-प्रेमा दाहाल, ताप्लेजुङ
उकाली ओराली गरि कति बिते याम सहजै
पहाडी पाखोमा तनमन गयो जीवन यसै ।
कहाँ पुग्छन् गाडी सबतिर हिँडी पैदल सधैं
म थाकें सुस्ताएँ प्रतिपल बढें दोमन सँगै ।
सबै डाँडा पाखा बहुत हरिया फाँट हरिया
डुले वारी पारी नयन बहुतै खेत हरिया ।
छ चौतारी बाटो नजिक नजिकै गाउँ घरमा
थकाई मार्दै यो वरपर सधैं हेर्छु रमिता ।
बितेका ती हाम्रा अब कति गरौं यावत कुरा
हिँडेका गोरेटा सहज सहजै यौवन हुँदा ।
भए सारा बासी अधमर भयो जीवन अब
न हिँड्ने फूर्ती नै सलबल गयो जीवन अब ।
सुसेली पाखामा रनवन डुली घाँस बटुली
उपद्रो गर्दथ्यौ वर र पर उफ्रेर दगुरी
गए हाम्रा प्यारा दिन अब भए दूर अतिनै
न हेर्दा राम्रा छन् वरपर हुने फूल कति नै ।
भरी छन् शोभाले तर मन बुढो सुन्दर कहाँ ?
विरक्तीले छायो सकल मृतिका हेर्दछु जहाँ ।
बढे मान्छे मासे वन पनि सुके मूलहरु नै
कहाँ धान्ला पुस्ता समगम टुटे मूलहरु नै ।
छन्दः शिखरिणी छन्द
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies