काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाले मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी लिएको १० दिनमै काठमाडौंको मध्य शहर तीनकुनेमा हिंसात्मक घटना भयो । पूर्वराजा ज्ञानेन्द्र शाहका पक्षधरले गरेको आन्दोलन एकाएक हिंसात्मक बन्दा आईजीपी थापाको व्यवस्थापकीय पक्ष कमजोर रहेको आरोसहित उनलाई ‘अक्षम आईजीपी’को पगरी गुथाइएको छ ।
४ चैतमा आईजीपीको नियुक्ति लिएका थापाले ५ चैतदेखि ३१औं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनी प्रहरी प्रमुख भएपछि गत १५ चैतमा एकै दिन २ वटा ठूला राजनीतिक आन्दोलनका कार्यक्रम भएका थिए ।
काठमाडौंको तीनकुनेमा राजसंस्था पुनस्र्थापनाको आह्वानसहित ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंको नेतृत्वमा आन्दोलन भएको थियो । उता, राजावादीलाई ‘काउन्टर’ दिने नाममा भृकुटीमण्डपमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)समेत रहेको ४ दलीय समाजवादी मोर्चाले सभाको आयोजना गरेको थियो ।
२ वटै कार्यक्रमका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ३ हजार ५०० सुरक्षाकर्मी परिचालन गरेको गृह मन्त्रालयले बताएको थियो । सो संख्याको सुरक्षाकर्मीमध्ये २ हजार जनाको फौज तीनकुनेको कार्यक्रममा थियो, जहाँ प्रदर्शनकारीको संख्या पनि हाराहारी ३ हजार मात्र थियो ।प्रद
र्शनकारी र प्रहरीको संख्या करिब बराबरी जस्तै भए पनि घटनाले एकाएक हिंसाको रूप लिएपछि सुरक्षा निकायको व्यवस्थापकीय पक्षमाथि प्रश्न उठेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी महानिरीक्षक दीपक थापाको निष्पक्षतामाथि प्रश्न उठाएका छन् । मंगलबार बल्खुमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै उनले प्रहरी प्रमुख थापा नेकपा एमाले निकट युवा संघको सहअध्यक्षको जस्तो भूमिकामा देखिएको टिप्पणी गरे । राजावादी समूहहरूले तीनकुनेमा गरेको प्रदर्शनबारे प्रहरी प्रमुख थापा निर्लज्ज रूपमा प्रस्तुत भएका भन्दै उनले गम्भीर आरोप लगाए ।
यस घटनामा सरकार र प्रहरी प्रशासन मुख्य दोषी भएको दाबी लिङ्देनको छ । ‘तीनकुने घटनामा प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार छन्’, उनले भने, ‘गृहमन्त्रीले आदेश दिए होलान्, प्रहरी चले होलान् भनेको त, अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछन् ! हामीले भेटेका खोका, अश्रु ग्यासको सेलका बोक्रा, जहाँ एक्सपाइरी डेट २००८ लेखिएको छ, २०१०, ०१२ लेखिएको छ । के त्यो दुर्गा प्रसाईंहरूले बोकेर ल्याएर हानेको अश्रु ग्यास हो ? अनि, त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक के भन्छन्– हामीले हानेको अश्रुग्यास कसरी डेट एक्स्पाएर भएको हुन्छ ?’
उक्त आन्दोलनमा पत्रकार सुरेश रजक र अर्का युवा सविन महर्जनको ज्यान गएको थियो । व्यक्तिगत घरमा आगजनी गरिँदा भिडियो खिचिरहेका पत्रकार रजक जलेर र सडक पेटीमा हिँडिरहेका युवा सविनलाई गोली लागेर भएको मृत्यु सामान्य थिएन । राजावादीहरूले व्यक्तिगत र सावर्जनिक सम्पत्ति आगजनी, तोडफोड गर्दा प्रहरीका तर्फबाट समेत कमजोरी भएको देखिन्छ ।
आन्दोलनकारीले नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा आगजानी गरे भने नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा तोडफोड प्रयास गेका थिए । जडीबुटी कम्पनीमा आगजनी, अन्नपूर्ण पोस्टको कार्यालयमा ढुंगामुढा, कान्तिपुर मिडिया हाउसको भवनमा आगजनी प्रयास र अन्य मिडिया हाउससमेत निशानामा परेका थिए ।
यी गतिविधि हुनुमा सरकारसमेत जिम्मेवार रहेको भन्दै सांसदहरूले संसद्मै उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेका थिए । सोही घटनाको विषयलाई लिएर राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूसँग बैठक गरेको थियो । सो छलफलमा प्रहरी प्रमुख थापाले घटनाका मुख्य कमान्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्ने दाबी गरे पनि प्रसाईंलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
‘घटनाको समग्र अवस्था हेर्दा आन्दोलनकारीको उच्छृंखलता त छँदै थियो, प्रहरी प्रशासनको समेत कमजोरीलाई नकार्न सकिन्नँ’, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भने, ‘यस्ता घटनामा सुरक्षाको पूर्वानुमान गरेर सुरक्षा सतर्कताका योजना बनाउनुपर्ने थियो । त्यसमा कमजोरी भएको देखिन्छ ।’