– पौडेल विमुन्स, पोखरा
सन्ध्याका आमाबाबाले सन्ध्या जन्मिने बितिक्कै सन्ध्यालाई हरियाली समुदायिक अस्पतालको एकतल्ला माथिको सुत्केरी वार्डमा छोडेर हिँडेका थिए । कसैलाई थाहा भएन कहाँबाट यसरी सुटुक्क भागे । किनकी मूलद्वारबाट बाहिर जाँदा गेटमा बस्ने पालेलाई अस्पतालको कागजपत्र देखाउनुपर्ने हुन्छ । तर, यसरी कागजपत्र नदेखाई गएको सिसि क्यामेरामा कोही फेला परेन ।
जे भए पनि सन्ध्याको भाग्य बलियो थियो आमाबाबाले यसरी छोडेर भागेपनि आफ्नो जीवन बाँच्न पाउने अधिकार सुरक्षित भयो । त्यसै अस्पतालमा काम गर्ने वरिष्ठ स्वास्थ्यकर्मीले सन्ध्यालाई आफ्नो सन्तान बनाईन् र पूर्ण आमा हुनुको कर्तव्य निर्वाह गरिरहेकी छिन् ।
रमाले कुनै दिन पनि सन्ध्या आफ्नै सन्तान होइन भन्ने छनकसम्म पर्न दिईनन् । आमाछोरी बिचमा आँ गर्दा अलङ्कार बुझ्ने वातावरण थियो । कसैले भन्दैनथे सन्ध्या र रमा आमा छोरी होइनन् ।
सन्ध्याको माग मुखबाट खस्नुभन्दा पहिले पूरा हुन्थ्यो । आमा बाबाको इशारा समेत बुझ्ने गर्छे सन्ध्या। एक प्रिय र भिन्नै आत्मीयता छ यिनीहरू बिच । वर्षहरू बित्दै गए । रमाको घरमा अर्को सन्तान आयो । रमाकी देउरानीले छोरा पाइन् । सबैको ध्यान देउरानीको छोरा पट्टी केन्द्रित बन्दै गए ।
सन्ध्या अब एक्ली महसुस गर्दै थिई । रमालाई पनि देवरको छोरा आफ्नै रगत हो भन्ने कुराले छुँदै गयो ।
सन्ध्या पनि नयाँ सदस्यको रूपमा भाइ पाएर खुशी थिई । भाइको नजिक जाने आँट गरेर एकदिन ‘आन्टी मलाई भाइ काखमा राखिदिनुस् न एकछिन खेलाउँछु’ भन्दै मायाँ साट्ने कोशिषमा थिई तर तुरुन्त प्रतिक्रिया आयो ‘खबरदार यो बच्चा आमा बाउ बिना धर्तीमा आएको होइन । तैंले यसरी झ्याप्पै समात्न मिल्दैन । पूजा पाठ सकिएपछि समात्नु ।’ हजुरआमाको कर्कस स्वर सुनियो ।
सन्ध्यालाई आश्चर्य लाग्यो । के भनेको होला हजुरआमाले ? दिनभर यही कुरा मनमा खेलिरह्यो र बेलुका आमा अफिसबाट आउने बित्तिकै सुनाई हजुरआमाले भनेको कुरा सोधी– ‘किन यस्तो भन्नुभयो हजुरआमाले ?’
रमासँग सजिलो उत्तर तुरुन्त आएन । के भनौँ भनौँ भयो ।
‘यस्तै हो बुढेसकालमा हामी पनि बर्बराउँछौँ’ उनले सम्झाउने पाराले भनिन् ।
तर सन्ध्याले कुरो बुझी सायद उसलाई घरमा भाइ जन्मिएपछि आफ्नी आमामा आएको परिवर्तनले पोलिरह्यो ।
मुखबाट खस्न नपाउँदै पूरा हुने मागहरू अब भने –‘हेर भाइलाई तेल लगाउने समय भयो यति सकेर लिन जान्छु है’ भन्दै समय परपर धकेलिँदै गएको महसुस भयो । एक महिना अगाडिदेखि क्लासमा चाहिने एउटा सानो सिँडी अहिलेसम्म आएन । बिहान भाइलाई तेल लगाउँदा ढीला भयो, दिउँसो आन्टीलाई नास्ता खाजा बनाउँदा ढीला भयो, बेलुका आन्टीको औषधिको बेला भएर ढीला भयो, राती त सबै पसल बन्द हुन्छन् कुरै भएन । एवम् प्रकारले एक महिना बित्यो तर सन्ध्याको माग पूरा भएन ।
इशारा, एक वाक्यले पूरा विवरण बुझ्ने सन्ध्याकी आमा अब त कानै नसुन्ने जस्तै बनेकी थिइन् ।
एकदिन सन्ध्या बिमारी भएर छट्पटाई, आमालाई बोलाई कैंयौँ पटक । आमाले उत्तर दिइन् म भाइलाई तेल लगाउँदै छु यस्सो बाहिर गएर औषधि लिएर आऊ ।
सन्ध्या आफैँ सकिनसकी औषधि लिन गई, औषधि पसलमा सुनी, ‘रमाले देवरको छोरो जन्मेपछि सन्ध्यालाई पटक्कै माया गर्न छोडी किन होला ? यस्ता स्वार्थीले त अर्काको बच्चा काख नलिनु’ यति सुन्न नपाउँदै सन्ध्याका आँखा अगाडि धमिलो छायो । आखिर एक बनावट न हो हाड मासुको यो जीवन ।
मरेर माटोमै मिल्नुपर्ने हो । आधा बाटोमा नै मन भाँच्नु पर्ने किन होला ? सन्ध्याले बुझिन । आफैंलाई लतार्दै पसलबाट फर्केर घरतर्फ लागी तर कोठासम्म पुग्न भ्याइन । बाटोमै लडी । त्यसपछि के भयो सन्ध्यालाई के थाहा । जब होस खुल्यो ऊ अस्पतालमा थिई अनि उसका बाबाआमा शिशुकालमा जस्तै हराएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies