अर्घाखाँची : खाद्य तथा नगदे बाली बाँदरले खाइदिएर सताउन थालेपछि सन्धिखर्क–२, भलायडाँडाका किसानले समूह र सहकारीमार्फत वैकल्पिक खेतीको शुरू गरेका छन् ।
बाँदर आतंकबाट परम्परागत बाली जोगाउन नसकेपछि किसानले यसको विकल्पमा स्थानीय डोलेश्वर बहुउद्देश्यिय सहकारीमार्फत कागती र पोख्रेल टोल कृषक समूहमार्फत कफि खेती गर्न थालेका हुन् । बाँदरबाट अन्नबाली जोगाउन नसकेपछि वैकल्पिक खेती गर्ने किसानको संख्या बढ्दो छ ।
खाद्य तथा फलफूल उत्पादन हुने गरे पनि बाँदरबाट जोगाउन कठिन हुन थालेपछि भलायडाँडाका किसानले कृषि समूह र सहकारीमार्फत वैकल्पिक खेती गर्न थालेका हुन् ।
यसअघि मकै, गहुँ, केराउ, मसुरो लगायत फलफूल लगाइने ठाउँमा किसानले अहिले कागती रोप्न सहकारीलाई जग्गा लिजमा दिएका छन् भने कृषि समूहमार्फत कफि खेती शुरु गरेका छन् । करिब ६५ रोपनी जग्गामा वार्षिक भाडा बुझाउने गरी करिब २ हजार कागतीका बिरुवा रोपेको डोलेश्वर बहुउद्देश्यीय सहकारी सन्धिखर्कका प्रबन्ध निर्देशक दिपक के.सी.ले बताए ।
बाँदरले सताएपछि सन्धिखर्क–२ भलायडाँडाका किसानको बाँझै रहने अवस्थाको ६५ रोपनी खेतीयोग्य जग्गामा अहिले २ हजार कागती र करिब ५० रोपनी जमिनमा ५ हजार बढी कफिका बिरुवा लगाइएको छ । पारिलो अनि मलिलो जमिन, राम्रो खेती हुने गरेपनि उत्पादन जति बाँदरले खाइदिँदा किसानले उपभोग गर्न पाउँदैनथे ।
‘बाँदरले धेरै नै दुःख दिएपछि परम्परागत अन्नबालीको विकल्पमा सहकारीले व्यावसायिक कागती खेती शुरू गरेको छ,’ उनले भने, ‘हामीले पनि समूहमा कफि खेती थालेका छौं, कै, कोदो, गहुँ जस्ता अन्नबाली र दलहन तथा अन्य नगदेबाली बाँदरकै कारण संरक्षण गर्न सकिएन ।’
कागती बारीमा पनि बाँदर नआएको होइन । तर काडा र अमिलो हुने भएपछि बाँदर कागती खान आउन छाडेको अर्का स्थानीय गोबिन्द प्रसाद पोख्रेलले बताए ।
वनक्षेत्रमा बाँदर भुल्ने र उसले खाने चिज केही नभएको, यता बाँदर धपाउने मान्छे पनि गाउँमा प्रयाप्त नभएपछि बारीमा बाँदरबाट अन्नबाली जोगाउन कठिन पर्ने हुँदा कागती र कफि खेती शुरू गरिएको अर्का स्थानीय कृषक आश्रित चुंदालीले बताए । यसरी व्यवसायिक खेती गर्ने र उत्पादनमा जोडिने सहकारी, समूह र किसानलाई हर किसिमको सहयोग गर्ने सन्धिखर्क नगरपालिका कृषिशाखा प्रमुख राजेन्द्र भट्टराईले प्रतिबद्धता जनाए ।
कागति खेतीको लागि आवस्यक कृषि औजार सहकारीलाई हस्तान्तरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो वचन दिएका छन् ।
कृषि, उद्योग र ब्यापारमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै यी क्षेत्रका उत्पादनमा जोडिने सहकारीलाई आर्थिक, भौतिक र प्राविधिक सहयोग गर्ने कृषि शाखा प्रमुख भट्टराईको भनाइ छ । राज्यले गर्नुपर्ने काम सहकारीले गर्ने गरेको भन्दै सबैको सकारात्मक सहयोग भएमा उत्पादन र रोजगार क्षेत्रमा आफुहरुले अग्रणी भूमिका खेल्न सक्ने डोलेश्वर बहुउद्देश्यीय सहकारीका अध्यक्ष मोतिराज शर्माले बताए ।
सरकारले बाँदर लगायत वन्यजन्तु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम ल्याउन सकिरहेको छैन । बाँदर नियन्त्रण भएमा जमिन बाँझो हुने समस्या घट्ने, गाउँमै रोजगारी सृजना हुने र किसानको आयमा वृद्धि हुने स्थानीयवासी बताउँछन् । बाँदरले दुःख दिएपछि अघिल्लो आर्थिक वर्षमा सन्धिखर्क नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगरसभाबाट बजेट विनियोजन गरी हेरालु समेत खटाएको थियो । तरपनि उक्त योजना समेत सफल हुन सकेन ।