जाने त त्यहीँ हो
जहाँ हुँदैन कुनै भयको पिँजडा
आज जोगाऔँ त्यहाँसम्म देख्ने
आकाशजस्तै निर्बन्ध आँखाहरू ।
उनीहरूले हालेका छन् रेखाहरू
मनमा
जीवनमा
धरामा
मेट्दै मेट्दै जानु छ ती
पुग्नु छ त्यहाँ
जहाँ हुँदैन कुनै रेखा
हाम्रा सपनाको गति रोक्न
उनीहरू हाम्रा गोडा बाँध्न
हरेक रात बाट्छन् नेलहरू
तिनलाई पनि थाहा छ
नेलले बाँध्न सकिन्नन् चेतनाका गोडा
अन्त्यमा उनीहरू हाम्रा आँखामै हमला गर्नेछन्
आँखाहरू फुटाउनै अर्जापिएका हुन् यी हतियारहरू
आँखाहरू फुटाउनै भट्टिमा पकाईदै छन् अणुहरू
हामी नभुलौँ कि,
हाम्रा दृष्टिहरू स्वयं ब्रह्मास्त्र हुन्
त्यो निर्मुक्त संसारमा सास फेर्ने संकल्प
हाम्रो पैतला हो
बाटो त कहाँ बनेको हुन्छ र ?
जहाँ पैतला हिड्यो त्यहीँ बाटो बन्छ
जसरी हाम्रा पुर्खाहरूले
नुन बोक्दा पैतला टेकेको भिर
बाटो बन्यो
जाने त त्यहीँ हो
जहाँ हुँदैन कुनै पिंजडा
चाहे होओस्, यो यात्राको आयु समयको जत्तिकै ।