काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको बताएका छन् ।
शुक्रबार ७०औं प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले राज्यको सबैभन्दा अग्रपंक्तिमा सेवारत विशाल संयन्त्रयुक्त संगठनको रुपमा विकसित भएको नेपाल प्रहरी आजका दिनसम्म नागरिकको स्नेह, आक्रोश समानन्तर रुपमा प्राप्त र सामना गर्ने राज्यको सशक्त प्रतिनिधिको रुपमा स्थापित हुन सफल भएको बताए ।
उनले राजनीतिक परिवर्तनको हालको परिस्थितिमा र आगामी दिनहरुमा समेत उत्पन्न हुनसक्ने सुरक्षा चुनौती र असहज परिस्थितिको सामना गर्दै आम नागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभुति दिलाइ नागरिक भरोसाको केन्द्रको रुपमा रहेको नेपाल प्रहरी व्यवसायिक रुपमा सक्षम तथा प्रतिबद्ध रहेको बताए ।
नेपाल प्रहरीबिनाको समाज परिकल्पना गर्न नसकिने उनले स्पष्ट पारे । विभिन्न ९ सय ३९ स्थानमा नयाँ प्रहरी इकाइको माग र चार सयभन्दा बढी इकाइमा प्रहरी कार्यालयको स्तरोन्नतिको माग रहेको उनले बताए । यसको पूर्तिका लागि २५ हजार भन्दा बढी प्रहरी जनशक्ति आवश्यक रहेको उनले बताए ।
उनले प्रहरीको बोली, वचन र व्यवहार सुधार गर्न पनि जरुरी रहेको बताए । प्रहरीभित्र पनि शुद्धीकरण र सुधारका प्रशस्त आवश्यकताहरु रहेको उनले बताए । नागरिकले तिरेको करबाट खरिद गरिएको पोसाक लगाएर नागरिकमाथि हुने अपशब्द र रवाफ कहिल्यै स्वीकार्य नहुने उनले उल्लेख गरे ।