२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

बाख्रा पालनबाट मनग्य आम्दानी

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ २० गते २१:०८
बाख्रा पालनबाट मनग्य आम्दानी

अर्घाखाँची : शितगंगा नगरपालिका वडा नम्बर ९ सिलिङखोलाका किसान छबिलाल उलुङ्गेले बाख्रा पालनबाट राम्रो आम्दानी गरेका छन् । 

भारतमा राम्रो कमाइ गरेपनि त्यसलाई चटक्कै छोडेर गाउँ फर्किएका उलुङ्गे सबैभन्दा बढी बाख्रा पाल्ने किसान बनेका छन् । नमुना बाख्रा पालन फर्म नामक संस्था दर्ता गरेरै उनी बाख्रा पालनमा लागेका हुन् । उनको नमुना बाख्रा पालन फार्ममा अहिले साना ठूला गरी झण्डै ३ सय ५० बाख्राहरु रहेका छन् ।

उनले भने, ‘गाउँमै केही गर्नुपर्छ भन्ने मान्यताका साथै आफ्नै जन्मभूमिमा शितगंगा ९ मा  आएर बाख्रा पालेको छु ।’ अहिले बाख्रा पालनबाट वार्षिक २० लाख जति खर्च कटाएर आम्दानी हुने गरेको उनको भनाइ छ । अहिले उनको फार्ममा ६ जनाले रोजगारी समेत पाएका छन् ।  झण्डै २ सय रोपनी क्षेत्रफल जग्गामा घाँस खेती र बाख्रा फार्म रहेको उनले बताए । 

शितगंगा नगरपालिका वडा नम्बर ६ जुकेनाको फेदी जलुकेमा रहेको लक्ष्मण ओलीको बाख्रा फार्म पनि निकै आकर्षक छ । स्थानीय डिहि आधारभूत विद्यालयका प्रधानाध्यापक अर्थात् जागिर खान जाजरकोटबाट आएका ओली विद्यालयमा अध्यापनसँगै व्यावसायिक बाख्रा पालनमा समेत लागेका छन् । उनको गोठमा अहिले एक सय २४ वटा बाख्रा छन् ।

एमएड पास गरेका उनी मात्र होइन् उनकी श्रीमती करुणा ओली पनि शिक्षिका हुुन् । तर उनीहरूले समाजमा केही गरेर अरुलाई प्रेरणाको स्रोत बन्न सकिन्छ भन्ने मान्यताका साथ बाख्रा पालनमा लागेका हुन् ।

बाख्रापालनको लागि राम्रो स्थान, चरनको व्यवस्था आदि भएको देखेपछि बाख्रापालनमा लागेको शिक्षक ओलीको भनाइ छ । गोठमा एक सय २४ वटा बाख्रा छन् । ओलीले भने, ‘एक वर्षमा बोका तथा बाख्राका पाठी बेचेर २१ लाखको कारोबार भयो । बाख्राको दाना, घाँस, औषधि उपचार, कर्मचारीको तलब आदि सबै खर्च कटाएर आठ लाखभन्दा बढी बचत भएको छ ।’

उनको फार्ममा चार जनाले प्रत्यक्ष रोजगार पाएका छन् । शिक्षण पेसा मूल पेसा भएकाले आफूले व्यवस्थापन मात्र गरेको बिहान बेलुकाको समयमा मात्र आफूले बाख्राको हेरचार गर्ने गरेका छन् । कृषि प्रधान देशमा कृषि पेसा गर्नुपर्छ भन्ने मान्यताका साथ बाख्रापालनमा आफूहरूले बढी जोड दिएको उनले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत बाख्रापालन कृषकलाई बाख्रा स्रोत केन्द्रका लागि अनुदान, खोर निर्माण, नश्ल सुधारका लागि बोका वितरण, घाँसको बीउ वितरण, औषधि वितरण लगायतको सहयोग गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अर्घाखाँचीका प्रमुख विष्णुबहादुर मग्रातीले बताए ।

शितगंगा नगरपालिकाले उत्पादनमा आधारित खसीबोकाको बिक्रीमा प्रतिकिलो ५० नगरपालिकाले अनुदान दिँदै आएको नगर प्रमुख छविलाल पौडेल ले बताए ।

जिल्लाभर करिब ५५ हजार माउ बाख्रा रहेको उक्त माउ बाख्राबाट उत्पादन भएका पाठापाठीहरू तथा मासुजन्य खसी बोका कपिलबस्तु, दाङ, रुपन्देही तथा काठमाडौं, पोखरालगायतका स्थानमा मासुका लागि जाने गरेको  शितगंगा नगरपालिकाका नगरप्रमुख पौडेलको भनाइ छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बाख्रापालक किसानलाई खोर निर्माण, उन्नत जातको बोका तथा बाख्रा खरिद, घाँस खेतीलगायत प्राविधिक रुपमा सहयोग गर्दै आएपछि कृषकहरु पनि खुशी भएका छन् । जसका कारण किसानलाई बाख्रापालनमा सहयोग पुगेको प्रधानमन्त्री बाख्रा जोनका प्रमुख बिष्णु बहादुर मङग्रातीले बताए ।

व्यावसायिक बाख्रापालनमा लागेका किसानलाई यसैमा टिकाउनका लागि विभिन्न कार्यक्रम पनि सञ्चालन भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका नायब सुब्बा भोजराज पोख्रेलले बताए ।

आयातमा आधारित अर्थतन्त्रमा रहेको सन्दर्भमा निर्यात प्रवर्द्धनमा बाख्रापालनले सहयोग पुग्नेछ । बाख्रा पालनको लागि अर्घाखाँची जिल्ला सम्भावना बोकेको जिल्ला हो ।

साना किसानलाई उत्साहित बनाउँदै व्यावसायिक रुप प्रदान गर्ने उद्देश्यले शितगंगा नगरपालिकाले उत्पादनका आधारमा अनुदान वितरण कार्यक्रम अन्तर्गत सहकारीमार्फत तौलगरी खसी बोका बिक्री गर्ने गरेको छ । जसका कारण किसान लाभान्वित भएका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise