२०८२ भदौ २१ गते शनिवार / Sep 06 , 2025 , Saturday
२०८२ भदौ २१ गते शनिवार
Ads

राष्ट्रिय हरियाली मधेशी संगठनको नयाँ नेतृत्वमा ठाकुर सर्वसम्मत

shivam cement
मध्यान्ह
२०८२ भदौ २० गते २१:५०
राष्ट्रिय हरियाली मधेशी संगठनको नयाँ नेतृत्वमा ठाकुर सर्वसम्मत

दोहा कतार : राष्ट्रिय हरियाली उद्देश्यका लागि मधेशी संगठनको दोस्रो महाधिवेशन सम्पन्न भएको छ ।  

संगठनका अध्यक्ष विश्वेश्वर प्रसाद यादवको सभाध्यक्षता तथा गैरआवासिय नेपाली संघ कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनको बन्द सत्रबाट  प्रदीप कुमार ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा देवेन्द्र कुमार ठाकुर, द्धितीय उपाध्यक्षमा राजकुमार ठाकुर, महासचिव रामनाथ नायक, सचिवद्वय चन्द्रा मण्डल र बिन्देश्वर ठाकुर, कोषाध्यक्ष विजय कुमार राउत, सहकोषाध्यक्ष राजा शाह रहेका छन् । त्यस्तै सदस्यहरूमा श्याम शाह तेली, राम आशिष यादव, देवेन्द्र ठाकुर बटेश्वर, शिव प्रताप शाह, चन्द्रदिप यादव, विनोद पासवान, राम नारायण प्रसाद राउत रहेका छन् ।

बन्द सत्रबाट प्रमुख सल्लाहकारहरूमा विश्वेश्वर प्रसाद यादव चयन भएका छन् भने सल्लाहकारहरुमा राम अधिन यादव, पवन कुमार ठाकुर, राम हृदय शाह, कमलेश महतो र ई. वीरेन्द्र शाह चयन भएका छन् । 

महाधिवेशनको खुल्ला सत्रमा कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरूले हरियाली समाजमा सबै नेपाली आबद्ध हुन आवश्यक रहेको बताए । वक्ताहरूले भर्खर मात्र तराईको खडेरीप्रति लक्षित गर्दै पर्यावरणीय आवश्यकतामाथि आफ्ना विचारहरू राखेका थिए । 

महाधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्थीले सारा नेपालीले गर्नुपर्ने काम कुनै संगठनले गरिरहेकोमा खुसी व्यक्त गर्दै प्रशंसा गरे । उनले निवर्तमान कार्यसमितिले प्रशंसनीय कार्य गरेको बताउँदै एनसीसीसँग सहकार्य गरेर अगाडि बढ्न आग्रह गर्दै एनसीसी सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले एनसीसीले विगतमा वृक्षारोपण गर्न कतारको सम्बन्धित निकायसँग अनुमति प्रदान गर्न माग गरेको हुँदा अनुमति मिल्ने बित्तिकै वृक्षारोपण गर्ने र उक्त कार्यक्रममा हरियालीसँगै सहकार्य गर्ने बताए । 

कतारमा गत जुलाईदेखि दुई धारमा बगेका एनसीसीमध्ये अर्को एनसीसीप्रति लक्षित गर्दै पन्थीले आफूहरूले सहकार्य गरेका कतारका कतिपय आन्तरिक तथा बाह्य निकायमा अर्को पक्षले फोन गरेर आफू मात्र वैधानिक रहेको दाबी गर्ने गरेको प्रति दुःख व्यक्त गरे । उनले प्रतिस्पर्धा यहाँका विभागमा जान हैन श्रमिकका समस्या समाधान गर्नतिर लाग्न सुझाव दिँदै श्रमिकका हकहितमा एकजुट हुन समेत आग्रह गरे । महाधिवेशनमार्फत एनसीसी कतारका निवर्तमान अध्यक्ष रमेश भट्ट र कार्यक्रमका प्रमुख अतिथिलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

प्लाजा मलमा रहेको लालीगुराँस रेस्टुरेन्टको सभा हलमा सम्पन्न महाधिवेशनको समापन गर्दै सभाध्यक्ष यादवले नेपालमा कम्पनी रजिस्टारको कार्यालय तथा समाज कल्याण परिषद्मा दर्ता गरी वैधानिक रूपमा सञ्चालन भएको संगठनको छिट्टै कार्यालय जनकपुरमा समेत स्थापना गरिने बताए । संगठनका सचिव रामनाथ नायकले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई उपाध्यक्ष प्रदीप कुमार ठाकुरले सहजीकरण गरेका थिए । कार्यक्रमको सहजीकरण गर्दै ठाकुरले समितिले कार्यकालभरी करिब ७ हजार बिरुवा तराईका विभिन्न स्थानमा रोपेको जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise