आस्थाको प्रतीक, श्रद्धा र प्रकृतिको मिलन स्थल हो ।
नुम्बुर हिमाल हाल खुला आरोहणका लागि अनुमति दिइएका हिमालहरूमध्ये एक प्रसिद्ध हिमाल हो । यस हिमालमा गत कात्तिक ५ गते तीन विदेशी आरोहीले पहिलो पटक सफलतापूर्वक आरोहण गरेका छन् । सेभेन समिट ट्रेकका इटालियन नागरिक हर्भ, जर्मन फेलिक्स र पोल्याण्डका आडमले १५ घण्टाको आरोहणपछि सफलतापूर्वक शिखर चुमेका हुन् । नेपाल पर्यटन बोर्डका अनुसार यो आरोहणले दुधकुण्ड क्षेत्रलाई अन्तर्राष्ट्रिय ट्रेकिङ गन्तव्यका रूपमा चिनाउने नयाँ ढोका खोलिदिएको छ ।
स्थानीय पर्यटन व्यवसायी फुर्वा शेर्पा भन्छन्, “नुम्बुर हिमाल, दुधकुण्ड र वरिपरिको ग्रामीण जीवनशैली एकसाथ अनुभव गर्न सकिने गन्तव्य विश्वमै दुर्लभ छ । यसलाई व्यवस्थित गर्नसके सोलुखुम्बु अर्को ‘पवित्र ट्रेकिङ सर्किट’ बन्न सक्छ ।”
सोलुदुधकुण्ड नगरपालिकाले केही वर्षअघि दुधकुण्ड पुग्ने पदमार्गमा लगानी गरेको थियो । तर त्यसपछि सूचना–सांकेतिक प्रणाली, उचाइ जानकारी, सुरक्षा चेकपोस्टजस्ता आवश्यक पूर्वाधार निर्माण हुन सकेको छैन । नगर उपप्रमुख गान्धीमाया तामाङ भन्छिन्, “नगरपालिकाले पदमार्ग स्तरोन्नति र प्रचारमा ध्यान दिइरहेको छ । तर विस्तृत पर्यटन नक्सा र सङ्केत प्रणाली बनाउनतर्फ भने ध्यान जान सकेको छैन ।”
उनका अनुसार यसै आर्थिक वर्षभित्र ‘दुधकुण्ड पर्यटन प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत संकेत बोर्ड र पर्यटन सूचना केन्द्र स्थापना गर्ने योजना अघि बढाइएको छ । तर स्थानीय पर्यटन उद्यमीहरूका अनुसार योजनालाई कार्यान्वयनमा ढिलाइ हुँदा परिणाम देखिँदैन ।
दुधकुण्ड क्षेत्रले स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने क्षमता बोकेको छ । यहाँको पर्यटनले स्थानीय होटेल, ढाबा, यातायात र हस्तकला उद्योगलाई प्रत्यक्ष फाइदा पुर्याउन सक्छ । तर असुरक्षित पदमार्ग र सूचना अभावका कारण कतिपय पर्यटक बीचैबाट फर्किन्छन् । यदि स्थानीय सरकार र निजी क्षेत्रले संयुक्त रूपमा लगानी गरे यस क्षेत्रले धार्मिक-पदयात्रा पर्यटन र हिमाली ट्रेकिङ दुवैलाई जोड्ने राष्ट्रिय गन्तव्य बन्न सक्ने पर्यटन व्यवसायी बल दर्नालको भनाइ छ ।
तीन तहको सरकार, एउटै दृष्टिकोण आवश्यक
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा भन्छन्, “दुधकुण्ड सर्किट ट्रेक हिमाल, ताल र संस्कृति । यी तीनै तत्वलाई एकसाथ देखाउने दुर्लभ गन्तव्य हो । यसको प्रवर्द्धनका लागि संघ, प्रदेश र स्थानीय सरकार एउटै दृष्टिकोणमा उभिनुपर्छ ।”
यस क्षेत्रलाई व्यवस्थित गर्नका लागि स्थायी संकेत बोर्ड, आपत्कालीन उद्धार केन्द्र र नियमित गाइड तालिम अपरिहार्य छन् । दुधकुण्ड केवल एउटा ताल होइन । यो नेपाली पहिचान र आस्थाको हिमाली प्रतीक हो । यसको संरक्षण र व्यवस्थापन हाम्रो सामूहिक जिम्मेवारी हो ।
यदि समयमै संकेत बोर्ड, सुरक्षा पूर्वाधार र सञ्चार सञ्जालमा सुधार गरिए यो हिमाली भूभाग केवल पर्यटकको चुनौती होइन आस्थाको यात्राको गौरवशाली गन्तव्य बन्न सक्छ । यसको विकासमा सबै तहको सरकार र निजी क्षेत्रको समेत चासो हुने हो भने जिल्लाको मात्र नभई देशकै अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने निश्चित रहेको पर्यटन व्यवसायी आङ फुर्वा शेर्पाले बताउनुभयो । दुधकुण्डको विकासका लागि विशेष खाका तयार गरेर अघि बढ्न सक्ने हो भने स्वदेशी तथा विदेशी धार्मिक तथा दृश्यावलोकन गर्ने पर्यटकलाई एकै स्थानमा उतार्न सकिने स्थानीय जानकारहरूको तर्क छ ।