अर्घाखाँची : अर्घाखाँचीमा हालसम्म ४० प्रतिशत रोपाइँ सकिएको छ । लगातार वर्षा भइरहेपनि अर्घाखाँचीमा धान रोप्ने काम निरन्तर चलिरहेको छ । अहिलेसम्म कुल धानखेती हुने खेत मध्ये ४० प्रतिशत खेतमा मात्रै धान रोप्ने काम सम्पन्न भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख उपसचिव बुद्धिराज घिमिरेले जानकारी दिए ।
जिल्लाको कुल २६ हजार ५ सय ४० खेतीयोग्य जमिनमध्ये ४० प्रतिशत अर्थात् ९ हजार हेक्टर क्षेत्रफल रहेको खेतमा धान रोपाइँ सकिएको हो । अर्घाखाँचीमा गैरी खेत टारी खेतमा गरी सरदरमा प्रतिहेक्टर ३.६५ मेट्रिक टन धान उत्पादन हुँदै आएको उपसचिव घिमिरेले बताए । यो अनुपातले हेर्दा लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा वार्षिक ८२ देखि ८५ करोड रुपैयाँको धान उत्पादन हुँदै आएको तथ्यांकले पुष्टि गरेको उपसचिव घिमिरेको भनाइ छ ।
धानबाट बन्ने चामल सबै नेपालीको भान्सामा अपरिहार्य रहेकाले यसको उत्पादन बढाउनका लागि आयात प्रतिस्थापन गर्नुपर्ने सन्धिखर्क नगरपालिका वडा नम्बर २ घोचेखोलाका किसान पुष्कर बन्जाडेले बताए । पछिल्लो समय कृषि पेशामा रुची हराउँदै जाँदा बर्सेनी धान आयात भइरहेकोले यसतर्फ युवायुवतीको आकर्षण बढाउनुपर्ने उनको भनाइ छ ।
अर्घाखाँची जिल्लामा पछिल्लो समय हाइब्रिड जातको धान बढी रोपिने भएको कारण यसको बिउसमेत बढी बिक्री हुने गरेको छ । स्थानीय जातका धानहरु खुमलटार, जडन पोख्रेली, मार्सी लगायतका धानहरू समेत लगाइँदै आइएको कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका सूचना अधिकारी शिवलाल घिमिरेले बताए ।
जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिको प्रचार–प्रसार गरी किसान माझ पुर्याउने उद्देश्य छ । यसले धानको उत्पादन एवम् उत्पादकत्व बढाउन भूमिका खेल्ने स्थानीय सरकारको विश्वास छ ।
खेतालाको चिन्ता
विगतका वर्षहरूमा पानी नपरेर चिन्तित बनेका कृषकलाई यस वर्ष भने खेतालाको चिन्ता छ । युवाहरूको विदेश पलायनले रोपाइँका लागि खेतलाको अभाव हुँदा कृषकहरू अत्यन्तै चिन्तित बनेका छन् ।
पहिलेको तुलनामा अहिले खेतालाको दैनिक ज्याला पनि ह्वात्तै बढेको छ । युवाहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएपछि मानो रोपेर मुरी उब्जाउने यो समयमा खेतलाको चरम अभाव देखिएको छ । किसानहरू निकै चिन्तित छन् । खेत रोप्ने काम गर्नेमा अहिले अधिकांश बालबालिका, महिला र वृद्धाहरू मात्र जुटेका छन् ।
आज–भोली पुरुष खेतालाको दिनको ८ सयदेखि एक हजारसम्म र महिला खेतालाको ५ सयदेखि माथि तिर्दा समेत खेताला नपाएको कृषकको गुनासो छ ।
अधिकांश युवाको विदेश पलायन र भएकाले थौरै पैसामा भएपनि कृषि पेशा बाहेकका अन्य पेशामा काम गर्न खोज्ने प्रवृतिका कारण पनि खेती गर्ने मान्छेको अभाव बढ्दै गएको छ । अहिले खेत रोप्ने काम गर्नेमा अधिकांश बालबालिका, महिला र वृद्धाहरू मात्र रहेका छन् । बढ्दो सहरीकरणसँगै आधुनिक जीवनमा रमाउन चाहने सौखिन युवायुवतीका कारण पनि खेती गर्ने समयमा खेतालको थप अभाव देखिएको हो । खेतमा यहाँ गोरु नारेर रोपाइँ गर्ने परम्परा समेत सकिएको छ ।