काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले शनिवारदेखि मध्य पहाडी लोकमार्ग अभियान पुनः सुरु गर्ने भएको छ ।
अभियानका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा पुगेका छन् । गत जेठ २ गते बैतडीको पाटनबाट अभियान थालेको माओवादी केन्द्रले वर्षा सुरु भएसँगै स्थगन गरेको थियो ।
वर्षाका कारण जेठ १२ गते पोखरामा स्थगित गरिएको अभियान कास्कीको रुपा गाउँपालिका-१ स्यास्त्रीस्थित शहीद पार्कबाट पुन: सुरु हुन लागेको हो । साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकले बाँकी जिल्लामा भदौ २१ गतेदेखि अभियान पुनः सुरु गर्ने निर्णय गरेको थियो ।