२०८१ असोज १८ गते शुक्रवार / Oct 04 , 2024 , Friday
२०८१ असोज १८ गते शुक्रवार

विद्युत व्यापारमा अर्को ऐतिहासिक सम्झौता

ADV
छबि सापकोटा
२०८१ असोज १८ गते ०६:५०
विद्युत व्यापारमा अर्को ऐतिहासिक सम्झौता

काठमाडौं : नेपालबाट बंंगलादेशमा ४० मेगावाटको विद्युत निर्यात गर्ने सम्झौता भएको छ । 

लामो समयदेखि विद्युत निर्यातको लागि छलफलपछि भारतको प्रसारण लाईन मार्फत ४० मेगावाट विद्युत निर्यातको लागि त्रिपक्षीय सम्झौता भएको हो । २०७९ भदौमा नेपाल–बंगलादेश सचिवस्तरीय बैठकले नेपालबाट विद्युत लैजाने सहमति भएको थियो । सहमती भएको चारवर्षपछि नेपाल, भारत र बंगलादेशबिच त्रिपक्षीय सम्झौता भएको हो । 

भूपरिवेष्ठित मुलुक नेपालले तेस्रो देश बंंगलादेशमा विद्युत बेच्ने गरी सम्झौता हुनुलाई आर्थिक, राजनीतिक र कुटनीतिक रुपमा समेत महत्वपूर्ण उपलब्धीको रुपमा लिइएको छ । भारतको प्रसारण लाईनमार्फत विद्युत लगिने भएकाले पनि यो नेपाल, भारत र बंंगलादेशको सम्बन्धमा महत्वपूर्ण कडीका रुपमा रहनेछ । 

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का नेपाल–बंगलादेश र भारतबीचको त्रिपक्षीय उर्जा सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुंगा सावित भएको बताउँछन् । नेपालले इतिहासमै पहिलोपटक जलविद्युतउर्जा तेस्रो मुलुकमा निर्यात गर्ने भएकाले उर्जा क्षेत्रमा ऐतिहासिक कदम भएको उनले बताए । 

उर्जामन्त्री खड्काले नेपाल र बंगलादेशबीचको सम्बन्धलाई उर्जा व्यापार सम्बन्धले जनस्तरमा नै थप सुदृढ एवम् प्रगाढ बनाउन मदत पुग्ने बताए । उर्जामन्त्री खड्काले छिमेकी देशका सार्वजनिक र निजी क्षेत्रलाई नेपालको जलविद्युत आयोजनामा लगानी गर्नसमेत आग्रह समेत गरे । 

उनले बंगलादेश, भुटान, भारत र नेपालमा ग्रिड पूर्वाधार एकीकृत गर्नाले नेपालमा जलविद्युत विकासलाई गति दिन सकिने बताए । मन्त्री खड्काले त्रिपक्षीय सम्झौताले फराकिलो बहुपक्षीय उर्जा साझेदारीको र भारतको साथले नेपालले क्षेत्रीय उर्जा व्यापारको नयाँ युगको सुरुवात गरेको बताए ।

बंगलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले सम्झौता दक्षिण एसियाली विद्युत सहकार्यमा ऐतिहासिक कदम भएको बताइन्। ‘बंगलादेश जनतालाई स्वच्छ र सुरक्षित ऊर्जा उपलब्ध गराउन प्रतिबद्ध छ । त्यसका लागि यो महत्वपूर्ण कदम हो’ उनले भनिन् । 

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दक्षिण एसियाली उपक्षेत्रीय विद्युत् साझेदारीका लागि भारत प्रतिबद्ध रहेको बताए । उनले नेपालले भरतमा विद्युत् निर्यात गर्न थालेदेखि अहिलेसम्म निकै ठूलो उपलब्धि हासिल गरेको बताए । 

मुजफ्फरपुरदेखि भारतको प्रसारण लाइनमार्फत (बेहरामपुर– भेडामारा चार सय केभी) बिजुली बंगलादेश पुग्नेछ । प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको बिजुली बंगलादेश निर्यात हुनेछ । 

नेपाल विद्युत प्राधिकणका कार्यकारी निर्देशक कुलमान घिसिङले सम्झौताले दुई देशबिचको बिद्युत व्यापारको बाटो खुलेको बताए । उनले भने ‘लामो प्रयासपछि त्रिपक्षीय सम्झौता भएको छ अब यही असोज महिना भित्र बंगलादेशमा नेपालको विद्युत पुग्नेछ ।’ 

प्राधिकरणले पाँच वर्षसम्म वर्षायामका छ महिना ४० मेगावाट बिजुली बंगलादेशमा बिक्रि गर्नेछ । सम्झौता अनुसार प्रतियुनिट आठ रुपैयाँ १७ टाका (नौ रुपैयाँ ३० पैसा) मा प्राधिकरणले बिजुली बिक्री गर्नेछ । बंलादेशले आगामी १५ वर्ष भित्र (सन् २०४० सम्म) नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने घोषणा गरेको थियो । 

भारतमा ९ सय ४१ मेगावाट बिजुली बिक्रीको अनुमति छ भने यसमा १० प्रतिशतसम्म बढी बिजुली बिक्री गर्ने सकिन्छ । यसरी नेपालले भारतलाई एक हजार मेगावाट विद्युत बिक्रि सक्छ । प्राधिकरणले गत आर्थिक वर्षमा भारतमा १७ अर्बको सात करोडको बिजुली बेचेको थियो । 

नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ । यसरी नेपालले १० वर्षमा २८ हजार विद्युत उत्पादन गर्ने लक्ष्य दिएसंगै विद्युत व्यापारको बजार समेत तय भएको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise